~यज्ञराज कार्की~
नेपाल बाजेका ३ वटा छोरा । जेठोको नाम “तेन्जिङ” माइलोको “बिरबहादुर ” र कान्छो को “हरिया” । जमिन्दारको रुपमा कहलिएका नेपाल बाजेको जग्गा जमिनको कुनै हिसाब थिएन । उनका छिमेकी- भरतनारायण र चिनकाजीको गिद्दे नजर उनको जग्गा जमिनमा थियो । मौकाका को ताकमा रहेका ति २ छिमेकीहरु नेपाल बाजेको परिवारको हरेक गतिबिधीहरु नियालिरहेका हुन्थे । 2 वटा छोराको घरजाम गराइसकेका नेपाल बाजेले आफ्ना सन्तानहरुलाई पारिवारिक सदभावको डोरीले बांध्न सफल रहेका थिए ।
छोराहरु निक्कै मेहनती र परश्रमी थिए । सबैमा मेल थियो,आपसी सहयोग र सदभाव थियो । कान्छो छोराको बिहे गर्ने ताकमा थिए नेपाल बाजे । चिनकाजी को गिद्धेनजर नेपाल बाजेको जडिबुटीको खेती गरिएको भिरखेतमा थियो भने भरतनारयणको नजर लटरम्म धानका बाला झुल्ने मैदान खेतमा थियो । दुबै छिमेकीहरुले नेपाल बाजेको जग्गा हडप्नका लागि धेरै किसिमका चलखेल नगरेका होइनन तर सफल हुन सकेका थिएनन । यस्तैमा भरतकाजीले नेपाल बाजेको कान्छो छोराको लागि आफ्नी छोरी सुम्पने सन्देस पठायो । रुपले बिछटै राम्री उस्की छोरी प्रती नेपाल बाजेको काँचो छोरो “हरिया”को पनि मन नबसेको कहाँ हो र ! भन्न मात्र नसकेको ।
भरतनारायणको सन्देसले हरियालाई ”के खोज्छस कानो,आँखा'” भने झै भयो । उस्ले माइलोदाई मार्फत भरतनारायणको सो प्रस्ताव स्विकार गर्नका लागि बुवालाई मनाउन अनुरोध गर्यो । नेपाल बाजेले पनि आफ्नो छोराहरुको मन दुखाउन चाहेनन् । भरतनारायणको छोरी ‘मेनुका’संग हरियाको बिहे भयो ।
अब नेपाल बाजेको परिवारमा थापा १ जना सदस्यको आगमन भएको थियो । नेपाल बाजेले आफ्नी श्वास्नी सहित ३ वटै छोरा र बुहारीहरुलाई बोलाएर बैठक राखे । उनले सो बैठकमा पुर्वानुरुप पारिवारिक सहयोग र सहकार्यका साथै पारिवारिक सुख र शान्तीमा कुनै किसिमको आँच आउन नदिन अनुरोध गरे । उनको अनुरोधलाई सबैले मौखिक रुपमा स्विकार गरिरहँदा कान्छी बुहारी को मुहारमा भने कटुतायुक्त मुस्कानको लहर दौडिएको थियो । केही महिना पछी नेपाल बाजेको परिवारिक माहौल बिग्रिदै गएको समाचार बहिर आउन थाल्यो । आफ्नी छोरीलाई उचालेर भरतनारायणले नेपाल बाजेको परिवारमा अंशबण्डाको बखेडा झिक्न उक्साएको थियो । त्यो बखेडामा हरियाले पनि साथ दिएको थियो । नेपाल बाजेले यो समस्या सुल्झाउन निक्कै प्रयास गरे तर सकेनन
। भरतनारायणले आफ्नी छोरीलाई गोटीको रुपमा प्रयोग गरेर नेपाल बाजेको घरमा छिराएको थियो । उस्को कुटिल चालले बिस्तार बिस्तारै नेपाल बाजेको पारिवारिक माहौल झन झन बिग्रिदै गयो । अन्तत: नेपाल बाजेले अंश बण्डा नगरि धरै पाएनन । ३ वटा छोरा र बुहारी लाई बोलाएर उनले अंश बण्डा गरिदिने निर्णय सुनाए । अंश बण्डाका निमित्त केही शर्त पनि सुनाए । उनको शर्त यस्तो थियो – जग्गाको अंश बण्डा गर्दा भिरालो,पाखो र मैदानखेत ३ वटै छोरालाई बराबर हुने गरी बाँढ्ने , जग्गा दिएपनी लालपुर्जा नदिने (लालपुर्जा दियो भने छोराहरुले जमिनमा पसिना बगाउन छोडेर बेचबिखन गर्लानकी भन्ने डर थियो) अनी सबै छोराले आफ्नो जमिनको उत्पादनको २० प्रतिशत आमा र बुवा (आफु र आफ्नी श्वासस्नी)को लागि उपलब्ध गराउनु पर्ने र आफ्नो जग्गा अरुलाई कमाउन दिन नपाएइने-आँफैले मेहनत गर्नु पर्ने ।
