व्यङ्ग्य : आलुचना जस्तै स्वादिलो आलोचना

~केपी शर्मा~K P Sharma Oli

अनामनगरका होटेलहरुमा खाजामा धेरैको आलुचना लोकप्रिय छ । त्यसमा पनि यहाँ इलामेली वहिनीले पकाएको आलुचनाको स्वाद नै भिन्नै । त्यसमा लसुन, जिरा फुराएको र कागतीको ताजा रस हालिएको हुन्छ । त्यहाँ खाने सबैको जिब्रोमा स्वाद झुण्डिएको हुनुपर्छ । जसले त्यहाँको आलुचनाको मजा लिएको छ, त्यहाँ फर्कीफर्की आइरहन्छ । अनामनगरका अन्य होटेलहरु र अन्यत्र पनि आलुचनाको व्यापार मजैसँग चलेको छ ।

आलुचनाको व्यापार चम्किए जस्तै आलोचनाको ग्रहण शक्ति, आत्मसातीकरण पनि अनामनगरको पर्खाल पारि सिंहदरवारमा पहिलाभन्दा ह्वात्तै बढेको छ । आलुचना र आलोचनामा भिन्नता देखिन छाडेको छ । आलुचना स्वादले खाइन्छ र आलोचना स्वादले पढिन्छ, देखिन्छ र सुनिन्छ । दुवैमा कडापन भने चाहिन्छ । आलोचनामा मन्त्रीहरुको तडकभडक अनि आफ्नै प्रतिबद्धता विपरीत चल्दा गरिने विरोध वा आलोचनामा हुने मजा त झन् अर्कै हुन्छ । त्यसमा चर्चित होइन्छ । शक्तिशाली ठहरिइन्छ । सर्वहारा वर्गको राजनीति गरेर मन्त्री बन्नेहरुले समयअनुसार चल्दा झुत्रेझाम्रेहरुको आँगनमा आएनन्, उनीहरुको पक्षमा काम गरेनन् भनेर कसैले आलोचना गर्छ भने त्यसमा गर्व गर्नुपर्छ । सन्तोष मान्नुपर्छ । इलामेली होटेल्नी वहिनीको आलुचनाको स्वाद जस्तै मीठो मानेर खान र पचाउन सक्नुपर्छ । नयाँ परिवेशमा चल्न नसक्ने अव्यावहारिक, जडतावादीको आलोचना हो यो ।

आलुचना खानेको वर्ग छैन् । पिजा, बर्गरहरुजस्तै अलि पैसावालाले मात्र खाने खाजा होइन आलुचना । तर, आलोचनाको वर्ग हुन्छ । कुन वर्गले कसको हितमा कुरा, काम ग¥यो भन्ने हुन्छ । एउटै विषयमा एकथरिले आलोचना गर्छ, अर्काेथरिले त्यसको प्रशंसा पनि त गर्छ । झुत्रेझाम्रे र मैलाधैलाले र तिनको पक्षबाट आएको आलोचनाभन्दा धनीमानी र सुकिलामुकिलाले गर्ने प्रशंशा धेरै बलशाली हुन्छ ।

अहिले देशमा व्यापारीको बर्चस्व बढेको छ । राजनीतिमा पनि यसको प्रभाव जब्बर छ । सर्वहारा वर्गको राजनीति गर्ने एकथरि नेताहरुको व्यापारीहरुप्रतिको आकर्षण र मोह मन नै लोभ्याउने खालको छ । ठूलठूला व्यापारीले माओवादी केन्द्रका मन्त्रीहरुलाई आफ्नो बशमा राम्रैसँग पारेका छन् । पार्टीले बनाएको आचारसंहितालाई तोडेर व्यापारीको ब्राण्ड एम्बेसडर भएर काम गरिरहेका छन् । व्यापारी, माफियाको धनदौलत बढाइदिने धन्दामा छन् ।

