~सदानन्द अभागी~
‘शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन’ विषयक समालोचना कृतिको समालोचक राजेन्द्र पहाडी हुनुहुन्छ । यो किताब (७४+१८) पृष्ठको छ । मुल्य संस्थागत रु २००।– र व्यक्तिगत १००।–भएको यो कृतिको प्रकाशन गुप्तेश्वर बहुउदेश्यीय पुस्तकालय कुश्मा पर्वतले गरेको छ । प्रस्तुत कृतिलाई सरसर्ती अध्ययन गरेपछी सार संक्षेपमा के भन्न मनलाग्यो भने राजेन्द्र पहाडीले जुन प्रयास गरेका छन् त्यो प्रयासको प्रशंसा नगरी बस्न सकिन्न । साहित्य समाजको दर्पण हो । साहित्य समाजलाई रुपान्तरण गर्ने एक संवाहक पनि हो । यसले समाजका विकृतिलाई हटाएर एउटा प्रगतिशील समाजको निर्माणमा कृयाशील रहन्छ । साहित्यमा अग्रगामी भूमिका खेल्ने कविताको पनि सामाजिक संरचनागत चरित्र हुन्छ । र यसले समाजको यथार्थतालाई प्रष्टयाउने कोशिस गर्दछ ।
आजको समाजमा उत्तरमानवतावादले जन्म लिएको छ । एउटा समालोचकले साधारण अध्ययनले समालोचनाको लागि दिइएको किताब मात्र सरसरती अध्ययन गरेर मात्र पुग्दैन । एउटा गहन अध्ययन र सबै क्षेत्रको ज्ञान हासिल गर्न खोज्ने खालको हुनुपर्दछ । जबसम्म समालोचकमा विस्तृत ज्ञानको जानकारी हुँदैन, समालोचक र कृतिकारको कृतिमा पुलको काम गर्न सक्दैन, कृतिको बहुस्तरीय धारणा बुझ्न सक्दैन, कृतिलाई शव्द÷शव्द, वाक्य वाक्यमा ओर्ली यसको मार्मिक यथार्थतामा कृतिहरु कसरी प्रष्टिन खोजेका हो यसमा चिन्तन अध्ययन नगरी कसरी समालोचनामा ओर्लिन्छ भने त्यो समीक्षा नभै मनचिन्ते अभिव्यक्तिमात्र हुन जान्छ । ‘शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन’ कृतिको भूमिका लेख्दै वरिष्ठ साहित्यकार समालोचक, कथाकार रुद्र ज्ञवालीले आफ्नो धाराणा यसरी पोखेका छन्“….समालेचक राजेन्द्र पहाडीले कवि शान्तिनारायण श्रेष्ठका कविताको समाजशास्त्रीय सौन्दर्यमाथि कलम चलाएर प्रशंसनीय मात्र होईन पर्वत जिल्लाको समालोचना साहित्यको इतिहासमा जोखिमपुर्ण कार्यको समेत थालनी गरेका छन् । कविताको विश्लेषण गर्दा सामाजिक यथार्थ र अन्तरविरोधको अभावबीच रहेर गर्नुपर्छ भन्ने तथ्यप्रति पहाडी सचेत देखिन्छन् ।” ज्ञवालीको यो अभिव्यक्तिप्रति कृतिलाई अध्ययन गर्दा सहमति जनाउन चाहन्छु । पहाडीले थालनी गरेको यसप्रकारको समालोचनाले आजको खुम्चिदो समालोचनाको पक्षलाई फराकिलो पारेको छ । र यथार्थपरक समालोचनाको यात्रामा कोशेढुङ्गा थपेको छ ।
प्रकाशकीयको कलमबाट पनि यस कृतिप्रति सत्यतथ्यको बारेमा यसप्रकारको कथन आएको छ । “प्रस्तुत कृतिले यस क्षेत्रका पुराना श्रष्टा शान्तिनारायण श्रेष्ठको कवित्वबारे साङ्गो पाङ्गो समीक्षा गरेको त छ नै यस भन्दा बढी काव्य समालोचनाको क्षेत्रमा समाजशास्त्रीय अन्तरक्षेदनको थालनी पनि गरेको छ ।”
