~गंगा पौडेल~
रानीवनमा थुप्रै खरायोहरु बस्थे । तिनीहरु जहाँ जाँदा पनि समूह बनाएर हिंड्ने गर्थे । त्यो समूहमा सेतु नाम गरेको खरायो अरु सबैभन्दा चलाख र बुद्धीमान थियो उसले जङ्गलमा चाहार्दा कतैबाट खतरा हुने देखेमा तुरुन्तै आफ्नो समूहलाई खबर गरि हाल्थ्यो ।
एकदिन एउटा स्यालले सेतुलाई देखेर भन्यो “ए फुच्चे ! तँ के गर्दैछस् । यो जङ्गल मेरो हो भन्ने तँलाई थाहा छैन।
खरायोलाई फुच्चे भनेको पटक्कै मन परेन । तैपनि नबोली कुटु कुटु दुबो चपाई रहयो ।
ए ! फुच्चे मैले भनेको सुनिनस् स्यालले फेरि फुच्चे भनेपछि खरायोको कनशिरीका रौ ठाडा भए । रिसले आँखा देखेन त्यसपछि जङ्गीएर स्याललाई झपारेर भन्यो “तँ फुच्चे, तेरा दाई फुच्चे, तेरी दिदी फुच्चे, ठूलो छु भन्दैमा अरुलाई हेपेर नबोल बुझिस ? रह्यो कुरा रानीवन तेरो भन्नेमा मलाई कत्ती पनि विश्वास लाग्दैन । किनभने रानीवन यहाँ भएका सबै जनावरहरुको साझा थलो हो । पूर्खाको धरोहर हो । त्यसोभए पछि मेरो पनि भयो नी !
खरायोको कुरा सुनेर स्याललाई खपि नसक्नु भयो । उसले झपार्दै भन्यो “बढ्ता बोल्छस फुच्चे ऐले एकै गाँस पारिदिन्छु अनि ।”
“ए ! उघो मुन्टे कति फुच्चे फुच्चे भनिराछस, आइजा तँ र म डौडी खेलौ । उ त्यो जङगलको माझमा भएको दत्तीवनको फेदलाई जसले पहिला छुन्छ । त्यो रानीवन उसैको हुन्छ बुझिस् ?
स्याललाई आफुभन्दा सानो जन्तुले उघेमुन्टे भनेर नाम राखेको सुन्दा उठ्न सम्म रि उठ्यो तैपनि रिस नदेखाई सेतुलाई फकाएर भन्यो हामी डौडी खेलेका हेर्ने दर्शक पनि त चाहियो नी तिम्रा वाआमालाई पनि बोलाउन ।
स्यालको बठ्याई सेतुले बुझि हाल्यो र मनमनै भन्यो “ मलाई भेट्टायो भने यसले बाँकी राख्दैन अझ बा आमा समेत खाने दाउ गरी राछ यल्लाई नहराई छोड्दिन ।”
उता स्यालले पनि मनमनै भन्यो “त्यो जावो फुच्चेको मासुले मेरो आन्द्राको एकछेउ पनि भरिदैन । यसका बाआमा पनि भेटे भने टन्न आहार पाउँछु ।”
खरायोले फेरि भन्यो “मलाई फुच्चे भनेको कत्ती मन पर्दैन सेतु भनेर बोलाउन ।
ए भैहाल्छनी मलाई पनि उँधो मुन्टे नभन । त्यस्तो नाम अहिलेसम्म कसैले राखेका थिएनन् स्यालले भन्यो ।
चलाख सेतुले स्याललाई छक्क्याउने दाउ खोजिरहेको थियो उसले छत्तीवनको रुखतिर देखाएर भन्यो “अहिले एकछिनपछि हाम्रो डौड सुरु हुनेछ । जित तिम्रा नै हुनेछ । तिम्रो जित हेर्न म मेरा बा आमा लगाएत जङ्गलका अरु साना जनावरहरुलाई पनि बोलाएर ल्याउँछु एकछिन आँखा चिम्म गर त म तुँ गए तुँ आँए स्यालले आँखा चिम्म गरेर मनमा अनेक कल्पना ग¥यो । फुच्चेलाई डौडमा हराउनसाथ सबैभन्दा पहिला त्यसैलाई समातेर क¥याप कुरुप चपाउँछु । त्यसपछि उसको बाआमालाई खान्छु । पेटभरी हाल्छ । बरु ति अरु जन्तुलाई के गर्ने होला ? अँ साँच्ची आएका जति सबैलाई मारेर एकैठाउँमा थुप्रो लाउँछु भोलि, पर्सि निकपर्सि धेरै दिन सम्म मलाई आहार खोज्ने झञ्झट परेन क्या मज्जा ।”
आँखा चिम्लेर धेरैबेर सम्म उभिदा स्यालको खुट्टा गलेर आयो । त्यसपछि सेतु सेतु भनेर बोलायो । उ बोलेको जङ्गलले मात्र सुन्यो । आफ्नो बथानमा पुगिसकेको सेतुले सुनेन । आखिरमा स्यालले खरायोसित डौडी खेल खेल्नै नपाई खेल मैदानमा हारेको खेलाडी झैं लुरुक्क परेर गयो ।