ब्राण्ड एम्बेसडरको प्रचलन नेपालमा सुरु भएको भने धेरै भएको छैन् । तर आजभोलि कम्पनीहरुबीचमा प्रतिस्पर्धा बढ्दै गएपछि ब्राण्ड एम्बेसडर राख्ने चलन बढेको छ । आफ्नो सामान अर्काे भन्दा राम्रो देखाउन उनीहरुले प्रायः स्थापित कलाकार, खेलाडीलाई ब्राण्ड एम्बेसडर बनाउँछन । आफूप्रति आकर्षित गर्छन् । थोरैले घोषित र धेरैले अघोषित रुपमा त्यसरी काम गर्छन् । भारतीय कलाकारबाट काम चलाएको कोकाकोलाले नेपालमा तीन वर्षका लागि प्रियन्का कार्कीलाई ब्राण्ड एम्बेसडर यस वर्ष छानेको छ । राजेश हमाललगायत केही कलाकार पनि विभिन्न ब्राण्ड एम्बेसडर अथवा कर्पाेरेट एम्बेसडर छानिएका छन् । उनीहरुले व्यापार बढाउन त्यसको पक्षमा सकारात्मक सन्देश प्रवाह गर्नुपर्ने हुन्छ । धेरै व्यापारीहरु पद र शक्तिलाई खेलाउन जान्ने भएकाले एउटै पार्टीबाट घोषित रुपमा एम्बेसडर छान्दैनन् । त्यसरी छानेमा उनीहरुलाई घाटा लाग्छ ।

उप प्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा वसन्त चौधरीले नाफाका लागि चलाएको नर्भिक अस्पतालको एउटा सामान ल्याएको प्रचार गर्न बुधवार नर्भिक गएकोमा महराको भरमार आलोचना भएको छ । माओवादी केन्द्रले आफ्ना मन्त्रीहरुलाई सामान्यतः उद्घाटनसहितका औपचारिक कार्यक्रममा नजाने भनेको छ, अझ नाफाको लागि चलिरहेको अस्पतालको प्रचारमा जाँदा आलोचना आउँछ भन्ने पनि महरालाई थाहा नहुने कुरै भएन । उनलाई बाध्यता प¥यो होला । महरा नर्भिकको घोषित ब्राण्ड एम्बेसडर भएको थाहा छैन, तर गए किन ?

कुनै पनि व्यापारी संस्थाको एकमात्र उद्देश्य नाफा कमाउने हो । नर्भिक थोरै सेवा दिएर अकुत नाफा लिने अस्पताल हो । पैसा कमाउनकै लागि खोलिएको व्यापारी संस्था हो । झुत्रेझाम्रे जनताले यस अस्पतालमा उपचारका लागि जानै सक्तैनन्, सरकारी अस्पतालभन्दा हजार गुणाभन्दा बढी महंगो र नेपालकै असाध्यै महंगो अस्पतालमा पर्छ यो । आफ्नो र आफ्नो परिवारको लागि उपचार गर्न भारत जान नपर्ने भएर महरा खुशी भएर प्रोत्साहन गर्न गएका त होइनन् होला ! त्यो भएको भए स्वागत गर्न कञ्जुस्याइँ नगरौं ! तैपनि स्वास्थ्य मन्त्रीलाई पठाइदिएको भए हुन्थ्यो त्यहाँ । स्वास्थ्यमन्त्रीको क्षेत्र सरकारीमात्र र व्यापार, व्यवसायका लागि खोलेका अस्पताल अर्थमन्त्रीले हेर्ने पो हो कि ? एउटा मुख्यतः सेवालाई आधार बनाएर खोलिएको हुन्छ भने एउटा नाफालाई मुख्य बनाएर खोलिएको हुन्छ । त्यसैले यी दुईको प्रकृति पनि फरक छ ।

प्रधानमन्त्री प्रचण्डले गरिब, त्यसमा पनि गरिबीको रेखामुनि रहेका जनतालाई प्राथमिकता दिने प्रतिबद्धता जनाएका छन् । उनकै पार्टीका तर्फबाट गएका वरिस्ठ मन्त्रीले सर्वसाधारणको कुरा छाड भाइ, कमाउनेको पक्षमा लाग भन्दा परिणाम के निस्केला खोई ? अर्थ मन्त्रालयमा अन्यत्रभन्दा द्यौसी भैलो खेल्नेको जमात पनि अलि धेरै छ भन्ने मिडियामा चर्चा छ । मिडियामा आएका कुराका बारेमा अर्थमन्त्री महरालाई कुनै मतलव छैन् खोई ? विवादास्पद व्यापारीहरुसँगको उनको उठबसका बारेमा धेरै वर्षदेखि प्रश्न उठेको उठेइ छन् । आलुचना जस्तै आलोचना पचाउने आदत भइसक्यो है नेता महराको पनि । काग कराउँदै छ पिना सुक्दैछ भने जस्तै भयो यो त । उनले गर्ने क्रियाकलापले उनको र परिवारको जीवनलाई उत्थान त गर्ला, उनको पछि लाग्नेको पनि पुस्ता सुध्रिएला तर त्यसले यही आन्दोलनमा जोडिएर जीवन गुमाएका, समय वलिदान गरेकालाई कस्तो महसुस भएको होला ? माओवादीलाई सकारात्मक रुपमा सोंच्ने जनता, गरिबले के सोंचिरहेका छन भन्ने कुरा त अझ फरक भयो । उनीहरुका लागि त विकल्पहरु हुन्छन । हो, त्यो विकल्प खराव नै हुनसक्ला । यसमा महराहरुले दिन खोजेको पाठ महत्वपूर्ण हुन्छ ।

