~नन्दलाल आचार्य~
‘थोरै साहित्यको निर्माण गर्न धेरै इतिहास लाग्छ ।’– हेनरी जेम्स
‘मनुष्यभन्दा ठूलो कुनै शक्ति छैन, मनुष्य समस्त वस्तु र स्वयं स्रष्टा हो, मनुष्य चमत्कारकर्ता हो र प्रकृतिका समस्त शक्तिहरूको भावी स्वामी हो ।’– म्याक्सिम गोर्की
अ. विषय प्रवेश ः
दार्शनिक ओशोले सांस्कृतिक रूपान्तरण गर्न समय लाग्ने कुरा गर्दै भनेका छन्– ‘अहिलेसम्म हाम्रो के सोचाइ रह्यो भने क्रान्ति दुईचार वर्षमै होस् । यो बेबकुफी हो । व्यवस्था र शासन बदलेर केही हुँदैन । मानिसको मन बदल्नुपर्छ । त्यसका लागि समय लाग्छ । क्रान्तिको नाममा हठात् सबै कुरा बदल्नेहरूले पहिला समाजको मन बदल्न सक्नुपर्छ । यदि कुनै मुलुक सय वर्षसम्म क्रान्तिकारी हुने हिम्मत जुटाउन सक्दैन भने उसले क्रान्तिको झन्झटमै पर्नु हुँदैन ।’ हामीकहाँ पनि असन्तोषका कुराहरू धेरै छन्, अभावका पोकापन्तेराहरू मनग्यै छन् तर सन्तुष्टि दिने आधारहरू पनि मनग्यै छन् । जुनसुकै क्रान्ति पनि मक्किएका नीतिनियम परिवर्तनका लागि हुन्छ । प्रगतिवादी साहित्यको कुरा गर्दा सत्रौँ शताब्दीपछि जन्मिएको र विकसित भएको प्रगतिवादी साहित्यको विकासका क्रममा विश्व कम्युनिष्ट घोषणापत्र (सन् १८४८ मा मार्क्स–एङगेल्सद्वारा जारी)को जगमा भएको हो । साहित्यतर्फको पहिलो संस्था चाहिँ सन् १९३५ मा फ्रान्सको प्यारिसमा पहिलो अधिवेशन भएको ‘प्रोग्रेसिभ राइटर्स यशोसिएसन’ हो जसका पहिलो सभापति इ. एम. फोस्टर भए । भारतमा भने सन् १९३६ मा ‘भारतीय प्रगतिशील लेखक संघ’ जन्मियो । राणा शासकहरूद्वारा गराइएको मकैपर्व, लाइब्रेरी पर्व, सहिदहरू ः दशरथ चन्द, गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा, शुक्रराज शास्त्रीहरूको शहादत (१९९७)ले महानन्द सापकोटा, धरणीधर कोइराला, लक्ष्मीप्रसाद देवकोटा, सिद्धिचरण श्रेष्ठ, गोपालप्रसाद रिमालजस्ता स्रष्टाहरूमा विद्रोही भाव सञ्चार भयो । नेपालमा चाहिँ नेपाल कम्युनिष्ट पार्टी (२००६)को गठन भएपछि २००७ साल पछिको स्वतन्त्र परिवेशमा जग बस्दै ‘प्रगतिशील लेखक संघ’ (२००९) जन्मिएको इतिहास छ । झर्रोवादी आन्दोलन (२०१३), जनसांस्कृतिक सभा (२०१३), २०२८ को झापा विद्रोह, २०३६ को विद्यार्थी आन्दोलन, २०३८ मा पारिजातको नेतृत्वमा ‘अखिल नेपाल जनसांस्कृतिक संघ’को स्थापना, अखिल नेपाल लेखक संघ आदिले मलजल गर्दै प्रगतिवादी साहित्यिक धार अघि बढेको देखिन्छ । मार्क्सवादी