~विमला तुम्खेवा~
मेरो जीवन
राम्रोसँग देश देख्न नपाउँदै
चुलो सम्हालेर जुग बित्यो ।
बिहे गरेर यो घर आएपछि
ससुराको हेराइ
सासूको रातदिनको टोकसा
बात–बातमा कुटाइ
लोग्नेको हरेक रातको बलात्कार
सबै सम्झ्ँदा
अरुणको भेल जस्तै आँसु आउँछ ।
नानी,
मेरो बिहे हुँदा
संसार उज्यालो देख्थेँ
फुलेको गुराँस जस्तै…
उमेरले डाँडा चढ्नै लाग्दा
म,
एक्लो भएको छु ।
घरले
खाएर म बूढी भइसकेँ
घर जस्ताको त्यस्तै छ
छोरो
यो घरको मालिक भएको छ
थाहा छ,
घर बनाउँदा मेरो रगत पसिना भएर बगेको छ ।
तर,
घर कहिल्यै मेरो भएन
म, कहिल्यै यो घरको हुन सकिनँ ।
बूढा मरेकै ठीक भो
बाँचुञ्जेल कम्ती सास्ती दिएन
मर्न सकिएन
अपमान सहेर कति बस्नु ?
यस्तो घर के घर ?
अब,
अर्को र बनाउने सुरमा छु
नानी
मेरो कथाको पनि कविता लेख्नु है !
(स्रोत : हिमाल खबर))