~तुलसीहरि कोइराला~
राजनीतिक परिवर्तनको सन्दर्भबाट हेर्दा हामीले ऐतिहासिक फड्को मारेका छौँ । राजनीतिक परिवर्तनले मात्र समाजको बनोट, सांस्कृतिक परिवर्तन र व्यावहारिक रूपान्तरण हुन सक्दैन । हाम्रो सामाजिक जनजीवन र रहनसहन परम्परागत कार्यशैलीमा आधारित भएकाले समाजलाई रूपान्तरण गर्नका लागि सांस्कृतिक रूपान्तरणको आवश्यकता भएको निचोड प्रगतिशील साहित्यकारहरूको वि.सं. २०६५ मङ्सिर २७ गते सम्पन्न कार्यक्रममा निकालिएको छ । प्रगतिशील लेखक सङ्घद्वारा आयोजित ‘सांस्कृतिक रूपान्तरणको आवश्यकता र दिशा’ विषयक विचारगोष्ठीको समुद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गर्नुभएको थियो । उक्त कार्यक्रममा ‘सांस्कृतिक रूपान्तरणको आवश्यकता र दिशा’ विषयक कार्यपत्रहरू वरिष्ठ माक्र्सवादी विश्लेषक मोहन वैद्य ‘चैतन्य’ र प्रगतिशील साहित्यकार प्रदीप ज्ञवालीले छुट्टाछुट्टै रूपमा प्रस्तुत गर्नुभएको थियो । कार्यपत्रहरू विचार, दर्शन र व्यावहारिक पक्षलाईसमेत समेटेर तयार पारिएकाले सांस्कृतिक रूपान्तरणका लागि मार्गदर्शकको भूमिका निर्वाह गर्ने सामथ्र्य राख्नेखालका भए पनि कार्यान्वयनको पक्ष भने फितलो नै रहेको अनुभव हुन्छ । यस पटकको विचारमञ्चमा तिनै कार्यपत्रका महìवपूर्ण अंशहरूमा केन्दि्रत रहेर प्रस्तुत गरिएको छ ।
संस्कृतिसम्बन्धी सामान्य अवधारणा प्रस्तुत गर्दै विश्लेषक मोहन वैद्य ‘चैतन्य’ लेख्नुहुन्छ- “संस्कृतिसम्बन्धी अवधारणाको चर्चा गर्दा सैद्धान्तिकरूपमा उल्लेख गर्न सकिने र गर्नुपर्ने कुराहरू धेरै छन् । मानिसद्वारा श्रम प्रक्रियाका बीचबाट प्रकृतिमाथि विजय प्राप्त गर्दै उत्पादन र कलामूलक गतिविधिहरूलाई अगाडि बढाउने प्रक्रियामा संस्कृतिको सृष्टि हुन्छ । संस्कृति प्रकृति र जीवनको पुनः सृजनसँग जोडिएको हुन्छ । संस्कृतिलाई मानवीय गतिविधिमा आधारित सामाजिक तथा ऐतिहासिक परिघटनाका रूपमा ग्रहण गर्न सकिन्छ । संस्कृति एक सार्वभौम सामाजिक अवधारणा हो । परन्तु सामाजिक समूहका विशिष्ट सांस्कृतिक परिचान पनि हुने गर्दछन् । वर्गसमाजमा संस्कृतिको स्वरूप वर्गीय हुन्छ । जुन समाजमा जुन वर्गको प्रभुत्व छ, त्यो समाजमा त्यसै वर्गको संस्कृति प्रभुत्वशाली रहेको हुन्छ । दासयुगदेखि सामन्तवादी युग हुँदै पूँजीवादी युगसम्म आउँदा हरेक युगमा उत्पीडन र उत्पीडित वर्गका संस्कृतिबीच निरन्तर सङ्घर्ष चल्दै आएको छ । विभिन्न देशमा सम्पन्न समाजवादी क्रान्तिले यो सङ्घर्षलाई उत्कर्षमा पुर्याउने काम गरेको छ । यसै सङ्घर्षका बीचबाट सांस्कृतिक रूपान्तरणको प्रक्रिया अगाडि बढ्दै आएको छ ।
