कथा : अलग उपाय

~लेखनाथ काफ्ले~Lekhnath Kafle

मध्य तराईको एक जिल्ला, गाउँ बेलाहा।

२०५३ सालको आसपास। माघको अन्त्य तिर भएकोले होला, चिसो बिस्तारै घट्दै छ, सुर्य न्यानोबाट तातो बन्ने सुरमा छ। खेतमा अझै पनि बालीहरु छन, कतै रित्ता गराहरु पनि। तरकारी, दलहन, तोरी बालीले र रित्ता गराहरुले फाँट रंगी चंगी देखिएका छन। सफा बिहानी, हुस्सु-कुहुरो पनि छैन। शनिबार, केटाकेटीहरु खेलिरहेका छन। दुर दराज गाँउमा खेल्ने साधन नै के हुन्छ र? कोही रबरका गोलिहरु जोडेर खेल्दै छन। कोही, डोरी नाघ्ने, कोही भने पुरानो मोजा भित्र थोत्रा कपडाहरु भरेर बनाएको भकुन्डो खेल्दै छन्।

स-साना झुप्राहरुको बस्तिमा जम्मा जम्मी ४३ घर धुरी छन। बस्तिको माँझमा उपल्लो जातिका भनिनेहरु र बस्तिको बाहिरी फेरोमा तल्लो जाती भनिएकाहरुका घरहरु छन। अधिकांस उपल्लो जातिकाहरु ठुलो घर भएका र जमिन धेरै भएका छन। स-साना झुप्राहरु, पराल, खडाइ र लौराहरुका बारमा माटोले पोतिएका घरहरु प्रायजसो गरीबहरु र तल्लो जातिहरुका छन। त्यस्ता घरहरुका भित्तामा बनाइएका प्वालहरुले नै झ्यालका काम गर्छन।

कमै घरमा ढोकाका खापाहरु हुन्छन। खटिया ठड्याईए पछी ढोका हुन्छ। कुखुरा आँगनमा र अल्ली पल्तिर सुंगुरको खोर ति घरहरुका परिचय नै हुन। धनीहरु पक्का बिजुली बाल्छन, गरीबहरु कच्चा। पक्का भनेको मिटरवाला र कच्चा भनेको नांगो तारबाट अन्कुस लगाएर चोरेको बिजुली। यो कच्चा बिजुलीले कहिले ज्यान लान्छ, कहिले झुपडी खरानी बनाउछ। तर पनि मट्टीतेल किन्नु पर्ने र मिटरको बिजुली महँगो, त्यस्को साटो अन्कुस लगाइदियो, खेल खतम।

गाँउको बीचमा १०-१२ वटा पुराना आँपका रुखहरु छन। आज त्यही रुखहरुका मुनी बगैचामा पञ्च भेला बोलाइएको छ। काठमाण्डौमा बेबस्था जे जस्तो चले पनि गाँउ घरमा हुने भेलालाई अझै पनि पञ्च भेला नै भन्छन बेलाहाबाशीहरु।

कुमिनी देवी, लोग्ने जिते, छोरो रामा र दुवोटी छोरीहरु बेगनी र अचली पाँच जना एकातिर छन। बाँकी अर्को पट्टी। कुमुनी भुइँ तिर हेरेर टुक्रुक बसेकी छ। जिते उभिएर हजारी बा लाई हेरिरहेको छ।

हजारी बा को खास नाम रामजी प्रसाद शाह हो। बर्सौ पहिले, गाँउमा कुलो मर्मत गर्दा एक हजार चन्दा दिएपछी उनको नाम नै हजारी बा रहन गयो। कसैले हजारिया साहु पनि भन्छन उन्लाई।

“मेरी जहानलाई बोक्सी भनेर कुटपिट गरे, भन्नु न भन्नु भने, दिसा खुवाए। हाम्रो परिवारलाई अन्याय भयो हजारी बा। यो पञ्च भेलाबाट न्याय पाउ हजुर। गरीब भनेर हेप्न, दुख्ख दिन पाइदैन सर्खार” जितेले भन्यो।

