व्यङ्ग्य कविता : नेता म यो देशको

~देव भट्टराई~dev-bhattarai

मान्छेको अनुहारको छु जति नै नाङ्गो भए तापनि
सोझो नाटक गर्न सक्छु अतिनै नै बाङ्गो भए तापनि
यो मेरो घर बङ्गला छ सुविधा सम्पन्न राम्रो अति
मेरो उन्नति भैरहेछ जति होस् यो देशको दुर्गति ।

छोराले जति सक्छ हिम्मत गरोस् ल्याओस् बुहारी अरु
छोरी ज्वार्इं सबै सभासद बनून् नाता कुटुम्बीहरू
आफ्नै घर्परिवारबाट जहिले बन्नेछ यो संसद
त्यो बेला अनि बल्ल राष्ट्रपतिको मिल्नेछ पक्का पद ।

खाँसीको उपचार गर्न कहिले हुर्रिन्छु सिंगापुर
कैले उत्तर चीन जान्छु चतुरो केमा म कम्ती छु र
दिल्ली जान्छु र रुन्छु गोप्य दिलको गाँठो उतै खोल्दछु
फिर्ता हुन्छु स्वदेशमा र मुखले अर्कै कुरा बोल्दछु ।

ब्यापारीसित साँठगाँठ गहिरो सम्बन्ध जोडीकन
चन्दा माग्छु र मोज गर्दछु बसी आनन्दको जीवन
सोझा छन् जनता सधैं हिँडिरहून् गल्लीहरूमा लडी
नेता हूँ म त हिँड्छु सर्र महँगो चिल्लो पजेरो चढी ।

चिन्ता छैन मलाई यो मुलुकको उध्योग व्यापारको
चक्काजाम र बन्द गर्दछु ठुलो नेता म संसारको
पार्र्टीको सरकार ढाल्न र नयाँ सर्कार निर्माणको
ठेक्का नै लिनुपर्छ लिन्छु म सधैं नेता म यो देशको ।

बिक्थे सांसद बीस वर्ष अघि झन् सस्तो जमाना थियो
सुत्केरी हुनुपर्दथ्यो पुरुषले कस्तो समस्या थियो
मैंले त्यै इतिहास संस्कृति सबै धान्दै छु राम्रोसित
पैसाकै चलखेल गर्दछु सधैं त्यस्मै छ मेरो हित ।

गोला बारुदको म मित्र बलियो बन्दूकको नालको
मन्डेला भन या नयाँ किसिमको गान्धी म नेपालको
चाहे जे भन मैं हुँ आखिर सबै नौलो नयाँ भेषको
जे बोले पनि जे गरे पनि हुने नेता म यो देशको ।

लन्डन

(स्रोत : फित्कौली डट कम)

This entry was posted in कविता, हास्य - व्यङ्ग्य and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.