हरेक समाजमा मानिसका सांस्कृतिक आवश्यकता, उद्देश्य तथा आदर्श हुने गर्दछन् र तिनको परिपूर्ति वा प्राप्तिका लागि रचनात्मक गतिविधि र आवश्यक कर्म गर्न जरुरी हुन्छ । यी सबै मानवीय जीवन मूल्य वा सांस्कृतिक मूल्यबोधसँग सम्बन्धित छन् । सत्यम्, शिवम्, सुन्दरम् नै सर्वोच्च सांस्कृतिक मूल्य हुन् । उन्नत सांस्कृतिक आवश्यकता, उद्देश्य वा आदर्श यिनै सर्वोच्च सांस्कृतिक मूल्यमा आधारित रहेका हुन्छन् । सांस्कृतिक रूपान्तरणको प्रक्रिया विभिन्न प्रकारका सङ्घर्ष र नयाँ सांस्कृतिक मूल्यबोधका बीचबाट सम्पन्न हुने गर्दछ । सांस्कृतिक रूपान्तरणको कुरा गर्दा एकातिर पुरानोको ध्वंश तथा नयाँको निर्माण गर्ने मान्यतालाई दृढतापूर्वक अवलम्बन गर्नुपर्दछ भने अर्कोतिर देशको राष्ट्रिय तथा विश्व संस्कृतिद्वारा सिर्जित उत्कृष्ट मूल्य-मान्यताहरूलाई अँगाल्न आवश्यक छ ।”
प्रगतिशील साहित्यकार एवं विश्लेषक प्रदीप ज्ञवाली सांस्कृतिक रूपान्तरणको आवश्यकताबारे वहसहरू बेलाबेलामा चल्ने गरे पनि समग्रतामा, योजनाबद्धरूपमा र प्रभावकारी ढङ्गले भने सांस्कृतिक रूपान्तरणको सार्थक प्रयास अगाडि बढ्न नसकेको बताउनुहुन्छ । आˆनो १९ बुँदे कार्यपत्रमा सांस्कृतिक रूपान्तरणको आवश्यकता यसकारण पनि छ भन्दै अगाडि लेख्नुहुनछ- “आफूलाई माक्र्सवादी, प्रगतिशील या वामपन्थी भन्ने कतिपय व्यक्ति/समूहमा समेत नाचगानजस्ता सीमित कृयाकलापलाई मात्र संस्कृति भनेर बुझ्ने खण्डित दृष्टिकोण विद्यमान छ र सांस्कृतिक क्षेत्रको कामलाई आज पनि दोयम दर्जाको ठान्ने प्रवृत्ति छ तर हामी संस्कृतिलाई प्रकृति र समाजसँग सङ्घर्ष गर्नेक्रममा मानव जातिले विकास गरेका समग्र जीवनदृष्टि र जीवनशैलीलाई समेट्ने व्यापक र समग्र वैचारिक कृयाकलाप भनेर बुझ्दछौँ । गोर्कीका शब्दमा यो मानव निर्मित दोस्रो प्रकृति हो । समाजको वस्तुगत यथार्थको मानसिक प्रतिबिम्बको रूपमा रहेको र आर्थिक-राजनीतिक जगमाथि आधारित विषय भए पनि संस्कृति ऐनाको प्रतिबिम्ब जस्तो निष्कृय परिकल्पना चाहिँ होइन । राजनीतिक र आर्थिक संरचनाको रूपान्तरणको तुलनामा संस्कृतिका जराहरू कुनै कानुनी कागज वा भौतिक संरचनामा सीमित नरहेर मान्छेको चेतन या अवचेतन मस्तिष्कमा गहिरो गरी स्थापित हुने हुनाले सांस्कृतिक रूपान्तरण कुनै औपचारिक घोषणा, व्यवस्थाको परिवर्तन