~तुलसीहरि कोइराला~
नेपालमा अन्तर्वार्ता साहित्यलाई स्थापित गर्ने काम रुपरेखा का सम्पादक उत्तम कुँवरले गरेका हुन्, जसको स्रष्टा र साहित्य (२०२३) यस विधाको पहिलो कोशेढुङ्गा थियो । कुँवरले कोरेको बाटोमा ढुङ्गा थप्दै जाने र यसलाई फराकिलो पार्ने काम मधुपर्क मासिकका सम्पादक श्रीओम श्रेष्ठ ‘रोदन’ले गरेका छन्, प्रसङ्गवश अन्तर्वार्ता सँगालो निकालेर । निबन्धअन्तर्गत पर्ने र वार्ता, निवार्ता, संवाद, संवार्ता आदि नामले पुकारिने यो विधामा साहित्यिक पत्रकार कुँवरपछि अरूले पनि कलम चलाए, तर साहित्यबाहेक कला, सङ्गीत, गायन, लोकसंस्कृति समेत विभिन्न क्षेत्रका यति धेरै मर्मज्ञलाई समेट्ने प्रयास चाहिँ सम्भवतः यही नै पहिलो हो ।
२०४२–६६ बीचका ८१ वटा अन्तर्वार्ता सङ्ग्रहित प्रसङ्गवश मा परेका पात्रमध्ये सबैभन्दा जेष्ठमा वि.सं. १९६३ मा जन्मिएका वैकुण्ठप्रसाद लाकौल र कनिष्ठमा २०३७ मा जन्मिएकी झ्मककुमारी घिमिरे छन् ।अग्रजपुस्ताको आधिक्य रहेको यो किताब प्रकाशित हुँदासम्म धेरैजसो स्रष्टाको निधन भइसकेको छ । कृति प्रकाशनपछि पनि कृष्णचन्द्रसिंह प्रधान, गोविन्द गोठाले र फणीन्द्रराज खेतालाको निधन भयो । साहित्य सिर्जनामा समर्पित भए पनि आफ्नो समयमा चर्चा नपाएका पीताम्बर भोला लम्साल, वामदेव पण्डित, डिल्लीरमण शर्मा अर्याल, भीमचरण थापा, हरि श्रेष्ठलाई समेटेर ‘रोदन’ साधुवादका पात्र भएका छन् । गीता केशरी, गोमा, ग्रेटा राणा, छिन्नलता, देवकुमारी थापा र झ्मककुमारी जस्ता नारी स्रष्टा, बेलायतका नेपाली भाषाप्रेमी डा. माइकल हट, भारतका प्रकाश ‘कोविद’, दाङ खालिङ, लीलबहादुर क्षेत्री र देवकुमारीसँगको सम्वार्ताले प्रसङ्गवश लाई लैङ्गिक, विधागत र क्षेत्रगत विविधताले सिंगारेको छ ।
प्रत्यक्ष र परोक्ष शैलीमा गरिएका वार्ता सङ्ग्रहको सम्पादनमा भने प्रशस्तै त्रुटि छन् । केही मात्रै औंल्याउने हो भने पनि पीताम्बर भोला लम्साल र डा. डीपी भण्डारीको फोटोका लागि ठाउँ छोडेर खाली राखिएको छ भने गोविन्द गोठाले, डा. वासुदेव त्रिपाठी, मञ्जुल, श्यामदास वैष्णव, डा. डीपी भण्डारी, जगदीशशमशेर राणा, प्रचण्ड मल्ल लगायतका स्रष्टाहरूको जन्ममिति उल्लेख छैन । समग्रमा किताब पठनीय र सङ्ग्रहणीय छ ।
(स्रोत : हिमाल खबर)