~नीरज लवोजु~
‘छापामारको छोरो’ कथासङ्ग्रहले मदन पुरस्कार पाएपछि कथाकार महेशविक्रम शाहको साहित्यिक उचाइ अग्लियो। त्यो कृति प्रकाशित हुनुपूर्व उनका ‘अफ्रिकन अमिगो’, ‘सिपाहींकी श्रीमती’ प्रकाशित थिए। तर ‘छापामारको छोरो’ ले उनको ख्यातिमा व्यापकता थपियो। मदन पुरस्कारबाट पुरस्कृत भएपछि शाह नेपाली कथाको गतिलो ब्राण्डजस्तै बने। उनले लेखेका अन्य कथासङ्ग्रहका नयाँ संस्करण धमाधम छापिंदै छन्।
शाहको पछिल्लो ताजाताजी कथाकृति हो –ज्याक्सन हाइट। ‘छापामारको छोरो’ को प्रकाशनपछि धेरै टिप्पणीकारहरूले लेखेका थिए, ‘डण्डा बोक्ने प्रहरीभित्र साहित्य जस्तो कमलो वस्तु के होलाजस्तो लाग्थ्यो।महेशविक्रमले त्यसो होइन, बर्दीभित्र पनि मानिस हुन्छ भनी प्रमाणित गरिदिए।’ ‘ज्याक्सन हाइट’ को प्रकाशनपछि यस्तो लाग्यो, ‘कथा लेख्ने लक्ष्य बोकेरै पृथ्वी फन्का लगाउने नेपाली पनि रहेछ। महेशविक्रमत्यसका दृष्टान्त हुन्।’
विदेशी अझ नेपाल, दक्षिण एसिया र एसियाभन्दा पर ल्याटिन अमेरिका, अफ्रिका, युरोप, अमेरिकाका पृष्ठभूमिमा नेपाली कथा लेखिनु नयाँ कुरा होइन। समकालीन समयलाई नै कोट्याउने हो भने पनि राजुबाबु श्रेष्ठको ‘मृत्युमेला’ कथासङ्ग्रह यसको उदाहरण हो।
दुवै महेशविक्रम र राजुबाबु युएनमिसनका कर्मचारी बनेर सामान्यतः नेपालीहरू नपुग्ने अझ भनौ आम नेपाली जनताबाट अपरिचित भूगोलमा पुगेका छन्। उनीहरू त्यहाँका सर्वसाधारण जनताका जीवनबाट कथाका गुच्छा लिएर नेपाल फर्केका छन्। फलतः नेपाली साहित्यको भौगोलिक पहुँच फराकिलो बन्दै गएको छ। नेपालीहरू यूएन मिसनमा खटिएर नेपाली साहित्यको श्रीवृद्धिमा पुर्याएको यो योगदानको प्रशंसा नै गर्नुपर्छ।
जम्मा २१ कथाको पोको ‘ज्याक्सन हाइट’ ले पाँचै महादेशको पृष्ठभूमि समेटेको छ। कथाकार कहीं यूएन मिसनको कर्मचारी भएर त कहीं पर्यटक बनेर कथाका प्लटहरूमा पुगेका छन्। केही कथाहरूमा कथाकार स्वयं पात्र बनेका छन् भने केही कथामा कथाकार शूत्रधार बनेका छन्।
शाहका कथाहरूले गरिबीले निम्त्याएको बाध्यात्मक जीवन, रङ्गभेद, युरोपको पूँजीवादी विश्वको आवरणमा समृद्धि र आन्तर्यमा वियोगपूर्ण जीवन, डलरले तानिएर युरोप र संरा अमेरिकामा कहालीलाग्दो जीवन बाँचेका नेपाली आदि मूलभूत विषय वरपर फन्का मारेका छन्।
