कविता : मध्यरात

~आजाद अजनवी~Aajad Ajnabi

जब-जब पल्लो छिमेकी डेरावाल
रक्सीले बेस्सरी मातेर मध्यरातमा
सिङ्गो घर उचाल्दै
उचाल्छ देशविरोधी नारा
उचाल्छ नेताविरोधी नारा
एक्कासि १
मेरो गहिरो निद्रा खलबलिन्छ
सपनामा आइपुगेकी अन्जान राजकुमारीसँग
सुमधुर वार्तालाभ भङ्ग भइदिन्छ
केवल दुई मिनेट
म एक्लै दुर्बासा भएर रिसाउँछु
ऊ उसरी नै
नेताविरोधी गीत गाइरहन्छ
म पूरै चंख भइसक्छु यहाँसम्ममा
ऊ कुर्लिदिन्छ एक-एक नाम तोक्दै
मुर्दावाद……मुर्दावाद
फलानो नेता मुर्दावाद
फलानो नीति मुर्दावाद

यो समय बिहान वा दिउँसो थियो भने
म दिने थिएँ उसलाई
गुलाफको एक थुङ्गा रातो फूल
र किनिदिने थिएँ
थप एक ग्लाँस कडा रक्सी

अब
निद्रा नपरुन्जेलको बाँकी समय
म बुद्धझैं शान्त भइदिन्छु
साँच्चै खुसी भइरहन्छु ।

कुपन्डोल, ललितपुर

(स्रोत : Ghatanarabichar)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.