लेखकीयमा राजेन्द्र पहाडीको १२ बुँदामा भावना प्रकट भएको छ । कवि शान्तिनारायणको साहित्यिक यात्रा उमेर र राजेन्द्र पहाडीको “मेरो सानो प्रयासले यिनीमाथि न्याय भयो या भएन ? मूल्याङ्कन गरी निष्कर्ष निकाल्ने जिम्मा विज्ञ पाटकलाई सुम्पिन म उपयुक्त ठान्दछु ।” भनाइृको संक्षिप्त उत्तर न्यायपुर्ण, उचित र गरिमामय कामको थालनी भएको मैले महसुस गरेको छु ।
अव कृतिभित्र प्रवेश गर्ने अनुमति अनुमति माग्दछु । कृतिलाई खण्ड ‘क’ र खण्ड ‘ख’ मा विभाजन गरिएको छ । खण्ड ‘क’ मा तेह्रवटा शीर्षक छन् भने खण्ड ‘ख’ मा तीनवटा शीर्षक छन् । खण्ड ‘ख’ का तीन शीर्षकहरुले खण्ड ‘क’ लाई टेवा दिन सफल देखिन्छन् । राजेन्द्र पहाडीको समालोचनाको खँदिलो भागलाई अझै गाढा पार्नको लागि स्रष्टाको दृष्टिमा कवि शान्तिनारायण श्रेष्ठ सन्दर्भ सामग्री र कवि शान्तिनारायण श्रेष्ठको साहित्यिक व्यक्तिवृत्तले गहन भूमिका खेलेको छ । यी शीर्षकमा धेरै साहित्यकार, समालोचक र कविहरुले शान्तिनारायण श्रेष्ठप्रति आफ्ना धारणा पोखेकोले समालोचकको धारणालाई पुष्ट्याई दिएको देखिन्छ ।
खण्ड ‘क’ मा समालोचकले कविको परिचय, साहित्यिक यात्रामा शान्तिनारायणका ओजस्वी पाइलाहरु, कवितासँग शान्तिनारायणको मोह, कवि, कविता र अन्तरवस्तु, समाज र समय चेतना, साहित्य सिर्जनामा जीवनदृष्टिको आँखिझ्याल, मायावी स्वादका पारखी कवि, राजनैतिक व्यङ्ग्यवाणको रुपमा कविको कलम, समकालीन यथार्थ प्रकटीकरणमा कविको भूमिका, आञ्चलिकता प्रस्तुतिमा कविको रुची, भाषाप्रेमले सिर्जना भएका कविताका बान्कीहरु, छोटा कविताप्रतिको मोह र टुङ्गो समावेश गरी समीक्षालाई आकर्षक र प्रभावकारी रुपमा आफ्नो सक्षमतालाई प्रस्तुत गर्न समालोचक सफल देखिन्छन् ।
सर्वप्रथम राजेन्द्र पहाडीले कवि शान्तिनारायण श्रेष्ठको जन्मदेखि कविता यात्रामा लागेको समय विसं २०१० ताका स्कुल खोल्नका लागि गीतिलयको कविता लेखेको, विसं २०१८ सालको फागुन महिनामा शान्तिनारायणकै सम्पादनमा प्रकाशित हस्तलिखित आँकुरो मासिक साहित्यिक सङ्ग्रह वर्ष १, अङ्क १ मा शान्तिनारायण ‘दीपक’ को नामबाट सुभेच्छा शीर्षकको कविता प्रकाशन गरेपछिमात्र शान्तिनारायण श्रेष्ठ काव्य सिर्जनाको रुपमा देखापरेको यथार्थलाई प्रष्टाउँदै ‘मानवीय सेवालाई परमधर्म र साहित्य सिर्जनालाई सत्कर्म मान्ने साहित्यसेवी श्रेष्ठ जिन्दगीका थुप्रै मिठा नमिठा अनुभवका खानी हुन्, भकारी हुन् ।’ भनेकाछन् । यस कृतिले समालोचनाको बाटोमा एउटा अध्याय थपेको छ र मोफसलका साहित्यकार र समालोचकको क्षमतालाई दर्शाएको छ । समालोचक पहाडी र कवि शान्तिनारायण श्रेष्ठको सानो अभिव्यक्ति पोख्ने अनुमति चाहान्छु ।
