कथा : नियतिले जन्माएको कुण्ठा

~शर्मिला खड्का दाहाल~Sharmila Khadka Dahal

बिरामी छोरी लिएर म आकस्मिक कक्षमा पुगें । आकस्मिक कक्षमा सबै डाक्टरलगायत अन्य कर्मचारी ब्यस्त देखें । त्यहाँ कुर्सीमा गम्केर बसको डाक्टरलाई म बिरामी छोरीको सबै लक्षण बताएँ र आफूले घरमा नै गरेको प्राथमिक उपचारको जानकारी दिएँ । सबै वृतान्त सुनेपछि उसले नजिकै बसेको अर्को डाक्टरलाई सम्बोधन गर्दै बिरामी हेर्न कुरा बतायो । उक्त व्यक्तिको अनुहार मलाई चिरपरिचित लाग्यो । मैले स्मरणको ढोका ढकढकाएँ अनि थाहा पाएँ ऊ मसँग पढ्ने प्रज्जवल रहेछ । उसले मलाई चिन्न सकेन । तर मैले उसलाई चिनेँ । नातावाद कृपावादले निलेको हाम्रो सामाजिक संस्कारलाई म पनि चाट्न पुग्छु । मैले परिचयको ढोका उघारेँ । उसले मलाई नियालेर हे¥यो । मैले आफ्नो परिचय दिएँ । दश वर्षपछिको सम्झना उसको मस्तिष्कमा ताजै रहेछ । हामीसँगै आइएस्सीमा पढथ्यौँ । उसले अन्य साथीभाइको बारेमा सोध्यो मैले पनि जाने जति बताएँ त्यसपछि उसले मलाई आत्मीयता देखायो । म पनि सोही चाहन्थेँ । छोरीलाई स्लाइन पानी दिनुपर्ने भयो, दिइयो पनि । स्लाइनको पानीको थोपासँग म आफ्नो अतीत बगाउन पुग्छु ।

मेरो जीवनले दश वर्ष साउने झरी बगाइसकेछ । प्रज्वल उही व्यक्ति हो जसलाई म क्याम्पसमा मन पराउँदिनथेँ । ऊ आफ्नो सम्पूर्ण शक्ति खर्च गरेर मलाई रिझाउन खोज्थ्यो । तर म उसको छायासम्म मन पराउँदिन थिएँ । ऊ साधारण परिवारको साधारण व्यक्ति थियो भने म उभन्दा निक्कै सम्पन्न परिवारको र रुपवती थिएँ ।

उसँग मेरो तुलना नै हुन सक्दैनथ्यो । उसले कुनै उपाय नलागेर अर्को व्यक्तिमार्फत बिहेको प्रस्ताव पनि पठाएको थियो । जुन म लगायत मेरो परिवारले ठाडै अस्वीकार गरेका थियौँ । यसबाट उसलाई नराम्रो मानसिक असर परेको हुनुपर्छ । नत्र भने साधारण पढाइ भएको प्रज्वलले कसरी डाक्टरी पढ्न सक्थ्यो होला र ?

अहिले उसको व्यक्तित्व पनि निकै लोभलाग्दो देखिन्थ्यो । पहिलेको प्रज्वल र अहिलेको प्रज्वलमा आकाश जमिन फरक थियो । ऊ एउटा राम्री युवती लिएर अर्को कोठामा पस्यो । अनि ढोका लगायो । ती दुइजना त्यहाँ किन पसे, मेरो ध्यान त्यतैतिर गयो । त्यो केटीसँग आएकी आइमाई मान्छे मसँग बोल्न खोजी । उसले मलाई सोधपुछ गर्न खोजी । मैले पनि उसको बारेमा सोधें । उसले छोरीलाई जँचाउन ल्याएकी रहिछे पिलो आएर । उनीहरु एउटै गाउँका रहेछन् । एकछिनपछि उसकी छोरी र प्रज्वल हाँस्दै कोठाबाहिर निस्किए । मैले उनीहरुलाई शंका र कपटपूर्ण हेराईले हेरेँ । मलाई कताकता रिस उठ्यो । म आफ्नो स्थानमा बसेर हेरिरहेँ । फेरि उही सहायक आएर करायो । त्यो व्यक्ति मसँग निकै नजिक हुन चाह्यो । सायद प्रज्ज्वलले भनेर होला वा मेरो नारी सौन्दर्यले हो, यी दुइटा कुरामा एउटा चाहिँ पक्कै हो भन्ने निष्कर्षमा म पुगेँ । तर जे भए पनि नौलो ठाउँमा कसैले आत्मीयता देखाएको हुनाले म खुसी नै थिएँ ।