जनयुद्ध लडेर आएको ठूलो हिस्सा धनयुद्धमा त्यसै बदलिएको होइन । सबै कुरा छाड भाइ कमाउने सपना देख भन्ने सोंच हिजो जीवनलाई त्याग्न तयार धेरैको मनमा आएको छ । यो केपीको मनमा पनि किन नआओस भाइ ! यसको पनि सानो समाज छ । परिवार छ । आफ्नै जीवन छ । एउटा आदर्श र आस्था अझ सोझो भाषामा भन्दा बहुसंख्यक उत्पीडित, उपेक्षितका नाममा राजनीति गरेर कमाउन त अन्य कर्पाेरेट सेक्टरभन्दा धेरै बढी हुन्छ भन्ने बुझोको छ । समयको लगानी न हो, आर्थिक लगानी पनि धेरै हुँदैन । इजी मनी राम्रैसँग आउने । अहिलेदेखि लाग्दा अरब कमाउन नसके पनि करोड त कसो नकमाइएला ? लुटाउने र त्यसमा हिस्सा लिने तरिका नै सही लाग्न थाल्यो त बा ! आलुचना खा, आलोचना खा, दायाँवायाँ नहेरी आँखा चिम्लेर आफ्नो धन्दा चला भाइ ! व्यापारी, कर्पाेरेटको पक्षमा लाग ! उत्पीडित र उपेक्षितको गीत धेरै न’गा ! यो असमान समाजमा एकैपटक सबैलाई जनवाद, समाजवादमा लैजाने कल्पना नगर ! शान्ति प्रक्रियामा आएपछि महराहरुले नभनेको तर व्यवहारले सिकाएको पाठको अनुसरण गर ! व्यक्तिगत जीवन सुध्रिन्छ, पुस्ता सुध्रिन्छ । वसन्त, विनोद चौधरीहरुको गीत गाउँदा तिनले दिन्छन, उकास्छन, बुदुने, सन्ते चौधरीहरुले दुःख देखाउँछन्, आशा गर्छन, माग्छन । छिट्टै समाजवादमा पुग्नुपर्नेले त्यस्ताको दुःख टार्ने भन्दै पछाडि फर्कने वा अल्मलिने पनि होइन । हारेका र हराइएकाहरुको पक्षमा अब लाग्दै नलाग ! समृद्ध म भए समृद्ध नेपाल बन्छ, हामीले हिजो गरेको नयाँ नेपालको प्रतिबद्धता यही हो भन्दै जाऔं ! बुझ्नेले बुझ्छन, नबुझ्ने पछि पर्छन । अगाडि बढ्नेसँगको हाम्रो यात्रा । समाजवादको खुड्किलो छिटछिटो चढ्नु छ यो केपीलाई पनि । केपी शर्मा भन्दा समाजवादमा पुगिसकेका अर्काे हाँस्यव्यंग्यकार तथा पूर्व प्रधानमन्त्री केपी शर्मालाई नसम्झिदिनु होला । यो निम्छरो केपीलाई एकपटक डुक्रिने र डकार्ने रहर छ । समयअनुसार चल्ने मन छ ।

यो निम्छरो केपी यसो हेर्छ । दृश्यपलट अर्कै छ । हिजो जनयुद्धका क्रममा कैयौं होनहार ‘बेवकुफ’ हरुले सित्तै रगत बगाए । अरु कैयौंले जीवन गुमाए । आफन्त गुमाए । बाँचेका कैयौं आफ्नै आफ्ना शरीरका अंग गुमाएर जिउँदै मरेजस्तो भएर बाँचिरहेछन् । पसिना बगाउनेको के कुरा गर्नु ? यिनीहरु किन मरिहत्ते गरेर आन्दोलनमा लागे होलान ? कसैलाई अहिले ब्राण्ड एम्बेसडर बनाउन ? बुद्धिको भाँडोमा बिर्काे लागेको केपी यसको उत्तर खोजिरहेको छ ।

(स्रोत : समयबद्ध साप्ताहिक पत्रिका)

This entry was posted in निबन्ध, हास्य - व्यङ्ग्य and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.