कथा : गुमनाम आप्रवासी

~लेखनाथ काफ्ले~Lekhnath Kafle

टोक्यो, जापान

आगत खाटमा पल्टेर बाहिर हेरिराखेको छ, सानो झ्यालबाट। त्यो कोठाको झ्याल भन्नु नै त्यही एउटा सानो प्वाल हो, सालाखाला २ फीट चौडाई र ३ फीट लम्बाइको। खै के जस्तो डिजाइन हो, बाहिरबाट जाली लगाएको छ, दुइवटा शिसाका खापा दुई मध्य एउटा खुल्छ, अर्को स्थिर छ। किन स्थिर छ कुन्नि, बनाएकै त्यस्तै हो कि। थाहा छैन, त्यो पत्तो गर्ने चासो नि छैन। आज यो झ्याल नेर बस्ने मौका मिलेर मात्रै, नत्र झ्यालका खापा हेर्ने फुर्सद कहाँ हुने हो र उसलाई।

“कस्तो सिरेटो चलेको हो आज” आगतले मनमनै सोच्यो। एक जोड्दार सिरेटोकोको हप्को फेरि पस्यो खापाबाट। यो हिउदको बेला हो। त्यसैले बाहिर चिसो पनि त्यत्तिकै छ। होला ११ डिग्री जती तर मनमा भने छटपटी छ। के को हो के को यो छटपटी, यसले साह्रै अस्थिर बनाउछ उसलाई। आज उसलाई त्यो सिरेटो पनि कस्तो आफ्नै लागेको हो कुन्नी, एउटा भित्री गन्जी लगाएर झ्याल अगाडि बाहिर हेरेर बसेको छ। सिरेटोलाई छुन, अनुभव गर्न।

“उता घरमा भएको भए? आमाले भट्ट (भटमास) र मकै भुट्ने थीन। अदुवा र मरीच राखेको चिया सँग बैनी पुतली, भाइ बान्के र बा हामी तीनै जना अगेना नजिकै आमाले मकै भट्ट भुट्दै गरेको थात्मै बसेर खाईन्थ्यो।“ फेरि एक ह्ल्को सिरेटो आयो, यसपाली भने उसको जीउमामा काँडा नै उठाएर गयो। “मरीच अदुवा हालेको चियाको गन्ध मेरो वरिपरि किन आइराखेको छ, यो तृष्णा त होइन?” आगतलाई फेरि घरको, गाँउको झझल्कोले छोप्यो।

“ति अवस्था त त्यही छन, म मात्रै बाहिर परे।“ उ गुल्मी नै पुग्यो, घरमा, अगेना मै। टोक्योमा पनि उही हिउँचुलीको याद, तिनकै सम्झना। उसलाई बाटुलीले मोजामा भुल्ला कपडा कोचेर बनाएको भकुन्डो खेल्न बोलाएको जस्तो लाग्यो। “आहा, हामी राज्य जित्ने घुना खेलेका ति दिनहरु!” फेरि उत्तैको याद। “बाटुली कस्ती भए होली साच्चै, बुटवल झरी होली, अब त क्याम्पस पढ्न पो थाली की ?“ आगतलाई सिरेटोले साँच्चिकै गाँउ मै पुरायो।

हिऊ परे पछि त टोक्यो झन चिसो हुन्छ। तर ति साकुराका बोटहरु भने सेताम्मै हुन्छन। “गाँउमा हिउँ चाँही कहिल्लै परेन। तर उता अर्जुन डाँडा र रेशुंगा डाँडामा भने बर्षेनी छपक्क पर्थ्यो हिउ। गाँउमा हिउ नपरे नि सिरेटो भने हिउँचुलीबाट सोझै मुटुमै पस्ने गरी आउथ्यो गाँठे” उस्ले यताको चिसो सिरेटोलाई पनि उताकै सिरेटो सँग जोडजाड गरी राखेको छ।

यताको सिरेटो सँग उताको सिरेटोको के तालमेल मिथ्यो कुन्नी? फेरि सिरेटो त संसार भरिमा हजारौं ठाउँहरुमा चल्छ, किन यहाँकोलाई त्यहाँको सँग जोडेको होला? उसैले जानोस, शायद नजानेको पनि हुन सक्छ। खाली काकताली परेको पो हो कि?

