~नयनराज पाण्डे~
एउटा लेखकले अर्को लेखकको रचनामाथि विशुद्ध पाठकीय धारणा बनाउन साह्रै गाह्रो हुन्छ । जति नै जोगिन खोजे पनि यसमा लेखकको आफ्नै आग्रह र पूर्वाग्रह हावी भैहाल्छन् । यसपटक राजवको नवीनतम उपन्यास ‘सोटिट’ माथि यो समीक्षा लेखेर त्यो जोखिम फेरि मोल्न खोज्दैछु । तर यो समीक्षा भन्दा पनि एउटा लेखकमाथि अर्को लेखकको पुस्तकले पारेको प्रभावको वर्णन हो ।
राजवको यसअघिको ‘बेकारीमा उपन्यास’ शीर्षकको उपन्यास पनि मलाई मन परेको हो । तर, त्यो उपन्यासको मूलकथा भन्दा त्यससँग जोडिएर आएका सहायक कथाहरु उम्दा थिए । उपन्यासको मूलकथा भन्दा जब योसित जोडिएका सहायक कथाहरु बलिया भैदिन्छन्, त्यसले उपन्यासको वास्तविक ओजलाई बलशाली बन्न नदिने सम्भावना बढी हुन्छ । उपन्यास बलियो हुनका निम्ति यससित तमाम उपकथाहरुलाई आफूसित बोकेर हिँड्ने कि एउटा मजबूत कथा हुनुपर्छ, कि दमदार चरित्र या सधैँ स्मरणीय रहन सक्ने परिवेश । तीन मध्ये एउटै कुराले पनि उपन्यासलाई शक्तिशाली बनाउन सक्छ । ‘बेकारीमा उपन्यास’मा त्यो कमी खट्किन्थ्यो ।
अहिले भने राजव उपन्यासजगतमा ‘सोटिट’ लिएर उपस्थित भएका छन् । यो उपन्यासको मूलपात्र महेन्द्र अमेरिकी समाचार संस्थाएसोसिएटेड प्रेस सित आवद्ध छ । त्यसैले गाउँलेहरु उसलाई सोटिएट बाबु भनेर चिन्छन् । सोटिएट बिस्तारै सोटिट बाबुमा परिवर्तन भयो । त्यही चरित्र उपन्यासको शीर्षक बन्यो ।
‘सोटिट’को मूलकथा बलियो छ । यसमा मूलकथाकै हाँगा समातेर आएका उपकथाले उपन्यासलाई स्वाभाविक लय प्रदान गरेका छन् । त्यसैले उपन्यासको विषयभित्र पसिसकेपछि पाठक यसको बैठान कसरी होला भन्ने उत्सुकतामा अन्त्यसम्मै रहिरहन्छ । यो उपन्यासको सबल पक्ष हो ।
उपन्यासको कथावाचक वीरगञ्ज नजिकैको गाउँ बेलनापुरमा बसोवास गर्ने निम्न मध्यमवर्गीय पहाडी मूलको शिक्षकको छोरो बद्री हो । बद्रीलाई उसका पिताले डाक्टर बनाउन चाहन्छन् । तर, ऊ स्वयंलाई भने आफ्नो पढाइको स्तर र परीक्षामा प्राप्त हुने प्राप्तांकले डक्टर बन्न सक्छु भन्ने आत्मविश्वास दिएको छैन । उसले डाक्टर बन्ने सपना देखेकै छैन । छिमेकी गाउँका जिम्दार हरिबोल उपाध्यायका छोरा महेन्द्र काठमाडौंमा बसेर एसोसिएट प्रेसको संवाददाताको हैसियतले काम गर्छ र कथावाचक पात्र अन्तत: उच्चशिक्षाका लागि केही वर्ष उसकै डेरामा बस्न पुग्छ । लगभग पूरै उपन्यास कथावाचकले सोटिटसितको सानिध्यताका क्रममा देखे भोगेका घटनाक्रमको फ्ल्यासब्याक शैलीमा गरिएको बिस्तार हो ।