चिन्तनबाट प्रभावित भई समातामूलक समाजको निर्माण गर्न चाहने स्रष्टाले आर्थिक, सामाजिक, राजनैतिक, सांस्कृतिक आदि तवरले शोषित, पीडितवर्गप्रति सहानुभूति राख्दै आफ्नो अभिव्यक्ति दिएका हुन्छन् । प्रगति (२००७ पछि), सेवा (२००८), जनयुग (२००९), जनविकास (२०१०), जनसाहित्य (२०११), साहित्य (२०१६) सेवाजस्ता पहिलेका र झिसमिसे, जनादेश, महिमा, कलम, जनआह्वान, योजना, वेदना, नयाँ कोशी, जलजला, दिशानिर्देश, प्रतिभा प्रवाह, मूल्यांकन, जनदिशा, जनविद्रोह, संकल्प, उत्साह, मधुमास, नयाँ संस्कृति, उद्बोधन, प्रतिबिम्बन, प्रबोधन, नौलो जनउभार, पृष्ठभूमि, जनाधार, पूर्वी क्षितिज, जनक्रान्तिजस्ता अहिलेका पत्रपत्रिकाहरूले प्रगतिवादी आवाजलाई बुलन्द पार्दै आएका छन् । यस्ता आन्दोलन, पत्रपत्रिका र संघसंस्थाहरूका अतिरिक्त अन्य पक्षहरूले समेत प्रगतिवादलाई मूर्तरूप दिन प्रत्यक्ष, परोक्ष बल प्रदान गरिरहेका छन् ।
यसरी प्रगतिवादी आवाजलाई बुलन्द गर्नेहरू महानन्द सापकोटा, धरणीधर कोइराला, लक्ष्मीप्रसाद देवकोटा, सिद्धिचरण श्रेष्ठ, गोपालप्रसाद रिमाल भूपि शेरचन, धनुषचन्द्र गौतम, श्यामप्रसाद शर्मा, धर्मराज थापा, गोविन्दप्रसाद लोहनी, डी.पी. अधिकारी, भवानी घिमिरे, मदनमणि दीक्षित, आनन्ददेव भट्ट, गोविन्द भट्ट, हृदयचन्द्रसिंह प्रधान, मोदनाथ प्रश्रित, पारिजात, डा. ऋषिराज बराल, दौलतविक्रम विष्ट, राजेन्द्र सुवेदी, देवी गौतम, खगेन्द्र संग्रौला, रघु पन्त, रुद्र खरेल, रविलाल अधिकारी, रमेश विकल, कृष्ण बम मल्ल, तारानाथ शर्मा, गीता केशरी, इस्माली, कृष्ण सेन ‘इच्छुक’, चूडामणि रेग्मी, पूर्णविराम, जसराज किराँती, चैतन्य, घनश्याम ढकाल, दिल सहानी, मित्रलाल पंज्ञानी, जगदीश घिमिरे, ईश्वरचन्द्र ज्ञवाली, मातृका पोखरेल, शक्ति लम्साल, निनु चापागाइँ, डा.ताराकान्त पाण्डेय, रामप्रसाद ज्ञवाली, डा.जगदीशचन्द्र भण्डारी, डा. नन्दीश अधिकारी, नारायण ढकाल, कविताराम श्रेष्ठ, हरिगोविन्द लुइँटेल, खुशीराम पाख्रिनजस्ता साहित्यकारहरूको कलमको मसी खर्चिएको भेटिन्छ । यस सानो लेखमा यसै प्रगतिवादी धारामा आधारित भई कलम चलाउने कवि राजेश विद्रोही र उनको कविता संग्रह ‘मुक्तिसंघर्ष’ बारेमा संक्षिप्त चर्चा गर्ने अभीष्ट राखिएको छ ।
आ. कवि परिचय ः
