कथा : जन्तीसँगैको नयाँ दुलही

~तेजिन्द्र राना मगर~tejindra-rana

एउटा सानो गाउँ थियो। गाउँमाथी सुन्दर जंगल साथै प्राकृतिक र मगर परम्परा अनि सांस्कृतिले भरिपुर्ण गाउँ। त्यही सुन्दर गाउँको नाम थियो “चिसापानी “। म पनि त्यही चिसापानी गाउँमा जन्मिएकी थिएँ। चिसापानी गाउँकी छोरी म, सबैले “किरण” भनेर बोलाउथें। मेरो बुबा-आमाले छोरीको भविष्य उज्जवल होस भनेर मेरो नाम “किरण” राखिदिनु भएको रे अनि त्यही किरण नामलाई अनुहारसँग दाँजेर मेरा साथीहरुले भन्ने गर्थें:”यसको मुहार पनि कति चम्किलो र सुन्दर छ है! किरण नामसँग पनि ठ्याक्कै मिल्ने।” अनि म खुसिले गद्गद् हुन्थें। चिसापानी गाउँ माथी बनको हरीयाली, कहिले मेलापातको उकाली-ओराली, अनि छङ्छ्ङ् खस्ने झरणासँगै हुर्केकी म। कहिले त लालिगुराँस हातमा लिएर छमछम नाच्ने पनि गर्दथें।

घरकी एक्ली छोरी म, दाजु कमाईको शिलशिलामा कतारमा हुनुहुन्थ्यो। दाजु मलाई धेरै पढाउन बिदेश गएको रे बुबा-आमा भन्नुहुन्थ्यो। आमा सधै घरको काममा ब्यस्त, बुबा खेतबारी अनि गाईभैसी पालनमा। मैले पनि बुबा-आमालाई काममा सधै सहयोग गर्थें, त्यसैले पनि होला बुबा-आमाको अझै प्यारी छोरी बन्न पाएको। बगिरहेको पानीको चाल अनि बहिरहेको हावाको बेगसँगै पत्तै नपाई म पनि १३ औं बर्षमा प्रबेष गरेछु। जुन मेरो शरीरिक अनि भवनात्मक परिवर्तनहरुले पनि ब्यक्त गरेको थियो। त्यतिबेला म ६ कक्षामा अध्ययन गर्दथें। साथीहरुसँग मिलनसार म, कक्षामा सधै प्रथम हुन्थें। “नेभर सेकेण्ड इन माई लाइफ” भनेजस्तै थियो मेरो जिवन।

त्यतिखेरको कलिलो उमेरमा मैले धेरै सोच्न सक्दिनथें तर नर्स पढेर विरामीको सेवा गर्ने मेरो ठुलो चाहना थियो। मैले बुबाको काखमा हुँदा सधै भन्ने गर्दथें-“बाबा, म ठुलो भएपछि विरामीको सेवा गर्ने नर्स बन्छु ल?” अनि उहाँले मेरो गाला सुम्सुम्याउदै ठट्यौली पारा भन्नु हुन्थ्यो-” हुन्छ, छोरी। मेरो भैसी पनि सधै बिरामी परिरहन्छ। उसको पनि सेवा गरौली है!” बुबा र म सँगै हास्थेउ अनि त्यही सकिन्थ्यो नर्स बन्ने मेरो कुरा।
मंसिरको महिना थियो, मंसिर जुन लगनको महिना। मेरो घर नजिकै फुपु पर्नेको विबाह थियो। मगर परम्परा अनुसार विबाह हुँदै थियो। मैले यस अघि विबाह हेरेको पनि थिईन। त्यसैले पनि मलाई बिहे हेर्न खुब चासो थियो। म पनि आफ्नै फुपुको विबाह भएकोले यताउती काममा सघाउन त्यहाँसम्म पुगेकी थिएँ। बिहेमा पल्लो गाउँबाट आएका जन्तीको नयाँ-नयाँ अनुहारहरु नियालेर हेर्दै थिएं। ए कासी एक जन्तले ‘साली’ भनेर बोलायो, म झसँग भएं। छेउमै बसेको साथीले कानेखुसी गर्दै भन्यो-“त्यही त हो तेरो फुपुको छोरा।” मैले त्यता तिर चासो पनि दिईन, फेरी एकाएक अनुहार हेर्न तर्फ लागे।

