~रघु अधिकारी~
खेम थपलिया प्रगतिवादी साहित्यिक–सांस्कृतिक–राजनीतिक आन्दोलनमा सशक्त क्रान्तिकारी वैचारिक धारलाई समातेर निरन्तर क्रान्ति र अथक सङ्घर्षमा होमिएका एक स्रष्टा हुन् । साझा प्रकाशनबाट प्रकाशित उनको महत्वपूर्ण पुस्तकको नाम हो– प्रगतिवादी एकाङ्की नाटक ।
यसका सीमारेखा र व्यापकतालाई अध्ययन गर्दा स्रष्टा, द्रष्टा र विचारकका रूपमा थपलिया तिखारि“दै, जुुर्मुराउँदै, सङ्घर्षशील बन्दै अघि बढिरहेका छन् र उनमा नैराश्य होइन आशावादिता, आलस्य होइन क्रियाशीलता, हीनताबोध होइन उच्चाकाङ्क्षा र अवसरवादिता होइन प्रतिबद्धताको ओज थपिँदै गएको देखिन्छ ।
त्यसैगरी थपलिया वैचारिक धरातललाई टेकेर मात्र होइन, त्यसलाई मुटुमा सजाएर विद्रोह र क्रान्ति अनि वर्गयुद्ध र वर्गसङ्घर्षमा होमिएका स्रष्टा पनि हुन् । यस मानेमा खेम थपिलया कसैका लागि सिस्नुपानी बन्न पुगेका छन् भने कसैका लागि गुलावजल । यिनै सेरोफेरोमा रहेर नै प्रगतिवादी एकाङ्की नाटकलाई नियाल्नुपर्ने हुन्छ ।
यो कृतिमा नाटककार आहुतिको झुक्न मान्दैन हिमाल, इन्दबहादुर भण्डारीको भुङ्ग्रोभित्रको मान्छे, उदयबहादुर चलाउनेको हामी पनि बन्दुक बोक्छौँ, डा। ऋषिराज बरालको उनीहरू यात्रामा छन्, कुमार मल्लको उत्सव, खेम थपलियाको नागार्जुन एक्सप्रेस, जनार्दन शर्माको क्रान्तिको छोरा, दानसिंह विकको बाटो, दिल साहनीको निर्विकल्प, नन्दलाल आचार्यको युग उचाल्ने अक्षरकर्मीको अबसान, नरबहादुर महराको नयाँ घर, पूर्णजित पुनको गाउँ घरतिर, भरत लामाको बन्धक स्वाधीनताको, मौसम रोकाको बदलिएको बाटो, लोकेश पुन मगरको अधुरो यात्रा, बलराम तिमिल्सिनाको मुक्तियुद्धको घोषणा, विजय विस्फोटको कागजको किल्ला, विजय साङ्पाङको दुःख मेटाउने सपना, शोभित नेपालको अमर मृत्यु, सरल सहयात्रीको क्रान्तिवीर, शिरीषको रातो किताब र सुशीलसिंह ठकुरीको अबशेष शीर्षकका २२ वटा एकाङ्की नाटकहरू सङ्गृहीत छन् ।
सङ्क्षिप्त रूपमा नै भए पनि यसमा समाविष्ट प्रत्येक नाटकहरूका संश्लिष्ट भावलाई प्रस्तुत गरिएको छ । यहाँ नाट्यसर्जकहरूको सङ्क्षिप्त परिचय दिइएको छ । प्रस्तुत पुस्तकमा जनयुद्धको विषयमा रचिएका कृतिमा रहेका एकाङ्की नाटकहरू नयाँ यथार्थको आलोकमा प्रतिनिधिमूलक प्रगतिवादी एकाङ्की नाटकका रूपमा प्रस्तुत गरिएको छ ।
विषयको नवीनता र नाट्यशिल्पको मौलिकता यसमा सङ्गृहीत एकाङ्की नाटकहरूमा पाइन्छन् । यिनले नेपाली साहित्यका सबै तहका पाठकहरूलाई महान् जनयुद्धका कैयौैँ नौला जानकारी र सूचनाहरू प्रदान गर्नेछन् । विश्वविद्यालयका प्राध्यापक, विद्यार्थी तथा प्राज्ञिक बौद्धिक जगत् एवम् आम पाठकहरूका लागि यो कृति पठन–मननका लागि अत्यावश्यक सामग्रीका रूपमा स्थापित हुने विश्वास लिन सकिन्छ ।
‘आवश्यकता नै आविष्कारकी जननी हो’ भने झैँ एकाङ्की नाटकको रचनागत तथा विधागत जानकारी एवम् वर्गसङ्घर्षले राप, ताप र प्रकाशले जन्माएका सुन्दर नाट्यसिर्जनाको साहित्यिक दस्ताबेजीकरणको आवश्यकता पुरा गर्नेक्रममा यो पुस्तकको जन्म भएको हो भन्न सकिन्छ ।
विभिन्न स्थानमा छरिएर रहेका सामग्रीहरूको सम्पादन र संयोजन गरी यो पुस्तक तयार पारिएको प्रस्तुत प्रगतिवादी एकाङ्की नाटकको इतिहासमा यो कृतिले यस क्षेत्रको अभावलाई न्यून गर्दै समृद्धभूमि प्रदान गरेको छ ।
(स्रोत : Nonstopkhabar.com)