साहित्यकार समाजका गौरवशाली व्यक्ति हुन् । साहित्यकारको कर्मले नै समाज ऋणी हुनुपर्छ । त्यस्तै कविता र कथा विधामा राम्रो पकड गरेर समाजलाई ऋणी बनाउने बाटोमा निरन्तर लागिपरेका साहित्यकारको नाम हो– राजेश विद्रोही । सप्तरी जिल्लाको पन्सेरा गाविस वडा न–९ मा जन्मेका र हाल जनमुक्ति सेनामा स्वास्थ्य क्षेत्रलाई कर्म थलो बनाउँर्दै आएका कवि विद्रोही जनयुद्धमा होमिएपछि साहित्यको महासागरमा पौडी खेल्न थालेका हुन् । (१) ‘रक्तमुच्छेल अंकुरण’ र (२) ‘मुक्तिसंघर्ष’ गरी दुई ओटा कविता विधाका संग्रह निकालेका स्रष्टा विद्रोही बलियो कलम भएका जनपक्षीय साहित्यकार हुन् । जनसरोकारका विषयवस्तु उठान गरी हृदय कल्पाउने क्षमता राख्ने उनको कलम विशेष गरी नेपाली समाज र राजनीतिप्रति केन्द्रित छ । यसका अतिरिक्त राष्ट्रिय र अन्तर्राष्ट्रिय परिवेश, इतिहास, कला, साहित्य तथा कम्युनिष्ट आन्दोलनतर्फ समेत मुखरित भएको पाइन्छ । उनी समाज परिवर्तनका लागि अधिकतम भूमिका निर्वाह गर्न रुचाउँछन् । उनले मूल्य सहितको जीवन बाँच्ने जीवनदृष्टि बोकेका छन् भने मानवीय सभ्यताको क्रममा विकास भएको विशिष्ट र सुन्दर अभिव्यक्तिलाई साहित्य ठान्दछन् । उन्नत विचार र कलालाई संयोजन गर्ने गरी रचना रच्ने मान्यताले ओतप्रोत भएका कवि विद्रोही थिचिएका र शोषित वर्गलाई प्रेम गर्ने र समाजमा अग्रगति चाहने विचार सम्प्रेषण गरी साहित्यकारहरूले समाजलाई गुण लगाउनुपर्ने विचार सार्वजनिक गर्छन् । उनी शोषित र उत्पीडितहरूको पक्षमा, श्रमजीविहरूको पक्षमा, उदीयमान वर्गको पक्षमा, अग्रगामी सोच र विचारको पक्षमा लेखिने साहित्यलाई नै प्रगतिशील साहित्य ठान्दछन् । समाजमा व्याप्त रूढिवादी, विकृति–विसंगति, थिचोमिचो, शोषण–दमनको जरो पत्ता लगाई उखल्ने जमर्को स्वरूप उनको कलम चलेको हो भन्ने स्पष्ट देखिन्छ । जनयुद्धलाई आफ्नो जीवन बनाएर शोषणरहित समाजको निर्माणमा जुटेका कवि विद्रोहीका कवितामा वर्गमाया, उत्तेजना, घृणा, सहिदश्रद्धा, स्नेहको फ्युजन पाइन्छ । उनका कविताहरू शक्तिशाली बन्दुकका गोलीजस्ता चोटिला र प्रभावयुक्त छन् । वर्गप्रेमी र वर्गघृणाको भाव छताछुल्ल रूपमा पाइन्छ । समाज रूपान्तरणका पक्षमा कवि विद्रोही कवितामा खरो साथ उभिएका छन् ।
इ. ‘मुक्तिसंघर्ष’ कविता सङ्ग्रहको विश्लेषण ः
कवि राजेश विद्रोहीको दोस्रो कृति ‘मुक्तिसंघर्ष’ कविता सङ्ग्रहमा २०६२ सालदेखि २०६६ सम्म रचिएका मध्ये जम्मा ३७ वटा कविताहरू समाविष्ट छन् । सबै कविताहरूमा गम्भीर मुद्दा उठाइएको छ । यहाँ भने कवि राजेश विद्रोहीका काव्यगत प्रवृतिहरूका आधारमा ‘मुक्तिसंघर्ष’ कविता सङ्ग्रहको विश्लेषण गर्न खोजिएको छ ।
