~रत्ननिधि रेग्मी ‘शुक्राचार्य’~
छन्दः शिखरिणी
गइन् आमा मेरी सबतिर अँध्यारो पनि भयो
जगत् यो चर्के झैँ धरमर भई जीवन गयो
लडे झैँ धर्ती भो दहन गहिरो खाडल परी
रुकेनन् यी आँसू नयन भल बग्दा घरि–घरी ।।१।।
बसेंथें गर्भैमा कति कति म ता जन्मपहिले
पिएँ धारा दुद्को जनमपछि ता मस्त अहिले
बढें, हुर्कें, खेलें अझ कति चलें काख रहँदा
दिएँ हूँला सास्ती उनिकन म त्यो बालक छँदा ।।२।।
कराएँ वा रोएँ अझ कति बिझाएँ मन पनि
लगाएँ वा घुर्की उस बखतमा बालक बनी
नजानी वा जानी–बुझिकन गरें भूल पहिले
पछूतो बुझ्दा भो मकन दिलमा शूल अहिले ।।३।।
क्षमा माग्ने मेरो मनसुब थियो, भार भवको–
तिरौंला लाग्दैथ्यो रिन पनि उसै जन्मभरको
नपाएँ मौकाले गुन अघि सरी तिर्न उनको
सबै भारा मेरै शिरउपरमा आज थपियो ।।४।।
थिएँ पैल्हे कच्चा चकचक गरी खेलिरहने
लुगाफाटा मैला जिउभरि घसी मस्त डुलने
सिँगाने सानो थें अबुझ अथवा मूर्ख दनुज
बनाइन् आमाले मकन अहिले सभ्य मनुज ।।५।।
जवानीमा कत्रो लिइकन ठुलो धाक हिँडियो
कसैलाई वास्ता नगरि दिनहूँ मस्त बढियो
थिएँ तन्नेरीमा घर पनि नबस्ने छिन–छिन
बराला बन्दैमा सब जुनि बिताएँ दिन–दिन ।।६।।
थिइन् आमा मेरी सकल युगको भार सहने
थिइन् योद्धाजस्तै समरपथको सार कहने
तपस्या ठूलो थ्यो मकन ममता–स्नेह दरिलो
थियो माया मैमा रसमय अहा ! काख भरिलो ।।७।।
समस्या धेरै थे तर पनि थियो स्नेह घरमा
अभावैमा सारा दिनजति बिते त्यो बखतमा
उज्यालो आमाको मधुर–ममता जीवन थियो
गयो सारा शोभा घर पनि उजाडैसरि भयो ।।८।।
कहाँ पाऊँ आमा ! सहजसित नै भन्न अब ता
कहाँ खोजूँ मैले असल उनको स्नेह–ममता ?
खरानी झै उड्दो वरिपरि सबै फुङ्ग हुन गो
कठै ! आमा मेरी प्रभुतिर गई लीन हुनु भो !।।९।।
नरोऊँ यी आँसू तप– तप गरी तप्किरहने
नसम्झूँ भन्दा झन् मनभरि व्यथा बल्झिरहने
कराऊँ एक्लै यो सघन–वनमा सुन्छ कसले ?
जलेको गाथा त्यो अमर उनको बुझ्छ कसले ? ।।१०।।
पिताको, माताको अझ कति भनौँ जन्म–थलको
बस्यो माया मेरो मुटुभरि यसै माझ मनको
कृपाले गर्दामा मकन जसको स्नेह थपियो
उनैलाई सम्झी नयन– रसिला आँसु भरियो ।।११।।
चिता दन्क्यो ज्वाला रवि–शशि डुबे झै दिन भयो
धुवाँ कालो–मैलो गगनतिर गै बादल बन्यो
बिलायो आत्मा त्यो धरणितलमा पार्थिव रह्यो
विनाआमा मेरो फगत टुहुरो जीवन भयो ।।१२।।
छन्दः शिखरिणी, गणः य म न स भ ल.गु., ६।६।५ मा यति
(द्रष्टव्यः कविता प्रकाशित गर्दा व्याकरणअनुसार नगरी जस्ताको तस्तै छाडिदिनु होला, ताकि छन्दभङ्ग नहोस्– ले.)
– महाकवि देवकोटा आश्रम, काठमाडौं ।
(स्रोत : घटना र विचार राष्टि्य साप्ताहिक – “इन्द्रेणी”)