~दिपेन घिसिङ्~
दृष्टि ऐनाभित्र सज्जिएको सुइटरमा ठक्क अडिएपछि त्यसलाई घरमा नल्याइ बस्न सकेको थिइनँ। त्यसको रूप-सौन्दर्यदेखि आँखा अर्कोतिर तर्केर दगुर्न सकेको थिएन। लट्ठू मन बनिएछ त्यतिखेर। घर फर्किएपछि त्यसको सौन्दर्य बजारका गल्ली-गल्लीमा चिहाइरहेका आँखाहरूबाट ओझेल भइसकेको थियो। आत्मिक सुखका रेखाहरू अनुहारमा बारम्बार प्रतिबिम्त भएको महसुस स्वंय गर्दै थिएँ। भनौँ, मेरै छात्तिमा टाँसिएर त्यसले आफ्नो सौन्दर्यको ढोल पिट्दैथ्यो डुङ डुङ डुङ। थर्केर उर्लेका लहर अथवा तरङ्ग नै गालाका मझधारबाट सन्तुष्टिको आकासतर्फ हल्कासित उड्दैथ्यो। अझ यसो भनौँ- ठण्डीको सिस्नु पोलाईले हतारसाथ न त्यसलाई शरीरबाट निकालेर राख्न सकिराकोथेँ। न मनको राप मारेर त्यसलाई ओछ्यानभित्र आफूसँगै सुताउन सकिराकोथेँ। बस्! अहिले ठण्डीको मौसममा भने त्यसको खुब स्मरण भइरहेछ। मेरी अर्धाङ्गीनीसँगै त्यसले पनि मेरो शरीरसँग अङ्गालो हालेर सुतिदिएको भए हुन्थ्यो कि ! भन्ने लाग्दैछ।
किन भनेर सोँच्दै हुनुहुन्छ होला ? सुन्नुहोस् ! त्यो ऐनाभित्र सज्जिएको सुइटरले आँखाका परेलीलाई नखुम्चिने गरि आकर्षित पारिरह्यो। विपरित दिशातर्फको ध्यान भङ्ग पारिदिइ रह्यो। चेतनामा त्यही सुइटर नलिनबाहेक अर्को विकल्प केही सुझ्न सकेन। त्यसपछि सरासर दोकानभित्र पसेँ। तन-मन त्यसैको केन्द्रीयतामा परिक्रमा गरिरह्यो। खल्तीबाट पसिनाको झोल निचोरेर निकाल्नमा त्यसले मशिनझैँ काम गर्न थाल्यो। भावुकता र सम्प्रेषनीयता मिसाएर दोकानदारले त्यसको गुण फलाक्न लागेपछि अझ म त्यसप्रति विव्हल बन्दै गएर धुपौरेमा रूपान्तरित भएछु। धुपौरेको कुरैमा सम्झना हुँदैछ- म साना छँदा मामाले मन्दिरभित्र पूजा गर्दा झ्याम्टा र घण्टी बजाउनु हुन्थ्यो र मलाई त्यस्तै साना आकृतिका झ्याम्टा बजाउनु दिनुहुन्थ्यो। कोही बेला स्यालो नचाउनुहुँदा त्यही ठूलो झ्याम्टा झ्याम् झ्याम् ठोक्न दिनुहुन्थ्यो। मन्त्र फलाक्दै गरेको समय आँखा र हातको इशाराले धुपौरोमा सुक्पाधुप जोत्न लगाउनु हुन्थ्यो। महाकाल बाबादेखि नाग-नागेनी, बोक्सी-डायिनी हुँदै तैँतिस देवी-देवताका लयदार भाका झ्याम्टाको आवाजसँगै कानमा गुञ्जिँदा मनमा एकप्रकारले शान्तिको अनुभूति सञ्चार हुन्थ्यो। म मख्ख परेर हुँला मामाको मन्दिर जात्रामा सँधै जाने भएँ। घरकाहरूले पछिपछि मलाई धुपौरेको संज्ञा दिएरै बोलाउन थाले। तर मेरो लागि