शान्तिनारायण श्रेष्ठ मेरा समकालीन मित्र हुन् र उनी धवलागिरि अञ्चलकै एउटा खारिएका बरिष्ठ साहित्यकार, दुईदर्जनभन्दा बढी पुरस्कार तथा सम्मानबाट आभुषित सामाजिक व्यक्तित्व हुन् । शान्तिनारायणले आँकुरो हस्तलिखित पत्रिकाको सम्पादन विसं २०१८ बाट थालनी गरेका र पर्वतमाला र सगुनजस्ता पत्रिकाको सम्पादन गरेर सम्पादक समेत भएका व्यक्तित्व हुन् । सामाजिक संघसंस्थाहरुमा आवद्धतालाई केलाउँदा पनि शान्तिनारायण श्रेष्ठ दुईदर्जन जतिमा आवद्ध देखिन्छन् ।
शान्तिनारायण श्रेष्ठको जीवनी, व्यक्तित्व र कृतित्वको अध्ययन सोधपत्र त्रिभुवन विश्वविद्यालयद्वारा तीन–तीनजनाबाट गराइसकेको छ । यस्ता साहित्यकार, समाजसेवी, गीतकारको समाजशास्त्रीय चिन्तनमा आफ्नो अवधारणा राख्ने युवा साहित्यकार, समालोचकको जीवनी, साहित्यिक योगदान पनि अतुलनीय देखिन्छ । राजेन्द्र पहाडीसँग मेरो परिचय भएको करिव ५–७ वर्षमात्र भएहोला, यो पनि साहित्यिक क्षेत्रभन्दा कृषिक्षेत्रमा कृषि कार्यलाई अगाडि बढाउने क्रममा सीड नेपाल, पर्वतको कार्यालयमा चिनापर्चि भएको थियो र साहित्यिक अभिरुची राख्ने व्यत्तित्वको रुपमा चिनेको थिएँ । आजसम्मको अध्ययनमा उनले धेरै क्षेत्रमा आफूलाई उदाहरणीय रुपमा प्रस्तुत हुन सफल भएको पाएको छु । राजेन्द्र पहाडीका प्रकाशित कृतिहरुले समाज र सामाजिक क्षेत्रलाई अग्रसरता दिएको छ । उनको पहिलो कृति ‘महिला विरुद्ध हिंसा– एक सामाजिक विवेचना’– २०६६, हो भने दोस्रो कृति पनि ‘सामाजिक सर्वेक्षणका आधारभूत तरिकाहरु’– २०६७ हो । यसै गरी उनको तेस्रो कृतिका रुपमा ‘पर्वत साहित्य सङ्गम ः संक्षिप्त सिंहावलोकन’– २०६७ प्रकाशित भैसकेको छ भने ‘शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन’–२०६७, यतिखेर मेरो अगाडि छ । यसले समालोचनाको क्षेत्रमा अलग्गै महत्व दिन सफल देखिन्छ । राजेन्द्र पहाडीको चिनारीमा ‘सगुन’ का प्रधानसम्पादकको साथै उनको सम्पादनमा ‘समुदाय र सृजना’ त्रैमासिक, ‘कफी आवाज’ त्रैमासिक, ‘चौतारी’ त्रैमासिक, ‘बगैंचा’ स्मारिका बार्षिक– २ अङ्क, ‘बगैंचा दर्पण’ वार्षिक, ‘समाजकल्याण दर्पण’ वार्षिक, ‘आफ्नैकुरा’ साप्ताहिक रेडियो कार्यक्रम (उत्पादन तथा उद्घोषण, रेडियो पर्वत १०३.६ मेघाहर्ज) आदिमा रहेको छ । थोरै अवधीमै राजेन्द्र पहाडीका लेखरचनाले अग्रस्थान लिनुका साथै एकदर्जनभन्दा बढी पुरस्कार, सम्मान, प्रशंसापत्रले विभुषित गरिसकेको छ ।
अतः शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन लिएर समाजशास्त्रको आधारमा समालोचना क्षेत्रमा अग्रसरता देखाउनुभएका समालोचक समाजशास्त्रीय चिन्तन बोकेका समाजशास्त्रीको एउटा अनुकरणीय कामको प्रशंसा गर्नेपर्ने धारणा म मा पलायो । यस कृतिको सरसर्ती अध्ययनले एउटा नयाँ कामको थालनी भएको महशुष गरेको छु । अन्त्यमा कवि शान्तिनारायण श्रेष्ठ र उनका कविताको समालोचक राजेन्द्र पहाडीलाई धन्यवाद दिन चाहान्छु ।
(स्रोत : समकालिन साहित्य प्रतिष्ठान )