संस्मरण : जिन्दगीमा फेसबूक

~कल्पना वान्तवा~Kalpana Bantawa

फेसबूके कुलीनहरू हाम्रा जतिसुकै महत्वका पोष्टलाई पनि बाल दिंदैनन्, अन्तरसंवाद गर्दैनन् र पनि हामी ‘म त यति ठूलो मानिसको साथी हुँ’ भन्ने आत्मरतिमा रमाउने स्वार्थले अपहेलना सहेरै साथी बनिरहन्छौं।

फेसबूकको नेपाली ‘डेमोग्राफी’ मा उच्च वर्गका केही ठालुहरू उच्चै आसनमा आसीन छन्। बेलाबेला उनीहरू टाइमलाइनमा केही हरफ ख्वाक्क खोक्छन् र निम्न मध्यमवर्गीय फेसबूकेहरूले हत्त न पत्त लाइक हान्न, ‘वाओ’ ठोक्न र प्रशंसाका फूल बर्साउन नभ्याउँदै आफ्नो उच्चासनमा ढसमस्स विराजमान भइसकेका हुन्छन्। हामी मध्यमवर्गीय यस्ता महामानवको साथी बन्न पाएकोमा धन्यधन्य हुन्छौं।एक पटक कामविशेषले नर्सको युनिफर्ममै अस्पताल हाताको हिमालयन ब्याङ्कमा पुगेकी थिएँ, एक भलाद्मीसँग भेट भयो। हर्षविभोर बन्दै उनलाई भनें, “नमस्कार, हजुर फलानो हैन? म फलानी!” औपचारिकतावश उनले ‘ए!’ भने। मसँगको परिचयले उनलाई झयाउ लागेको हाउभाउमा प्रष्टै देखेपछि मलाई ‘विनसित्ती साखुल्ले पल्टेछु’ भनेर आफैंसँग दिग्दार लाग्यो।

उसो त म हम्मेसी कसैसँग बोलिहाल्दिनँ, तर उनी मेरा बहुतै असल मित्रका मित्र थिए। त्यही कारणले सामुन्ने उनलाई देख्दा बोल्न अघि सरेकी थिएँ। तर, उनलाई लाग्यो होला– यसो पत्रपत्रिकामा टाकनटुकन लेखिटोपल्ने नर्स बित्थामा बोल्न खोज्छे। त्यसयता म यस्ता ठूलाबडाबाट बाह्र हात टाढै बस्छु। धन्न, सबै त्यस्ता हुँदैनन्। मेरै करीब ९०० साथीमध्ये ८०० जति बिल्कुलै त्यस्ता छैनन्। यो मीठो सत्यले मलाई सदैव स्नेही–आभारी बनाइरहन्छ।

फेसबूकले गाँसिदिएको साइनो बडो विचित्रको छ। मित्रजनसँग स–शरीर देखभेट नभए पनि यो मनले त्यो मनलाई चिनेजस्तो, त्यो मनले यो मनलाई बुझ्ेजस्तो अर्थात् नदेखे पनि भेट सधैंसधैं भएजस्तो लाग्छ। अक्षरको माध्यमबाट भएको चिनजानमा मैले कसैलाई पढेकी छु, कसैद्वारा पढिएकी छु। कसैसँग च्याटिएका छौं, फोनमा बात मार्दामार्दै कोहीसँग निकट बनेका छौं। हामीबीच नमिल्ने अनेक थोक छन्। रुचि, रहर, प्रकृति, जीवनलाई हेर्ने दृष्टिकोण फरक–फरक छ। र पनि, हामीबीच सद्भाव छ, हार्दिकता छ र छ सम्मान।
शायद हामी एकअर्काको बेग्लोपनप्रति मरिमेट्छौं। आफूमा नभएको साथीको विशेषताले मलाई आकर्षित गर्दो हो। त्यस्तै, साथीसँग नभएको मेरो कुनै गुण–दोषले उनलाई मेरो नजिक तान्दो हो।

केही दिनअघि टेलिसिरियल ‘सिंहदरबार’ हेर्दै थिएँ, प्रधानमन्त्रीकी आमा पात्रलाई देखेर झ्स्कें। परिचित अनुहार हो कि हैन, धरमर भइरह्यो। एपिसोडको अन्त्यमा कास्टिङ डिस्प्लेमा नाम देखेपछि पक्कापक्की भो, उहाँ मेरी फेसबूक मित्र पूनम राणा नै हुनुहुँदोरै’छ। पूनम म्याडमसँग खाली फेसबूकको चिनजान हो, तर मलाई आफ्नै मान्छेले फिल्ममा खेलेझैं आनन्द लाग्यो। लगत्तै, ‘संवाद– विप्लव प्रतीक’ पढ्दा फेरि फुरुङ्ग परें। ‘अबुई, विप्लव प्रतीकले पो लेख्नुभारैछ संवाद त!’ भनें आफैंसँग, कत्ति न विप्लव प्रतीकसँग घनिष्टता भएजस्तो!

