व्यङ्ग्य निबन्ध : हामी एक नम्बरको भाते

~यम घिमिरे~Yam Ghimirey

मान्छेलाई काम नलाग्ने, बेकामे, खाएर मात्र बस्ने अरु केही सीप कौशल जाँगर नभएको भन्नु पर्यो भने हामीले भनिआएको शब्द हो ‘भाते’। तर, हामीकहाँ काम लाग्ने, गरिखाने सीप जाँगर भएकाले पनि खाने भनेको चैं त्यही भात नै हो । कसैले ‘के छ के गरिँदै छ’ भनेर सोध्यो भने हामी यसो गरिँदैछ भनेर पेसाको नाम भन्नु भन्दा पहिले नै ‘के गर्नु र, भात खाइँदै छ’ भन्छौं । ‘सन्चै हुनुहुन्छ’ भनेर सोध्नुस ‘एक मुठी जाउलो निलिदै छ’ भन्छ मान्छे । साँझपख बाहिर घुम्न निस्केका बेला छोरीले ‘मम्मी म:म: खाने’ भनी भने आमाको उत्तर आउछ ‘कहाँ खानु म: म: भरे भात रुच्दैन ।’ भात हाम्रो पेशा हो, सन्चो बिसन्चो हो र हो त्यो एक प्राणवायु पछिको एक अपरिहार्य खाने जिनिस जुन हामी अरु सबैथोक तर्काएर पन्साएर नि खाएरै छोड्छौं । कसैले आज म खान्न, अघिको खाजाले नै टन्न छु भने नि उसले तेती सजिलै धर पाउनेवाला छैन । करबलको शैलीमा भाते आग्रह आइहाल्छ ‘कहाँ तेसो भनेर हुन्छ, एकमुठी तातो भात खाएजस्तो कहाँ हुन्छ, लु आइज/आउनुस हात धोएर ।’

भात नखाए के खाने त ? हामीलाई खासै उतर अरु पनि होलान भन्ने पनि लाग्दैन र सोच्ने लेठो नि गरिदैन । बिघ्न भए गहुँका पाप्रे रोटी सम्मलाई हामीले विकल्प देखेका छौ तर त्यो पनि कुनै दिन छुद्दे चलेका बेलालाई मात्र हो नत्र हाम्रा लागि भातको विकल्प भात नै रहेछ ।

मैले भात नै अन्तिम सत्य हो त एक लुर्को मानव जिन्दगीको टेको भन्ने मनचिन्ते तुलबुलले मलाई पिरोल्न थालेपछि आफू संसारकै मान्छेका खानपान शैलीको संगमस्थल भने हुने क्यानाडामा बस्नुको फाइदा उठाउदै एसो वरपर दायाँबायाँ नजरचित लाउने बिचार गरें । संसारमा मान्छेका कतिपय विश्वास र संस्कारिक अभ्यास साझा पनि हुदा रहेछन फरक भूगोल र फरक जाति धर्मका अलाबा पनि । जस्तो, हाम्रो बाडुली लाग्दा कसैले सम्झेको भन्ने विश्वास पोल्यान्डदेखि इथियोपियाली समाजसम्ममा रहेछ । बिहे गरेर दुलही घरमा ल्याएको तीनचार दिनपछि मैतालु पुर्याउने चलन हाम्रो मात्रै होइन अफ्रिकी समाजमा नि रहेछ । छेउको मान्छेलाई हाछ्युँ आउदा हामी ‘लक्ष्मी’ भनेर देवत्वको सम्झन्छौँ । यता पनि छेउको कसैलाई हाछ्युँ आएमा ‘ब्लेस यु’ भनिदिन्छन । काका, बडाउ, फुपू, मामा सानिमा ठुल्याँमाका छोराछोरीलाई दाइभाइ दिदीबहिनीको साइनो लाउने चलन हाम्रो मात्रै होइन रहेछ । तर अँग्रेजी भाषीले भने एउटै पेटका उत्पतिलाई मात्रै दाजुभाइ दिदीबहिनी भन्दा रहेछन् अरुलाई कजन भने पछि भयो । हुन त यो कजन सजन जानेकै कुरा हो तर त्यति मिहिन पाराले ख्याल गरेको रहेनछु मैले । एउटा अमेरिकनले ‘माइ सिस्टर’ भन्दा मैले ‘तेरो आफ्नै दिदी कि कस्तो दिदी ?’ भनेर नेपाली पाराको प्रश्न सोध्दा ऊ त मेरो प्रश्नले नै जिल्लियो । ‘आइ सेड माइ सिस्टर, सो सि इज माइ सिस्टर, द्याट्स इट’ उसले जवाफ फिरायो । चीनमा पनि हामीकहाँ जस्तै बाबु कुनै कम्पनीको मालिक छ भने छोरो स्वत: मालिकको धाँक रवाफमा प्रश्तुत हुने रहेछ तर अमेरिकी समाजमा बाबुको कम्पनि, सम्पति र ब्यापार आफ्नो होइन आफूले त गर्नै बाँकी छ भन्ने जस्तो सोचाइ हुँदोरहेछ । साच्ची भन्नु पर्दा झिंगा, लामखुट्टे, उडुस जस्ता प्राणी मान्छेका स्वभावलाई साझा बनाउने सांस्कृतिक दुत रहेछन् यस पृथ्वीतलमा । झिंगाप्रतिको घृणा, उडुसले सुत्न नदिएको पिरोलो र लामखुट्टेको गनगन मान्छेका संवेगलाई मानवीय बनाउन जहाँ पनि खटेकै हुँदा रहेछन्, अमेरिकादेखि युरोपसम्म । एसिया अफ्रीका त यिनको उर्बर भूमि नै भैगो । विकासशील राष्ट्रका ग्रामीण जीवनमा गाईबस्तु पाल्नु, दूधघीउ तुल्याउनु, बाख्रापाठा, हाँसकुखुरा, चुलो दाउरा, कुलकुटुम्ब मुलत: विश्वजनीन कुरा रहेछन मानव जीवनका । जीवन जगतका यस्ता अनेक रितिथिति मान्छेका मिल्दाजुल्दा हुँदा साँझ बिहानको आहारमा के कस्तो रछ त भनी जान्न खोजें मैले मेरै दैनिकीमा जोडिएको वाताबरणबाट ।

