~आभा~
‘महिला सँधै आफ्नो समस्या मात्रै भन्न रुचाउँछन् । राष्ट्रियता, दर्शन, ज्ञानविज्ञान तिनका डिक्सनरीमा हुँदैनन्, चाहे ती गृहिणी होउन अथवा साहित्यकार, लेखक या पत्रकार ।’ धर्म दर्शनका अनेकन आयामको प्रवचन दिने प्रख्यात गुरु चियापसलमा विद्वता पर््रदर्शन गर्दै थिए । चियाको चुस्की लिँदै लैंगिक उत्पीडनका अन्तर उधारेर लेखिएका केही पुस्तकको नामै लिन भ्याए उनले । गुरु पुष्टि गर्दै थिए (ती पुस्तक लेख्ने महिला हुन् । पत्रपत्रिका हेरौं महिलाका रोनाधोना लेख्ने पत्रकार महिला नै छन्, घरघरमा हेरौं महिला महिलाबीच मेल छैन । बढ्दो महिला हिंसाको प्रसंग जोड्दै गुरु भन्दै थिए (सामाजिक मर्यादा र दायरा कुल्चिँदा यस्तै हुन्छ ।”
गुरुले नजानिँदो गरी सामाजिक मर्यादा र दायराको प्रसंग घुसाएको देखेर अर्को टेबलमा बसेकी रश्मिले धर्म, परम्परा, संस्कार र कर्तव्यको नाममा मान्छेलाई आफ्नो बसमा पार्न हजारौं वर्षेखि शासकले कुटेर पढाएको हदै विभेदकारी पाठ सम्झी ।
रश्मि सबैजसो र्सार्वजनिक चासोका विषयमा कलम चलाउँथी । महिला उत्पीडनका कहालीलाग्दा विषयले उसको मनलाई उद्वेलित बनाउँथे । ती विषयले जति उसको कलमको रफ्तार बढाउँथे त्यति राजनीतिक उठापट्कीका श्रृंखलाले छुँदैनथे । तर राष्ट्रियता, इतिहास, राजनीति उसको रुचिकै विषय पर्थे । सीमा मिचिएको, सँधियारले गरेको ज्यादती र राष्ट्रियतासँग जोडिएका सूक्ष्म पाटापक्ष विश्लेषण गर्थी । नाकावासी महिलाले खेपेको कहालीलाग्दो अवस्था उजागर गर्थी । तर यी सबै आँखै अगाडि देखेकाहरु कि त महिलाका कुरा मात्रै गरेको भन्ठान्थे कि महिला हुनुको कारण ती विषय उठाएको भन्ठान्थे ।
रश्मि परिचित थिई गुरुसँग । उनको एकपक्षीय विश्लेषणको प्रतिवाद पनि गर्थी । तर आज उसलाई प्रतिवाद गर्ने मन भएन । स्वाभिमान, आत्सम्मानमा लागेको गहिरो चोट, क्षतविक्षत सपनाले थिचिएका मनका भोगाइको मुस्लो बलिरहेका बेला अन्य कुरा गौण हुनु स्वाभाविक थियो । ओत, भोक र प्यासले छटपटिएको मान्छेको कोही घाँटी थिच्न आइपुग्दा उसको प्राथमिकताको विषय ओत कसरी बन्न सक्छ – मान्छे हुनुको अस्तित्व खोज्दै उठेका हातहरु काट्न तम्सिनेहरुको सोंचप्रति टिठ लाग्यो उसलाई । गमिरही दोषी चश्मा कहिले फेरिएला –
घोराही, दाङ
(स्रोत : समरेखा द्वैमासिक)