कविता : राजधानी

~अकेला यात्री~akela-yatri

यो राजधानीको साँघुरा कोठाहरूबाट
यी नानीहरूलाई ठूलो चौरमा पु¥याएर
कहिले भेट्नु हामी दुई जना एकान्तमा धित मारेर
मध्यराति ढोका ढकढकिन्छ
एकाबिहानै लुगा पनि लाउन नपाई
घरबेटीले– ढोका ढकढकिन्छ
प्रायशः मलाई स्वतन्त्रता
र सौहार्दता बाँच्न मन लाग्छ
तर यो साँघुरो कोठामा ठुलो स्वरले बोल्न मिल्दैन
ठुलो स्वरले हास्न मिल्दैन
उमङ्गमा नाँच्न पनि मिल्दैन
र त यो राजधानीमा
मेरो संवेदना आँखाबाट निसास्सिएर
छातिमा जम्दछ ।

प्रत्येक दिन यी फोहोर गल्लीहरूमा
बिहानदेखि बेलुकीसम्म कुकुर भुक्छ
रातभरि कुकुर भुक्छ
खबर गर्दछन् अखबार, रेडियो र टेलिभिजनहरू–
रातभरि कुकुर भुक्छ
यद्यपि सबैलाई भ्रम छ
कि यहीँबाट हुने गर्दछ स्वतन्त्रताको वकालत
यहीँबाट हुने गर्दछ सुरक्षाको प्रत्याभूति
र यहीँबाट हुने गर्दछ कानुनी शासन ।

आँगनमा हरियो भ्रष्टचारी कृतिमता उमारेर
पहरेदार सिपाहीहरूद्वारा घेरिएर
एअरफोन र माइक्रोफोनमा जोडिएर
आफ्नै छायासँग तर्सिहिँडेको एउटा मान्छे
जबर्जस्त केन्द्रबाट भाषण गर्दछः
सुशासनको सिद्धान्त ।

मेरो भनाइ छ –
यो राजधानी भत्काऊ
निरङ्कुशताको राजधानी
यी दुषित गल्लीहरूलाई सफा गर
यी फोहोरलाई फालिदेऊ
यही फोहोरले छेलेको
यहाँबाट परसम्म देखिने कुनै सुन्दर दृश्य छ
सुन्दर फाँटहरू छन्,
सुन्दर पहाड छ
र अग्ला हिमालहरू छन् ।

अकेला यात्री
मंगलटार–२, खोटाङ
akelayatri37@gmail.com

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.