(१) समाजवादी, यथार्थवादी धाराका पृष्ठपोषक ः समाजको हितमा कलमको कर्म देखिनुपर्छ । सुख सबैको भित्री इच्छा हो । समृद्धशाली बन्ने सबैको सपना हो । शान्तिको सुवास चारैतिर फैलियोस्, उन्नतिको मूल सर्वत्र फुटोस्, भातृत्वको भावना यत्रतत्र मौलाओस् भन्ने चाह समाजको उन्नतिको पक्षमा हुन्छ । यही आकाङ्क्षा र अपेक्षा एउटा चोखो भावना हो । हामीकहाँ गरिवको पसिना र रगत शोषकले चुसेको इतिहास छ । नेपालआमाको अस्मिता पटकपटक लुटिएकै हामीले भोगेकै हौँ । न्यायका लागि सर्वस्व सुम्पन सक्नुपर्छ । समाजको सर्वोपरी हितमा श्रम र शक्ति खर्चनुपर्छ । यस्तै विचारले ओतप्रोत भएका कवितांश ‘मुक्तिसंघर्ष’ मा आएका छन् ः
गरिवको पसिना र रगत शोषकले चुसेकै हो
आमाको अस्मिता पटकपटक लुटिएकै हो । पृ. ३
(२) वर्गीय चेतनाले ओतप्रोत ः धेरै दुःख पछिको थोरै सुख पनि अमृत बन्छ । लामो समयसम्म कहर काटेपछि मनमा नौलानौला रहर जाग्छन् । ती रहर पूरा भए मान्छे गमक्क पर्छ, पूरा नभए भाँडभैलो गर्न तम्सन्छ । गरिखाने वर्ग, दलित वर्ग आदिका विचारधारालाई उनले कवितामा प्राथमिकता दिएका छन् । जनडाक्टरका नाताले उनले आफ्नो वर्गको हितमा बोल्न पनि छाडेका छैनन् ।
स्वास्थ्यकर्मी हुन् गुरु अनि पुनर्जन्म दिने कर्ता
लाजधाक खाने अनि निर्धक्क बोल्ने प्रयोगकर्ता । । पृ. ५
(३) मार्क्सवादी दर्शन अंगिकार गर्ने कवि ः मूलभूतरूपमा प्रगतिवादी साहित्य मार्क्सवादी दर्शन र चिन्तनबाट प्रेरित र प्रभावित हुन्छ । कवितामा समतामूलक समाजको स्थापनाको आग्रह सहित वर्गीय दृष्टिकोण प्रस्तुत गरिएको छ । पुराना मक्किएका विचार र नयाँ अग्रगामी चिन्तनले प्रेरित विचारका बीच द्वन्द्व सिर्जना गरिएको छ । काल्पनिक आदर्श र खोक्रो नैतिकताको विपक्षमा उभिएर जनपक्षीय मत अघि सारिएको छ । यस क्रममा कवि विद्रोही निक्कै अघि छन् ः
सामन्ती पहाड नफोरी पूर्ण मुक्ति पाइँदैन
रगतको आलिवेलीमा वर्ग अचेत भेटिन्न । पृ. १०
(४) जनयुद्धप्रति अनुरागी भावना ः एकलकाँटे राज्यव्यवस्था विरुद्ध थालिएको जनयुद्ध जसले आमूल परिवर्तनकारी नीति लिएको थियो । त्यसको पक्षमा उभिएर कवि विद्रोहीले आफ्ना अभिमत जाहेर गरेका छन् ः
युगको इतिहास हेर्दा, मृत्यु ओकल्नैपर्ने
कोशी, टनकपुर, महाकाली सबै खोज्नैपर्ने ।
बेला यही हो, युग बदल्ने महान् संघर्षको