आज मंगलवार, त्यसैले फुर्सद छ उसलाई। शुक्रबार देखी आईतवार सम्म त उसलाई त्यो झ्याल त्यहाँ छ भन्ने सम्झना पनि हुँदैन। एउटा भारतीय रेस्टुरेन्टमा काम गर्छ ऊ। हरेक महिनाको पहिलो र तेस्रो मंगलबार विश्वबिद्यालयमा कक्षा हुँदैन र हरेक मंगलबार रेस्टुरेन्ट पनि बन्द हुन्छ। आज चिसो सिरेटोले गर्दा बाहिर कतै जान पनि मन लागेन। बाहिर पनि जानु भन्नु मात्रै हो पैसा कै खर्च। उसले मंगलबारको लागि पनि काम खोजेको खोजै छ। खै के न के ले तारतम्म्य मिली राखेको छैन।

ढोका तिर खत्र्याक खुत्रुक आवाज आयो। लागत आइपुगेछ।

“यती छिटो त जाला भन्ने थिएन गयो यार” लागतले अली सांकेतिक हुने जसरी बोल्यो र खाटमा बस्यो।

“गयो त के भो, अर्को पाइन्छ नि” आगतले पनि त्यस्तै पारामा उत्तरायो।

“२-४ दिन खोज्नु पर्छ, पाईन्छ। त्यो चिरन दाइलाई भन न। अली कती कमिसन दिनु पर्ने त हो, खोजिदिहाल्छन नि” आगत अली बुज्रुक बन्यो अहिले।

आगत र लागत बुटवलमा पहिलो चोटि भेट भएका हुन, एउटै प्लस टु कलेजमा। आगत बुटवलमा ११-१२ कक्षा साईन्समा पढ्न गुल्मीबाट झरेको थियो। लागत बा आमा, भाइ, बैनी र दिदी सहित ५ बर्ष जती पहिले तराइ झरेका हो, अर्घाखाँची बाट। त्यती खेरको दोहोरो लडाईंको चपेटामा उनीहरुको दोकान पनि पर्‍यो। एक दिन दिउसो २ जना मान्छेहरु चाउचाउ किन्न आए। भोली पल्ट ति चाउचाउ त्यती बेलाको सरकारले टाउकोको मोल तोकेका जङल तिरका निशाचरहरुलाई बिक्री गरेको आरोपमा जिल्लामा तारेख लगाइदिए। पछि थाहा भयो, आफ्नै छिमेकी दोकानदारले प्रतिस्पर्धामा उत्रन न सकेर आफ्नो प्रतिस्पर्धीलाई तह लगाउन त्यस्तो ब्यूह रचेका रहेछन। त्यो थाहा पाए देखिन लागतका बा साह्रै दुःखी भए। उनलाई लाग्यो अब यो गाँउमा आफ्नो भन्ने कोही रहेन। किनकी ती दोकानदार अरु कोही नभएर आफ्नै ठुलो बाउका छोरा, भाइ नै थिए। त्यसको ६ महिनामा दोकान तिनैलाई बेचेर, जमीन घर अर्कैको जिम्मा लगाएर बटौलि (बुटवल) झरे उनीहरु। अनि बटौलिका साहुहरु सँग ऋण धन गरेर फेरि एउटा किराना पसल सुरु गरे। अझै पनि त्यही दोकानले दाना पानी चलाऊदै छ। उता पहाड तिर भने त्यत्तिकै छ।