‘सोटिट’मा दुई मुख्यपात्र छन् । एउटा कथावाचक बद्री र अर्को सोटिट अर्थात महेन्द्र । एसोसिएटेड प्रेसलाई अंग्रेजीमा समाचार र फिचरहरु पठाउने नेपालस्थित संवाददाता भएकोले पत्रकार र राजनैतिक जगतमा उसको गहिरो पकड छ । नेपाली पत्रकारहरुले लेख्न नसकेका कुराहरु पनि निडर भएर लेख्ने सुविधा प्राप्त छ उसलाई । यसक्रममा नेपाली र केही हिन्दी भाषी पत्रकारका सुखदु:ख पनि रमाइलो पारामा उपन्यासमा अटाएका छन् । महेन्द्रको नेपालका परिवर्तनकामी शक्तिहरुसितको निकट सम्बन्ध पनि छ । ऊ भित्री रुपमा नेपालबाट निर्वासित भएर बनारस र पटनामा आश्रय लिइरहेका नेपाली कांग्रेसका नेताहरुलाई आर्थिक सहायता पनि पठाउँछ । कम्युुनिष्टहरुलाई पनि सहयोग गर्छ ।
उपन्यासमा कथावाचक बद्री र मुख्यपात्र महेन्द्र मार्फत उपन्यासकारले विशेषत: तीसको दशक वरपरको नेपालको तत्कालीन आर्थिक, सामाजिक र राजनैतिक उतारचढावलाई अभिव्यक्त गरेका छन् । राजा महेन्द्रको मृत्यु, वीरेन्द्रको राज्यारोहण, भारतमा निर्वासित जीवन बिताइरहेका वीपीको नेपाल पुनरागमन लगायतका प्रसंगले उपन्यासमा ठाउँ पाएका छन् । यससँगै भारतमा इन्दिरा गान्धीले लगाएको संकटकाल र अनिवार्य नशबन्दीले उत्पन्न विषम परिस्थिति र त्यसबाट जोगिन थुप्रै भारतीय विपक्षी नेता, बुद्धिजीवी र पत्रकारहरु नेपालमा आश्रय लिएको प्रसंग पनि महत्वका साथ उपन्यासमा आएका छन् ।
यसक्रममा राजा वीरेन्द्र र इन्दिरा गान्धीको टकरावका कुरा पनि उद्घाटित भएको छ । उसो त उपन्यासमा छत्तीस सालको जनमत संग्रह र छयालीसालको राजनैतिक परिवर्तनको कुरा पनि आएको छ । तर ती प्रसंगले बिस्तार पाएका छैनन् । उपन्यासको कथानक तीसको दशकको मध्यसम्म आएर लगभग स्थिर भएको छ ।
कथावाचक बद्रीले आफैँले देखेको भोगेको मधेसको सामाजिक स्थिति, त्यहाँको अर्थब्यवस्था र श्रमशोषणदेखि गाँजा खेतीसम्मका कुराहरु उपन्यासको अर्को पाटो हो । तर, उपन्यासको अन्त्यसम्म आइपुग्दा सोटिटसित जोडिएको कथानक नै यस उपन्यासको मुख्य विषयवस्तुको रुपमा स्थापित भैसक्छ र यसैले उपन्यासलाई बलियो बनाएको छ ।
उपन्यास यथार्थपरक शैलीमा लेखिएको छ । घटनाक्रममा चरम नाटकीयता र पानापानामा ट्वीस्ट खोज्ने पाठकलाई यसले निराश पनि बनाउन सक्छ । तर, उपन्यासमा प्रयोग गरिएको व्यंग्य र बक्रोक्तिहरुले एकखालको ताजापन भने दिन्छ ।
उपन्यासलाई छरितो बनाउने कुरामा भने राजव आवश्यकताभन्दा बढ्ता सचेत भएको जस्तो लाग्छ । उनी पात्रका सुखदु:ख र तिनका अन्तद्वन्दलाई बिना सिंगारपटार सपाट ढंगमा भनिदिन्छन् । यो स्वाभाविक त लाग्छ, तर रोचक लाग्दैन । विषयवस्तु, पात्र र त्यसमार्फत प्रकट हुने संवेदना उपन्यासका अभिन्न अंग हुन् । ‘सोटिट’को विषयवस्तु र तिनलाई बोकेर हिँड्ने चरित्र दुवै मजबूत भएपनि यसको कमजोर पक्ष ‘इमोसन्स’ अर्थात् संवेदना हो ।
