~राजव~
उताबाट आउने फोनको कुनै निश्चित समय छैन। तर, बार निश्चित छ– आइतबार वा शनिबार। अरू बार फोन आएको रेकर्ड छैन। यी बार कुनै पनि समय उसको फोन बजेको हुन्छ। त्यसकारण ऊ आइतबार र शनिबारका दिन फोन हातमै लिएर हिंड्छे। नभए आफूले लगाएको पोशाकको खल्तीभित्र घुसारिरहेकी हुन्छे। तर, फोन आउँछ नै भन्ने निश्चित हुँदैन। नआउला भन्न पनि सकिन्न। किनभने अघिल्लो फोनको एकाध महीनापछिको आइतबार वा शनिबार पारेर उसले फोन प्रायः गर्छ। हरेक फोनको अन्तर डेढ महीनाभन्दा बढीको हुँदैन। त्यसकारण अरू बार फोन जता राखे पनि शनिबार र आइतबारका दिन फोन उसको ज्यानको कतै टाँस्सिएकै हुन्छ। अरू बार साइलेन्ट वा भाइब्रेसनमा रहने उसको फोन यी बार ऊ सचेततापूर्वक साउन्ड मोडमा राख्छे। यत्ति गर्दा पनि उसलाई फोनबारे शंका लागिरहन्छ। र, फोन कहीं साइलेन्टमा त राखिनँ भन्ने आशंकामा ऊ बारबार सेटिङ्ग चेक गरिरहन्छे। फोनको सबै सेटिङ्ग ठीक भए पनि फोनको घन्टी नसुनिएला भन्नेमा ऊ चिन्तित रहन्छे। यी दिन ऊ आफ्नो प्रिय एफएम रेडियो स्टेशन पनि खोल्दिनँ। टिभी पनि मौन नै राख्छे।
फोन बिहान नौ र राति दश बजेको बीच कुनै पनि समय आउँछ। उसले घरीघरी फोन चेक गरिरहने कारण यै हो। कहीं घन्टी बजेर पनि सुनिन कि? कहीं भ्वाइस मेल पो छोड्यो कि? कहीं फोन साइलेन्टमा पो पर्यो कि? फोनबारे राति नसुतुन्जेलसम्म पनि ऊ यस्ता अनेक तर्कनामा परिरहन्छे। कतिपय पटक उसलाई त्यस्तो भएको पनि छ। त्यस्तो बेला उसले कल मिस गर्नु परेको छ। त्यसकारण ऊ बारबार फोन जाँच, पड्ताल गरिरहन्छे। एक पटक फोन साइलेन्ट मोडमा पुगेर हो कि अरू नै कुनै कारणले हो उसले रिङ्गटोन बजेको सुन्दै सुनिनँ। एकै छिनपछि चेक गर्दा उसले यस्तो भ्वाइस मेल सुन्नुपर्यो– ‘यु मिस्ड माइ कल, कल यु लेटर।’
त्यसरी पछि कल गरौंला भनेर भ्वाइस मेल छोडेको उसले त्यस दिन फेरि फोन गरेन। व्यर्थमा उसले कुरिरहनुपर्यो। उसलाई पछुतो लागिरह्यो। त्यसदिन रात छिप्पिउन्जेलसम्म पनि उसले फोन आउने आश मारेकी थिइनँ। लगभग एघार बज्न लागेपछि अब फोन गर्दैन भन्नेमा पुगेकी थिई ऊ। त्यसकारण ऊ आफ्नो तकियामुनिबाट जर्नल बूक निकालेर दैनिकी लेख्न थालेकी थिई।
उसले जर्नलको खाली पृष्ठ पल्टाएर सिरानमा त्यस दिनको मिति र समय लेखी। त्यसपछि त्यस दिनको कुरोमा यस्तो लेख्न थाली– आज मैले उसको कल मिस गरें। निकै पछुतो लागिरहेछ। करीब पैंतालीस दिनपछि आज आइतबार उसले फोन गरेको थियो। तर, मेरो दुर्भाग्य फोन बजेको सुन्दै सुनिनँ। फोन त आफूसँगै राखेकी थिएँ। तर, के लाग्छ? घन्टी बजेको सुन्दै सुनिनँ। अब यस्तो हुने छैन, बाचा गर्छु। गड ब्लेस हिम।