प्लस टु पास गरे पछि ती दुबै कसो कसो गरेर एउटा दलालको सम्पर्कमा आए। त्यो दलालले चिरन दाइलाई मान्छे खोजिदिने गर्दो रहेछ। त्यसले तिनी दुबैहरुलाई यसरी संझ्यायो कि, तिनिहरुले सपनामा पनि जापान नै देख्न थाले। त्यसकै चक्करमा बि. स्सी. पढ्ने लन्ठा तिर पनि लागेनन। जापान गयो, पैसा लुढ्यायो। के को पढाई, के को डिग्री। पैसा भए सबै थोक आउँछन, त्यही लाग्यो। विभिन्न तिकडम लगएर चिरन दाइले पनि जापान झिकाए, तिनिहरु आए २००७ को मध्यतिर। टोक्योको महंगीमा एक्लै बस्नु भन्दा २ जनाले एउटा कोठा लिएर बस्दा पैसा बच्ने भएकोले उनीहरु सँगै भएका हुन। संगै यता आएका, त्यस माथि पनि पुराना साथी पनि भए, त्यसैले पनि उनीहरु सँगै भएका हुन।

चिरन दाइको नेपालमा जापानी भाषा सिकाउने स्कुल छ। भाषा त एउटा बहाना मात्रै हो, त्यसै मार्फत नेपाली युबा युबतिहरुलाई जापान पठाउने काम कुरा मिलाउछन। भाषा स्कुलमा कहिले काही जापानबाट नेपाल घुम्न जाने जापानीहरुलाई लगेर देखाउछन पनि, एक-दुई दिन भोलेन्टियर पनि गराउछन। त्यसबाट उनलाई ग्राहकहरु पाउन सजिलो भएको छ। नेपाली ७-८ लाख लिएर विद्यार्थी भिसा वा कुनै कन्फेरेंसका लागि जापान छिराउछन। जापानमा आइसके पछि पनि ३०० अमेरिकन डलर वा मासिक ३० डलर एक बर्ष सम्म तिर्ने गरी कमिसन दिएमा जागिर पनि खोजी दिन्छन।

उन प्रति विभिन्न मानिसको आ-आफ्नै धारणाहरु छन। कसैले मानब तस्कर पनि भन्छन, कसैले दलाल, कसैले परामर्सदाता त कसैले समाज सेवी। धेरैका पैसा डुबाइ दिए पनि आगात र लागत तिनै चिरन दाइको मध्यमबाट यता छिरेका हुन। ति दुई जनाको जापान छिर्ने सपना तिनैले पुरा गरिदिए, ७-७ लाखमा।

लागत एउटा फ्राइ चिकन स्टोरमा काम गर्थ्यो। उसले भान्सामा कुखुराका बडे बडे टुक्राहरुलाई मशलामा मिसाएर राखिदिनु पर्थ्यो। त्यो कुनै केन्टुकी चिकन वा माक्डोनाल्ड होइन, बरु जापानीहरुको आफ्नै मशला र पकाउने तरिकालाई बैज्ञानीकिकरण गरेर कुखुरा भुटेर ग्राहकहरुलाई बितरण गर्ने स्टोर हो। यो पनि आँफैमा एउटा चेन स्टोर हो,”निप्पोन चिकेन” जापान भरी नै।

लागत त्यही स्टोरमा काम गर्‍यो करीब १.५ बर्ष, घण्टाको १२ डलर, दैनिक ४.५ घण्टा, साताको ५ दिन। पार्ट टाइम काम। त्यो पनि कानुनी हो कि गैर कानुनी उस्लाई थाहा भएन, त्यसको खोजी निती पनि भएन। तर उस्लाई लाग्छ कानुनी नै हुनु पर्छ, किन भने चेन स्टोरहरुमा फ्याक्टोरीहरुमा जस्तो सस्तोमा गैर कानुनी कामदार राख्ने चलन छैन।

दुबै जना खासमा विद्यार्थी भिसामा आएका हुन, त्यसैले एउटा प्राइवेट विश्वबिद्यालयमा भर्ना पनि भएका छन। रातिका कक्षाहरु छन उनीहरुका। दिउसो पढ्न नपाईने भएर होइन। खासमा दिउसो नै हो धेरै जसोले पढ्ने। दिउसोका धेरै जसो कक्षाहरु अङ्रेजीमा हुन्छन तर रातीका कक्षा सबै जापानीमा। दिउसो काममा ठिक्क, रातिमा थकाई लाग्ने, त्यसैले उनीहरुको पढाई धूकुर-धुकूर चली राखेको छ, सिरेटो चलेको रातमा मट्टितेल सकिन लागेको ढ्याब्री (टुकी) जस्तै। एउटा समस्या छ उनीहरुलाई हाजिरी रेकर्डको, त्यो पुरा भएन भने भिसा नबिकरणमा समस्या आउनेछ।