प्रज्वलले मसँग चासो राखेन । किन होला, सायद विगतमा बिझेको काँडाले वर्तमानमा पनि झस्काउँदो होला उसलाई । म यसो बाहिर चियाउन पुग्छु । ऊ अर्की राम्री लेडिज डाक्टरसँग हाँस्दै गफ गरिरहेको थियो । ऊ सायद प्रतिसोधको भावनाले मलाई जलाउन खोजिरहेको मैले अनुमान गरेँ । तर होइन उसँग काम परेर गफ गरेको पनि त हुनसक्छ नि, भनेर मभित्रको कुण्ठालाई दबाएँ । मलाई अब उसको जीवनसँग के सरोकार, ऊ जोसँग हाँसे पनि मलाई किन चासो परिरहेछ, थाहा छैन । म आफूभित्रको आवश्यकताभन्दा बाहिरको चिन्तनलाई मेटाइदिन्छु । म वर्तमानमा आएर छटपटिन्छु । मलाई प्रज्वलले विगतमा पाएको नियति भोग्न बाध्य गराएको छ । म न बाँच्न सक्छु, न त मर्न सक्छु ।

म कुण्ठित छु विखण्डित छु, कहिले नजोडिने गरी । व्यक्तिले गरेको निर्णय र सोचाइ कति गलत हुँदोरहेछ भन्ने कुरा म आफैँले प्रमाणित गरेर देखाएको छु । म शून्यतामा मनोवाद गर्न पुग्छु । सायद प्रज्वल मेरो वर्तमानबाट अनभिज्ञ छ । ऊ सोच्दो होला मैले राम्रो घरानामा बिहे गरेर खुसीसाथ बसेकी छु । जीवनमा पाउनु पर्ने खुसी सबै पाएकी छु । तर उसलाई के थाहा म आँसु पिएर बाँचेकी छु भन्ने । उसलाई म यो भन्न पनि चाहन्नँ किनभने उसले यो थाहा पायो भने मेरो स्थितिप्रति ऊ उपहास गर्नेछ अनि मलाई सहानुभूतिका अस्त्रहरु प्रयोग गरेर ऊ आफ्नो हृदयमा लागेको पीडामा मलहमपट्टी गर्नेछ । जुन म चाहन्नँ ।
केही छिनपछि एउटी सिस्टर आई । छोरीलाई अस्पतालमा भर्ना गर्नुपर्छ भनेर गई । छोरीलाई वार्डमा लगियो । म छोरीसँग थिएँ । माइतमा फोन गरेर दाजुभाउजूलाई बोलाएँ । घरमा फोन गर्नुको कुनै औचित्य छैन । किनभने घर भन्नु मेरो चार पर्खालको गाह्रो मात्र छ । कान्छी छोरी माइतमा नै छ । घरमा को छ ? उनीहरुका बुबा भनौँ मेरो लोग्ने, ऊ घरपरिवारको लागि निर्जिवसरह छ । उसको कुनै अवशेष बाँकी छ भने मात्र छोरीहरुको बाउ भन्ने एउटा पहिचान मात्र ।
ओहो ! यो पीडाले ठाउँ, बेठाउँ कतै पनि छोड्दैन । जुन बेला बढी दायित्व बोक्नुपर्ने ठाउँ पाउँछु पीडाले पोल्न थालिहाल्छ । यस्तो बेलामा बुबाको भूमिका प्रमुख रहन्छ बच्चाका लागि । तर…… त्यसैले त मुटु पोलिरहेछ । तर…… म पीडा पोख्न पनि सक्दिनँ । उकेल्न पनि सक्दिनँ । पीडाको आभाससम्म दिन चाहन्नँ परिवेशलाई । त्यसैले त म बाँचिरहेको छु, एउटा शक्तिशाली नारी भएर । त्यही शक्तिशाली नारी व्यक्तित्व दुर्गाको रुप लिएर ममाथि जाइलाग्छे किन सम्झन्छेस् उसलाई, तँलाई के दिएको छ उसले ? पीडा, दुःख, रोदन र एकांक्ी जीवन सिवाय । वास्तवमा उसले मलाई ठीक भनिरहेकी छे । किनभने ऊ अर्थात् शेखरलाई म कति मन पराउँथे । ऊ मेरो हृदयको राजा थियो । उसको स्वर र सगीतप्रति मोहित भएर मैले मेरो माइतीको भावनालाई कुल्चिएर उसलाई अँगालेको थिएँ । ऊ मेरो सम्पूर्ण थियो, ऊ नै मेरो जिन्दगी थियो ऊ नै मेरो वर्तमान थियो, ऊ नै मेरो भविष्य थियो । ऊविना एक क्षण पनि म कल्पना गर्न सक्दिनथेँ । उसको बोलीमा विश्वास गरेँ वाचालाई कबुल गरेँ । उसको सम्पूर्ण क्रियाकलापलाई विश्वास गरँे अनि ऊप्रति सकारात्मक पाइलाहरु चालेँ ।