नभन्दै त्यसपछिका वर्षमा उसले उसको कुनै पनि कल मिस गरेकी छैन। उसको फोन आउने सम्भावनाको दिन फोनको घन्टी बजेको मात्र हुनुपर्छ हतपत त्यसको हरियो बटम थिचेर ऊ ‘हलो’ भनिहाल्छे। खासमा उसको फोन कमै बज्छ। झ्ुक्किएर कुनै असम्बन्धितले उसको नम्बर डायल गर्यो भने मात्र हो नत्र उसको फोन प्रायः बज्दैन। उसलाई डाक्टरको क्लिनिकबाट मेडिकल क्लर्कहरूले सन्निकट अप्वाइन्मेन्टको दिन सम्झ्ाउन नम्बर डायल गर्छन्। त्यस्तै डेन्टिस्टको अफिसबाट पनि उसलाई त्यस्तै अप्वाइन्मेन्ट सम्झाउन कल आउने गर्छ। आइतबार र शनिबार त ती क्लिनिक पनि पूरै बन्द हुन्छन्। विशेषतः आइतबार र शनिबार फोन आउने भनेको टमको नै हो। त्यो पनि यो नै आइतबार, शनिबार उसले कल गर्छ भन्ने छैन। तथापि आइतबार र शनिबार मात्र टमले फोन गर्ने हुनाले यी बार उसको हात र आँखा घरीघरी सेलफोनको पड्तालमा पुगिरहन्छ। फोनको पहिलो घन्टी पनि पूरा बज्न पाएको हुँदैन ऊ हरियो बटम थिचिहाल्छे। र, भनिहाल्छे, “हलो।”
उसको ‘हलो’ पछि उताबाट आवाज आउँछ, “हलो मम्, हाउ इज गोइङ्ग?” ऊ हर्षित भन्छे, “अल राइट।”
‘एभ्री थिङ्ग्स गुड विथ यु?’
त्यही आनन्दमा ऊ जवाफ दिन्छे, “यस, एन्ड यु माई सन?”
“आइ एम ओके मम्।”
फोन लन्च वा डिनर कुन टाइममा आएको हो त्यही अनुसार ऊ सोध्छे, “खाइस्?”
“अँ…।”
“बियर धेरै धोक्या स्वर छ नि?”
“जस्ट फोर क्यान।”
“यु सिम्स ड्रंक।”
“नो मम्, आइ एम टायर्ड।”
ऊ पग्लिन्छे। र भन्छे, “ठीक छ त रेष्ट गर।”
“ओके मम्, थ्यांक्यु।”
“ब्लेस्ड यु।”
आमाको ‘ब्लेस्ड यु’ सुन्नु पूर्व नै उसले रेड बटम थिचेर फोन इन्ड गरिसकेको हुन्छ।
फोन आएको दिन टमसँग उसको यस्तै घटी–बढीका कुरा हुने हो। यत्तिले पनि ऊ निकै सन्तुष्ट हुन्छे। सुत्ने बेलामा ऊ त्यसैगरी तकियामुनिबाट जर्नल निकाल्छे। र, त्यसका पानामा टमसँग भएका सबै कुरा र आफ्ना अनुभूतिहरू पूर्ववत् लेख्छे। अन्त्यमा ‘ब्लेस्ड यु सन’ लेखेर पल्टिन्छे।
अलि अगाडिसम्म ऊ टमलाई आफैं कल गर्ने गर्थी तर, टम फोन उठाउँदैनथ्यो। ऊ भ्वाइस मेल छोड्न बाध्य हुन्थी। त्यसमा भनेकी हुन्थी, “म आमा बोलेकी, फुर्सदमा मलाई कल गर बाबु।”
तर छोरा कल ब्याक गर्न हप्तौं लगाउँथ्यो। फोन आएको दिन ऊ गुनासो गर्थी, “मैले भ्वाइस छोड्दा पनि तैंले…।”
“सरी मम, कल ब्याक गर्छु भन्दा भन्दै बिर्सें, वास्तवमा धेरै बिजी छु।” “कल ब्याक गरेर बिजी छु मात्रै भने’नि भैहाल्छ नि।”
“मेसेज सुनेको बेला बिजी थिएँ, पछि झ्न् बिजी भएँ, भुसुक्कै बिर्सें, आज सम्झ्ेर गरेको।”
“मैले भ्वाइस मेल छोडेको कत्ति भो थाहा छ?”