उठाऔं सबले झण्डा अब मुक्तिसंघर्षको । पृ. १
(५) मानतावादी दृष्टिकोण ः मान्छेले मान्छेको हक खोस्नुहुन्न । आफ्नो हक लिँदा अरुको हक खोसियो कि भन्ने कुरामा हेक्का राख्नैपर्छ । यस्तै कवितांश ‘मुक्तिसंघर्ष’ मा आएका छन् ः
खोस्नुहुन्न कसैको सन्तानको बाँच्ने अधिकार
नयाँ कुरो होइन यो त नचिताएको चित्कार । पृ. १४
(६) कलमले समाज रूपान्तरण गर्नु पर्ने भावना जाहेर ः कवि स्वयम् विचार लिएर युद्ध मैदानमा डटेका योद्धा हुन् । उनले कलमको तागत देखेका छन्, भोगेका छन् । त्यसैले कवितामार्फत नै कलमले समाज रूपान्तरण गर्नु पर्ने भावना जाहेर गरेका छन् ।
(७) समाजको सजीव चित्रण ः नेपाल सयौँ थुँगा फूलले सजिएका छ । नेपालीहरूले विश्वमा कीर्तिमान कायम गरेका छन् । हाम्रो मुटुमा विशाल नेपाल छ । कवि भन्छन् ः
सयौँ थुँगा फूलले सजिएको नेपाल
विश्व कीर्तिमानको मुटुमा छ विशाल । पृ. २१
(८) मार्क्सवादी दर्शनलाई आदर्शपुञ्ज ठान्नु ः साहित्यमा देखिएका गलत चिन्तन र प्रवृत्तिको भण्डाफोर नगरी सामन्ती सोचले दवाइराखेका क्रान्तिकारी आवाजहरूले मूर्तरूप लिन र न्याय, समानता र स्वतन्त्रताले भरिपूर्ण समाजको स्थापना गर्न सक्दैनन् । प्रगतिवादले मार्क्सवादी दर्शन र चिन्तनको विशिष्ट विचारधारासँग सम्बन्ध राख्दछ जुन राजनीतिमा साम्यवाद कहलाउँछ, सामाजिक एवं आर्थिक क्षेत्रमा समाजवाद, दर्शनमा द्वन्द्वात्मक भौतिकवाद कहलाउँछ भने त्यही साहित्यमा भने प्रगतिवाद कहलाउँछ । जीवन र जगत्का वस्तुसत्यलाई यथार्थ तवरले उद्घाटित गर्ने काम यस वादमा हुनेगर्छ । भनिन्छ, प्रगतिवाद आत्मा साम्यवादमा, प्रेरणा राजनैतिक अनुशासनमा र कल्पना सर्वाहाराको सत्ता प्राप्तिमा राखेर अघि बढेको हुन्छ । यसले मानवको शक्तिलाई सर्वोपरी ठान्छ । पूँजीवाद, सामन्तवादजस्ता वर्गप्रति झुकाव राख्ने क्रियाकलापको घोर विरोध गर्छ र वर्गसंघर्षको साम्यवादी विचारधारानुकूल साहित्य रचना गर्ने अभीष्ट यस वादले लिएको हुन्छ । मूलभूतरूपमा सामाजिक यथार्थवादी दृष्टिकोण, देशभित्र र बाहिरका चेतनामूलक विचारहरू, शोषकलाई घृणा र शोषित वर्गप्रति हार्दिक सहानुभूति, विकृति नाश गरी सकारात्मक परिवर्तनमा उग्र चिन्तन, नारी हक, हितप्रति सचेत, ईश्वर, धर्म, आत्मा, स्वर्ग, नरकजस्ता कुराहरूप्रति वेवास्था गरेर संघर्षशील जीवनलाई उच्च कदर गर्ने काम प्रगतिवादी साहित्यमा हुन्छ । यो नै मार्क्सवादी दर्शन हो । कविले मार्क्सवादी दर्शनलाई प्रेरणाको स्रोत ठानेका छन् ।
