छन्द कविता : फालौँ बिष त्यो

~डा. हेमनाथ घिमिरे~Dr Hemnath Ghimire

कालो मेघ मडारियो गगनमा धर्ती मलीनी भईन् ।
सारा अन्ध भयो यहाँ जगतकी ज्योती कहाँ ती गईन् ।।
चारैतर्फ बगे नदी रगतका, बस्ती जले दन्दनी ।
आयो के कलि यो अहो यति छिटै दाह्रा किटी फन्फनी ।। १ ।।

बस्थे ढुक्क भई छिमेक सब ती सन्तान नाना थरी ।
मिल्थे आपसमा सदा भरगरी ढुङ्गा र माटो सरी ।।
गर्थे काम सधैं मिली सहज ती बिर्सेर पीडा सबै ।
मान्थे चाड रमाउदै सबथरी तेरो र मेरो नभै ।। २ ।।

हुन्थे तत्पर ती छिमेकहरुमा गाह्रो कतै पर्दथ्यो ।
जुट्थे एक भई निमेष भरमा बाधा सबै टर्दथ्यो ।।
पालो पर्म गरी असार अनि त्यो मंसीर टार्थे तिनी ।
रम्थे ती खुस भै सकेर सबको दाईं भकारी पनि ।। ३ ।।

बस्थे भाइ सरी छिमेक सब ती ऐले कहाँ त्यो गयो ।
लड्छन् आपस दाइ–भाइ किन हो बुझ्नै नसक्ने भयो ।।
कस्ले के बिष रोप्दियो हृदयमा उल्टो भयो त्यो सबै ।
फालौँ है सबले चिनेर बिष त्यो बाँकी नराखी कतै ।। ४ ।।

रोकौँ ! फैलन हुन्न घात जनमा यस्ले सबै डस्दछ ।
फालौँ फेद, जरा सबै जलन त्यो मौका कुरी बस्दछ ।।
आफू मै छ अपार त्यो बलभने अर्को गुहार्ने किन ।
हामी एक भई मिलेर ल जुटौँ फर्कन्छ हाम्रो दिन ।। ५ ।।

डा. हेमनाथ घिमिरे
बाहुन डाँडा ५, लमजुङ् ।
हाल : बानेश्वर, काठमाडौं,
२०६१ माघ १६

(स्रोत : Nepalikorea.com)

This entry was posted in छन्द कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.