पाठकको हृदयमा पात्र र घटनाक्रमप्रति संवेदना उमार्ने खालका वाक्य या अनुुच्छेदहरु राजव खासै लेख्दैनन् । घटना र त्यसको चित्रणबाट, पात्र अनि तिनीहरुका बीचका कार्यव्यापार र संवादबाट पाठकले आफैँ आफूभित्र संवेदना जागृत गरुन् भन्ने उनको अभिप्राय देखिन्छ । उनी सही पनि होलान् । तर, पात्रको संवेदनासित लेखक आफैँ पनि अलिकति संवेदनशील भैदिएर त्यो भावलाई अझ प्रखररुपले पाठकको मनभित्र जागृत गरिदिँदा त्यसले उपन्यासलाई अझै सुन्दर बनाउने थियो भन्ने सोटिट पढुन्जेल नै लागिरहन्छ ।
व्यंग्यात्मकता राजवको लेखनको सामथ्र्य पनि हो । उनले यो उपन्यासमा त्यसको भरपूर प्रयोग गरेका छन् । यसले उपन्यास पठनलाई बोझिल बन्न दिएको छैन । उपन्यासको भाषा रिपोर्ताज शैलीमा सलल बगेको छ । संवादहरुको अत्यधिक प्रयोगले उपन्यासभित्रका घटनाक्रम स्वाभाविक लाग्छन् । उपन्यासकारले भोजपुरी र नेवारी दुवै परिवेशलाई प्रामाणिकताका साथ प्रस्तुत गरेका छन् । लेखकको निजी अनुभव र अनुुभूतिको बाटोतय गरेर पाठकमाझ प्रस्तुत भएकोले उपन्यासको समग्र विषयवस्तु विश्वसनीय लाग्छ ।
शब्द प्रयोगमा राजव मितव्ययी छन् । उनका यसखालको मितव्ययिताले उनका छोटा कथालाई शक्तिशाली बनाएका छन् । उनी कथामा जस्तै उपन्यासमा पनि धेरै घटनाक्रमलाई कि संक्षिप्तमा टुंग्याउँछन् कि संकेतमा छोडिदिन्छन् । त्यसैले सोटिट मा राजव मितव्ययीभन्दा पनि कन्जुस बढ्ता लाग्छन्् । बिम्ब र उपमाहरुको भीड एकत्रित नगरुन्, ठीक छ । तर उनी त चरित्रको विवरण र परिवेशको चित्रणमा पनि लोभी भैदिन्छन् ।
उपन्यासमा ‘डिटेलिङ’ छँदैछैन् भन्दा पनि हुन्छ । उनी चरित्रहरुको भावभंगिमा, लवाइखबाई र आनीबानी आदिको सीमित चित्रण गर्छन् र यसलाई आफ्नै परिकल्पनाले थप चित्रण गर्ने जिम्मा उनी पाठकमै छाडिदिन्छन् । परिवेशको हकमा पनि यही सूत्र प्रयोग गर्छन् उनी । यस कारणले चरित्र र परिवेशसितको पाठकको आत्मिक सम्बन्ध बलशाली ढंगले विकसित हुनै पाउँदैन ।
लेखकले आफूले सिर्जना गरेका पात्रहरुको सम्वेदनाप्रति हदभन्दा बढ्ता निरपेक्ष बसिदिँदा उपन्यासमा आवश्यक लाग्ने ठाउँमा पनि भावनात्मक पक्ष कमजोर भैदिएको छ । सोटिट को विषयवस्तु रुचाउने पाठकले यसका पात्रहरु र तिनका जीवनका उतारचढावसित उतिसारो आत्मीयताको अनुभव गर्ने अवसर नै पाउँदैनन् । त्यसैले पाठक कतिपय ठाउँमा पात्रको मनोदशा पहिल्याउन असफल हुन्छ । उदाहरणको रुपमा उपन्यासको अन्त्यमा महेन्द्रको गाउँको पुनरागमनलाई लिन सकिन्छ ।
ऊ किन प्रशस्त नाम र दाम दिइरहेको पत्रकारिताबाट एकाएक विरक्त भयो र गाउँ फर्कियो ? यो प्रश्न पाठकको मनमा आउँछ । तर, उसले यसको यो कुनै ठोस उत्तर फेला पार्दैन । केही कुरा पाठकको अनुमानका लागि छोड्नु त ठीक हो, तर यस्ता घटनाक्रमप्रति लेखकले केही कुरा बढी स्पष्ट गरिदिँदा कथानकको स्वाभाविक बिस्तार हुन्थ्यो भन्ने लागिरहन्छ ।