(९) क्रान्तियोद्धाहरू निस्वार्थी हुनुपर्ने विचार प्रकट ः युद्ध जनताका हकअधिकार प्राप्तिका लागि हुन्छ । मुलुकको रथ हाँक्नेहरूमा बहुसंख्यक शोषितपीडितप्रतिको गम्भिर चासो, समाजप्रतिको दायित्व बोध हुन सके मात्र राजनैतिक, आर्थिक एवं सामाजिक शोषणले लाटो पारिएका जनताको मनमा आशा र भरोसाको बीजारोपण गर्न सकिन्छ । प्रशासक होस् या शासक, जनतामाथि राज गर्ने उसको काम हो तर त्यो राज जनताको इच्छा अनुरूप, जनताको हित अनुकूल अनि जनताको सेवक हुँ भन्ठानेर हुनुपर्छ भन्ने मान्यता लोकतान्त्रिक पद्धतिमा हुन्छ भन्ने कुरा कसैले पनि भुल्न मिल्दैन । अतः क्रान्तियोद्धाहरू निस्वार्थी हुनुपर्ने विचार कविले प्रकट गरेका छन् ।
(१०) शहादत प्राप्त मुक्तिमार्गका हिमायतीहरूप्रति श्रद्धा र आस्था ः जन्मले राष्ट्रवादी भइन्न कर्मले सच्चा राष्ट्रसेवक कहलाउन सकिन्छ । हरेक अग्रगामी कार्यलाई पश्चगमनवाद वा यथास्थितिवादले नामोनिसान मेट्न खोजेका घटनाहरू नयाँ होइनन् । शक्तिशाली छातीभित्र शक्तिशाली विचार बोकेर हिड्ने विचारकको विपक्षमा मत जाहेर गरी असत्यको राज फैलाउनेहरू विरुद्ध न्वारानदेखिको बल झिकेर लागिपर्नु पनि चानचुने अठोट होइन । कालो मन भएकाहरू ऐयासी जीवन विताइरहेका र अँध्यारो भविष्यको जग खडा गरिरहेका परिवेशको कारुणिक अवस्थाबाट पार पाउन कठिन हुन्छ । नाटक देखाउन सजिलो छ तर दर्शकलाई प्राकृतिकपनले रिझाउन कठिन छ ।
दुनियाँको मुहार फेर्न आँटेका सहिद
हामी यस वखत तिम्रै गहिरो सम्झनामा । पृ. ५८
(११) यथास्थितिवादी र पश्चगमनवादीहरूको विरोध ः युगौँयुगदेखि उत्पीडनमा परेर लाटिएका जीब्राहरू छुराजस्तो धारिलो हुने अवस्था नआए हामी निरंकुशताका कैदी नै हुन्छौँ । स्वतन्त्रता, समानता र न्यायका सेनानी बनेर नयाँ दिनको स्वागत गर्न सक्दैनौँ । नकाम गर्नेहरूको झाँको झार्न र अन्यायमा परेकाहरूको उद्धार गर्नमा आफ्नो श्रद्धा झल्कन पाउँदैन र हाम्रो अभीष्ट मर्छ । जो जहाँ लागे पनि, जो जहाँ पुगे पनि पवित्र दिमाख खियाएर हुन्छ वा परिश्रमी हातगोडा चलाएर हुन्छ श्रम गर्दै पेट पाल्ने विचार मर्नुहुन्न । अग्रगमनको पुजारी बन्न सक्नुपर्छ । अग्रगमनको दिशामा लम्केको राष्ट्रनिर्माणमा जोड दिएर जीवनलाई सार्थक पार्नुपर्छ ।
भनाइ र गराइमा निक्कै अन्तर छ
व्यवहार गर्दा झनै पुरानोजस्तो छ । पृ. १९