“उसले र मैले हजुरहरुको मै हलो जोत्छौ, भाँडा माझ्छौ, खेत खलिहान, बस्तुभाउ सबैको हेर बिचार गर्छौ। हामीले हजुरहरुलाई दुख्ख दिएर त झन दुख्ख पो पाउछौ नि सरकार, हामीलाई अछुत, तल्लो जाती, दुखी भनेर हेपियो हजुर।” जितेले थप प्रस्टीकरण दियो।

“कुरा के हो रामकुमारी ?” हजारिया बाले अर्को पट्टी फर्केर ३०-३५ बर्षे महिलालाई सोधे।

रामकुमारीको माइती लगभग ६१ कि. मी. पर भारतको बरहियामा पर्छ। रामकुमारी गाँउ कै सिता राम प्रा। बि। मा सरकारी बिशेष कोटा मार्फत लोग्ने कै बिशेष पहलमा नियुक्ती पाएर बिगत तीन बर्ष देखी पढाउदै छीन। उनको घरमा त्यो जागिरको बिषयमा निकै टाकटुक चलिरहन्छ। रामकुमारीकी सासु र जेठानीलाई उनले साइकल चलाएर स्कूल गएको, अफिसमा मास्टरहरु सँग बसेर कुरा गरेको पट्टकै मन पर्दैन। उनिहरु सधैं जागिर छोड्न दबाब दिईरहन्छन। उसलाई लोग्नेको समर्थन न भएको भए, पढाउने रहर सपना नै हुने थियो। रामकुमारीका बा बरहियाका चल्ता पुर्जा नेता न हुँदाहुन र दाईजो प्रसस्त नल्याएको भए ससुरालाई पनि लोक लाजले छेक्ने थिएन।

“मैले केही गरेकी छैन। बरु अरुहरुले पिट्दै गर्दा मैले गएर छुट्टाएकी हुँ” रामकुमारीले भनी।

मलाई दिसा खुवाउनु पर्छ, नाँगै पारेर पिट्नु पर्छ भनेर तपाईंले नै भनेको होइन? कुमुनिले प्रतिबाद गरी।

“कुरा के हो? साँचो साँचो बताउ रामकुमारी, स्कुलको मास्टरनी जस्तोले झुट बोलेको राम्रो हुँदैन।” हजरिया बा ले अली कडा मिजाश देखाए।

रामकुमारी चुप लागी।

“त्यही कुमुनिले जादुटुना गरेर हाम्रो भैंसीले दुध घटाऊदै गयो” लछुमुनियाले मुख खोली।

“त्यसलाई देख्यो भने मेरो छोराको सातो जान्छ” रामप्यारीले थपी।

“त्यसले सैतानहरु लगाइदिएर मेरो कालो खसी बिरामी पर्‍यो” नथुनीले भनी।

“एक रात मैले त्यसलाई सपनामा देखे, भोलि पल्ट त मेरो पखुरा, तिघ्रा भरी निलो न निलो डाम नै डाम। त्यो बोक्सिले न टोकि कसले त्यस्तो गर्न सक्छ” जानकीदेवीले भनी।

“मेरा एक हल राँगाले राम्ररी पराल पनि खाएका छैनन। त्यो पनि त्यसैले आँखा लगाएर हो” रामबरणले पनि हो म हो मिलायो।

“मलाई एक दिन साह्रै रिंगटा लाग्यो। रामभरोश धामीकोमा गएर अक्षेता देखाए। तिन्ले कुमुनी बोक्सिका छौडाहरुले तिमीलाई घेरेकाले त्यस्तो भएको हो। छौडाहरु शान्त गर्न एउटा कालो भाले पोखरी मुनिको झुले मसानलाई चडाउन पर्छ, कुमुनिलाई मान्छेको दिसा खुवाउनु पर्छ। त्यस पछी तिमीलाई मात्रै होइन गाँउमा नै शान्ति हुन्छ भने। मैले यिनीहरु सँग कुरा गर्दा हुन्छ भने अनी हामी सबैले त्यसो गरेको हो” रामकुमारीले बल्ल साँचो बोली।

“यो सबको मूल कारण त्यही रामभरोस धामी हो। त्यसलाई यहाँ बोलाउनु पर्छ” भरत सरले बीचमै फ्याट्ट भने।