“त्यो पनि ठिकै छ, पढ्न थोरै आएको हो र ७-७ लाख खर्च गरेर। पैसा कमाउने हो, भिसा नबिकरण नभए लुकौला, के को चिन्ता चिरन दाइ छऊन्जेल“ उनीहरु ढुक्क छन।

“फेरि त्यै ७ लाख संझियो। बा, आमाले के गर्दै होलान? त्यो सानो किराना पसलले के धान्थ्यो र नेपालको महंगी, भाइ बैनाको खर्च, ७ लाखको ब्याज” आगतलाई छटपटी भयो फेरि। लागत अझै पनि त्यही झ्यालको खापाबाट बाहिर हेर्दै रहेछ।

आजकल, जब छटपटी हुन्छ, ऊ बियर खोज्छ, जापानी बियर “आशाही” ७-८ क्यान पिउछ र डङरंग पल्टिन्छ कोठाको भुँइमा। अर्को दिन त फेरि उही दैनिकी छदै छ। उसले त्यस्तरी बियर पिउन लागेको धेरै भएको छैन, ५-६ महिना मात्रै भयो।

बिदेशिएका औसत नेपालीहरुको जे जस्तो कथा पटकथा हुन्छ, उसको पनि त्यस्मै फीट हुने खालको कथा नै छ। सुरु शुरुमा खुब उत्शाह हुन्छ, काममा लगान हुन्छ, पढाई पनि जसो तसो धानीएकै हुन्छ। तर जब जब दिन, महिना र बर्ष बित्छन, अनि त्यसले ल्याउछ एउटा निराशा, खल्लोपन र उदाशी। घरबाट पैसाको आशमा गरिने, ईमेल, फोन र खबरहरु, पढाईमा अरुको भन्दा बिग्रेको रीजल्ट, कामको बोझ र पैसा बचाउन गरेका उपायले पनि आश गरे जती काम नगर्नाले ति सबैले समग्रमा एउटा एकिकृत कुरुप रुप लिन्छन। त्यो कुरुप आकृती सपना, बिपना, अगाडि पछाडि चारै तिर बाट अनेक भेषमा आइ नै रहन्छ, सताइनै रहन्छ।

धन्य छ नेपालीहरुको शहनशिलता। उदाशीको अन्तिम घडी सम्म पनि संघर्ष गरिरहन्छन, सम्पन्न हुने आशामा, राम्ररी घर पुग्ने आशामा। तर बिडम्बना, धेरैले त्यो निस्कन नै नसकिने दलदलमा फसेको ढिलो भए पछि मात्रै चाल पाउछन। यो यस्तो एकतर्फी बाटो हो जहाँ पस्न त सकिन्छ, फर्किदा दुर्घटना नहुनु असम्भव संयोग मात्रै हो भने अझ अगाडि जानु भनेको अझ कठीन, काला घुम्तिहरुको नजिक पुग्नु मात्रै हुन्छ। अती कम नै ति सबैलाई झेलेर सफलतामा पुगेका हुन्छन। कती होलान त्यस्ता सफल हुनेहरु? निकै थोरै। कतिपयलाई त नेपालको दुखलाई सुखमा बदल्न परदेशिनु नै दु:खको अझ ठुलो महासागरमा पस्नु जस्तै हुन्छ।

उता नेपालमा घरका मान्छेहरुलाई पनि के थाहा ? बिदेश भनेको त पैसा को कारखाना नै हो जस्तो पारी दिएका छन दलालहरुले।

