~कुमार काफ्ले~
नेपाली साहित्यमा धीरकुमार श्रेष्ठ एउटा यस्तो सशक्त नाम हो जसको परिचय गरिरहनुपर्ने जरुरत छैन । उनको आफ्नो छुट्टै पहिचान र योगदान छ । वि.सं. २०१८ साल असार २५ गते पकरी ६, सप्तरीमा जन्मेका उनले नेपाली साहित्यमा स्नातकोत्तर गरेका छन् । ‘आरम्भ अर्थात सुरुआत’ (कथासङ्ग्रह ,२०६३), ‘घुर'(उपन्यास, २०६४),तन्द्रामा अमेरिका (हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह ,२०६५) बाइसौं शताब्दी (हिन्दीबाट अनुवाद,२०६७), जेब्रा क्रसिङ (सचित्र बालकथा,२०६५),अग्लो घाँस (तथ्य पुस्तक ,सन् २०१०),हलो जोत्यो खायो माम (बालकथा सङ्ग्रह,२०६८) लगायत विद्यालय तहका नेपाली पाठ्यपुस्तकहरूको लेखन र शब्दाङ्कुर , दीपशीखा , प्रशासन, ज्यतिपुञ्ज ,सम्प्रति , हेमचन्द्र पोखरेलका केही कविता आदिको सम्पादन समेत गरेका छन् ।
आख्यानको क्षेत्रमा अनवरत कलम चलाइरहेका कथाकार धीरकुमार श्रेष्ठको ‘नजन्मिनुपर्ने मान्छे’ कथासङ्ग्रह साझा प्रकाशनले प्रकाशित गरेको हो । र यस सङ्ग्रहमा जीवन र समाजमा व्याप्त बिब्ल्याँटाका कारण देखा पर्ने अनौठा संयोगहरूलाई सूक्ष्म र कलात्मक तवरले प्रस्तुत गरिएका सोह्र थान कथाहरू छन् । सङ्ग्रहको पहिलो कथा हो ‘आरम्भ र अन्त्य’ जसमा उनले कुनै पनि सिर्जना सर्जक र शीर्षक हेरेर होइन त्यसमा विद्यमान गुणवत्ता र पाठक हृदयलाई स्पर्श गर्न सक्छ कि सक्दैन भन्ने प्रश्नको उत्तरका आधारमा अध्ययन , चिन्तन , मनन गर्नुपर्ने विषयलाई रोमाञ्चक तरिकाले प्रस्तुत गरेका छन् । दोस्रो कथा ‘उफान’ मा छिमेकी भाउजू र म पात्रबीच चलेको रोमाञ्चक घटना र यौनमनोविज्ञानको सेरोफेरोमा रहेर कुशलतापूर्वक कथालाई अगाडि बढाइएको छ । तेस्रो कथा ‘चक्रव्यूह’ फरक शैलीमा कथिएको सुन्दर र सफल कथा हो । समाजमा असल र इमानदार भएर जिउन, सत्यताप्रतिको आफ्नो आस्थामा दह्रोसँग उभिन केकस्ता बाधा , अड्चन् र समस्याहरूसँग मुकाबिला गर्नुपर्छ ? कसरी उसलाई गलत मानसिकता भएकाहरूले चक्रव्यूहमा फसाउन के कस्ता हर्कतहरू गर्छन् र अन्त्यमा ऊ एक्लैको हालत कस्तो हुन्छ भनेर नाटकीय ढङ्गले प्रस्तुत गरिएको ‘चक्रव्यूह’जीवन्त छ ।
‘जुगला मामाको काठमाडौं- यात्रा’ शीर्षकको कथामा देशका कुना कन्दरामा सीमान्त जीवन बिताइरहेका ग्रामीण परिवेशमा जन्मेर आफ्नो थातथलो छोडेर कतै नगएका सर्वसाधारण नागरिकको व्यथा र मानवता नभएका आडम्बरीपनमा रमाउने नव संभ्रान्त वर्गका कुलीन मान्छेको व्यवहारलाई पशुपतिनाथको दर्शन गर्न लालायित जुगला मामाको अभिलाषा पूरा गर्न खोज्ने भाञ्जाले शहर लगिएको….. घटनामार्फत जीवन्त पाराले कथावस्तु अगाडि बढेको छ ।