विषयवस्तुलाई बोकेर हिँड्ने नै यसका चरित्रहरु हुन् । ती चरित्रसित नै पाठक नजिक हुन सकेनन् र तिनका सुखदु:खलाई आत्मसात गरिदिएनन् भने यसले उपन्यासलाई लोकप्रिय हुन धेरै गाह्रो भैदिन्छ । म राजवको यति बलियो विषयवस्तुको यस उपन्यासमा यही खतरा देखिरहेको छु ।
सोटिटमा महिलापात्रको उपस्थिति नगण्य र कमजोर छ । पात्रहरुको अनावश्यक भीड उपस्थित त नगरेकै राम्रो । तर, महिलापात्रको उपस्थितिप्रति उपन्यासकार यति कठोर नभैदिए हुन्थ्यो भन्ने लागिरह्यो मलाई । उपन्यासमा कथावाचक बद्रीकी आमाको मनोदशालाई अझै प्रखररुपमा अभिब्यक्त गरिदिँदा उपन्यासको ओज घटिहाल्ने थिएन । महेन्द्रकी प्रेमिका हुन् कि जस्तो लाग्ने एकजना महिला प्राध्यापकको बारेमा एक लाइनमा चर्चा छ । यी चरित्रहरुले अझै विस्तार पाएको भए कथानक कमजोर नै भैहाल्ने थिएन । बरु यी महिला पात्रमार्फत कथानकका अरु पाटाहरु पनि खुल्ने थिए । तर, लेखकले यस्ता अवसरहरु उपन्यासमा आउनै दिएका छैनन्् । स्वभावले शालीन राजव, यस मानेमा केही बढी निर्मम भएकै हुन् ।
अहिले केही पाठक अचेलका उपन्यासहरु मोटा हुन थाले भनेर गुनासो गरिरहेका छन् । तर, मलाई भने ‘सोटिट’ अझै मोटो भैदिए हुन्थ्यो भन्ने लागिरहेको छ । थुप्रै बिस्तार खोज्ने घटनाक्रमलाई उपन्यासकारले संक्षेपमा वा संकेतमा टुंग्याएका छन् । जस्तो कि बीपीसितको भेटको प्रसंग । यो भेटको निहुँमा तत्कालीन राजनीतिको अझै भित्री मर्मसम्म पुग्न सकिन्थ्यो । तर, त्यो भेट उपन्यासमा एउटा सामान्य प्रसंग भएर सिद्धिएको छ । तीसको दशकको मध्यसम्मको कुरा त उपन्यासमा आएको छ । तर सोटिटको मृत्यु त त्यसको झण्डै दुई दशकपछि भएको छ ।
नेपाली राजनीतिमा निकै महत्व राख्ने पछिल्लो दुई दशक यो उपन्यासबाट लगभग गायब छ । यस्ता धेरै घटनाहरु छन् उपन्यासभित्र, जसले ‘सोटिट’लाई एउटा उम्दा राजनैतिक उपन्यास बन्नबाट रोकेको छ । त्यो सम्भवना उपन्यासकार आफैँले अन्त्य गरेका हुन् । उपन्यासको मध्यभागसम्म आइपुग्दा उनलाई कतिबेला उपन्यास सक्ने भन्ने हतार भैरहेको देखिन्छ ।
उपन्यास पढेको केही समयपछि यसभित्रका धेरै प्रसंग र पात्रहरु पाठकको मथिंगलबाट हट्छन् । सबै उपन्यासको नियति यही हो । थोरै स्मरणीय प्रसंग र पात्रहरु हुन्छन्, जसले उपन्यासलाई उल्लेखनीय बनाउँछन् । यस उपन्यासमा सधैँ स्मरणीय रहने भनेकै सोटिट अर्थात् पत्रकार महेन्द्र हो । महेन्द्र नेपाली आख्यानका लागि सर्वथा नवीन चरित्र हो । आख्यानमा चरित्रलाई गुमनाम बन्न नदिएर बलशाली किसिमले स्थापित गर्न सक्नु आख्यानकारका लागि ठूलो चुनौतीको कुरा हो । राजवले यो चुनौतीलाई सफलताकासाथ निर्वाह गरेका छन् ।
(स्रोत : कान्तिपुर राष्ट्रिय दैनिक – चैत्र २१, २०७२)