सुखद भविष्यको कल्पना गर्दै पाइलाहरु अघि बढाउन थालेँ । म ठान्थेँ ऊ मेरो मात्रै हो अरु कसैको होइन । ऊ मेरो सिवाय अरु कसैको हुनै सक्दैन । मेरो अपरिपक्व सोचाइमा तब ठेस पुग्यो जब ऊ रातभर पनि घर आउँदैनथ्यो । उसलाई म र मेरो भावनाप्रति कुनै सरोकार थिएन । ऊ रातभर स्टुडियो, सुटिङ, र रेकडिङमा नै व्यस्त रहन्थ्यो । बिस्तारै उसको गायन क्षेत्र मौलाउँदै गएको थियो । ऊ राष्ट्रियस्तरको गायक तथा कलाकार बन्यो । उसका फ्यानहरु धेरै भए । शुभचिन्तकहरु धेरै भए । ऊ मप्रति मात्र हैन छोरीहरुप्रति पनि उदासिन रहन थाल्यो ।

कान्छी छोरी जन्मँदा उसले मलाई आफ्नो वास्तविक चरित्र देखाएको थियो । ऊ एकपल्ट पनि अस्पतालमा मलाइ भेट्न आएन । ऊ धेरै माथि पुगिसकेको थियो । उसको लागि म साधारण महिलामात्र थिएँ । कतिले छोरी जन्म्यो भनेर नआएको होला पनि भने । सबैले आआफ्ना अड्कलका बिस्कुन फिँजाएका थिए । मैले त्यस्तो नाजुक अवस्थामा पनि आफूलाई सम्हालेँ । अनि छोरीहरुलाई पनि सम्हालेँ । त्यसपछि शेखर र मेरो असमझदारीको दूरी बढ्दै गयो । वास्तवमा ऊ, यही चाहन्थ्यो किनभने मसँग उसले खोजेको ग्लेमर्स प्रतिभा, र सम्पत्ति केही थिएन । माइतीले दिएका केही सम्पत्ति पनि उसका एलबमहरुमा खर्च भइसकेका थिए । त्यसैले उसले मबाट पाउने कुरा केही थिएन । बरु उसको सफलतामा बाधा पर्ने तत्वहरु धेरै थिए मसँग । त्यसैले ऊ मदेखि धेरै टाढा हुँदै गयो । मैले भने मेरो कोमल नारी हृदयलाई विद्रोही अन्तर्भावले कठोर बनाउँदै लगेँ । अनि आफूलाई जस्तासुकै परिस्थितिमा पनि बाँच्न सक्ने शक्ति पैदा गरेँ । जिन्दगीलाई सम्झौता र सङ्घर्षमा पयार्यका रुपमा लिएर पाइलाहरु अघि बढाउँदै लगेँ ।