भोली पल्ट जन्ती फर्कने दिन थियो। जन्तीहरु कोही तलसम्म पुगिसकेका थिए, कोही सामान लिएर निस्कदै थिए भने मेरा गाउँका मानिसहरु उनिहरुलाई स-सम्मनका साथ बिदाई गर्नमा ब्यस्त थिए। उनिहरुको बिदाई सकिएपछि म पनि ठुलोबुबा, बुबा अनि मामाको नजिकै खेतको आलीमा बसेर त्यही कुराहरु हेर्दै थिएँ। अचानक त्यही मेरो फुपुको छोरा भन्नेले मेरो हात तानेर खेतको डिल मुन्तिर पुर्यायो। त्यतिबेलासम्म मैले पनि खासै प्रतिकृया जनाएको थिएन। उसले ‘जाउँ साली हाम्रो घर’ भन्दै अझै मलाई तन्न तर्फ लाग्यो, त्यसैमा थपिए उसका २४ जना साथीहरु। अनि मैले बाबातिर फर्कदै भने : ‘बाबा, मलाई यिनीहरुले किन तानेको हो? मलाई छुट्याउन आउनुस्, बाबा!’ मैले यतिभन्दा बाबाले सायद नजर अर्कै तिर मोड्नु भएको थियो र मामासँग मन्द स्वरमा भन्दै हुनुन्थ्यो “मेरै बहिनीको छोरा हो क्यारे। लगेर राम्रोसँग पालिदिएको राम्रो।” यसको मतलब सायद बाबाले पनि मेरो हात उसैलाई सुम्पिन चाहनुहुन्थ्यो। उनिहरुले मेरो हात समाएर तान्दै थिएँ, मैले बल गरेर छुटाउने कोशिस गर्दै थिएँ तर सकिन्ँ। दाँतले टोकेर पनि छुट्ने कोशिस गरे तर सकुँ पनि कसरी उनीहरु ठुला र बलिया मान्छे अनि म भर्खरैको कलिलो कोपिला। त्यसैमा पनि कमिलाले माछिकिरालाई समाएजस्तै गरी वरिपरीबाट समाएका थिए, त्यतीखेर नै मेरा नयनबाट आशुँका थोपाहरु खस्दै थिएं। तैपनि उनिहरुले लछार्दै-पछार्दै मलाई तल चौतारीनजिकै ल्याइसकेका थिए। त्यहाँसम्म आइपुग्दा मेरो गोडामा चप्पल पनि थिएन्, कहाँ खस्यो म आफैलाई पत्तो थिएन। धेरै रोएं, धेरै कराएं तर कसैले मलाई उनिहरुबाट छुट्याउन आएन्न। सायद कारण एउटै थियो “उ मेरो फूपुको छोरा”।

उनीहरुले जबरजस्ती मेरो गाउँ र अर्को गाउँको सिमानासम्म पुर्याए। सिमाना सकिनु अघि चौतरी थियो, जसमा बरसँगै पिपल पनि थियो। सयद हावाको वहनले होला पिपलका पातहरु हल्लिरहेका थिए, मलाई ति पातहरुले बिदाइका हातहरु हल्लाएजस्तो भान भइरहेको थियो। त्यहीबाटै सम्झिएं मेरो प्यारो चिसापानी, प्यारो जन्मघर, उकाली-ओराली गरेका बाटोहरु, अनि उफ्री-उफ्री नाचेको प्यारो जन्मभुमी। मुटु झनै भकानिएर आयो, संगै बढ्यो रोदनको ध्वनी। साँझसम्म उनीहरुले मलाई फूपुको घरसम्म पुर्याए। छोराले बुहारी ल्याएकोले फूपु साह्रै खुसी हुनुन्थ्यो, तर उहाँलाई के थाहा बुहारीको आँखाभरी आँशु छ भन्ने। त्यहाँ सबैको मन खुसी थियो। मात्र एउटा मन दुखी थियो, त्यो मन थियो मेरो मन। तैपनि अन्त्यमा, मगर परम्परा अनुसार मलाई भित्र्याइयो अर्थात मलाई त्यो घरको बुहारी बनाईयो।

बाबाले अनि मेरो समाजले उनिहरुबाट छुट्याउन त सकेनन् तर मेरो नर्स बन्ने ठुलो सपनालाई सजिलै छुट्याउन सके दु:ख नै नगरि। कति ठूलो सपना थियो नर्स बनेर बिरामीको सेवा गर्ने, कति ठूलो सपना थियो धेरै बर्ष आफ्नो जन्मभुमीमा रमाउने सबै चकनाचुर भयो। मेरो लाईफमा “नेभर सेकेण्ड इन माई लाईफ” यहाँ पनि लागु भयो किनकी दाजुभन्दा अगाडी विबाह मैले गरें। तर साह्रै कलिलो उमेरमा, त्यही पनि दु:खसँगै। त्यसैले होला मलाई आजभोली ‘फस्त’ होइन, सेकेण्ड त थर्ड मन पर्न थालेको छ। बाध्यताले फस्त भएँ। सुन्दर गमला बन्ने माटो थिएँ, तर बगाइदियो भेलले सबै माटो। त्यसैले आज दु:खको भारीसँगै वितिरा’छ जीवन, धल्किरा’छ जीवन।

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.