~श्याम दाहाल~
मेरो चेतनाले जान अराउँथ्यो र म प्रायः गइरहने गर्थेँ, उहाँ । परिवारका सबै जना आ-आˆना सुरमा छरिँदै जाँदा संयोगले एक दिन त भार्गवीसँग पो भेट हुन पुग्यो । घाम तापेर चकमन्न आˆनै मनभित्र अल्मलिएर डुबेकी रहिछन् उनी । झस्केर उठिन् र उनकै ईशाराले त्यहीँ राखेको अर्को कुर्सीमा बसेँ । उनी भित्रकी भार्गवीलाई छुट्टै राम्ररी बुझेको थिइनँ मैले । मसँग भित्री इच्छा र आशा पस्किने मौका पो कुरिरहेकी रहिछन् उनले । विस्तारै-असाद्धे राम्रो लाग्ने, असल लाग्ने कुरालाई मोडेर भित्रभित्रै खुब माया लाग्ने सङ्केत गरेर उनले त मसँग विवाहको यो आशा लुकाएर राखेकी रहिछन् । त्यो क्रमशः पोखिन आइपुग्यो उनले ।
म सानैदेखि विवाहित छु, त्यो पनि थाहा छ, उनलाई ।- ‘तपाईं बिहे नगरी छोड्नुहुन्न, अहिले कि पछि ?…. मभित्रको यो चेत कहाँनिर, कसरी ? फेला पारिन् उनले र बाहिर म सामु ल्याएर उभ्याउन सफल भइन् । म आफैँ छक्क परेँ । निकै ढिपी पो गर्न थालिन् उनले । अहिले पढ्दैछु, पछि भनिदिएँ मैले । त्यसपछि मप्रति आशक्तियुक्त ममताको भाव लुकी-छिपी जोगाएर झन्झन् हुर्काउँदै लगिन् उनले ।
अकस्मात् अन्यत्र पुगेको बेला बिहे पो भएछ, उनको । बिहे भएपछि उनी उतै रहन विवश भइन् ।
धेरै वर्षपछि आउँदा अचानक उनको माइतमा भेट भयो हाम्रो । पुरानो कुरा सम्झी सकेको थिएँ, मैले । सगोलमै सामान्य सोधपुछ सकिएर निकैबेर त्यही बैठक कोठामा सबैसँग हलुका गफ गरेर बसियो ।
धेरैबेरपछि उनी उठेर कता गइन्, चियोचासो नै राखिनँ मैले । निस्केर आˆनो बाटोतिर लागेँ म । उनी त बाहिर एकान्तमा बाटो कुरेर पो बसेकी रहिछिन् ।
टिठलाग्दो अनुहारले-अत्यन्तै श्रद्धालु भाव बिछ्याएर- निरीह तर अत्यन्तै भावुक र गहिरो दृष्टिले चारैतिरबाट मलाई झ्याप्प छोपेर- ‘किन बिहे गर्नुभएन ?….. ।” झल्याँस्स मेरो अतीत बिउँझेर चेतनाको दैलो उभारी सरासर म सामु उभिन आइपुग्यो । ठूलो बस्ती डुबाउन हिमतालको डिल भत्किन खोजेझैँ लाग्यो मलाई । म स्तब्ध भएँ । उनी यरी ममतापूर्ण अधिकारले अझै मसँग आएर पोख्छिन् भनेर उनको- ‘नासो’ मेरो चेतनाभित्र साँचेर राख्न सकेको थिइनँ । ऋण बुझाउन बिर्सिने आसामीझैँ म अवाक् भएँ । गम्भीर तर हृदयस्पर्शी ठूलो विस्मय साथ- ‘म त बिहे गर्नुभयो होला भन्ने कत्रो ढुक्कमा थिएँ-….. ।’ बररर्र आँखाबाट आँसु झरेर भक्कानी रहिन् ।
-ओखलढुङ्गा, रामपुर टार
(स्रोत : मधुपर्क २०६५ माघ)