भरत सर रामकुमारी कै स्कुलमा पढाउने शिक्षक हुन। सधैं गाँउमा नयाँ कुरा गरेर गाँउलेहरुलाई हौसाउने भरत सरका कुरा गाँउलेलाई काट्न गाह्रो हुन्छ। शहरका कुरा, राजनीति, बिकास, सुर्य-चन्द्रमा, तारा, सबै कुरा आउछ उनलाई। कुन चाही पार्टीमा हो कुन्नी लागेको भनेर २-३ चोटि त पुलिसले पनि लगेकोछ उनलाई। पछी सरकारले प्रमाण पुराउन न सकेर छोडीदिनु परेकोछ। दुइ वर्ष अगाडी यो गाँउमा सरूवा गरिदियो सर्खारले। अनी उनी अहिले गाँउमा पढाउछन।

हजारिया बा लाई पनि भरत सर भेलामा आइदिए भने अली आड लाग्छ। गाँउमा भेला हुँदा भरत सर नभएमा हजारिया बा ले निकै खोजी निती गर्छन उनको। त्यसैले गाँउमा भेला हुनु अनी भरत सर नहुनु, आजकाल हुनै सक्दैन।

“ल तुरुन्त त्यो रामभरोशलाई लिएर आइजा, राम फुलावन” हजारिया बा ले आदेश गरे।

“म पनि जान्छु त्यसलाई लिन” भरत सर पनि रामफुलावन सँगै गए र लिएर पनि आए।

“बिहानै धोकेछ नि, हेर यस्तोले भनेको मान्ने कस्ता हुन” भरत सरले भने।

गाँउले सबै चुप्प लागे। हजारी बा र रामभरोशको सवाल जवाफ चल्यो।

कुमुनिलाई तैले बोक्सी ठहराएर मान्छेको दिसा खोवाउन भनेको हो?

हो।

त्यस्तो नचहिदो पनि गर्ने हो ?

नचहिदो होइन। त्यो त मेरो पेसा हो। कसैलाई बोक्सी न बनाए मैले कसोरी गुजरा गर्ने?

थुक्क बजिया, तँलाई पछी गाँउलेले थाहा पाए के होला भन्ने लागेन।

आज सम्म कसैले थाहा नै पाएको थिएन, यही भरत मास्टर आएर गाँउलेलाई भडकाएर मात्रै हो। परम्परा देखी चलेको कुरा यो मास्टरले भनेर हुन्छ?

हजारी बा र रामभरोशको सवाल जवाफ चल्दै थियो, भरत सरले कुरा काटे।

बोक्सी भन्ने हुन्छ कि हुँदैन?

हुन्छ पनि, हुँदैन पनि।

किन हुन्छ, किन हुँदैन?

माने हुन्छ, न माने हुँदैन।

कसले मन्छ, कसले मन्दैन?

उ चुप लागेर बस्यो। उसलाई पनि दोमन भयो। सही बोल्यौं की न बोल्यौं भयो, सही बोल्यौ भने आफ्नो पेसा पनि डुब्छ।

फेरी बीच मै हजारी बाले भने “जे हो त्यही भन, खास कुरा के हो? होइन भने शहरबाट पुलिस बोलाएर थुनाइ दिन्छु”। भरत सरको आड पाएर हजारी बाले आज अलि दरो कुरा गरे।

खासमा धनी मान्छे र तिनैका पछी लगेर अली अली खान पुग्नेले बोक्सी मान्छन। गरीब, दुखीले बोक्सी मान्दैनन।

उसो भए कुमुनीलाई बोक्सी केको आधारमा भनिस त?

“पहिला भर्खर बिहे गरेर आउँदा कुमुनी राम्री पनि थिइ। सबैको मेलामा फुर्तिले काम गर्थी। तल्लो जात भए नि माथिल्लो जातका लोग्ने मान्छेहरु समेतले कुमुनी माथि आँखा लगाउथे। त्यतिखेर, झुमरी भन्ने छोरा-बुहारीहरुले हेला गरेर घरबाट निकलिदिएकी कुप्री बुढीलाई सबैले बोक्सी भन्थे। कुप्री बुढी मरी। कुमुनी बुढी र रोगि पनि भई, काम पनि राम्ररी गर्न सक्न छाडी। कपाल कोर्दिन, नङ काटदिन, कपडा राम्ररी लगाउदिन। गाँउमा सबै भन्दा गरीब र दुखी पनि त्यसैको परिवार छ। त्यसलाई बोक्सी भन्दा पनि केही गर्न सक्दिन। त्यसैले त्यसलाई बोक्सी भनेर मैले भनेको हुँ।”

त्यस्तो पनि हुन्छ ?

