~आषिश श्रेष्ठ~
आज बाटोमा महादेवसँग भेट भयो,
शरण परें पाउमाथी,बिस्तारै हातले माथी उठाएर,
ग्वाम्लाङ्ग अन्कमाल गरे,चिसा हातले !
म मौका छोपेर कुनै वर माग्ने सुरमा थिएँ,
बुढा अचानक घोप्टो परेर रुन लागे,
मैले मेरो कान चिमोटें,म विपनामै थिएं,बुढा होशमै थिए !
भक्कानिएर बुढा बोले:बाबू, मेरो त्रिशूल हरायो,
म असमन्जसमा परें,के गरुँ,के भनूँ ती बुढालाई,
नेपालीका आराध्यदेव देवाधिदेव महादेव,मसँग पो रुँदै थिए !
काठमाण्डुका गँजडिहरुले बुढाको गाँजाको पोको र त्रिशूल चोरेर लुकाईदिएछन्,
त्यहि दिनदेखी बुढाले एकसुरले अपराधीलाई दण्ड दिन पाएनन् रे!
बेथिती सम्झेर अाँशु चुहाए !
बुढाको त्रिशूल कहिले कस्को हातमा,कैले कस्को हातमा,
जस्ले त्रिशूल समाएर गाँजा गफ हान्छ,
उसैलाई महादेव सम्झिने नेपालीहरुको मनस्थिती देखेर,
धेरै चित्त दुखाए !
त्रिशूल खोज्ने उपाए सुझाउन हिम्मत भएन,
पक्क परेर बुढालाई हेरें,सोधें, मैले के गरुँ प्रभो,
बुढा भन्छन् ,पाँच हजार छ ?
गोजी-गोजी खोतलेर रुप्याँ पुर्याएर दिएँ,
हेर्दा-हेर्दै बुढा दिल्ली जाने वातानूकुलित बस चढे,
टाटा-बाई बाई, त्रिशूल पाए’सी भेट्न आउँछु,
अचेल,बुढा पनि पुरै हावा भएछन्,
नेपालीको पारा देखेर “होपलेस” भएछन् !
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)