या कानुनी दस्तावेजबाट मात्र सम्पन्न हुन सक्दैन । पुरानो सत्ता, संस्था या वर्ग आˆनो ठाउँबाट विस्थापित हुँदा पनि उसले आˆनो सांस्कृतिक प्रभाव समाजमा कुनै न कुनै रूपमा कायमै राखेको हुन्छ र अनुकूल अवस्थामा पुनरागमनको लागि ऊ प्रयत्नशील हुन्छ । त्यसैले सांस्कृतिक रूपान्तरणको लागि सोद्देश्य, सार्थक र सचेत प्रयाशको खाँचो पर्दछ ।”
वर्तमान सांस्कृतिक अवस्थालाई विश्लेषण गर्दै चैतन्यले भन्नुभएको छ- “नेपाल अर्धसामन्ती तथा अर्धऔपनिवेशिक अवस्थामा आधारित बहुजातीय, बहुधार्मिक तथा बहुसांस्कृतिक मुलुक हो । विभिन्न प्रकारका जनसङ्घर्ष, वर्गसङ्घर्ष र जनयुद्धको प्रक्रियामा साहित्य र कलाको क्षेत्रमा एकातिर अभिजात्यवाद तथा आधुनिकतावाद विस्थापित हुँदै गएको छ । अर्कोतिर प्रगतिशील जनवादी तथा प्रगतिवादी धारा स्थापित हुँदै आएको पाइन्छ । विभिन्न प्रकारका ऐतिहासिक सङ्घर्षका बीचबाट आज देशमा उत्पीडित वर्ग, जातजाति, लिङ्ग र तप्काका जनतामा नयाँ जागृति र चेतनाका लहरहरू तूफानी वेगमा विकसित हुँदैआएका छन् । पुराना सांस्कृतिक मूल्यहरूको विघटन र नयाँ सांस्कृतिक मूल्यहरूको सङ्घटनको प्रक्रिया तीब्रगतिमा विकसित हुँदै गइरहेको छ । एकातिर सामन्तवाद तथा साम्राज्यवादसँग सम्बन्धित जनविरोधी, अराष्ट्रिय एवं अवैज्ञानिक संस्कृति र अर्कोतिर जनवादी क्रान्तिसँग सम्बन्धित जनवादी, राष्ट्रिय एवं वैज्ञानिक संस्कृतिका बीचमा आधारभूत अन्तरविरोध कायमै छ । सांस्कृतिक आन्दोलनको आजको मूल समस्या संसदीय यथास्थितिवादमा अल्भिmएर बस्ने कि लोकतन्त्रलाई नयाँ उचाइमा विकसित तुल्याउने, देशको राष्ट्रिय स्वाधीनताको रक्षा गर्ने कि वैदेशिक प्रतिक्रियावादको सामु घुँडा टेक्ने, आन्दोलन तथा वैज्ञानिक चेतनामा आधारित नयाँ संस्कृतिले समृद्ध बन्ने कि पुरानै संस्कृतिमा टाँसिइरहनेजस्ता विषयसँग जोडिएको छ । नयाँ जनसंविधानको निर्माण गर्ने महान् ऐतिहासिक प्रक्रियामा सिङ्गो देश अगाडि बढिरहेको बेला सांस्कृतिक रूपान्तरणको प्रश्नले विशेष महìव राख्दछ ।”
रूपान्तरण हरेक क्षेत्रमा हुन्छ । एउटा कालखण्ड पार गरिसकेर ऐतिहासिक फड्को मारिसकेपछि रूपान्तरणका प्रक्रियाहरू आफैँ पनि क्रमशः अगाडि बढ्दछन् । त्यसमा पनि समाजका अगुवा भनाउँदाहरूले अग्रसर भएर बाटो देखाउन तम्सिने हो भने परिवर्तन नहुने भन्ने प्रश्नै उठ्दैन तर सांस्कृतिक रूपान्तरणको दिशाबारेमा छलफल गरिरहँदा हामी अहिले कहाँनेर उभिएका छौँ र हामीले तय गरेको