पोल्याण्ड मूल थलो भएकी डोरटा बार बजेको भाते छुट्टीमा कहिले भात खान्न । एउटा ठुलो पाकेको गोलभेंडालाई धारामा पखाल्छे, एक टुक्रो चिज निकाल्छे, दुई पाप्रा पाउरोटी बीचमा अलिअलि घाँसपात च्याप्छे, एउटा काँक्रोको टुक्रो ठीक पार्छे र मरयाँङमरयाँङ चपाउन थाल्छे पालैपालो । उसको दिनै पिच्छेको आहार यस्तै उस्तै हुन्छ तर, बिगत एक बर्षदेखि भात खाएको मैले देखिन । उसको पोल्यान्डमा आलु नै सबै भन्दा मुख्य आहार रे । इराकको सामी सुप भन्दै एउटा भाँडो निकाल्छ झोलाबाट । तेस्मा हुन्छ हामीले अस्पतालको ओछ्यानमा परेका बेला खाने जस्तो झोल कुरा । एउटा एउटा हरियो केराउ, थोरै हरियो मकैका दाना, केही घीउ सिमीका टुक्राटाक्री र गाँजर अनि एकमुठी जसो चामल छुस्स हालेर उमालेको पन्यालो झोल । उसले मिलिक्क सिध्यायो त्यो खानेकुरा र एउटा जहाजी केरा निल्यो आजको लन्चमा र गफ गर्न थालो । इजिप्टको आइजेक आफ्नो पन्तुरो खोल्छ । त्यहाँ हुन्छ मक्रोनि भनिने गहुँको पीठोले बनेको हाम्रोतिरको थुक्पा प्रकारको भोजन । त्यो नि उमालेर तेतिकै भाँडामा हालेर माथिबाट अलिकति गोलभेडाको लेदो छर्केको । ऊ नि कप्ल्याककुप्लुक निलिहल्छ एकसासमा । फ्रान्सको रायन स्याण्डविचका दुई पाप्रा निकाल्छ र चपाउँछ । बंगलादेशको प्रतीक बगडाको भात निकाल्छ र मज्जाले दन्काउँछ । बेलायती डेभिड एउटा टिनका बट्टाको सेतो लेदो निकालेर खान्छ, मसरुम फुड भन्दै र एक पसर साना खालका काँचा गोलभेंडा मर्काउँछ र अन्तिममा एउटा सुन्तला थप्छ । चीनकी मिन एक डाडु भात, कराहीमा ओइरिसक्दा झिकिहालेको जस्तो रायोको सागको सिंगै पातको तिहुन र एउटा सुंगुरको खुर लेर बस्छे । अनि नेपालको म चैं अरु सबैको भाँडोलाई जित्नेगरिको ठुलो भाँडोमा एक रास सेतो भात यहाँ खैरो भात पनि चल्छ), एक कचौरा दाल, र केही न केही तरकारी लेर बस्छु । मेरो भाँडो र त्यसमा भको जेथो देखेर चीनकि सुले खिल्ली गरी ‘वाव, हाउ बिग द कन्टेनर इज !, दिस इज इनफ फर माइ फ्यामिली – मि, माइ हजब्यान्ड एण्ड माइ थ्री किड्स’ । अरु गलल हाँसे म खाइरहें ।

