कविता : जाउँ हिँड सुन्तली-ओलाङ्चुङ गोला !

~ध्रुबकुमार सापकोटा~Dhruba kumar Sapkota

रात भरी भरी
गल्ली गल्ली बाट
भुस्याहा कुकुरहरुको
अट्टहासले
मेरो निदलाई तर्साउँछ
खै सुन्तली, त्यो स्याल कराएको आवाज ?
झिस्मिसे हुनु धेरै पहिले देखि
रातको प्रथम प्रहर सम्म
मोटरगाडीको कोलाहलले
मेरो कानमा झ्याम्टा बजाइरहन्छ
खै सुन्तली , ती पंक्षिहरुको कलरव ?
बिजुली अनि टेलिफोनका तारहरुमा बसी
मरन्च्याँसे कागहरु अलाप गाउँछन्
खै सुन्तली, रुखको हाँगामा बसेर
मिठो गीत गाउने कोइली ?
शहरको मुटुमा थोपरिएको
उफ्फ !
त्यो सिनोखानी डम्पिङ साइट
आफ्नो छातीमा
बूढो गिद्ध र चिलहरु उडाइरहेको देख्छु
खै सुन्तली ,
त्यो हरियो ब्रिछमा बसी प्रेमको गीत गाउने ढुकुर ?
दुब्लाएर फिस्टो भए जस्तो लाग्छ ति मन्दिरका सरणर्थि परेवाहरु
खै सुन्तली , ति आकाश ढाक्ने परेवाहरुको बथान ?
वाँदरहरुको मलिन अनि पहेँलो मुहार
जन्डिस लागेको रोगी जस्तो देख्छु
खै सुन्तली , ति रातामुखे हेर्दै डरलाग्दा बाँदरहरु ?
परै बाट ह्वस्स गनाउने
कयौँ दिन देखी नबिकेर
घ्याम्पामै सडेको पातलीले बनाएको जाँड जस्तो
थुईया बागमतीको पानी !
खै सुन्तली, त्यो स्वछ हराभरा बागमती ?
बडेमानका ट्रक , बस , कार कुदाउने
खुब आधूनिक अलकत्रे सडक
छेउमा बालुवा खानि
अनि
धुलोको कुइरिमंडल उडाउने
लाखौं मोटरगाडी कुदाउने
मन्त्री – प्रधानमन्त्री अनि राष्ट्रपतीको
सवारीका नाममा सडक जाम
घण्टाघर देखि भद्रकाली सम्म
दुई घण्टा लगाउने
मृत्‍यु बोकेको एम्बुलेन्स
जीवन खोज्दै अस्पताल तिर कुद्दाकुद्दै
जाममै परमधाम !
खै सुन्तली, त्यो पैदल – साइकल – बग्गी – टाँगा गाडी ?
खै त्यो खुल्ला सडक ?

गल्ली गल्ली – सडक सडक
ठूला ठूला महल
बिजुली अनि टेलिफोनका तारहरुले जेलिएका
घरघरको छतहरु आपसमा जोडीएका
एक घरले अर्को घरको सौन्दर्यलाई छेलीएका
पत्थरको जङल भएछ काठमाडौं
खै सुन्तली, त्यो सुन्दर – शान्त कान्तिपुरि नगरी ?
लाखौं मानिसहरु
करोडौँ प्यास
विचरो खानेपानी संस्थान
छेपारोले मुते जस्तो धारा
बेसरम सरकार !
खै सुन्तली, ती ढुंगे धाराहरु ?
चामल मिसाएका ति सेता गिर्खा ढुङ्गाहरु
दाल मिसाएका ति काला कन्कडबालुवा
दूध मिसाएको त्यो सेतो पानी
खै सुन्तली , त्यो पूरानो राजधानी ?
धुलो थिएन , धुँवा थिएन
कोलाहल थिएन
अहिले जस्तो बेहाल थिएन
मानिसहरु मानिस थिए यहाँ
अहिले जस्तो कपट – छल थिएन
धुलो , धुवाँ , तुवाँलोले आकाश छोप्छ आजकाल
खै सुन्तली ,
त्यो सुन्दर गणेश हिमाल देखिने दिन कहाँ गयो ?
भयो , पुग्यो, थाकियो काठमाडौं
धेरै दु:ख चाखियो काठमाडौं
जे होला होला
जाउँ हिँड सुन्तली
ओलाङ्चुङ गोला !
कोइलीको गीत सुनुँला
भेडीको उनको सुइटर बुनुँला
खरको छानो छाउँला
ढिंडो र गुन्द्रुक खाउँला !
भयो – पुग्यो काठमाडौं !
जाउँ हिँड सुन्तली – ओलाङ्चुङ गोला !

ध्रुव कुमार सापकोटा
द नेदरल्यान्डस् हाल – काठमाडौं

(स्रोत : मधुपर्क २०७३ पुस)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.