~आभा~
यति धेरै त श्रीमान् शहीद हुँदा पनि ज्योतिको मन चोइटिएको थिएन । श्रीमान्को शहादतले कहिल्यै नभरिने एउटा खालीपन दिए पनि देश जनताको मुक्तिको लागि उनले गरेको बलिदानी सम्झँदा छाती गर्वले फुल्थ्यो । जीवन जगतलाई हेर्ने, बुझ्ने स्पष्ट दृष्टिकोण थियो ऊसँग । श्रीमान् गुमाउँदा पनि मान्छे मान्छेबीच खडा भएको विभेदको पर्खाल भत्काउने संकल्प कमजोर भएको थिएन । श्रीमान्को हातबाट खसेको बन्दुक समाउँदै शोकलाई शक्तिमा बदल्ने कुरालाई ब्यवहारिकता दिएकी थिई ज्योतिले ।
त्यसो त ज्योति आफै पनि श्रीमान्को काँधमा काँध मिलाउँदै सामन्ती शासन विरुद्धको संघर्षमा होमिएकी थिई । ‘हारे एउटा शरीर, जिते सिंगो संसार भन्ने दुबैको मूलमन्त्र थियो । पुस्तौं पुस्तादेखि चल्दै आएको शोषण, दमन, अत्याचारका बिरुद्ध उठेका कदमका अगाडि व्यक्तिगत सुख सुविधा गौण बन्थे । भावी पुस्ताको सुन्दर भविष्यको सपनामा आफूले उठाएको दुःखको भारी हलुको लाग्थ्यो उसलाई । श्रीमान्सँग बिताएका स्वर्णीम पलहरु ऊर्जाश्रोत भएर ढाडस दिन्थे ।
संघर्षको रुप फेरिएको भन्थे नेताहरु । एउटा सफलता प्राप्त गरेको तर्क दिन्थे उनीहरु । तर, युद्धताका बन्द भएका रक्सी जुवातास, बहुविवाह, दाइजो प्रथा सुरु भएका थिए । युद्धताका सुरु भएका विधवा विवाह, अन्र्तजातिय विवाह, छोरीलाई समान सम्पत्ति दिने परम्परा स्थापित हुन नपाउँदै भत्किँदै थिए । उता ‘समानान्तर सरकार‘का सेनाका कमाण्डर बनेका महिलाहरु घर गृहस्थी सम्हाल्न फर्कँदै थिए । यता पार्टीभित्र श्रीमान्÷श्रीमती गुमाउनेहरु कसले शहीद परिवारको मान्यता पाउने कसले नपाउने भन्ने बहस चल्दै थियो । अर्थहीन बहस जस्तो लाग्थ्यो ज्योतिलाई । सबैभन्दा निकट व्यक्ति शहीद हुँदा हुने पीडाले कसरी लिङ्ग छुट्याउला ? श्रीमान् श्रीमती जो गुमेको भए पनि बचेका दुबै स्वतः शहीद परिवार हुनुपर्ने जिकिर गर्थी ऊ । के पार्टीले कुनै निर्णय गर्दैमा मैले सुवासलाई र निश्चलले सविनालाई गुमाउँदाको पीडा र अभावमा फेरबदल गर्न सक्छ ? ज्योतिको प्रश्नको मर्म आत्मसात गर्ने मन त्यहाँ थिएनन् शायद । सुनाइयो, ‘पुर्नविवाह गरेपछि शहीद पत्नी हुने कुरा स्वतः हराउने हुनाले श्रीमती गुमाएकाहरुले मात्रै शहिद परिवारको मान्यता पाउने निर्णय गरियो ।
घोराही, दाङ
(स्रोत : समरेखा द्वैमासिक)