कला–साहित्यमा रुचि राख्ने धेरैले चिन्छन्, कवि विप्लव प्रतीकलाई। मैले पनि पहिले उहाँका कविता, गीत पढें, सुने अनि फेसबूकमा साथी बनें। त्यसपछिका साहित्यिक कार्यक्रमहरूमा एक–दुई पटक भेट भयो। त्यतिकैमा पनि ‘सिंहदरबार’ को संवाद लेखकमा उहाँको नाम देख्दा प्रफुल्ल बनें। यी दुई नाउँ त्यसैत्यसै आफ्ना लागे, आफन्तले नै बनाएको र खेलेको सिनेमाझ्ैं लागेर दङ्ग पर्दै ‘सिंहदरबार’ हेरिभ्याएँ।

मलाई यस्तै लाग्छ। पत्रिकामा कुनै लेख पढ्छु र त्यसको लेखकबारे मनमनै फुर्कन्छु– ‘यिनी त मेरा फेसबूक फ्रेण्ड हुन् नि!’ कहिलेकाहीं त पूरै पत्रिका फेसबूके साथीले भरिएका हुन्छन्। यस्तोमा असिम आनन्दानूभूति हुन्छ। कहिले टिभीमा कसैलाई बोलिरहेको देख्दा दङ्ग पर्दै आमालाई चिनाउँछु, “मुवाँ! यो बोल्दै गरेको मान्छे मेरो फेसबूकको साथी क्या!”

अँ त म ‘सिंहदरबार’ को कुरा गर्दै थिएँ। मलाई यो टेलिसिरियल मन पर्‍यो। सम्झ्न लायकको छ यो टेलिफिल्म। अभिनय, निर्देशन, प्रस्तुति र पात्र चयनको हिसाबले ‘खास’ बनेको छ, यो। राजनीतिजस्तो गम्भीर तथा बोझिल विषयमा आधारित भए पनि ‘सिंहदरबार’ हेरिरहँदा ‘हाई’ आउँदैन, दर्शकले हरेक दृश्यको आनन्द लिन्छ।

यो टेलिफिल्ममा मलाई सबभन्दा गजब लागेको दृश्य हो, प्रधानमन्त्रीका प्रेस सल्लाहकार विश्वास विश्वकर्मा र उनको प्रेमीबीचको अनुरागको क्षण। समलिङ्गी जोडीको प्रेममय पल यति मधुर र कलात्मक हुन्छ भन्ने मैले कल्पनै गरेकी रैनछु। एकदम स्वाभाविक लाग्ने त्यो दृश्य र पात्रबीचको संवाद चाख मानेर सामान्य पाराले हेरें। ‘सुनगाभा’ हेर्दा लेस्बियन जोडीको चुम्बनको दृश्यले मलाई कता हेरुँ कता हेरुँ पारेको थियो, एक्लै भए पनि।

समलिङ्गीबीच होस् अथवा विपरीतलिङ्गी वा तेस्रोलिङ्गीबीचको, प्रेम त प्रेम नै हो। त्यसलाई पर्दामा सहज रूपमा प्रस्तुत गर्ने खूबी निर्देशकमा हुनुपर्ने रहेछ। ‘सिंहदरबार’ मा त्यस्तै गरिएको छ, गे पात्रबीचको प्रेमलाई दर्शकको आँखा नबिझ्ाउने गरी सुकोमल रूपमा प्रस्तुत गरिएको छ।

अहिलेसम्म मैले जे–जति ‘एलजीबिटी’ सम्बन्धी फिल्महरू हेरें, तिनमा प्रायः गे पात्रहरू सर्लक्क महिला रूपमै फेरिन प्रयासरत रहन्छन्। त्यसका निम्ति गरिएको मेकअप, ड्रेसअप र हाउभाउले उनीहरूलाई हास्यास्पद देखाउनुका साथै असामान्य बनाइदिन्छ। यस्तोमा उनीहरूबीचको प्रेमालाप पनि बनावटी लाग्छ।

