~तुलसीहरि कोइराला~
विश्वभरका देवी–देवताका मूर्तिहरू आन्दोलनका नाममा फुटालिएका समाचार सुनिसकेपछि युद्धवीर धर्मशास्त्र अध्ययनमा लाग्यो। सालिक र मूर्तिहरूमाथि पनि किन यत्रो आक्रोश पोखिएको होला त? मनको कौतूहल मेट्न थुप्रै ग्रन्थ छिचोलेर निचोड निकाल्यो उसले– आखिर शक्ति भनेकै दुई खेमाको रहेछ– देवता र दानव। देवताहरू लोभले वरदान दिने र मायाले नष्ट गर्ने गर्दा रहेछन्।
अर्को शक्तिलाई परास्त गर्न अनेक तिकडम गरेका देवताहरूप्रति युद्धवीरमा रोष प्रकट भयो। उसले वाली सम्झियो, रावण सम्झियो, कंश सम्झियो, हिरण्यकश्यपू सम्झियो, जालन्धर, शुम्भ, निशुम्भ, वरवरिक, भष्मासुर आदिलाई सम्झियो। चित्त कुँडिएर आयो उसको। त्यत्रो तिकडमपूर्ण संहार गरेर पनि खै त देवताहरू जीवित रहेका? उनीहरूको अनेक रूपको कल्पना गरेर हामीले नै मूर्ति बनाइदिनुपर्ने उल्टै? एकाएक आवेगमा आएको युद्धवीर हिरण्यकश्यपू बन्यो र नृसिंह अवतारलाई लल्कार्यो। शास्त्रहरूको ज्ञानको दानवी रूप सवार भएको उसले बञ्चरो उठायो र छप्क्याउन थाल्यो आफ्नै घरका थामहरू। एक पछि अर्को थाम छप्क्याउँदै चुनौती दियो नृसिंहलाई।
युद्धवीरको घर लडेको खबर सुनेर गाउँलेहरू ओइरिए। महाभूकम्पमा पनि जोगिएको घर आज एकाएक ढलेको देखेर सबै आश्चर्यमा परे। अनि युद्धवीर खै त? खोजी भयो। धर्मग्रन्थका ठेलीहरू जम्मा पारेर केही दिनदेखि घरभित्रै बसेर पढिरहेको नजिकका छिमेकीहरूले बताए। उनीहरूका अनुसार, कहिलेकहिले युद्धवीर ‘छली देवताहरू, अब म देखाइदिन्छु तिमीहरूलाई दानवी पाइन्’ भन्दै कराएको पनि सुनिन्थ्यो।
घर ढल्दा भित्रै पो थियो कि युद्धवीर!
(स्रोत : हिमाल खबर १६ असोज – ६ कात्तिक २०७३)