अस्ती फोनमा बा ले बिस्तारै भने लागतलाई “हेर, ठुले, घरको हालत तँलाई थाहा छ्दै छ, मन लगाएर काम गर्नु, यताको चिन्ता सुर्ता नलीई काम गर्नु, घर-व्यबहार मैले हेरेको छु। बरु के कती हुन्छ, टाइम टाइममा हुन्डी गरिदिए नि हुन्छ। ब्यान्कबाट पठाउदा कमिसन काट्ने, लिन पनि गाह्रो। के गर्ने, हामी सबै तेरै भरमा छौ अब त। यता दिनहु हुने बन्दले ब्यापार पनि राम्रो छैन। भाइ बैनी हुर्के, फिस उस्तै महँगो। आमाको आजकाल दम बढेको छ। खाली तेरै कुरा गर्छे।” त्यो शनिबार साँझ लागतले “आशाही” बेसरी पियो। भोली पल्ट उठ्नै सकेन। बिहान काममा गएन। दिउसो गएको थियो। म्यानेजरले के के भन्यो भन्दै थियो। आज त काम बाटै निकाली दिएछ।

आगतका बा र आमा दुबै त्यस भेगका अगुवा कृषक हुन, उनीहरुले आफ्नो जग्गा र भाडामा जग्गा समेत लिएर आलु, काउली, बेमौसमी तरकारी र जडिबुटीको खेती गरेर गाँउमै बसेका छन। छोरा छोरीहरुले पनि बा आमालाई सहयोग गर्छन्, खेतिपातिको काममा। त्यसैले ब्याज र ऋणको त्यस्तो साह्रै रन्को छैन उनीहरुलाई। खाली गाँउ-घर, छर-छिमेकका सबै बिदेश तिर हान्निएकाले र आगतले पनि साह्रै जोड्बल गरेकाले मात्रै छोराको रहर पुर गर्न जापान पठाएका हुन उनीहरुले। फेरि जापानबाट बेसरी नै कमाएर ल्याएमा तल मधेशमा अली अली खेत जोड्न सकिने आश पनि थियो घरमा। छोरालाई फोनमा पनि राम्ररी पढ्न र आफ्नो शरिरले भ्याएको मात्रै काम गर्न भनी रहन्छन,आगतका बा आमा। यो मामलामा लागत भन्दा आगातको अवस्था बलियो छ।

२००८ सालको अन्त तिरबाट विश्व आर्थिक मन्दीले जापानलाई न राम्ररी थिचेको छ। धेरै ठुला ठुला कारखानाहरु बन्द भैराखेका छन, कोही बन्द हुने तयारीमा छन। बन्द नभएका कारखानाहरुले पनि कामदारहरु घटाऊदै छन। त्यसैले कामदारहरुमा निकै ठुलो दबाब छ। कुन दिन जागिर जाने हो त्यसको केही ठेगान छैन। त्यसै पनि जापानमा आत्महत्याका घटनाहरुको रेट धेरै नै छ। त्यस माथी यो आर्थिक मन्दीले त जापानी समाजमा आत्महत्या झन झन बढी नै राखेको छ।

“यो महिना मात्रै जापान भरिमा १५०० जनाले आत्माहत्या गरेछन नि” लागतले भन्यो।

“यो मंदीले हामीलाई समेत छोयो। कहिले सम्म तन्किने होला यो, कहिले काही त हामी यहाँ बेकारमा आएजस्तो लाग्दैन तँलाई” लागतले सोध्यो।

“लाग्न त लाग्छ तर फर्कने कसरी। कुन अनुहार लिएर जाने हो घर। फेरि ऋण तिरेर नै सकिएको छैन, कमाउने-बचाउने कुरा त त्यत्तिकै भो। अहिल्यै जाने बिचार नगरौ“आगतले आफ्नो बिचार सुनायो।

“हेर न, टोक्यो आएर नि यस्तो कोठामा बस्नु परेको छ, नेपालमा बरु सुखी थियो जीवन” आगतले फेरि थप्यो।

त्यो दिन र राती अबेर सम्म नि उनीहरु कुरा गरी रहे। पूराना कुरा, भाबी योजना, फिलिम, बजार, युबती, जागिर, पढाई, राजनीति, संगीत लगायत संसार भरिका सबै बिषयमा कुरा भए।

त्यस्तैमा हप्ता हुँदै महिना दिन बित्यो। लागतको जागिरको खबर चिरन दाइबाट पनि आएन। इन्टरनेटमा खोज्न नै जानेन, सबै जापानी भाषामा हुन्छ। अरु हरुलाई भनेको, त्यता तिरबाट पनि केही राम्रो खबर आएन। बरु घरबाट बा को फोन आयो। आगतको भारतीय रेस्टुरेन्टको काम भने चल्दै गयो।