(१२) जीवनवादी एवं आशावादी विचार प्रेषण ः नरमुण्ड माला लगाएर सिंहनाद गरिरहेका मानवको रूपमा देखिएका दानवहरू तीनमुर्छा परून् र पुनः त्यही रूपमा कहिल्यै जागा नहून् । व्युँझाइ हुन्छ नै भने सक्कली मान्छेका रूपमा व्युँझाइ होस् । त्यस्तो इतिहास रचियोस्, जुन इतिहास आजसम्म रच्नै पाइएको छैन । त्यस्तो यात्रा बनोस्, जुन यात्रा आजसम्म कल्पनामा मात्र सीमित छ । त्यस्तो गन्तव्य बनोस्, त्यस्तो गन्तव्यको यात्रा आजसम्म किटान गरिएकै छैन । यस प्रकार सकारात्मक परिवर्तनको पक्षमा कविले वकालत गदै जीवनवादी एवं आशावादी विचार प्रेषण गरेका छन् ।
(१३) निमुखाहरूको आवाज बुलन्द पार्ने कवि ः त्यो सूर्र्यको तेजले संसारका दुष्ट्याइँ पारखीहरूका गालामा थप्पड जाओस् । इमान र जमान हुनेहरूका मनमा उत्साह र उमङ्ग अझ उम्रियोस् । विग्रेकाहरू सप्रून्, सप्रेकाहरू मौलाऊन् । निधाएकाहरू जागून्, जागेकाहरू ठम्ठम्ती प्रगतिपथमा लागून् । त्यस सूर्यले असल मनमा आश उमारोस्, कलुषित मनमा त्रास उमारोस् । एक हितपछि अर्को हित देखियोस् । एक सुख पछि अर्को सुख देखियोस् । सच्चा पाखुरीको कदर होस्, सच्चा मनलाई पक्का बनाओस् । भद्दा मनलाई उत्साहित हुने दबाई खुवाओस्, कालो मनलाई सजायको दायरामा राखोस् । सप्रने मनलाई सपारोस्, नसप्रनेलाई दवाको दवाई पारोस् । कानूनको दूरदृृष्टि सर्वत्र फैलाओस् । इमान्दारी र परिश्रमी हातहरू चुमोस्, गद्दारी र अप्रिय पाइलाहरू सदाको लागि मेटाओस् । यसरी समृद्ध नेपाल बनोस् र गर्वले छाती ढक्क फुलाउँदै विश्वमा शिर उच्च पार्न पाएयोस् ।
वर्गमुक्तिको चाहानाभित्रै लुकामासी खेल्ने
शासकहरूको खुनी स्वर्ग पूर्णरुपमा ध्वस्त पार्ने । पृ. २५
(१४) राष्ट्रिय अखण्डता, एकता र मेलमिलापका पक्षधर ः एकमुठ्ठी सास शरीरमा छउँञ्जेल जसले जतिसुकै जोरजुलुम गरे पनि राष्ट्रियता बचाउने, नयाँ युग निम्त्याउने, क्रान्तिमा लागी नेपाली जनता वर्गदुश्मनसँग लड्न चुक्दैनन् गरिखाने वर्गको श्रम चुसेर र खोसेर खाने वर्ग नै दुनियाँको मालिक भएको परिप्रेक्ष्यमा सर्वहारा वर्गको मुक्तिको लागि निरन्तर क्रान्तिको लालझण्डा उठाउनुको विकल्प छैन जीवन जिउँने कला थरिथरीका छन् । अग्रसोचले युक्त जीवन साँघुरो कुनामा थुप्रिएर रहन सक्दैन । स्वाभिमानी जीवनले कर्मबाट, क्रान्तिबाट, संघर्षबाट वास्तविक जीवन खोज्छ । मनुवादी सोचले समाजलाई नकारात्मक संदेश सम्प्रेषण गरेको विचार राख्दै सोझो गोरु र स्वामीभक्त गधा बनेर दलितहरूले रहनुहुन्न । वर्गीय चेतनाले ओतप्रोत भई नेतृत्व तहमा पुग्न र आफ्नो हक अधिकार स्थापित गर्न कम्मर कसेर लाग्नुपर्ने विचार कविको छ । जनयुद्ध संहारको लागि हैन, मृत्युका लागि हैन, अशान्तिका हैन । निर्माणका लागि, जीवनका लागि र शान्तिका लागि भएको ठहर कविको छ ।