“आइ नो।”
“के आइ नो नि? पूरै एक महीना भयो।”
“ओके मम्, अबदेखि तपाईं फोन नगर्नुस्, म आफैं गर्छु।”
“गरिनस् भने नि?”
“गर्छु, सियोर, तर अरू बार फुर्सद पाउन्न शनिबार वा आइतबार गर्छु।” “ठीक छ त्यसो भए।”
त्यसो भने पनि हरेक हप्ताको आइतबार, शनिबार टम फोन गर्दैन, एक डेढ महीना बिराएर मात्र टम गर्छ। तर ऊ हरेक आइतबार, शनिबारका दिन छोरोको फोनको घन्टी ढुकेर बसिरहेकी हुन्छे।
ऊ खिरिली ज्यानकी छे। उँचाइमा पाँच फुट दुईइन्चकी भन्दा बढीकी छैन। उमेरले ऊ बहत्तरकी भैसकी। उसको शरीरभित्रका एकाध अङ्गहरू जस्तो पाठेघर र पित्तको थैलीका ठाउँ खाली भएका छन्। क्यान्सर र पत्थरीको कारण ती दुवै उसको शरीरबाट अपरेशन गरेर फालिए। त्यसपछि ऊ सुगर र ब्लड प्रेसरको चपेटामा परी। यसपूर्व उसको शरीरमा अरू रोग चढिसकेका थिए। तिनलाई परास्त गर्न डाक्टरहरूले उसलाई बिहान उठेदेखि बेलुका सुत्ने बेलासम्मका लागि थुप्रै ट्याब्लेट दिएका छन्। तथापि रोगसँगको युद्धमा ऊ कमजोर हुँदै छे। तीसँग जुध्दाजुध्दै उसका घुँडा दुख्न थाले। जाँच पड्ताल गर्दा दुवै घुँडामा अर्थराइटिस भएको निष्कर्ष निस्क्यो। त्यसपछि तिनको लागि पनि उसले थप ट्याब्लेट निल्नुपर्ने भयो।
उसको मेडिकल रेकर्डमा सारा रोगहरू, त्यसको लागि गरिएका उपायहरू, ख्वाइएका औषधिहरू, अनेक जाँचपड्तालका नतीजाहरू राखिएका छन्। साथसाथै त्यसमा उसका बाउआमा कुनकुन रोग लागेर मरेका थिए भन्ने पनि लेखिएको छ। त्यसमा उसले कहाँकहाँ कुन कुन पोजिसनमा काम गरी भन्ने पनि उल्लेख छ। उसको पारिवारिक अवस्थाबारे पनि त्यसमा लेखिएको छ। लोग्नेसँग डिभोर्स हुनुको कारण पनि स्पष्ट लेखिएको छ। खासमा उसको लोग्ने अरू आइमाईसँग पल्केको चाल पाएपछि उनीहरूबीच खटपट चलेको रहेछ। त्यसपछि चलेको द्वन्द्वले उनीहरूलाई डिभोर्स गराएको कुरो छ त्यसमा। एउटा पारिवारिक उपन्यासको आउट लाइन जस्तो देखिन्छ ऊबारेको डाक्टरी रेकर्ड– लगभग जोनाथन फ्यान्जेनको उपन्यास जस्तै।
टमको बाउ एलेक्ससँग डिभोर्स भएपछि ऊ कुनै पुरुषसँग जोडिने अभियानमा लागिन। त्यसबेला टम दश वर्षको थियो। उसैलाई हुर्काउन, पढाउनमै उसले आफ्नो सारा कमाइ र समय लगाई। अन्डरग्य्राजुएट हुन्जेलसम्म टम घरमा ऊसँगै थियो। त्यसपछि टम गर्ल फ्रेन्डसँग छुट्टै अपार्टमेन्ट लिएर बस्न थाल्यो।
र, ऊ एक्ली भई।
यै गतिमा एक दिन टमले उसलाई फोन गरेर सुनायो,
“हामी बोस्टन छोड्दैछौं।”
“काँ जाँदैछौ?”