एक दिन लागत कोठाबाट केही कपडाहरु लिएर गयो, कुनै साथीकोमा केही दिन बस्ने भनेर। त्यस दिन देखी आगतले लागतलाई विश्वबिद्यालयमा पनि देखेन, कोठामा पनि भेटेन। उसको मोबाईल बन्द रैछ, पटक पटकका प्रयासहरु काम लागेनन। चिरन दाइलाई सम्पर्क गर्दा थाहा नभएको कुरा बताए।

एक महिना पछि लागत अचानक कोठामा झुल्कियो।

“म अब दबिए साथी, म नेपाल जान्न, नेपालबाटै आउने कत्रा कत्रा खेलाडी, कलाकार, पत्रकार, लेखक, नेता, कार्यकर्ता र अरु हरु पनि दबिएकै छन। मैले पढ्न पनि छाडिदिए, एउटा फ्याक्टोरीमा लेबरको काम पाएको छु। म त्यतै लाग्छु। तिमीले आफ्नो बारेमा सोच्नु। यता आउँदाको ऋण र २-४ पैसा अरु कमाएर बल्ल घर जाने बिचार गर्नेछु।” लागत त्यत्ती भनेर आफ्न बाँकी समानहरुको पोकाहरु बनायो। आगतले सामानहरु ट्याक्सीमा राख्न मद्धत समेत गर्‍यो। लागत ट्याक्सीमा चढेर गयो। आगतले त्यो पहेलो ट्याक्सी पर सम्म हेरी रह्यो, केही बेरमा नै त्यो आगतको नजरबाट अलप भयो।

त्यस पछि लागत कता गयो, के गर्दै छ, केही पत्तो भएन।

आगतले पनि पढाई पुरा गर्न त सकेन तर यता आउँदा लागेको ऋण तिरेर, घर जाने भाडा, घरका आफन्तलाई केही कोशेली किन्ने रकमको जोगाड गरी सके पछि नेपाल फर्क्यो।

आज भोली लागत बुटवलमा नै छ। जापानमा हुँदा भारतीय रेस्टुरेन्टमा काम गरेको अनुभव छदै थियो, त्यसैलाई उपयोग गर्दै अहिले बुटवलमै एउटा ठिकैको रेस्टुरेन्ट चलाएर बसेको छ। पढाई पनि साथै चल्दै छ। ऊ बेला बेलामा लागतको घरमा पनि जान्छ।

लागतकी आमा दमको करणले नै बितेको पनि २ महिना भैसक्यो।

आगत एक दिन बिहानै आफ्नै रेस्टुरेन्टमा बसिरहेको बेला एउटा राष्ट्रिय दैनिकको समाचारमा उसका आँखा झ्यापै परे “टोक्यो मेट्रोको लिगमा परेर एक जना नेपालीको मृत्यु, सनाखत हुन बाँकी।”

ऊ झल्यास्स भयो, उसका वरीपरि टोक्योका ति दिनहरु, आगत सँग बिताएका संघर्षका ति अमीला-धमीला दिनहरु सर्सर्ती आए।

उसले कामना गर्यो, त्यो लागत नहोस्, कुनै हालतमा नहोस्।

आज एक बर्ष पुरा भयो लागतकी आमा बितेको। आजकाल लागतका बा पनि मानशिक रुपमा निकै कमजोर भएका छन। आगतलाई सोधी राख्छन लागतको बारेमा। लागत भने कहाँ छ, के गरिराखेको छ, केही पत्तो छैन, न चिट्ठी न खबर। शायद ऊ हामी बीचमा छैन पो कस? थाहा छैन।

प्रिय पाठक, कामना गरौ त्यस्तो कहिल्यै नहोस्। यसपालिको दशैं अगाडि नै लागत टुप्लुक्क घरमा आइपुगोस, सञ्चै, राम्रै।

-लेखनाथ काफ्ले, ताइवान

(स्रोत : Mysansar.com)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.