~मोहनराज शर्मा~
नन्दलाल आचार्य (२०३०) मोफसलमा साधनारत युवा साहित्यिक प्रतिभा हुन् । उनको जन्म उदयपुरमा भए पनि उनले राजविराजलाई कर्म थलो बनाएका छन् । उनी राजविराजमै रहेर शिक्षण र साहित्यलेखन दुवै गर्छन् । शिक्षण उनको पेसा हो भने साहित्यसिर्जना उनको सोख हो । पेसा र सोख दुवै नै वाक्सँग जोडिएको हुँदा उनले यी दुवैमा उपयुक्त तालमेल राखेको देखिन्छ । शिक्षक भएर साहित्यकार हुनु अथवा साहित्यकार भएर शिक्षक हुनु भनेको दोहोरो जिम्मेवारी बेहोर्नु हो । उनी दुवै क्षेत्रमा कर्मठ देखिन्छन् ।
साहित्यका विविध विधामा कलम चलाउने नन्दलाल बहुमुखी प्रतिभा भएका व्यक्तित्व हुन् । उनी साहित्यका सबैजसो विधामा सिर्जना गर्न सक्षम भएकाले एकाङ्की, नाटक, कविता, कथा, निबन्ध, समीक्षा आदिको रचना गरिरहन्छन् । विभिन्न विधामा देखिएको उनको यस संलग्नताले उनमा प्रशस्त रचनात्मक ऊर्जा छ भन्ने जानकारी पाइन्छ । उनको पुस्तकाकार नाट्यकृति ‘युग उचाल्ने अक्षरकर्मीको अवसान’ (२०६७) प्रकाशित भइसकेको छ । यो नै उनको पहिलो प्रकाशित पुस्तकाकार कृति हो ।
नेपाली साहित्यका उनले प्रवेश २०५४ मा कविका रूपमा गरेका हुन् । त्यसैले उनको पहिलो रचना पनि ‘कवि देवकोटा’ (२०५४) शीर्षकको छन्दोबद्ध कविता रहेको छ । नन्दलालको पहिलो रचना उपर्युक्त कविता भए पनि उनलाई सबैभन्दा मनपर्ने विधा चाहिँ निबन्ध हो । उनको पहिलो निबन्धको प्रकाशन २०६२ मा ‘हड्बडिएका मनका अक्षरहरू’ शीर्षकमा भएको छ । त्यसपछि उनले आफ्ना सिर्जनात्मकताको विशेष उपयोग निबन्धका क्षेत्रमा गर्दै आएका छन् । यसैको परिणाम ‘इच्छुक–बकपत्र’ नामक प्रस्तुत कृति हो, जसमा समाजमा व्याप्त विसङ्गतिहरूलाई मार्मिक ढङ्गमा साक्षात् पारिएको छ ।
‘इच्छुक–बकपत्र’ नामक यो पुस्तक नन्दलालका बीसवटा निबन्धहरूको बिटो हो । सबै निबन्धहरू निजात्मक, आत्मपरक र साहित्यिक पाराका छन् । उनले प्रत्येक निबन्ध आफ्नै किसिमको पत्रात्मक ढाँचामा लेखेका छन् । पत्र भएपछि त्यसमा कसैलाई सम्बोधन गरिएको हुन्छ । ‘इच्छुक–बकपत्र’मा सङ्कलित प्रत्येक निबन्धमा कसै न कसैलाई सम्बोधन गरिएकै छ । रचना सम्बोधनात्मक हुनाको तात्पर्य त्यो कसैप्रति उद्दिष्ट हुनु हो । जुन रचना जसप्रति उद्दिष्ट हुन्छ उसैलाई माध्यम बनाएर सबै कुराहरू भनिएको हुन्छ । यस प्रकारको प्रस्तुतिमा आत्मीयता, निकटता र विश्वसनीयता हुन्छ । यी विशेषता प्रस्तुत सँगालामा पनि प्रशस्तै पाइन्छन् ।
यसमा सँगालिएको पहिलो निबन्ध ‘इच्छुक–बकपत्र’मा परिचित महोदयलाई सम्बोधन गर्दै राजनैतिक बेथितिले कलमजीवीको पौरखलाई अवमूल्यन गरेको देखाई एक लेखकले आफ्नो स्पष्टोक्ति सार्वजनिक गर्ने माध्यम पत्रलाई बनाएको कुरा देखाइएको छ । लक्ष्मीलाई सम्बोधन गरिएको दोस्रो निबन्धमा महँगी र अभावका कारण प्रेम गर्ने समय नरहेको गुनासो तुकबन्दीयुक्त लयात्मक भाषामा गरिएको छ । तेस्रो निबन्ध पुण्य कार्कीलाई सम्बोधन गरी कुरो बङ्ग्याएर अरूलाई फँसाउनु हुन्न भन्ने तथ्य आत्मविवरणात्मक ढङ्गमा व्यक्त गरिएको छ । चौँथो पत्र शिक्षा सम्बन्धी भएकाले शिक्षकज्यूलाई सम्बोधित छ । यसमा कस्तो शिक्षा दिने र कस्तो नदिने भन्ने विषयको आकर्षक प्रस्तुति रहेको छ । शिक्षा विषयकै पाँचौं निबन्धमा प्रिन्सिपललाई सम्बोधन गरी विषयको प्रस्तुति हास्यव्यङ्ग्यात्मक ढङ्गमा गरिएको छ ।