एकै दुःखमा बाँधिएका जति एक भई आऊ
दुःख र पीडा बाड्न एक भई आवाज उठाऊ । पृ. २९
(१५) सरल, सहज, मीठासपूर्ण भाषाशैली र समाजमा पचेका बिम्व, अलंकार एवं प्रतीकहरूको प्रयोग ः मूल्यसहितको जीवन जिउने सोचको विकास, विद्रोही एवं क्रान्तिकारी अभिव्यक्तिमा जोड र सरलतामा सलल बगेको जनबोलीको प्रयोगजस्ता पक्षलाई जोड दिई अग्रगामी आवाजलाई गुञ्जायमान गर्ने काम प्रगतिवादी साहित्यमा हुन्छ । यसे अनुरुप उनले सरल, सहज, मीठासपूर्ण भाषाशैली र समाजमा पचेका बिम्व, अलंकार एवं प्रतीकहरूको प्रयोग गरी कविता सिर्जेका छन् ।
ई. उपसंहार ः
उनका कवितामा वर्गीय माया, वर्गीय घृणा, सहिदश्रद्धाजस्ता भावना प्रशस्त पाइन्छ । शान्तिलाई बचाएर राख्ने काम सबैको हो । शान्ति कलिलो र कफलो हुन्छ । त्यसलाई हुर्काउन, बचाउन गाह्रो हुन्छ तर नाश गर्न वा भङ्ग गर्न सजिलो हुन्छ । शान्तिको घाँटी निमोठ्ने काम प्रशासनिक संयन्त्रद्वारा नै भएको र नेपाली जनताले कहर काटेर जिउनु परेको दुर्दशालाई मार्मिकतरवले प्रस्तुत गर्ने काम कवितामा भएको छ । उनका कविताहरू शक्तिशाली बम, बन्दुक र बारुदजस्ता क्षणभरमै प्रभाव जमाउने र क्षणभरमै प्रभाव गुमाउनेजस्ता घातक नभई विस्तारै विस्तारै प्रभाव पार्ने खालका रसिला छन् । पाठकको मन तान्ने क्षमता प्रायः सबै कविताहरूमा छ । विद्रोहीका कवितामा, द्धन्द्ध, अन्तरद्धन्द, आक्रोश, ग्रामीण परिवेश, घृणा, राजनीति आदिको बाहुल्यता पाइन्छ । सकारात्मक र विवेकसम्मत परिवर्तनको पक्षमा सन्देश दिएका छन् कविताले । वास्तवमा सुशासनको रट लगाउनु अघि सबैले खाना खान पाउँदा, त्यही खानाको जोह गर्न काम गर्न पाउँदा नै समाजले अग्रगति लिन सक्छ । समग्रमा अन्धविश्वासी, रुढिवादी एवं जढसूत्रवादीहरूको झाँको झारेर नयाँ नेपाल निर्माणका लागि नयाँ जोस थप्न कवि विद्रोही सक्षम छन् र उनको ‘मुक्तिसंघर्ष’ (कविता संग्रह, २०६७) पनि सफल देखिन्छ ।
-तपेश्वरी-१, गल्फडिया, उदयपुर
हालः लिटिल फ्लावर उच्च मा.वि., राजविराज-९, सप्तरी ।
(स्रोत : क्षेप्यास्त्र राष्ट्रिय साप्ताहिक )