~रत्ननिधि रेग्मी ‘शुक्राचार्य’~
लाग्दैथ्यो जब यो बहत्तर नयाँ वैशाख मैह्ना सुरु
धर्ती नै नरमाइलो बनिदियो भूकम्प पर्दा अरू
जाँदा बाह्र गते त्यति जब बज्यो सारा जिमी हल्लियो
भत्के गाउँहरू भकाभक सबै आश्चर्यजस्तो भयो ? ।।१।।
हल्लायो कति जोड–तोडसितले धाँजा जिमीमा परी
धुवाँ बादलभैmँ बन्यो सगरमा आँधी उठ्यो बेस्सरी
हेर्दा पूर्ण थियो वसन्त ऋतुको शोभा बनी आउँदै
भो एकैछिनमा महाप्रलयको आगो खरानी हुँदै ।।२।।
काभ्रे, सिन्धु र सिन्धुली अझ गयो गोर्खा तथा धादिङ
रामेछाप र दोलखा र रसुवा, झापा र ताप्लेजुङ
ढुङ्गाओखल भत्कियो अझ निकै हान्दा नुवाकोटमा
हल्लायो अति काठमाडौं मुलुकैको राजधानी यहाँ ।।३।।
साना बालक वा जवान नभनी ती वृद्ध–वृद्धा लग्यो
सुत्केरी महिला, अनाथ, टुहुरा सारा सखापै ग-यो
भागाभाग हुँदा परे कतिजना किच्दा घरैले मरे
बाँकी प्राण हुने थिए तल परी जो च्यापिएरै मरे ।।४।।
कैयौँका घर भत्किए चरचरी चर्के क्षतिग्रस्त भई
लाखौँको जुनी अन्धकारमय भो आधार बाँच्ने नभई
सारा गाउँहरू बगेर पुरिए माटै हरायो कता
ठूलो शोक परी महाविपत्मा मान्छे भए बेपता ! ।।५।।
लीला हो यदि दैवको भनुँ भने उल्टो कसोरी भयो ?
आफैँ सृष्टि विनाशमा प्रकृति यो साम्ने खडाझैँ भयो !
सुन्दामा पनि यो भयानक व्यथा को सुन्न सक्ला र खै !
हेर्नेकै मन आत्तिएर कसरी त्यो बाँच्न सक्ला र खै ! ।।६।।
मर्नेमा समवेदना भनुँ भने मर्दै रहे जीवन
बाँच्नेमा शुभकामना दिउँm भने बाँचिन्नझैँ भो मन
यो दोधार परेर भित्र कविता फुर्दैन गाँठे किन ?
भित्रै त्रास पस्यो, बस्यो बसिरह्यो पर्दा पराकम्पन ।।७।।
हाम्रा दाजु र भाइ को कति परे माता, पिता, बालक
ज्ञाताज्ञातहरू मरे जतिजना के भन्नु मैले अझ
बाँचेका यसबाट घायल भई फर्की बिताउन् जुनी
सारामा समवेदना प्रकट होस् यै दिन्छु श्रद्धाञ्जली ! ।।८।।
– महाकवि देवकोटा आश्रम, काठमाडौं ।
(स्रोत : घटना र विचार राष्टि्य साप्ताहिक – “इन्द्रेणी”)