राधा भट्टराईका छ मुक्तकहरु

~राधा भट्टराई~Radha Bhattarai

(एक)
ए नेताज्यू ! रास्ट्रको यो ढिकुटिमा -याल न चुहाउ यसरी
हामी पनि मौन भै आफ्नो अस्तित्व न चुकाउ यसरी
नेपाल जिउँदो मान्छेको देश कठपुतली नाच्ने आँगन होईन
उनीहरुको प्रयोग गर्ने गोटी भै सधैँ शीर न झुकाउ यसरी !!

(दुई)
हिजो आज सत्य कुरा सुन्न पनि उखान भएको छ
झुठको खेती गर्नेलाई तिम्रो नीति बरदान भएको छ
पद प्राप्त हुना साथ व्यक्तिगत समृद्धितिर लाग्न थाल्यौ
जसले तिम्रो विरुद्धमा आवाज उठायो ऊ बेईमान भएकोछ !!

(तीन)
रगत फे-यौ मुटु फे-यौ आँशुको रंग फेरेर हेर
कमजोर तिम्रा सोचलाई एकपल्ट खारेर हेर
मान्छौ भने खित्का नछाड फूल सँगै काँडा हुन्छ
तिमी र त्यो छेपारोमा के फरक छ केरेर हेर !!

(चार)
गोबर गोबर नै हुन्छ बनाउन नखोजौँ चन्दन
ब्वाँसोको राज्यमा बिष र अमृतको हुँदैन मन्थन
मर्ने मरेकै छन् लुट्नेले लुटेकै छन तिमी हामी दर्शक
सत्ता–भत्ता पुगेन रे उनलाई सुनौँ हामी उनका गन्थन !!

(पाँच).
सियो बनि गाउँ पस्यौ बाहिर आउँदा फाली भएछौ
आफुले ग-या भुलको आभाष नहुँदा सबको गाली भएछौ
हाम्रा अघि दुरदर्शी पनि बन्न खोजेकै हौ तर
आफ्नै बोलीमा अडिग भै उभिन नसक्दा जाली भएछौ !!

(छ)
ठेस लाग्दैमा ऐया आमा भन्दै पछि नसरौँ हामी
अमृत हो यो ल पिउ भन्दै जहर पिलाए पनि नमरौँ हामी
आगो समाउला हिउँ टेकौँला तर नहारौँ चुनौती सँग
कोपिला झैँ हावाको त्यो सानो झाेँक्काले नझरौँ हामी

(स्रोत : सत्यतथ्य मासिक)

This entry was posted in मुक्तक and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.