“क्यालिफोर्निया। क्रिष्टिनाले त्यहाँ काम पाई, म पनि पाउँछु।”
ऊ अवाक् थिई। उसको शक्तिमा केही थिएन। उसको मुखबाट विवश स्वर निस्क्यो, “ओके।”
त्यसपछि टमसँग उसको फोनमै मात्र कुरा भएको छ। विगतका दश थ्याङ्ग्सगिभिङ्ग, दश क्रिसमसमध्ये कुनै एकमा पनि टम घर आएन। यी चाडको अघिल्लो दिन टम उसलाई फोन गर्थ्याे–
“ह्याप्पी थ्याङ्ग्सगिभिङ्ग मम्।”
“ह्याप्पी क्रिसमस मम्।”
उदास ऊ ‘थ्याङ्क्यु, थ्याङ्क्यु’ भन्न बाध्य हुन्थी।
अलि अगाडिको फोनमा यसो भनेपछि टम घर आउँछ कि भन्ने आशले उसले सुनाएकी थिई, “आफ्नो त गाडिने दिन नजिकिंदैछ छोरा।”
तर, ऊ पग्लेन। सट्टामा कड्क्यो, “मम्, डन्ट से लाइक द्याट।”
“नभनेर के गर्नु? रोगहरू शरीरभरि सलबलाएका छन्, डाक्टरहरू चक्कीमाथि चक्की थप्दै छन्।”
“डाक्टरहरूले तपाईंलाई ट्याब्लेट्स दिएका हुन्, विष हैन।”
“जत्ति ट्याब्लेट दिए पनि रोगले गाल्दैछ, मेरो मर्ने दिन आजभोलि हुँदैछ, मलाई एक पटक हेर्न त आइजो।”
“यस्तो कुरा नगर्नुस् मम्, तपाईं यत्ति छिटो मर्नुहुन्न क्या!’
“एक पटक अनुहार देखाउन त आइजो, मेरा एकाध रोग त्यसै ठीक हुन्छ।” ‘म अहिले बिजी छु, पछि कुरा गरौंला मम्’ भन्दै टम फोनबाट उम्किएको थियो। ऊ रन्थनिएकी थिई।
केटाकेटीहरू चकचके हुन्छन् नै, तर उसलाई आफ्नो टम अरूभन्दा बढी नै चकचके लाग्थ्यो। ऊ कतै ठोक्किएर, पल्टेर हात, खुट्टा भाँच्ला, टाउको फोर्ला भन्ने अतिरिक्त चिन्तामा हुन्थी। ऊ सकभर टमलाई आफूबाट ओझेल पर्न दिन्नथी। टम भने उसले मिलिक्क गर्न नपाउँदै घरको चोटाकोठा, लन, ब्याकयार्डतिर कुद्न पुगिसक्थ्यो। जत्ति बोलाए पनि ऊनेर आउँदैनथ्यो, उतै चल्याचलेई गर्थ्याे। अनि मुठ्ठी देखाएर उसलाई डाक्दै भन्थी, “यहाँ हेर्न आइजो त बाबु मेरो मुठ्ठीमा के छ।”
“के छ?”
ऊ मुठ्ठी देखाउँदै भन्थी, “के के छ, के के।”
“देखाउनुस् पहिले, अनि आउँछु।”
ऊ झ्न् मुठ्ठी कस्दै भन्थी, “यहाँ आइजो अनि देखाउँछु।”
“पहिले देखाउनुस् अनि आउँछु।”
“याँ नआइ देखाउन्न।”
अन्ततः ऊ हैरान हुन्थ्योर आमातिर कुद्थ्यो। टम आफू नजिक पर्नासाथ ऊ टमको नाडी समाइहाल्थीर मुठ्ठी खोल्थी। टम आमाको मुठ्ठी खाली भेट्थ्यो। हरेक पटक यस्तो खेलमा टम झुक्किएको छ। र, ऊ टमलाई समाउन सफल भएकी छ।
यस्तै खेल टमसँग फेरि खेल्न पाए हुन्थ्यो भन्नेमा हुन्छे ऊ। र, सोच्न थाल्छे– तर त्यस्तो खेलै पो के होला जसले अहिलेको मेरो टमलाई मतिर आउन आकर्षित गरोस्। ऊ यस्तै आश्चर्य भेट्ने कल्पनामा रहन्छे।
(स्रोत : हिमाल खबर १६ असोज – ६ कात्तिक २०७३)