गन्तव्य र दिशा के हो भन्ने बारेमा छलफल हुनुपर्छ भन्नुहुन्छ प्रदीप ज्ञवाली । “सांस्कृतिक रूपान्तरणको दिशालाई निर्धारित र निर्देशित गर्ने विषय राजनीतिक-आर्थिक-सामाजिक रूपान्तरणको दिशा नै हो । राजनीतिक परिवर्तनले सांस्कृतिक रूपान्तरणलाई बाटो देखाउँछ भने सांस्कृतिक रूपान्तरणले त्यस्तो परिवर्तनलाई दिगो, संस्थागत र सुदृढ गर्न भूमिका खेल्दछ ।
राजनीतिक कार्यभारले हाम्रो सांस्कृतिक कार्यभारलाई दिशानिर्देश गर्छ । वर्गीय दृष्टिले कुलीनतन्त्री, लैङ्गिक हिसाबले पितृसत्तात्मक, धार्मिक हिसावले हिन्दुवादी, जातीय हिसावले ‘उच्च’ जातीय अहङ्कारवादी, भाषिक हिसावले एकाधिरकारवादी, क्षेत्रीय हिसावले काठमाडौँ केन्द्री र स्वरूपको दृष्टिले एकात्मक सामन्ती संस्कृतिलाई लोकतान्त्रिक, मानवतावादी र समाजवाद उन्मुख संस्कृतिले प्रतिस्थापन गर्नु अहिलेको हाम्रो मुख्य दायित्व हो र सांस्कृतिक रूपान्तरणको दिशा पनि यही हो । हाम्रो समाजमा व्याप्त प्रगतिगामी संस्कृतिका केही चारीत्रिक विशेषता छन् । यो सामन्ती त छ नै तर यसमा प्रारम्भिक सामन्तवादमा पाइने ‘दयालुपन’ छैन र सामन्ती राष्ट्रवादको विशेषता पनि छैन । नेपाली समाजमा ठाडो र तहगत अर्थात् वर्गीय र जातीय सांस्कृतिक दुवैखाले विभेद छ र संस्कृतिमा यसको घनीभूत प्रतिबिम्ब छ ।”
सांस्कृतिक रूपान्तरणको आवश्यकता केलाउँदै विश्लेषक चैतन्य भन्नुहुन्छ- “सांस्कृतिक रूपान्तरणको आवश्यकताको प्रश्न समाजको भौतिक संस्कृति र आत्मिक संस्कृतिको विकासको एक निश्चित अवस्था र स्तरसँग सम्बन्धित रहेको हुन्छ । यो प्रक्रिया र स्तर नेपाली जनवादी क्रान्तिको ऐतिहासिक चरणसँग जोडिएको छ । यो प्रक्रियामा हाम्रालागि सांस्कृतिक रूपान्तरण त स्वतः आवश्यक छ तर गुणात्मक प्रकारको राजनीतिक तथा आर्थिक रूपान्तरणबिना सांस्कृतिक रुपान्तरण हुन सक्दैन । साथै, अर्कोतिर राजनीतिक तथा धार्मिक क्षेत्रमा गुणात्मक रूपान्तरणका लागि पनि सांस्कृतिक रूपान्तरण आवश्यक हुन्छ ।
सांस्कृतिक रूपान्तरणको दिशा भनेको सारमा सांस्कृतिक आन्दोलनको दिशा नै हो । सांस्कृतिक आन्दोलनको दिशा राजनीतिक आन्दोलनको दिशासँग घनिष्टरूपमा जोडिएको हुन्छ । सांस्कृतिक आन्दोलनको परिधि व्यापक हुन्छ । सांस्कृतिक आन्दोलनलाई सही ढङ्गले अगाडि बढाउनका लागि सांस्कृतिक आन्दोलनको सम्बन्धित चरणमाथि ध्यान दिँदै आवश्यक नीति र कार्यक्रमको निर्माण गर्नुपर्दछ । सांस्कृतिक रूपान्तरणको दिशालाई मार्गदर्शन गर्नका लागि माक्र्सवादको सैद्धान्तिक आलोकको आवश्यकता पर्दछ । मार्गदर्शक सिद्धान्तबारे नेपाली वामपन्थी तथा सांस्कृतिक आन्दोलनमा विवाद तथा मतभेदहरू रहिआएका छन् । नेकपा माओवादीले माक्र्सवाद-लेनिनवाद-माओवाद र प्रचण्डपथलाई मार्गदर्शक सिद्धान्त मान्दैआएको छ ।”