‘ज्याक्सन हाइट’, ‘म्युजियममा मेरो गाउँ’, ‘कन्ट्रयाक्ट’, ‘आम्सटर्डमको रातो गल्ली’, ‘दस हजार’, ‘फ्र्याङ्क’, ‘हान् घण्टा हान्’, ‘लास भेगासको सुनकेस्रा’ कथाहरूमा नेपाली पात्र नै प्रधान रुपमा प्रस्तुत छन्। नेपाली हुनाले पनि ती पात्रहरूको दुःखद अवस्थाका कारण मनमा पीडा हुन्छ एकातिर भने अर्कोतिर के–के न खाउँला पाउँला भनी देश छोडेकाहरू यस्तो भुङ्ग्रोमा पर्दा ‘ठिक्कै भएछ’ भन्ने पनि भावना आउने गर्दछ। ‘चोक्टा खान गएकी बुढी झोलमा डुबेर मरी’ जस्तै भएका छन् ती कथामा नेपालीहरू। यी कथाहरूले विदेश, अझ अमेरिका, युरोप भनेपछि भू–स्वर्ग ठान्ने नेपालीहरूलाई भ्रमबाट निकाल्न उपयोगी पाठ्यको भूमिका खेल्नेछ। यीमध्ये पनि ‘कन्ट्रयाक्ट’ निकै सशक्त र मनमा गहिरो छाप छोड्ने खालको कथा छ। यो कथा पढेपछि केही दिनसम्म दिमागमा एउटा नरमाइलो वियोगले डेरा गरेजस्तो भयो। ‘काली केटी’, ‘एना’, ‘ए ब्लँ !’ ‘रोजा’, ‘लुडी’, ‘मिसन डार्फर’ कथाहरू विशेषतः ल्याटिन अमेरिकी देश हाइटी र अफ्रिकाको पृष्ठभूमिमा लेखिएका छन्। यी कथाहरूमा रङ्गभेद, गरिबी, समृद्धिको सपना, युद्ध, लालसापूर्ण प्रेम, विद्रोह आदि पोखिएका छन्। ती कथाहरूमा नेपालीहरूको उपस्थिति छैन तर पात्रहरूमा नेपालीले भोगेजस्तै वियोगान्तहरू छन्। नाम, रङ्ग र भूगोल भिन्न भएर पनि ती पात्रहरूमा कथाकारले नेपाली जीवन उधिनेका छन्।
‘एबोरिजनल केटो’, ‘लभलक’, ‘मेट्रो: एउटा घुम्ती संसार’, ‘मिस्टर पाउल’, ‘भेनिसकी बुढी’, ‘आइफल क्याफे’ कथाहरूले युरोप र संरा अमेरिकी जीवनको कुरुप पक्ष उजागर गरेका छन्। युरोप र संरा अमेरिका बाहिरबाट जतिसुकै झिलिमिली देखिएर पनि त्यहाँको मानिसमा मानवता कति स्खलित छ, त्यहाँको जीवन कति कृत्रिम र सामाजिक जीवनबाट च्युत छ, बुझ्न सहज हुन्छ।
महेशविक्रमका कथाहरू वर्णनात्मक छन्। प्लट वरपरको परिवेश चित्रणमा उनको शैली प्रभावशाली छ। घटनाक्रमसँगै दृश्यको सपाट चित्रणले पाठकलाई पात्रहरूसँगै डोर्याएको हुन्छ। त्यसबाट आफू वरपरका प्रत्येक जीव–निर्जीव अवयवप्रति शाहको ध्यान निकै मिहिन लाग्दछ।
गोविन्दबहादुर ‘गोठाले’ ले भनेजस्तै शाहले नेपाली कथाको एउटा युगको नेतृत्व’ गरे वा गरेनन् त्यो समालोचकको विश्लेषणलाई छोडौं। तर ज्याक्सन हाइटसहित ६ वटा कथासङ्ग्रह प्रकाशित गरिसकेका शाहले नेपाली आधुनिक कथाको दायरालाई भने निःसन्देह फराकिलो बनाएका छन्।
यसको एउटा बलियो उदाहरण ‘ज्याक्सन हाइट’ हुनसक्छ। अब नेपाली कथाको परिवेश गाउँले माइला–माइली, मास्टर काका, जमिनदारबाट उक्लिएर नेपालीहरूले पसिना बगाइरहेका विश्वका विभिन्न कुना–काप्चा पुगेको छ। नेपाली कथाहरूमा पहाड, लेक–बंेसी, कन्दराबाट मरुभूमि, व्यस्त सहर, मेट्रोहरूका वर्णन हुन थालेका छन्।
कथा सङ्ग्रहमा ‘लिउ’ कथाले चिनियाँ समाजमा फैलिरहेको पश्चिमा प्रभावको प्रतिबिम्ब उतार्न खोजिएको छ।
सारमा ‘ज्याक्सन हाइट’ पाठकहरूको पठन मेनूमा राख्न योग्य कृति हो।
(स्रोत : रचनाकारको ब्लगबाट सभार)