व्यङ्ग्य निबन्ध : फेसबुक पुराण

~बिम्मी शर्मा~Bimmi Sharma

मार्क जकरबर्गले जबदेखि फेसबुक दुनियाँसामु पस्के, तबदेखि परिवार र समाजमा एउटा जबर्जस्त क्रान्ति नै आएको छ । फेसबुक अर्थात् सबैका लागि आफ्नो र आफ्नो कामको प्रचारप्रसारका लागि निःशुल्क उपलब्ध गराइएको प्लेटफर्म । आफ्ना सबै भावना र सम्भावनालाई फेसबुकमा पोखेर र देखाएर लुकेर अरुको यसप्रतिको प्रतिक्रिया हेर्नुजत्तिको मज्जा शायद सिनेमाको हिरोले लुकेर आफ्नै सिनेमामा दर्शकको प्रतिक्रिया लिँदा पनि छैन होला ।

फेसबुकमा जे पनि गरिन्छ, त्योभन्दा फरक छ संसार । र, फरक छन् मान्छे ।

परिवारका सबै सदस्य एउटै घरमा साथमै बस्छन् तर जब जन्मदिन वा वैवाहिक वर्षगाँठ आउँछ, तब फोटो देखेरै लाग्छ– छोराछोरी वा पति–पत्नी सात समुद्र टाढा बस्छन् ।

कसैले मोबाइल, आईफोन, ट्याब, घडी, ल्यापटप वा गाडी नयाँ किन्यो भने आफन्त वा छिमेकीलाई भन्दा पहिले फेसबुकका साथीहरूलाई थाहा हुन्छ । तपाईं फेसबुकमा कति चर्चित र लोकप्रिय हुनुहुन्छ भन्ने कुरा फेसबुकमा तपाईंले लेखेका पोस्ट र राखेका फोटोमा आउने कमेन्ट र लाइकले तय गर्छन् ।

कतिपय आमाले त सन्तानलाई जन्म दिएपछि फेसबुकेभन्दा ढिलो आफ्ना सन्ततीको अनुहार देख्छन् ।

तपाईंको दैनिक जीवनको कामकाज घर या अफिसले हैन, फेसबुकले तयार पार्छ । बिहान कति बजे उठ्नुभो, कति बजे ब्रस गर्नुभो अनि के खाजा खानुभो ? यी सबै फेसबुकमा फोटो राखेर सबैलाई बताउनु दैनिक व्यायाम गर्नुभन्दा पनि जरुरी भइसक्यो ।

दिउँसो अफिसको कामले कुन बैंकमा जानुभयो, त्यहाँ को–कोसँग भेट भयो, कुन होटलमा गएर चिया, कफी र खाजा खाइयो, साँझ कुन रेस्टुराँमा गएर गंगाजल घुट्क्याउँदै आफूलाई चोखो पारियो अनि राति कुन होटलमा डिनरमा के– के खाएर उदरपूर्ति गरियो, ती सबैको वृतान्त फेसबुकमा नराख्दासम्म राति निद्रा पनि लाग्दैन ।

फेसबुकमा देखाउनकै लागि भए पनि आईफोनको फोटो या आईफोन झल्किने स्क्रिनसट राखे बल्ल सोसाइटीमा परिन्छ । साइकल वा मोटरसाइकलमा अफिस जाने भए पनि कुनै विदेशी कम्पनीको महँगो र ब्रान्डेड गाडीको अगाडि उभिएर फोटो खिच्नै पर्छ । घरमा साधारण खालको कम्प्युटर र ल्यापटप भए पनि म्याकबुकमा बसेर काम गरिरहेको वा लेखिरहेको होजस्तै गर्छन् ।

फेसबुकमा सबै कवि र लेखक अनि उनीहरूका रचना ‘सर्वोत्तम’ । त्यति नभनिदिए च्याट बक्समा आएर यसरी ज्यू, हजुरी वा सिफारिस गर्न थाल्छन् कि लोकसेवाको लिखित परीक्षा पास गरेर मौखिक परीक्षा दिन तयार भएको उम्मेदवारजस्तो ।

आफ्ना नातेदारहरूसँग सम्बन्ध नराम्रो होला, घर जान–आउन बन्द होला, छिमेकीलाई पनि नचिन्ने वा बोल्न गाह्रो मान्छन् तर फेसबुकमा मित्रताको निम्तो पठाएर वा अनुरोध गरेर साथी भएकाहरूसँग यति आत्मीयता देखाउँछन् कि नकुरागर्नुस् । कुनै अपरिचितसँग यसरी नजिक भएर र खुलेर कुरा गर्छन् कि धेरै वर्षपहिले मेलामा हराएको भाइसँग भर्खरै भेट भा’को हो । अनि ती अपरिचितलाई साथी बनाएपछि उसको सात पुस्ताको बारेमा प्रश्न सोधेर र खोजीनिती गरेर न्वारान र पास्नी नै गर्दिन्छन् । अझ कतिपय महापुरुष र महोदयाहरू त फेसबुकका आफ्ना दुई साथीको प्रेम वा बिहे गराइदिन लमी बन्न पनि पछि पर्दैनन् ।

