~एल. के. सुन्दर~
म, मृतप्रायः
हो,
तिम्रो अर्थमा
म, मृतप्रायः
निष्प्राण
निर्जीव।
जति सक्छौ प्रहार गर
मृतप्रायः सम्झेर प्रहार गर
निष्प्राण सम्झेर प्रहार गर
निर्जीव सम्झेर प्रहार गर।
पिट ,
जति पिट्नु छ पिट
पोलेर पिट
गालेर पिट
मन फुकाएर पिट
न्वारानदेखिको बल लगाएर पिट।
तिम्रो पोलाइ
तिम्रो पिटाइ
पिटाइ र पोलाइको सीमा नाघेपछि
फलाम आफै इस्पात बन्छ।
धारिलो हतियारको रुपधारण गरी
यो पनि ,
स्वयमसिद्ध तथ्य
अनि ,
प्रतिशोधको एउटै प्रहार
हो ,
प्रतिशोधको अन्तिम प्रहार।
बरु ,
भिष्मको प्रतिज्ञा तोडिएला
युधिष्ठिरले वाचा भङ्ग गर्ला
भिमसेनको बलबाहु गलिएला
अर्जुनको निशाना चुकिएला
तर ,
प्रतिशोधको एउटै प्रहार
तिम्रो लागि
ज्यादै, ज्यादै नै महँगो सावित हुनेछ।
(स्रोत : मजदुर दैनिक)