पुनः प्रज्वल र अरु दुई डाक्टर आएर मेरो एकाग्रता भंग गरे । छोरीलाई एपेन्डिक्सको अपे्रशन गर्नुपर्छ भनेर गए । म गहिरो चिन्तामा डुबेँ । भोलिपल्ट दिउँसो छोरीको अप्रेसन छ । म रातभर छटपटिएँ । छोरीको पीडासँगै आफू पनि बगेँ । प्रज्वल किन हो त्यति आएन । रातभर स्लाइन पानी दिइयो । मनमा अनेकौं तर्कनाका ज्वारभाटाहरु उठ्दै, बस्तै गए । आफूले आफैंलाई सान्त्वना दिएँ । तोकिएको समयमा अप्रेसन भयो । अप्रेसन सफल भयो । अप्रेसन सकिएपछि सर्जन डाक्टरले मलाई बोलाएर भने– तपाईंकी छोरीको वास्तवमा एपेन्डिक्स फूलेको रहेनछ । हामीसँग भिडियो एक्सरेको मेसिन बिग्रेको हुनाले राम्रो डायग्नोसिस नगरी अप्रेसन गरेछौँ तर पनि केही भएको छैन । यो साधारण कुरो हो । म आक्रोसित बन्न पुगेँ अनि क्रोधलाई शब्द शब्दका वाणमा परिवर्तन गर्न पुगेँ । तपाईंहरुको लागि यो साधारण कुरो हो तर मेरो लागि होइन । तपाईंहरुले के ठान्नुभएको छ– मेरी छोरीलाई खसी काटेझैँ काट्दा साधारण भन्नु हुन्छ वा एउटा गोली खाएर निको हुने बिमारलाई चिरफार गर्नहुन्छ ? मैले यतिका समयसम्म कति मानसिक व्यथा सहँे हुँला । तपाईंहरुले यो कल्पना पनि गर्नसक्नु हुन्न । त्यसको क्षतिपूर्ति तिर्न सक्नुहुन्छ ? यत्रो नाम चलेको अस्पतालमा एउटा भिडियो एक्सरे मेसिन तयारी अवस्थामा राख्नु पर्दैन । विमारीको जिन्दगीसँग खेलवाड गर्नहुन्छ ?

मेरो आवाजले अप्रेसन थियटरको बाहिरको कोठा थर्कियो । मैले आफूभित्रको कुण्ठा सबै पोखेँ त्यो डाक्टरलाई । उसलाई झम्टेँ । छुट्टयाउन प्रज्वल आइपुग्यो । मेरो आक्रोशित र विद्रोही हृदय पग्लेर आँसुमा परिणत भयो । म गलेँ, नियतिले भिजेँ, कुण्ठाले चुटिएँ । प्रज्वल मूर्तिवत भयो । यसमा उसको कुनै दोष थियो वा थिएन म भन्न सक्दिनँ । किनभने उसैले मेरो निकटता खोजेर मेरी छोरीको अप्रेसन गराएको पनि हुन सक्दछ । यसो गर्दा उसले मलाई उसको शान शौकत देखाएर मसँग बदला लिन सक्थ्यो । मैले उसलाई शंकालु र दोषपूर्ण हेराईले हेरेँ । मलाई सबै पुरुषहरुदेखि घृणा लागेर आयो । छोरीको अवस्था देख्दा मुटु फुटेर आयो । सास थुनिएर आयो । मातृत्व वात्सल्यताले मुटु चिरिएर ज्वालामुखी निकाल्न खोजेँ । मैले लामो सुस्केरा लिन पुगेँ ।

छोरीको नाजुक स्थितिले म छटपटिएँ । त्यहाँ एक सेकेण्ड पनि बस्न सकिनँ । त्यसपछि मेरा दाजुभाउजूलाई छोरीको हेरविचारको जिम्मा लगाएर म हिँडे कतै एकान्तमा जहाँ जाँदा पनि मेरो नियतिले भनिरहेको थियो– जसरी मैले प्रज्वलको प्रेमको एउटै गोली खाएको भए हुने ठाउँमा शेखरको प्रेमलाई राम्ररी डायग्नोसिस नगरी जीवनलाई नराम्ररी चिरफार गर्न पुगेँ त्यसरी नै यी डाक्टरहरुले मेरी छोरीले एउटा गोली खाँदा निको हुने विमारलाई चिरफार गरेर मैले मेरो जिन्दगीमा भोग्नु परेको नियति भोग्न बाध्य गरायो । म जुन मानसिक पीडामा छटपटिरहेछु त्यहीँ पीडा भौतिक रुपले मेरी छोरीले भोग्न बाध्य भएकी छे ।

(स्रोत : श्री रुपरेखा)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.