नपत्याउने गरी कम खान्छन् मान्छे तर कुटुकुटु खाइरहेका हुन्छन् । मेरो म्यानेजर इरानी मुलको क्यानेडेली हो । उसको खानपान बोलीचाली सबै अमेरिकन भैसकेको छ । हंगकंगकी चिनियाँ तरुनीसँग छ बर्ष एउटै ओछ्यान गरेर बसेपछि बच्चा जन्माउनु आफ्नो स्वतन्त्रतामा बन्चरो हान्नु हो भन्ने कुरामा दुबैको मत मिलेपछि गत साल बिहे गरेको उसले । सधैं हनिमुन जोडीको रुपमा कहिले हवाइ, कहिले कोस्टारिका, कहिले क्युबाको तट त कहिले सिंगापुर मलेसियातिर होलिडेको फन्को मारिरहनु उनको सौख त छदैछ साथै उसको खानामा पनि भात औंशी पुर्नेमा मात्रै देखा पर्छ । हाम्रो फूलकोपीका बिरालाका टाउका जत्रा चाना र घीउ सिमीलाई नकाटी सिंगै उमालेर ल्याएछ एकदिन एक भाँडो लन्च भन्दै । साथमा एक बेगल भनिने हाम्रो सेलरोटी आकारको पाउरोटी छ । मैले थाम्न नसकेर सोधिहालें ‘हन यो एस्तै खाने’ भनेर । उसले ‘या या, यु वान्ना ट्राइ सम ? टेक … हियर …’ भन्दै मलाई एक मुठी उसिनेको घीउ सिमी थमाइहालो । के दिनमा सोधें छु मुलालाई अब कसरी निल्नु त्यो उसिनेको सिमी भन्ने भो । न नुन छ न मसला, छ शुद्ध उसिनेको सिङगासिंगै सिमी । म्यानेजरको मानभाउ राख्न एकदुई चबाइ हेरें । कहाँ जिब्रो लाग्नु ! ऊ भने भोको गोरुले बन्सो भेटे जसरी चबाउन थालो । हामीले सानैदेखि भात खाने बानीले बनेको हाम्रो आमासयको आकार नै थैले हुन्छ कि क्या हो अलिक निक्कै वजन नचढाईकन त हामीलाई खाएजस्तो नै नहुने । हुन पनि तिनले खाए जति मात्रै खानु हो भने हामी गोर्खे खुट्टो टेकेर हिड्नै सक्दैनौ । चरी आहारे तिनिहरु ।

भात यिनको आहार नै होइन त ? चामल भन्ने यिनलाई थाहै छैन त ? यस्तै प्रश्न आउन सक्छन् । तेसो होइन । यिनलाई नि कुन चामल मन पर्छ भनेर सोध्यो भने पटक पटक सुनू सुनू लाग्ने लबजमा ‘लंग ग्रेन इन्डियन बसामति’ भन्दिन्छन् । तर खानु भने बार महिनामा बारै पटक भन्नु जस्तो गर्छन् ।

मैले सुरुमा दुईचार महिना भात मात्रै खाएँ किन कि म भातको भकारीकै रुपमा जन्मेहुर्केको ताजा नेपाली थिएँ क्यानाडाको जीवनपद्धतिमा । सहकर्मीको सधैं किन भात, दिक्क हुदैन आदि अनेक प्रश्न र कौतुहलताको उतर दिंदै आफ्नो सुर नछोड्दै गरेर बिताइयो अलि बार । हुन नि उनीहरु हप्ता दिनमा एक दुई पल्ट भात खानेका अघि म दिनैपिच्छे भात खाने एक्लो र उदेकको जन्तु हुने नै भएँ ।