लोकतान्त्रिक संस्कृति स्थापित गर्ने कुरा अहिलेको आवश्यकता हो भन्दै प्रदीप ज्ञवाली अगाडि भन्नुहुन्छ- “समाजका अन्य वर्ग, समूह वा तहका सांस्कृतिक पक्षहरूलाई झूठो प्रतिनिधित्व गर्दै शासक वर्गको संस्कृतिलाई नै राष्ट्रिय भाषा मान्ने, पहाडी पोशाकलाई मात्रै राष्ट्रिय पोशाक ठान्ने, आफूलाई मात्रै राष्ट्रवादी ठान्ने र मधेसमा बस्ने नेपालीको राष्ट्रियतामाथि सन्देह गर्ने, धर्म र परम्पराको नाममा छुवाछूतजस्तो अमानवीय कलङ्कलाई निरन्तरता दिने, महिलालाई दोस्रो दर्जाको नागरिक ठान्ने, खास वर्ग या समुदायको संस्कृतिलाई राष्ट्रिय संस्कृतिको रूपमा थोपर्न खोज्ने र पैसा, पद र प्रतिष्ठालाई पुज्ने संस्कृति हावी छ । विश्वव्यापीकरणको नाममा आएको पुँजीवादी संस्कृतिको बाढीले हाम्रो सांस्कृतिक रूपान्तरणको कार्यसूचीलाई झनै जटिल बनाइदिएको छ । यसले एकातिर मान्छेको विस्तरासम्मै नग्न पुँजीवादी संस्कृतिको विस्तारलाई निर्वाध तुल्याइदिएको छ भने अर्कोतिर हाम्रो भाषिक, सांस्कृतिक र अन्य पहिचानमाथि निरन्तर अतिक्रमण गर्दै तिनीहरूको अस्तित्वमाथि नै चुनौती खडा गरिदिएको छ । यी चुनौतीको बीचबाट लोकतान्त्रिक सांस्कृतिक रूपान्तरण एउटा जटिल र चुनौतीपूर्ण कार्यभार हो ।
सांस्कृतिक रूपान्तरणको वहस गरिरहँदा अहिले केही विषयमा स्पष्टताको खाँचो छ । यतिबेला इतिहासको भत्सर्नाको फेसन नै चलेको छ । पुरानो जति सबै ध्वंश गरेर र शून्यबाट सुरु गरेर कहीँ पुगिदैन । संस्कृति मानव जातिले आर्जन गरेको वैचारिक र व्यावहारिक मूल्यको समष्टि हो । संस्कृतिबाट धार्मिक बोक्रा छोडाएर त्यसलाई नयाँ ढङ्गले विकास गर्नु आवश्यक छ ।”
कार्यपत्रहरूले गहन विषयवस्तुको उठान मात्र गरेका छैनन्, स्पष्ट मार्गनिर्देश पनि गर्न खोजेका छन् तर रूपान्तरण गर्ने भन्ने कुरा राजनीतिक परिवर्तनजस्तो क्रान्तिका माध्यमबाट भइहाल्ने कुरा होइन । समाजलाई क्रमशः परिवर्तनतिर अग्रसर गराउँदै अघि बढाउन प्रयास गर्नुपर्छ भन्नेमा कार्यपत्रमाथि टिप्पणी गर्ने विद्वानहरू प्रा. माणिकलाल श्रेष्ठ, डा. तुलसी भट्टराई र आहूति सहमत हुनुभएको थियो ।
(स्रोत : मधुपर्क २०६५ माघ)