कविता : शैतानको शैली

~भिम बहादुर थापा~Bhim Bahadur Thapa

धुम्रपानले लिन्छ ज्यान,
एउटा चुरोट पारखी
गाँउले माड्साब
कक्षामा चिच्याइरहेछ।
पथभ्रष्ट, पथप्रदर्शक बनिरहेछ,
पथभ्रष्ट, दिशानिर्देश गरिरहेछ।।
**
भ्रष्टाचारमुक्त प्रशासन,
एउटा घुस्याहा हाकिम
जुँगा मुसार्दै
साखिलो बन्छ।
नैतिकता नामेट छ,
अनुशासन रड्डीमा मिल्किइरहेछ।।
**
कानूनी राज्य,
एउटा नव-शासक
भ्याई-नभ्याई फलाकिरहेछ।
विना सर्त
अपराधी, उन्मुक्ति पाउँदो छ
दण्डहीनता हुर्कंदो छ,
कानूनको उपहास उँडिरहेछ।।
**
सत्य-सेवाको कसम बोल्छ,
एउटा बर्दिधारी
जनताको पसिनाले पालिन्छ।
मान्छे मारिइरहेछन्
मान्छे बेचिइरहेछन्
ऊ बिन्दास
छाती खोलेर जिउँदो छ
मानव-संवेदना मृत छ,
कर्तव्य गुमनाम छ।।
**
अग्रगमन आवश्यक,
एउटा मुक्तिवाचक
घोक्रो फुल्ने गरी कराउँछ।
परम्परा सनातन छ
परिवर्तनको गन्ध छैन
हुतिहाराहरु शर्मनाक बाँचिरहेछन्।।
**
देश बदलिएको छ,
नागरिकका अगुवा
निस्फिक्री कराउँदैछन्।
सडक-सडक, गल्ली-गल्ली
बादशाहको ज्याद्रो अवशेष
तिनलाई हेक्का छैन,
औपचारिकता धान्दो छ
संझौतामा गुड्दो छ।।
**
जादूको चमत्कार,
देशको चाबी लिने
नयाँ ठेकेदार
भाषणमा बेमतलव चिच्याउँछ।
छेपाराले रङ् फेरे झैं
बोलीले तुक राख्दैन,
उधारो आश्वासन
द्विविधामा बाँचिरहेछ।।
**
हाम्रो नयाँ नेपाल,
स्वघोषित जन-नेताहरु
पटकैपिच्छे
भेलामा भट्याउँछन्।
बाध्यतामा पिल्सिएर
अँध्यारोमा बाँच्न अभ्यस्त छ मान्छे,
जिजीविषा ओईलिरहेछ।।
**
संविधान लेखिंदैछ,
चौविसै घण्टा
समाचार कुर्लिरहेछ
कटुवाल जस्तो।
विश्वासको संकटमा
दिनहुँ रोष्ट्रम घेरिइरहेछ,
स्वार्थ मौलाइरहेछ।।
**
निसंकोच
बन्दुकका पारखीहरु
शान्तिको हवाला दिइरहेछन्।
तर, सडक-सडकमा
बुटहरु बज्रिरहेछन्,
बारुद गन्हाईरहेछ।।
**
बेरोकतोक
एकाधिकारवादीहरु
स्वतन्त्र संचारको
ढोल पिटिरहेछन्।
अनि, पालैपालो
संचारवाहकको कठालो समातेर
आवाज थुनिरहेछन्।।
**
म अवाक् छु,
मथिङ्गलमा देश मेट्नेले
दौरा-सुरुवाल भिर्नुको
के अर्थ ?
गण्डकी र महाकाली बेच्नेले
फगत
गोहीको आँसु झार्नुको
के अर्थ ?
**
यीनै स्वार्थी शैतानबाट
झुठो आश्वासनका यीनै खेलाडीबाट
स्वाभिमानको परिभाषा
नखोजे हुन्छ।
देश चलाउने यीनै नव-छेपाराहरुबाट
लाज हराएका यीनै नकच्चराहरुबाट
नयाँ नेपालको घिड्-घिडो,
केवल
हावादारी सपना पाल्नु जस्तै छ।।
** **

04/08/2009

भिम बहादुर थापा
वासिङ्टन, अमेरिका।

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.