सधैं दालभातको आहारले बनाएको प्यान्टे भुँडी छ आफ्नो अरु कसैको छैन । सबै दाबिलो पेटमा सुरिला राम्रा देखिन्छन् । मुलुकमा हुन्जेल पेट लागे नि तेती बेजती हुनु नपर्ने बरु व्यक्तित्व निर्माणको एक पुंजको रुपमा जो मान्यता छ हाम्रो देसमा पेटको । अलिकति पेट घटाउन पाए हुन्थ्यो भन्ने लाग्न थालो । सहकर्मी केटीहरुले ‘लाइक अ प्रेग्नन्ट वुमन’ भन्दै हाँसोको फोहरा छोड्न थालेपछि मैले भात संस्कृतिलाई केहि कम गरेर हेर्ने निधो गरें । काममा खाने छुट्टीमा कहिले थुक्पा, कहिले मक्रोनी, कहिले पास्ता, कहिले रोटी, कहिले बर्गर, स्यान्डविच, कहिले सुठुनी, सिमलतरुल, कहिले उसिनेको सिमी भाँतिभाँतिका खानेकुरा निकाल्न थालें म पनि जोरिपरिका सामुन्ने । तैंले नि भात कम खान थालिस, एकदम राम्रो भन्न थाले ।

पहिलेको जस्तो पेट चर्किने गरेर खान छोडेर ठिक्क हिसाबले चल्न थालें । गर्दै जाँदा बिहान बेलुकै एकएक थाल भात माग्ने पेट अचेल बेलुका थोरै जे खाए नि हुने भको छ । कहिले दुई पाप्रा गहुँका रोटी, कहिले फलफुल, कहिले नुडल, कहिले पाउरोटी र एउटा अन्डा तेस्तै उस्तैले नि भाकै छ । एकछाक पुरै भात छोड्दा नि केही फरक छैन । आंत खस्केन, कामधन्दा हिंड्डुल सबै साबिक छ । बरु तेर्सिदै गएको पेट स्थिर भयो । जतिखेरै देखिने भुँडी अर्धभूमिगतको स्थितिमा आयो । यो बीचमा केही तौल घटाउन पनि सफल भएँ । बेपर्वाह साँझ बिहानै भात खानु त्यो नि अलेली होइन खान बसेकै ठाउँमा उठ्न नसक्नेगरी अनि मदिरामा मासुका खराचर्का परिकार कति तुरियो भनेर होस नराखी हसुर्नु नेपाली भुँडी उद्योगका अचुक उपाय हुन् ।

नभन्दै पहिले देख्ने नेपालीले अहिले देख्दा ‘हन भसक्कै दुब्लाइस त, के हो बुडीको चिन्ता परो कि क्या हो (प्रशंगले मेरी घरकी नेपालमै छिन अहिले यता आउने तरखरमा) ? गालाका खोबिल्टामा त मनादुएक मकै अटाउलान जस्तो छ त’ भनेर अर्काको निजी मामिलामा बेपर्बाह प्याच्च बोल्ने उही सनातनी हाम्रो पारामा सोध्छन् । यहींको संस्कार सिकेकाले ‘दुब्लाइस, झिटी भइस, हावाले उडाउला है ख्याल गर्नू’ भनेर अरुको चित्त बिग्रिनेगरी भन्दैन बरु ‘यु लस्ट योर वेट, हाँ ?, लुक नाइस’ भनेर सोभाउ राखेर बोल्छन । फेरि यहाको चलनमा तौल बढ्दै गएर घटाउन सक्नु ठुलो पौरख गर्नु रहेछ ।

