~हरिमाया भेटवाल~
भर्खर शिशु जन्माएकी आमा
र उदाउँदो घाम किन उस्तै लाग्छ
मलाई ?
घामले पृथ्वी देखेपछि
र मान्छेले भूगोल टेकेपछि
किन उस्तै लाग्छ घाम र मान्छे ?
घामसँग कम्पास छ समयको
मान्छे कम्पास बनिरहन्छ
मान्छेभित्र आकाशजत्रै विश्वास छ घामको
घाम परिक्रम गरिरहन्छ
आमाले सन्तान हुर्काएझैं
घामले पनि हुर्काएको छ
कैयन, आँप, अम्बा र धानका बोटहरु
राति सुताएजसरी आमाले काखमा
ऊ पनि सुताउँछ र बिस्तारै जान्छ
कुनै अर्को देश ब्यूँझाउन
र दउखाउँछ सिक्काको दुई पाटो जीवन
मलाई थाहा छैन
उता कत्तिको क्रियाशील हुन्छन् मान्छेहरु
पेटको लागि वा सपनाकोलागि…..
यताजस्तै खोलाकिनारमा बसेर
हथौडाले चिसो ढुंगा फोर्छन् कि फोर्दैनन् होला उता मान्छेहरु ?
सन्तान जन्माउने अस्पताल नदेखी
डोकोमै सास छोड्छन कि छोड्दैनन होला
उताका सुत्केरीहरु ?
भोकको आगो निमाउन नसकेर
कुवामा हामफाल्छन् कि फाल्दैनन्
होला उताका आमाहरु ?
कठै
यता कहिल्यै पुग्दैन चिसो चुलोमा देश
कहिल्यै दुख्दैन अभावमा र मृत्युमा देश
मलाई थाहा छैन उताको देश कस्तो छ
बस् मलाई त यति मात्र थाहा छ
यताजस्तै उदाउँछ होला घाम उता पनि
यताजस्तै फेर्छन होला मान्छेले सास उता पनि
पानी उसरी नै पर्छ होला,
हावा उसरी नै चल्छ होला
जीवनको उकाली— ओरालीहरुमा
घाम उदाएसम्म गर्भधारण गरिरहन्छन् आमाहरु
र जन्मिरहन्छ होला धर्तीमा सुन्दर घामहरु………।
(सन् २०१३ मा अन्तराष्टिय पुरस्कार प्राप्त कविता । नेपाल लगायत विश्वका १८ देशका कविहरुबीच गरिएको प्रतिस्पर्धामा भेटवालको यो कविता सबैभन्दा उत्कृष्ट ठहरिएको थियो ।)
(स्रोत : समरेखा द्वैमासिक)