धुपौरेको अर्थ धुप बाल्न सघाइ दिनुसम्ममात्र सीमित थियो। उमेरको यस भञ्झ्याङमा आइपुग्दा भने धुपौरेको अर्थ अलि खकुलो पार्न सकिरहेको छु। धुपौरे भनेको धुप बाल्न सघाइ दिने व्यक्ति मात्र रहेनछ। बरू ! रानोको पछि हिँडिरहेने कालो मौरीजस्तै, नेताको पछि च्याप्लुसी ताक्दै हिँड्ने गतिछाडा कुकुरजस्तै र दिशा नै चाटुँला गर्ने गुरूभक्त शिष्यजस्तै व्यक्तिहरू धुपौरेको खास चिन्हारीमा पर्दारहेछन्।
दोकानदारी गर्ने मान्छे बोल्छन्- बाहिर देशबाट भर्खर आएको यो सुइटर। यसको नरम स्पर्शले दार्जिलिङको चिसोलाई काट्छ। मोटापन र सौन्दर्यका कुरा त तपाईँ देखिरहनु भएको छ। हेरेँ, देब्रे छाती नजिकैमा अङ्ग्रेजी शब्दको ट्याटू खोपिएको रहेछ मेरै पाखुराका कालजयी ट्याटूजस्तै। दार्जिलिङको ठिहिऱ्याइमा त्यस्ता ट्याटूहरू के कामका लागि ? ठण्डीको कारण यहाँ सुइटर, ज्याकेट, कोटजस्ता बाहिरी पहिरन हरहमेशा गोजीमा खुद्रा पैसाझैँ बोकेर हिँड्न पर्छ। न्यानोपनको यसै प्रक्रियामा शरीरका भित्री अङ्गहरूमा बनिएका ट्याटूहरू अदृश्य भएर बस्न वाध्य बन्छन्। अदृश्यताको टोपीभित्र गुम्सिएर बस्नलाई सायदै यस्ता ट्याटू बनिएका होइनन्। त्यसैले हिजाज तरूण-तरूणीहरू ट्याटू पाखुरा, छाती, नितम्बतिर होइन गर्धन, छेपारीतल्तिर र हातका औँलीहरूतिर कोरेका हुन् कि !दोकानदारको सुइटरमाथिको गुणगाणले मेरो मन हऱ्यो। मनले रूचाएको वस्तुमाथि मूल्यको के सार ? तथापि कहिले काहीँ मूल्यले आकास छोएर धर्तीको मजस्ता मान्छेलाई समात्ने प्रयत्न गर्दा भागिदिन कर लाग्छ। भनौँ घाँटी हेरेर हड्डी निल्नु पर्ने स्थितिप्रति सचेत म बन्छु। त्यसै हिमालको चुचुरा नाघेर आकासको छाती छुने दार्जिलिङको बजार व्यवस्था छ। झनैँ एउटै वस्तु वरिपरि आफ्नो मनलाई एक डल्लो पारिबस्दा दोकानदारले ग्राहकको ल्याकतको गन्ध नसुँघ्ने होइनन्। बजार व्यवस्थाबारे के लाग्छ भने दार्जिलिङमा जुनै थोकको व्यापार गर्दा पनि हुन्छ। पचासको भावलाई पाँचसय र पाँचसयलाई हजार-पन्ध्रसयको भावमा बिकाउनु सक्यो भने पनि बिक्छ। बस् ! शब्दको मोहजाल बुन्न खप्पिस् हुनुपऱ्यो। हाम्रा जाति त्यसै भावनाको सास फेर्ने जाति। क्रय-विक्रयमा कसैले भावनाको पनियूँ पस्किए भने सह्दय हाम्राहरू झुक्छन् भन्ने कुरा त नौलो रहेन अब। नत्र बाढीझैँ उर्लेको अस्तित्वको दीर्घकालीन आवाज झण्डा फेर्नेहरूले भावनामा आएर बेच्दैन्थ्यो होला हगि !