दीपा मेहताको बहुचर्चित (प्रतिबन्धित पनि) हिन्दी फिल्म ‘फायर’ (सन् १९९६) मा शबाना आजमी र नन्दिता दासबीचको यौन व्यवहारले पनि मलाई अप्ठ्यारोमा पारेको थियो। सन् २००३ को अर्को हिन्दी सिनेमा ‘चमेली’ का गे पात्र अलि ‘क्लिसे’ लागे पनि अभिनय भने दमदार थियो। उनीहरू दृश्यमा सँगै देखिंदैनन्, छुट्टाछुट्टै एकअर्काप्रतिको प्रेमभाव प्रदर्शित गर्छन् र हराउँछन्। यो सिनेमाले यौन सम्बन्ध र प्रेमबीचको भिन्नतालाई मिहिन तरीकाले प्रस्तुत गरेको मलाई लाग्छ। यौनिक व्यवहार खुल्लमखुल्ला नदेखिएकै जाति हुँदोरैछ। पर्दामा यौन आवेगको प्रदर्शनले दर्शकलाई असहज महसूस गराउँछ, तर प्रेमको सन्तुलित व्यवहार नियाल्दा दर्शक भावनात्मक रूपमा दृश्यसँग एकाकार हुन्छ।

‘सिंहदरबार’ का गे पात्रले लाली पाउडर नघसिकनै, विना कुनै अतिरिक्त प्रयास स्वाभाविक अभिनयद्वारा दर्शकलाई ताने। उनीहरूको ‘काले’ र ‘कान्छी’ सम्बोधन पनि सामान्य र मायालु लाग्यो। उनीहरूबीचको संवाद–सम्प्रेषण, तदनुरूपको सजीव भावाभिव्यक्ति र बडी ल्याङ्गवेज धेरै तारीफयोग्य लाग्यो, मलाई। आँखालाई शीतल पार्ने त्यो सम्मोहनकारी प्रेमिल क्षणमा चुम्बन थपिएको भए दृश्यको सौन्दर्य, भव्यता सब खेर जान्थ्यो। निर्देशकीय चातुर्य यस्तै ठाउँमा चाहिने रहेछ।

फेसबूकको भर्चुअल संसार, यो दुईदिने चोलामा भेटेको गाडधनजत्तिकै छ मेरा लागि! वास्तविक प्रतीत हुने फेसबूकका क्रियाकलापमा सँघार ननाघिकनै संलग्न हुन पाउनु मजस्तो एकान्तप्रिय साधारण मनुवालाई वरदानै बनेको छ। प्रत्यक्ष भेटघाट–भलाकुसारीमा पाइने हार्दिकता र शुभेच्छा फेसबूकमै छेलोखेलो पाएकी छु। सपनामा पनि नदेखेका चिजबिज फेसबूकमै देखेकी छु। सूचना र सन्देशको पोउल पनि यहीं पाएकी छु। साथीहरूले ‘पढ है, सुन है, हेर है!’ भनेर अनेक थोक पस्किदिन्छन् फेसबूकमा। साहित्य, सङ्गीत अनि कलाका स्वाद फेरी–फेरी चाख्न पाइएको छ, फेसबूकमा।

विद्वत्जनले पोष्ट गरेका सामग्रीहरू पढेर नजानेका कति कुरा जानेकी छु। साथीभाइसँग दुःख–सुख बाँडेर सुख बढाएको र दुःख घटाएकी छु। कोही आत्मीयजनले ‘यसो गर, उसो नगर’ भनेर हकार्पकार् गर्छन् कहिलेकाहीं। यस्तोमा, ‘मेरा कामकुरामा चासो राख्ने, खोटहरू औंल्याइदिने, म असल मान्छे भएको देख्न चाहनेहरू मेरा पनि छन् आफ्ना फेसबूकमा’ भन्ने अभिभूत हुन्छ अनि कमी–कमजोरी र मूर्ख्याइँहरू सच्याइन्छ। मन खिन्न हुँदा फेसबूकमा साथीहरूलाई पढेर मरुन्जेल कहिले हाँसेकी छु, कहिले कसैका शेर, कविता र स्टाटसका मर्मले हुरुक्क बनेर रोएकी पनि छु।

म बेफुर्सदीमा हप्तौंसम्म फेसबूकलाई फर्केर हेर्दिनँ, कहिले भरदिन, भररात फेसबूकमै जाग्राम पनि बस्छु। फेसबूकमै जन्मदिन मनाएकी छु, शोक पनि मानेकी छु र बधाई पनि खाएकी छु। बिहे–ब्रतबन्धदेखि पुरस्कार, सम्मान, मेला–भेला र विमोचनसम्मका कार्यक्रम फेसबूकमै हेरेर रमाएकी छु। खासमा मैले भरपूर जीवन बाँचेकी छु फेसबूकमा। फेसबूक– जिन्दावाद!

आखिर असल जिन्दगीमा पनि सामान्यतः हुने कुराहरू यिनै हैनन् र?

(स्रोत : हिमाल खबर १६ असोज – ६ कात्तिक २०७३)

This entry was posted in संस्मरण and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.