हुन्छ, सबै गाँउमा यस्तै हुन्छ।

उसो भए बोक्सी त तिमीहरुले बनाउने रहेछौ नि अपराधीहरु।

बोक्सी कोही हुँदैन, मान्छेको विश्वास मात्रै हो। मान्छेहरुले नमानिदिए हामीले भनेर मात्रै केही हुने थिएन।

जिते र भरत सरले केही भन्नै थालेका थिए, हजारी बा ले अफ्नो विचार सुनाए।

“सबै कुरा थाहा भयो। ल जिते तैले के भन्छस। कस्तो सजाय दिने हो यिनीहरुलाई“ हजारी बा ले सोधे।

“कारवाही हुनै पर्छ, पंच भेलाले न्याय दिनु पर्छ, मेरी बुढीलाई लागेको आरोपको छानबिन हुनै पर्छ” जितेले पनि भन्यो।

“मेरी आमालाई बोक्सी भन्नेलाई यो समाजले न्याय न दिए मैले त्यसै छोड्दिन” यतिन्जेलसम्म चुप लागेर बसेको रामा अचानक रन्कियो।

“दोषी माथि कारबाही नगरे फेरी घटना दोहोरिन सक्छ। कारबाही हुनु पर्छ हजारी बा” भरत सरले आफ्नो कुरा राखे।

कुमुनी तेरो भन्नु केहि छ? हजारी बा ले कुमुनीलाई सोधे।

“म सँग साँच्चिकै तन्त्रमन्त्रहरु हुने भए, म किन यती गरीब हुन्थे र? मलाई दिसा समेत खुवाउनेलाई किन केही गर्न नसकी रोएर बस्थे र? यो दुनियाँमा गरीब, दुखी र बेसाहारा मात्रै बोक्सी हुँदा रहेछन। धनी भएको भए, मलाई कसैले बोक्सी भन्न सक्थ्यो र? तर पनि आज समाजले बोक्सी होइन भनिदिएकोमा मलाई पुग्यो। कसैलाई कारबाही गरे पनि भैसकेको कुरा मेटिदैन। मलाई यहि गाँउमा बस्नु छ, तपाईंहरुको मै काम गरेर जिबिका चलाऊनु छ, तपाईंहरु कै आँगनमा मेरा छोरा, छोरीहरु हिंड्नु पर्छ। भैगो, जे भयो भयो। अब फेरी यो गाँउमा कसैले मेरो जस्तो दुर्गती बेहोर्न न परोस। मेरो भन्नु त्यत्ती हो। ढुक्कले यही गाँउमा बस्न पाउँ। कुमुनीले आज बडो ढुक्कका साथ आफ्न कुरा राखी।”

“कुमुनीले पनि राम्रै कुरा गरी, यो चोटीलाइ सबैलाई माफ गरिदिउँ। अब पुराना कुरा बिर्सिएर नयाँ कुरा गरौ” हजारी बा ले निर्णय सुनाए।

आज भरत सरलाई हजारी बा को निर्णय चित्त बुझेन। तै पनि विरोध पनि गरेनन। उनी केही न भनी हिंडे, जिते र उसको परिवार पनि उनकै पछी लागेर हिडे। गाँउलेहरु केहि बेर एक आपसमा खासखुस गरी रहे। भेला त्यत्तीमै टुंगियो।

दिन बित्दै गए, जिते र उसको छोरो रामा त्यस दिन देखी गाँउमा देखिएनन।

एक दिन गाँउमा खबर आयो, जिते र रामा त त्यतिबेलाको सरकारले भन्ने गरेको आतंककारी पार्टिमा भर्ती भयो रे।

न भन्दै एक दिन बन्दुक बोकेको एक लस्कर बेलाहा गाउँ पस्यो। त्यसको भोलि पल्ट केहि बेलाहाबाशीहरु शहर पसे, त्यो जमातमा रामकुमारी मास्टरनी र रामभरोश धामी पनि थियो।

(स्रोत : Mysansar.com)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.