~गीता थापा ‘दोषी’~
“हन केसारो ढेस्सीएर बस्नु भएको ? उता त्यत्रो खाली ठाउँ छ ।”महिला पुरुषको कुममा अल्झिएको पछ्यौरीको फेर तान्दै आक्रोषमिश्रित स्वरमा फतफताउँछे।
मैले यसो नियालें । एउटा भुसतिघ्रे काले मस्त निदाएको बहानामा महिलाको कुममा टाउको अड्याउन पुगेछ । महिलाको बोलीले झसंग तर्सिएको बहाना पार्दै वरतिर सरेर आँखा मिच्न थाल्यो ऊ । तिघ्रेमोरो सोझो रछ । नत्र ठाडो जवाफ लगाइहाल्थ्यो “यसो अलिकति छुनै नहुने मान्छेले त आफ्नै गाडीमा आउनु नी !”महिलाका आँखासित मेरा आँखा जुध्न पुगे ।ड्राइभरले घ्याच्च ब्रेक लगायो । सबै यात्रु सीटबाट एक हात माथि उफ्रीए ।
“गुरुजी अलि विस्तारो गर्नुस् । झन्डै त्रिशुलीमा पुगिएको ।”पछाडिबाट एक मुष्ट आवाज हुरुरु अगाडि आए । ड्राइभर पनि चुप रहन सकेन ।
“के गर्नु त बाटै खाल्टा र खुल्टी छ । बजेट जति नेतालाई सेकुवा र रम खादै ठीक्क हुन्छ ।” मेरो मुटु च्यु च्यु भयो । टिकट काट्ने बेला श्रीमतीले खुरुक्क प्लेनमा नगएर केको लोभ गरेको भन्दै थिइ । अफिसको कामले काठमाडौं हिँडेको थिएँ । अफिसले प्लेनको होइन बस टिकटको पैसा दिएको थियो । एउटाको कमाइले यत्रो महँगी धान्नु छ । केको आम्दानीले प्लेन चढ्ने ? “यो श्रीमती भन्ने जिवात्मा पनि सोच बिचारै नगरि प्याच बोल्छे” भन्ने लागेथ्यो। झन्डै त्रिशुलीको भीरबाट गुल्ट्याइ दिएको ड्राइभरले ।
त्रिसुलीको खड्गो छलेर चिया खाने ठाउँमा बस रोकियो । कान छेड्ने गरि खलाँसी चिच्यायो “ल ! चिया खाजा खान ओर्लिनुस” म पनि ओर्लिएँ । एउटा चिया मगाएर एक पटक सुरुप्प पारेको थिएँ, मुखै बिग्रिँयो । तम्तमाइलो । निल्नै सकिन । गिलासको चिया जस्ताको त्यस्तै देखेर पसले भाइले सोधे “दाइ चिया खानु भएननी। के भयो ?”
“घाँटीबाट निलिए पो खानु”भन्न तयारी पारेको जवाफ पनि जिब्रोले भित्रै धकेलें । विचराको पेशा हो । यहि तम्तमाइलो फर्सीको झोल जस्तो चिया बेचेर बालबच्चाको पेट भर्नुपर्ने उसको वाध्यता र विवशता सम्झिएँ । केही बोलिन । पैसा मात्रै तिरेर बसभित्र बसें ।
केहीबेरमा ड्राइभर पसेर बस घ्यार घ्यार पार्नथाल्यो । यात्रुहरू पनि धमाधम पसेर आ-आफ्नो सीट सीटमा बसे । ड्राइभरले खलासीलाई सोध्यो “कान्छा सबैजना आए? “
“आए गुरुजी । जाऊँ जाऊँ” कान्छाले दुई चोटि ढोका ठटायो । गाडी विस्तारै अगाडि बढ्यो । मैले सीटमा मुन्टो अड्याएर आँखा चिम्म चिम्लिएँ।