~जीवन खत्री~
कलालाई कलाको रुपमा नबुझ्ने
एउटा साथी छ मेरो
उसलै पठाइदिएछ मेरो ठेगानामा
एउटा विचित्रको खस्रो चित्र
ठिक यति बेला, यही चित्रलाई नियालिरहेछु।
हुन सक्छ,
यो चित्र भिन्चीले बनाएको हो,
जसले मोनालिसाको नरम तस्बिर छाम्दा-छाम्दा
वाक्क भएर यो खस्रो चित्र बनाउन रहर गर्यो।
वा हुन सक्छ,
दुःखको अन्तिम इनारमा डुबेर कुनै कविले लेखेको
सबसे दु:खद कविताको दु:खी पात्रको तस्बिर हो यो।
जे पनि हुन सक्छ-
एउटा मानव आकृति जस्तो यो चित्र
खुब नियालिरहेछु,
पातहरूले छाडिगएका नांगी रूखजस्तो छ टाउको
जहाँ दु:खको सिंगै पहाड टोपी बनेर उभिएको छ
दर्जनौं सन्धि-सम्झौताहरूले सिमाना खुम्चिएको
कुनै विपन्न देशजस्तो छ निधार
जहाँ, अभावका किरङमिरिङ धर्साहरू टाँस्सिएका छन्।
पाखोबारी झैं पाटैपाटा परेका छन् दुई गाला
जहाँ पीरका योद्धाहरूले परेड खेलिरहेछन्
लाग्छ, उसका कानहरूलाई
भोकको सारंगीबाहेक अरु धुन थाहै छैन
उसको नाकले अभावबाहेक अरु सुगन्ध जान्दैन
आँखाले केवल भयका साँघुरा खोल्साखाल्सी देख्छन्
मुखले पनि निरीहताको भजनसिवाय केही बोल्दैन
गहिरिएर हेर्छु, झन् डर लाग्छ
कुन बैगुनी कलाकारले कुन कुरुप भाँडोमा भेट्यो
यति बिघ्न अभावका रङहरू
यति बिघ्न अध्याँरो मसी
यति बिघ्न व्यथा, उल्झन सुहाउने क्यानभास
यति बिघ्न कहाली चोपिन सक्ने कुची
आँखा भरिभरि हेर्छु
चित्रको पछिल्तिरको पुरानो घर
सायद यही मानव आकृतिको होला।
तर, घरको लालपुर्जा घरमै होला कि कुनै महलमा?
चित्रको दाहिनेतिरको सानो केटो उसैको छोरो होला।
तर उ स्कुल नगएर, किन क्यानभासमा?
हुन सक्छ, परीक्षा शुल्क विलम्बका कारण
स्कुलले आजै फिर्ता गरिदिएको होस्।
उसकी श्रीमती? छैन त चित्रमा
कतै एक्लै छोडेर उसलाई, मुग्लान त झरिन?
कि कुनै महलको भित्री कोठामा कैद भई?
जे पनि हुन सक्छ।
अहो, खासमा कुन मूर्खले कोर्यो यो असुहाउँदो चित्र
भेट्न पाए सोध्न हुन्थ्यो-
के, दुःखका अनगिन्ती सागर, एउटै खोलामा अटाउँन सक्छ?
के अभावमा अनेकौँ घान, एउटै जाँतोले पिँधी भ्याउँछ?
कि एउटा भोकले मात्र निल्नुपर्छ अभावका गाँसहरू?
कि एकजोडी हातहरूले मात्र सम्याउन सक्छन्,
तारे भीरैभीरको जिन्दगी?
कि एकजोडी पैतालाले मात्रै हिँडी भ्याउँछन्,
तरबारको धार ओछ्याइएका बाटाहरू?
यिनै प्रश्नहरूका बीचमा अल्झिरहेका बेला
छोराको एउटै कुराले झसंग बनायो
भन्यो- ‘बाबा, ऐना हेरेर किन एक्लै बरबराउनु भएको?
(स्रोत : पहिलो पोस्ट डट कम)