अँ ! त्यो सुइटरको वरिपरि नै मेरो मन टोलाइ रह्यो। सौह्र सय पचास त्यसले आफ्नो मूल्यको लेबल घुच्चुकमा टाँसेर बसेको रहेछ। दोकानदारले त्यसको घुच्चुकमा झुण्डिएको लेबर नबुझेझैँ गरेर हेऱ्यो र भन्यो- पन्ध्र सयमा लैजानुहोस्। सोँचे- एकहोरो ग्राहकलाई त सुनको बेच-बिखनमा पनि यति नाथे सय रूपियाँहरू घटाइ दिन्छन्। फेरि यो सुइटरले न सुनको इज्जत बेहोर्न सकोस् न पछि गएर साट्न पावोस्। अहँ ! लाँदिनँ। ठ्याक्कै लाँदिनँ।अर्को दोकानतिर अग्रसरित हुन लागेका मेरो मन र पाइँतलालाई हजार रूपियाँको सिँढी लगाएर दोकानदार अघि उभियो। त्यसै त बार्गेनिङ धेरै मन नपराउने मान्छे हुँ। मन परेको सुइटर नै हो फेरि। छातीमा खोपिएको ट्याटूले मसँग अघि सम्झौता गरिसकेको छ। त्यसको रूप सौन्दर्यको बखान नगरूँ। बाटाबाटै मोहनीको डोरीले बाँधेर दोकानभित्र भित्र्याइ दिइसकेको छ। अर्को दोकान चहार्दा फेरि नयाँ पोलेसी सुन्न पऱ्यो। नयाँ मूल्यको लेबललाई पत्याउनु पऱ्यो। फेरि बार्गेनिङको हाउडे गेम खेल्न पऱ्यो। दिकदारीपूर्ण परिवेशसँगै समयको कटौति। त्यहीँ त्यो सुइटर पहिरिएर हजार रूपियाँ दिइ घर फर्किएँ।
न्यानोपनको अनुभूति प्रदान गर्दैछ त्यसले अहिले जाडोमा। जाडोको सम्झानामा तर त्यसलाई किनिदिएको थिइनँ। कलेजमा जिन्ससँग टाइट् भेस्ट-ज्याकेटमात्र कत्ति लगाउने; कोही बेला फर्मल प्यान्टमा यस्ता सुइटर लगाइदिँदा अरूको नजरमा साहित्यिक देखियोस् भन्ने मात्र थियो। साहित्यिक यसकारणले कि साहित्य पढ्नेहरू भड्किलो पहिरनमा भद्धा देखिन्छ रे। झन् साहित्यको पछ्यौरी पक्रेर हिँड्नु पर्ने म मान्छे; कस्तो असुहाउँदो ? देखिन्छ होला त्यतिबेला कुन्नि! जे सुकै होस् त्यो सुइटर लाएर मैले एउटै तस्वीर खिँच्न पाएको छैन। प्रेमिकालाई मालरोड परिसरदेखि धरानको भानुभक्त चौकसम्म भेट्न जाँदा कहिले त्यसको साथ पाइनँ। मख्ख परेर खिँचेको तस्वीर फेसबुकका मित्रहरूलाई गर्वसाथ देखाउनै सकिनँ। वर्थडे, एनीभर्सरी र अन्य कार्यक्रममा कहिले त्यसलाई लगाएर देखाउन सकिनँ। कुनै वार-रेस्टुराँतिर साथी भाइअघि चेस गर्दै त्यसको ट्याटूको चर्चा कहिले गर्न पाइनँ। विचारा सुइटर! त्यसको पनि के दोष ? दोष त मेरो छ जसलाई साँच्चिकै विदेशी सुइटर सम्झेर हजार रूपियाँ हालेँ। मै बुद्धु। मै लद्दु। दोकानदारको त के कुरा। हाँस्नु जान्नु पनि कला हो; कोसँग, कसरी हाँस्नु पर्छ त्यो जानिएन भने रोएको बराबर हुन्छ भनेजस्तै ढाँट्नु जान्नु पनि कला हो। कोसँग कसरी ढाँट्नु पर्छ त्यो जानिएन भने ढाँड भाचिन्छ। यहाँ ढाँड सुइटरसँगै मेरो पनि भाँचिएको छ। अनि रह्यो कुरा सौन्दर्यको। त्यसको सौन्दर्य भनेको लाली धसेका तरूणीका खस्रो गालाजस्तो जो बाहिरबाट हेर्दा मात्र रातो-पिरो देखिने। त्यसका भित्री पुर्जाहरू कालो साबुनको एक धुलाईमा शिथिल बनेको छ। घिच्रो लत्किएको छ। हात-गोडा पोलियोग्रस्त नानीको जस्तै भइदिएको छ। बेकम्मा ! एकदम बेकम्मा !!
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)