~नीरज लवोजु~
गोविन्द वर्तमानकृत ‘हरियो साइकल’ मा सङ्ग्रहित यात्रा निबन्ध ‘हिउँले छोपेका फूल’ पढिसकेपछि अरु केही नियात्रा कृति पढ्ने जाँगर पलायो। त्यही बेला पछिल्लो समय चर्चामा रहेको शारदा शर्माको ‘भुइँफूलको देश’ हात पर्यो। केही समयअघि मात्र पढेको शर्माकै उपन्यास ‘ताप’ ले पनि ‘भुइँफूलको देश’ पढ्न हौस्यायो।
‘भुइँफूलको देश’ मा नेपालको पूर्वी पाथिभरा, पश्चिमका मुक्तिनाथ, घान्द्रुक, कर्णाली अञ्चलका जुम्ला र मुगु, सुदूर पश्चिमको खप्तड क्षेत्र र काठमाडौंकै शिवपुरीको यात्रा वृत्तान्त सङ्ग्रहित छन्। सिङ्गो पुस्तक पढेपछि सिङ्गो नेपालको भ्रमण गरेको अनुभूति गराउँछ। विशेषतः नियात्राकार हिमाल, पहाड, हिमनदी, पहरा, तपयें बाटा, गोरेटाहरूप्रति बढी आकर्षित छन्। जस्तै थकाउने र गलाउने किन नहोऊन् उनलाई नेपालको उत्तरी उँचो भाग र अझ उचाइप्रति उनमा विशेष मोह छ। कृतिमा बाटो परेर तराईका एकाध वर्णन उल्लेख भए पनि तराई गन्तव्य कहिल्यै बनेको छैन। यसबारे नियात्राकार स्वयं स्पष्टिकरण दिन्छन् –’तर किन हो, त्यतातिरको बाक्लो बस्ती र तातो मौसममा त्यति झ्याम्मिन भने सकिनँ।’
शर्माका नियात्राहरू विचारवान कृति हुन्। प्रकृति वर्णन र ‘यसो गर्यौं, उसो गर्यौं’ भन्दा माथि उक्लेर उनका निबन्ध पाठकलाई सान्दर्भिक विषयमा आफ्नो विचार पनि पस्कन सफल छन्। पूर्वका जिल्लामा पुग्दा उनले जातीय राज्यको विपक्षी विचार पस्केका छन्। इजरायलमा बस्दाताका आफूले देखेको अनिवार्य सैनिक तालिमको अनुभव पाठकसँग उनी साटासाट गर्छन्, उनी भूगोललाई आधार मानेर सङ्घीयता हुनुपर्ने विचार व्यक्त गर्छन्। माओवादी सशस्त्र विद्रोहमा भएका घटनाबारे पनि उनी आफ्नो मनको भावना पोख्छन् –बीचबीचमा। त्यसका साथै उनी परिस्थितिजन्य भावना पनि ज्यादै मीठो पाराले अभिव्यक्ति गर्छन् जो स्वयम् सत्यका टुक्राहरूजस्ता लाग्छन्। आफू स्वयम् महिला हुनाले पनि हुनुपर्छ, उनलाई आफू पुगेका ठाउँका महिलाहरूका अवस्था र गतिविधिप्रति विशेष चासो छ।
प्रत्येक सफल नियात्राले पाठकलाई पनि आफूसँगै यात्रामा हिंडाएको हुन्छ। नियात्राकारलाई डर लागे, पाठक आफै डराएको हुन्छ, नियात्राकार रोमाञ्चित हुँदा पाठकको मुखाकृति पनि उज्यालो बन्छ, नियात्राकार थाक्दा पाठकले पनि थकान महसुस गर्छ। ‘भुइँफूलको देश’ पढ्दा पाठकलाई त्यस्तै आभास गराउँछ।
मुक्तिनाथमा लेिखकालाई अल्टिच्युड (उचाइमा हुने श्वासप्रश्वासको समस्या) लाग्दा पाठकलाई पनि पीर पर्छ र लेखिकाप्रति सान्त्वना जाग्छ। पाथिभराबाट फर्केको लोकल गाडीमा यात्रुले गरेको बान्ताले पाठकलाई पनि घिन लाग्छ। खप्तडको स्वच्छ पर्यावरणले पाठकलाई आजकै नाइटबसमा त्यतातिर जाऔं कि भन्ने भावनामा डुबाउँछ। यसर्थमा शारदा शर्मा सफल नियात्राकार भएको प्रमाणित गर्न ‘भुइँफूलको देश’ आफैमा काफी छ।
शारदा शर्माका जीवन यात्राका सहयात्री नरहरि आचार्य प्रत्येक नियात्रामा एकजना मुख्य पात्र (प्रोटागोनिस्ट)को रुपमा देखापर्छन्। नरहरि आचार्य नआउञ्जेल पाठकले हरेक नियात्रामा उनलाई पर्खिरहेको हुन्छ। जब आचार्य आउँछन् शर्माको भावना अझ गाढा भएको जस्तो लाग्छ। जुका लाग्ने जङ्गलमा नियात्राकारलाई घाँटीमा जुका लाग्ला भनी ज्याकेटको जिपरमाथि सम्म सारिदिने, उकालो चढ्न हम्मे पर्दा नियात्राकारसँगै हिंड्ने, झिङ्गाले राज चलाएको भान्छामा चुपचाप मन लागे जति खान सङ्केत गर्ने, उकालोमा झोला बोकिदिने भावनात्मक पात्र हुन् – नरहरि आचार्य। नियात्राभरि नरहरि–शारदाको सम्बन्धमा साँच्चै रोचक लाग्छ।
नेपाली काङ्ग्रेसका नेतासँगको यात्रामा काङ्ग्रेसको प्रसङ्ग आउनु स्वाभाविक हो। नियात्राकार यहाँ इमानदार छन्। कतिपय यात्राको लक्ष्य त काङ्ग्रेसकै कार्यक्रममा सहभागिता हो। यद्यपि शर्माले परम्पराबाट उक्लेर शर्माले हामै्र माटोका सुन्दर र भव्य खण्डलाई सम्पूर्ण नेपालीलाई जीवन्त ढङ्गले चिनाउने योगदान गरेका छन्।
(स्रोत : मजदुर दैनिक)