जानिफकारहरू भन्छन हामीले गर्ने दैनिक आहार हाम्रो जीवनको सबै भन्दा ठुलो आधारशीला हो । यसले नै हाम्रो रुप, स्वरुप, स्वास्थ्य, आयु, विचार, स्वभाब सबथोक निर्धारण गर्छ । मान्छे सच्चि नै आफ्नो दैनिक आहारलाई ख्याल गर्ने हुँदा रहेछन । हाम्रो जस्तो पेट भर्न पाए भयो भन्ने होइन । कोकाकोलाको नामै नलिने, जाम तयारी जुस आदि छुदै नछुने, खानामा बोसोजन्य कुरा छिरिक्क बढी पर्ला भनेर तैनाथ हुने, चिनीको मात्रा अति नै कम खाने वा खादै नखाने, सुत्नु भन्दा सकेसम्म दुई घण्टाअघि नै खाइसक्ने, खानासँग पानी नखाने अनेक नियम र सचेतना पछ्याउछन् मान्छे । बर्न वाटएवर यु टेक इन(सवारी साधनले जस्तो इन्धन हालेपछि जलाएर फ्याँक्नु पर्छ, भित्र संग्रहित हुन दियौ भने बुझ तिमीले रोगको भकारी बनायौं) भन्ने मान्यताको पालना गर्दै सबै उमेरका मान्छे ठसठसी कन्दै भए पनि सकिनसकी कुद्नु, पसिना निकालेर ब्यायाम गर्नु, टेनिस, ब्याडमिन्टन जस्ता ब्यायामुखी खेलमा समय निकाल्नु र दिनैपिच्छे सावर लिएर(नुहाएर)चंगा स्फूर्ति भएर हिंड्नु मान्छेका दैनिकी हुन् यहाँ ।

हामी भेटेजति जे पनि सोर्ने संस्कार पछ्याउने मान्छे आफूले खाने आहारले आफ्नो शरीरको रुपरचना कस्तो बनाएर लाँदैछ भन्ने बारेमा ध्यानै दिदैनौं । हामी नुन तेल मसला पनि यिनको तुलनामा सीमापार प्रयोग गर्दा रहेछौ । पकाउने तरिका नि हाम्रो उसिनेर, मलमाल पारेर नुन छर्केर खाने होइन पर्परी भुटेको रातो पिरो भए मात्रै हुने हामिलाई । हाम्रा पाटि भोजहरुमा हामी आफ्नो आहारको आफ्नोपन बिरलै देखाउँछौं । अनेक स्वाद र भोजनसंहिताका पाहुना हुन सक्छन् भनेर खसी, कुखुरा, माछा तयार पारिराखिएको हुन्छ । कोहि खसी नखाने कोहि कुखुरा नलिने, कोहि माछा मात्रै खाने हुन सक्छन् साथै कोहि भात नखाने रोटी खाने, काउली नखाने आलु केराउ खाने कोहि साग मन पराउने कोहि कस्ता हुन्छन् । पाहुनाले आफ्नोपनको आहार नभएर भोकै फिर्नु नपरोस भनी ख्याल गरेको हुन्छ भोजनदाताले । तर हामी भएजति सबै आफ्नै लागि हो भनेर थालमा सगरमाथा उठाएर छेउ लाग्छौं बरु भरे गिजोलेर छोड्नु परे आफ्ना बाउको जाँदैन भनेजसो गर्छौं । हाम्रो आहारको खोइ त आफ्नोपन ? खोइ त तपाइको आहारको पहिचान ? ‘भात क्या हो त’ सायद उतर आउला ।

शरीरमा टम्म बोसो भरिएर गाला पेट हुस्स फुलेको देखियो भने फलानाका छोराको पौरख भनेर जोरिपारीले नि मान्ने भए तर अरब गएर तीन बर्षमा फिरेको कुनै तन्नेरी साबिकको काया लेर आयो भने तेस्लाई कसैले पत्याउनेवाला छैन । जायजेथो जोड्न नसके नि गाला गर्धन र पेटमा बोसो जोडेर फर्कियो भने उसले भित्रभित्रै केही गरेको ठहर्याउछ समाजले पनि । हाम्रो युवापुस्ता हसुर्नु भात हसुरेर तीस नपुग्दै पेट दमाहाको जत्रो पारिसक्छ र उछिट्टीएको पेटलाई इज्जतसाथ सुम्सुम्याउछ मान्छेका मुखेन्जी । यहाँ जन्मैले केही गरी नलाग्ने हिसाब भएर आएमा मात्रै नत्र बहुल मान्छे नमोटाउन निक्कै सचेत छ । चालीस पचास पुग्दा पनि रतिभर पेट ननिस्केका दाबीला तर सुगठित शरीरधारीहरुलाई देख्दा भाते म मोरालाई आरिस पलाउछ मनमनै ।

घरकी नेपालबाट आउन लागेकी छ । एक्लै छु । भात पकाउनु छ म हिँडे ।

जय भात ! जय भाते !

-टोरन्टो , क्यानाडा

This entry was posted in निबन्ध, हास्य - व्यङ्ग्य and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.