फेसबुकबाटै मित्रताको साँठगाँठ गरेर नजिकिने र आफ्नो शारीरिक इच्छा पूरा गर्न पनि कतिपयले फेसबुक चलाएका हुन्छन् । अनलाइन देख्नेबित्तिकै मुसालाई दूलोबाहिर देखेर बिरालो खुसी भएजस्तै आफ्नो सिकार झम्टिन थाल्छन् । कोही बोल्न तयार भएनन् वा ध्यान दिएनन् भने पोस्ट वा फोटोको तारिफ गरेर आकाश–पाताल एक गर्छन् । लगाएको लुगादेखि केको तरकारी र अचार खाएको भनेरसम्म सोध्न पछि पर्दैनन् । अझ घरमा पत्नीबाट पीडित पति वा पतिबाट पीडित पत्नी छन् भने उनीहरूको दैनिकी नै आफ्नो दुखेसो सुनाएर नजिक हुन खोज्ने हुन्छ ।

फेसबुकमा सबैभन्दा बढी छाएका छन् बिदेसिएकाहरू । बिहानदेखि साँझसम्म ऊँटजस्तै ड्युटीमा खटिने र रात परेपछि थकाइसँगै आँखाको तिर्खा मार्न फेसबुकमा छिर्ने अनि वचनवाणले अरुलाई घाइते बनाउने यिनीहरूको स्वभाव हुन्छ । मालिकले आफूलाई काममा जोतेको रिस यता फेसबुकमा पोखेर बदला लिन्छन् । नाता कुटुम्बसित टाढा बस्नुको पीडा फेसबुकमा साहित्यको रूपमा पोखेर छताछुल्ल पार्छन् । कहिलेकाहीँ त टाइमलाइनमा बाढी नै आउँछ । दिनभरिको गन्थनमात्र हैन, राष्ट्रियता र देशप्रेमको १०८ माला जपेर, गोहीजस्तो आँसु चुहाएर आफ्नो देशप्रेमको ड्युटी पनि विदेशमा बसेर पूर्ण समर्पणका साथ निर्वाह गर्छन् । त्यसपछि देशका एकसे एक नेताहरूलाई गालीका १०१ मन्त्रले उच्चारण गरेर सातोपुत्लो लिन्छन् । बिचरा कति ‘देशभक्त’ है ?

फेसबुकबाट एकसे एक साहित्यकार र लेखक जन्मिरहेका छन् । गर्भ र गर्वको अर्थ र भेद थाहा छैन तर दुवैलाई एउटै कुरामा प्रयोग गरेर भाषालाई खिचडीमात्र बनाएका छैनन्, नेपाली भाषाको चीरहरण नै गरिदिएका छन् । सबै एकसे एक गजलकार र शायर बनिटोपलेका छन् । आफैंलाई महान् हस्ती घोषणा गरिदिन्छन् । उनीहरूको अगाडि चिल्लरहरूको के काम !

सुरुवात फेसबुकमा लेखेर गर्छन् । त्यसपछि अनलाइन मिडिया र स्थानीय पत्रिकामा लेखेर आफ्नो परिचय ठूलै लेखकको रूपमा दिन थाल्छन् । यिनीहरूलाई ऐना देखाउने कसले ? के पत्रकार, के शिक्षक, वैज्ञानिक, डक्टर, इन्जिनियर, व्यापारी, लेखक, गृहिणी वा अन्य– सबैलाई फेसबुकले ‘सेल्फिस’ बनाइसकेको छ ।

अहिले फेसबुकमा सबैभन्दा बढी चलेको छ, सेल्फी खिच्ने चलन । हरेक भाव र भंगिमामा खिचिएका सेल्फीले टाइमलाइनममै बान्ता आउलाजस्तो हुन्छ । सुँगुर र बँदेलको मुखजस्तो चुच्चो पार्दै फोटो खिचेर आफूलाई कुनै राज्यको अघोषित राजकुमार वा राजकुमारी नै मान्छन् । यो सेल्फी खिच्ने रोग संक्रमणझैं फैलिरहेको छ । भान्सादेखि तरकारी बजारसम्मको सेल्फी खिचेर राख्नेहरूले कुनै दिन फेसबुकमा बिहान कमोडमा कनिरहेको सेल्फी वा राति बेडरुममा पति–पत्नी प्रेमालाप गरिरहेको सेल्फी पनि राखे भने अचम्म नमाने हुन्छ ।

हेर्नुभो त फेसबुकको कमाल ? फेसबुक आफैं एउटा दुनियाँ हो । यहाँ बसेर अफिस, बैठक, भान्सा, खाने कोठा, भण्डार गृह, पूजाकोठा, सुत्ने कोठा, होटल, रेस्टुराँ तथा कबड्डी खेल्ने मैदानको जस्तै आनन्द लिन पाइन्छ । हामीलाई जसरी पनि यो जकरबर्गको ठाँडोले मनोरन्जन दिइरहेकै हुन्छ ।

(स्रोत : बाह्रखरी डट कम)

This entry was posted in निबन्ध, हास्य - व्यङ्ग्य and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.