लेखकज्यूलाई सम्बोधन गरेर लेखिएको छैठौं निबन्धमा दाइजो प्रथालाई मुख्य विषय बनाइएको छ । अभिभावकज्यूप्रति उद्दिष्ट सातौं निबन्धमा शैक्षिक प्रशासनका विसङ्गतिहरू छर्लङ्ग्याइएको छ । फेरि लेखकज्यूलाई सम्बोधन गरिएको आठौं निबन्धमा लेखककै समस्या दर्साइएको छ । यसमा विशेष गरी प्रकाशनसम्बन्धी समस्या र पारिश्रमिकको अभावको मुद्दा जोडतोडका साथ उठाइएको छ । नवौं निबन्धमा प्रिय मित्रलाई कुरा सुनाउने काम गरिएको छ । यसमा अति प्रेम गर्नु हुँदैन, किनभने अति प्रेमले क्रोध र क्रोधले मृत्यु निम्त्याउँछ भन्ने सन्देश प्रसारित गरिएको छ । दसौँ निबन्धमा नगररक्षकलाई सम्बोधन गर्दै भ्रष्टाचारलाई प्रमुख विषय बनाइएको छ । यसमा घुस लिनेभन्दा घुस दिने ठूलो अपराधी हो भन्ने मान्यता अघि सारिएको छ ।
एघारौँ लेखमा पाठकबृन्दसँग बात मारिएको छ । यसमा लेखक जन्मन्छ, मर्छ, तर उसका कृतिको सुरक्षा पाठकले गर्नुपर्छ भन्ने कुरो सुझाउँदै निबन्धकारले वर्तमानमा पाठककै अभाव रहेको तथ्यतर्फ संकेत गरेका छन् । देशलाई सम्बोधन गरिएको बारौं निबन्धमा देशकै खराब अवस्थाको चित्रण रहेको छ । यस निबन्धको समाप्ति कविताबाट गरिएको छ । तेरौं निबन्धमा शिक्षक साथीलाई सम्बोधन गरी शिक्षा र शिक्षकको दशा एवं दिशाबारे प्रकाश पारिएको छ । चौधौँ निबन्धमा महाशून्य नामक पात्रको रचना गरी ऊ जस्तै बन्ने चाहना व्यक्त गरिएको छ । बेनामलाई सम्बोधन गरिएको पन्ध्रौं निबन्धमा सुविधाको दुरूपयोग नगर्न भनिएको छ ।
नेतालाई सम्बोधन गरेर लेखिएको सोरौं निबन्धमा भागबन्डे नीतिउपर व्यङ्ग्य कसिएको छ । यसमा ‘मीठोमसिनो आफ्नो भागमा पार्ने रणनीति लिनू’ भनेर नेतामाथि चोटिलो प्रहार पनि गरिएको छ । चेलीलाई सम्बोधित सत्रौं निबन्धमा असफललाई दुत्कार्ने प्रवृत्तिको दुष्परिणाम देखाइएको छ । मैथिली भाषी एउटी चेलीलाई माध्यम बनाई यसमा शैक्षिक विसङ्गतिले ल्याएको त्रासद अवस्थाको भावपूर्ण चित्रण छ । अठारौं निबन्धमा सखडादेवीलाई सम्बोधन गरी धार्मिक विसङ्गतिको चित्रण गरिएको छ । जागिरदातालाई सम्बोधन गरिएको उन्नाइसौं निबन्धमा चालीस वर्षको उमेर पार गरेपछि जागिर नपाइने कुरामा गुनासो गरिएको छ । अन्तिम बीसौं निबन्ध प्रधानमन्त्रीप्रति उद्दिष्ट छ र मधेसका नेताहरूको कैरन देखाइएको छ ।
सालाखाला भन्नुपर्दा उपर्युक्त सबै निबन्धहरूमा निजात्मकताको गहिरो छाप छ । प्रायः जसो निबन्ध ‘म’को कथन भएकाले निजी अनुभूतिको अभिव्यक्ति विश्वसनीय भएको छ । निजात्मकताका कारण निबन्धहरू मौलिक बनेका छन् । निबन्धकारको निजी अनुभूतिका कारण विभिन्न निबन्धहरूमा सामान्यतया भिन्नाभिन्नै स्वाद उत्पन्न भएको छ ।
यसमा शिक्षासम्बन्धी निबन्धहरू बढी भए पनि निबन्धकारले विविध विषयलाई अँगाली आत्मदृष्टिकोण र आत्मनिवेदनको प्रक्षेपण गरेका छन् । आलङ्कारिक भाषा, कलात्मक भनाइ र मार्मिक प्रस्तुतिका कारण सबैजसो निबन्धहरू प्रभावपूर्ण भएका छन् । कतिपय रचनामा व्यङ्ग्यको प्रयोग गरी तीब्र कटाक्ष हान्ने काम पनि गरिएको छ । यसमा सङ्कलित निबन्धहरूमा भाषाशैली, विषय र उद्देश्यको तालमेल मिलेको हुँदा ती सार्थक र सफल रूपमा संरचित छन् । यसमा परेका सबैजसो निबन्धहरू मार्मिक, भावनात्मक र मन छुने खालका छन् । हरेक निबन्धमा समसामयिक यथार्थको सुन्दर अभिव्यक्ति रहेको छ । निबन्धकारको अभिव्यक्ति शिल्प सह्रानायोग्य छ ।
अन्त्यमा, निबन्धकार नन्दलाल आचार्यको सिर्जनाका क्षेत्रमा यसैगरी निरन्तर प्रगति हुँदै जाओस् भन्ने कामना व्यक्त गर्दै म आफ्नो भनाइ टुङ्ग्याउँछु ।
मोहनराज शर्मा
सङ्गम बस्ती, ट्याङ्ला
कीर्तिपुर–३, काठमाडौं
फोन : ४३३११७२
(प्राध्यापक मोहनराज शर्माले नन्दलाल आचार्यको निबन्धसंग्रह‘इच्छुक–बकपत्र’को लेख्नुभएको भूमिका)
(स्रोत : माझेरी डट कम)