पाँचौ कथा ‘ज्वारभाटा’ मा साहित्य र लेखनमा लागेका श्रीमान् र उनलाई दैनिक रूपमा फोन, भेट्न आउनेसँगको कुराकानी र आफूले निर्वाह गर्नुपर्ने झन्झटिलो भूमिकालाई कलात्मक तरिकाले अभिव्यक्त गरिएको छ भने बेफुर्सदी श्रीमानले एकदिन कतै नगइ पूरा समय श्रीमतीलाई दिँदा श्रीमतीलाई प्राप्त असीम खुशीलाई प्रस्तुत गरिएको छ ।यस कथासङ्ग्रहको नामाकरणै हुने सौभाग्य पाएको अर्को कथा हो ‘नजन्मिनुपर्ने मान्छे’ , जसमा एउटा यस्तो स्वाभिमानी कर्मचारी युवाको कथा छ जसले देश र जनता/ सेवाग्राहीलाई आफ्नो शिरमा राख्छ र भ्रष्ट हाकिम र कर्तव्यच्यूतहरूलाई निरन्तर लल्कार्दै आफ्नो जिम्मेवारी पूरा गर्छ ।
‘विकर्षण’ शीर्षकको कथामा नवीन शैलीको प्रयोग गरिएको छ । बौद्धिक तर्क र विचारको आधारमा यो कथा उच्चस्तरको छ र पढ्दै जाँदा कताकता निबन्धको झल्को पाइन्छ ।त्यसैगरि ‘विपर्यय’नामक कथामा भने २०० वर्ष पछाडिको समय कल्पना गरेर त्यस बेला राज्यका हरेक अंगमा महिलाको नेतृत्वदायी हस्तक्षेप भएको र पुरुषलाई महिला अनि महिलालाई पुरुष बनाएर प्रयोगको उच्च रूप दिइएको छ । कतिपय कथाहरू अन्तिमबाट शुरु भएर शुरुमा अन्त्य भएको जसरी अाम कथाहरू शुरु हुने बिन्दुमा अन्त्य र अन्त्य हुने बिन्दुमा शुरु भएकाले पाठकले नवीन स्वाद चाख्न पाउँछन्।
यस सङ्ग्रहमा सजिएका अन्य कथाहरू बरपीपल , बसको खाली सिट , बाकस , सहअभियान , सहिद , स्तरीय सिर्जना , हनि र हात्ती आयो , हात्ती आयो ……! शीर्षकका कथाले समाज र मानव जीवनलाई केन्द्रमा राखेर घटना र चरित्रलाई स्पर्श गर्छन् र इतिवृत वर्णन गर्छन् ।अनेक चित्र र चरित्रलाई परिवेशमा जोडेर कथामा सम्बन्ध स्थापित गर्न सफल छन् यी कथाहरू । संस्कारगत परिवर्तन नभइ आमूल परिवर्तन हुन नसक्ने कुराको पक्षपोषण गर्दै युगीन घटनाजन्य पीडा , आवेग , संवेग , बीभत्सतालाई अनुभूत गराउन परिलक्षित उनका कथाले मानवीय चासोका भावनालाई छुन्छन् र त्यसको महत्ता स्थापित गर्न मानवीय जीवनलाई चुन्छन् । यी कथाले अनावश्यक गफ , हल्ला र मनोरञ्जनलाई उति महत्व दिँदैनन् । कथाकारले अाफू बाँचेको जीवन र समाजलाई जसरी देखेका , भोगेका छन् त्यसैगरि शब्दमा व्यक्त गरेका छन् । त्यसैले यस कथा सङ्ग्रहमा सङ्गृहीत कथाहरूमा निराशा , विसङ्गति , विकृति र भ्रष्टाचारलाई सजीव चित्रण गर्दै समसामयिक र परिवर्तित घटनाहरूलाई जीवन्तरूपमा प्रस्तुत गरिएको छ ।
– कुमार काफ्ले