नेपाल बाजेको शर्तमाथि बिचार गर्न छोराहरुले ३ दिनको समय मागे । तीनवटै छोराहरु आआफ्ना श्रीमतीसंग कानेखुशी गर्न थाले । जेठो छोरो चिनकाजीसंग अलिक नजिक्किएको थियो त्यसैले उस्ले आफ्नो बुवाको शर्त बारे चिनकाजीलाई सुनायो । चिनकाजिले उस्लाई भिरालोखेत लिन सल्लाह दियो । भिरालोखेतको हावापानीमा महंगो जडिबुटी खेती गर्न सकिने र सो कार्यमा आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता पनि ब्यक्त गर्यो । माइलो छोरो चिनकाजी र भरतनारायण दुबैलाई विश्वाश गर्दैनथ्यो । त्यसैले उस्ले जेठो र कान्छोको इक्ष्या बमोजिम निर्णय लिने निधो गर्यो । कान्छोले भने आफ्नो ससुरोसंग पनि राय माग्यो । भरतनारायणले मैदानखेत लिन सुझायो ।
बाबुको शर्तलाई नमानी मैदानखेत आफ्नो नाममा पार्न उक्साउदै उस्ले ज्वाँई हरियालाई भन्यो ” त्यो मैदान खेत र मेरो घर नजिकै छ, छोरीलाई पनि आफ्नो माइत आउन सजिलो हुने अनी तपाईंलाई मर्दा पर्दा जे जस्तो सहयोग हुन सक्छ मेरो तर्फबाट सजिलै उपलब्ध हुन सक्ने भएको ले आफ्नो नामको लालपुर्जा सहित मैदान खेतमा आफ्नो अडान राक्नु होला ” ।
हरियाले ससुरो भरतनारायणको सल्लाहलाई मुनासिव मान्यो । ३ दिन पछी छोरा र बुहारीहरुलाई नेपाल बाजेले आआफ्नो मन्जुरी या नामन्जुरी सुनाउन आग्रह गरे । जेठोले भिरालोखेत एकलौटी रुपमा आफुले पाउनु पर्ने र पाखो खेत र मैदान खेत आफुलाई नचाहिने निर्णय सुनायो ।
माइलोले आफ्नो पानीमरुवा निर्णय सुनाउदै भन्यो “म त दाई र भाईले जे निर्णय गर्छन् त्यहीमा मन्जुर गर्छु ” ।
कान्छोले भन्यो ” म भिर पाखा खन्न,जोत्न र हिंड्न सक्दिन, मेरो ससुरालीपनी नजिकै हुने भएकोले लालपुर्जा सहित मैदान खेत मलाई चाहिन्छ “
नेपाल बाजेले उनिहरुको निर्णयलाई नामन्जुर गरे । ३ वटा छोराहरुको परिश्रमको पसिना भिर,पाखा र मैदानमा बराबर पोखिनु पर्छ भन्ने उनको मान्यता थियो । आफ्नो अन्तिम श्वास रहेसम्म आफ्नो जग्गा जमिन एउटै लालपुर्जा भित्र सिंगो र अखण्ड रुपमा अटाओस -लालपुर्जाको ध्वजासंगै जग्गा जमिन नच्यात्तियोस भन्ने उनको चाहना थियो । छोरा छोरीले आफ्नो हक अधिकार र पसिना पोख्ने थलो माग्नु नजायज होइन भन्ने बुझेका नेपाल बाजेले अधिकारको नाममा परिवार टुक्राउने शक्तीको हालिमुहाली हुने यथार्थलाई बुझेका थिए ।
त्यसैले उनले ३ वटै छोराको निर्णयलाई लत्याइदिए र भने “सुन बाबु हो ! यदी तिमीहरु आफ्नो पसिन पोखेर आफ्नै पौरखमा रमाउन चाहन्छौ भने तिमीहरुलाई म मेरो जग्गा जमिनको बनाओट अनुरुप समान रुपमा बिभाजन गर्न चाहन्छु तर लालपुर्जाको रटान कसेर बस्छौ र आआफ्नो पायकतालाई मात्र हेरेर जग्गा माग्छौ भने म बाट त्यो मान्य हुन सक्दैन । लालपुर्जाले हलो जोत्दैन र अन्न फलाउदैन त्यसका लागी आफ्नो १० हात खियाउनु पर्छ र पसिन पोखाउन पर्छ । म तिमीहरुलाई भिर,पाखा र मैदान बराबर रुपमा सिमना तोकेर बिभाजन गर्न सक्छु , हेरौ कस्मा कती क्षमता छ ? जस्ले जोत्न सक्छ उस्ले पोत्ला होइन भने हात लाग्यो सुन्य । लौ त के छ बिचार ?”
बाउको यस्तो निर्णय सुनेर ३ जना छोराहरु मुखामुख गर्न थाले ।
जेठो कुर्लियो ” म मान्दिन “
कान्छो पनि कुर्लियो ” म पनि मान्दिन” ।
पानीमरुवा भनेको माइलो पनि कुर्लियो ” बुवाले भनेको ठीक हो” ।
नेपालबाजेकी बुढीया चुपचाप तमासा हेरी रहिकी थिन । बुहारीहरु आआफ्नै पतिको पक्षमा कराउन थाले । केही बेरपछी बुहारीहरुमा कपाल लुछालुछको स्थिती श्रीजना भयो । दाजुभाइहरु मुक्कामुक्की गर्न थाले । बिचरा नेपाल बाजे, गहभरी आँशु बोकेर मुक दर्शक भई आफ्नो घरको त्यो गृहयुद्ध हेरीरहन वाध्य भए । नेपालबाजेको घरमा घन्किएको त्यो अशान्तीको चित्कार चिनकाजी र भरतनारायणको घरसम्म पुगेर उनिहरुको कानमा ठिक्किदा ति दुबै छिमेकिहरु त्यो चित्कारलाई सुमधुर संगितको रुपमा श्रवण गरिरहेका थिय ।
भोलीपल्ट खबर सुनियो : ३ वटा छोराबुहारीको झगडा मिलाउन खोज्दा नेपाल बाजे र उनको श्वास्नीको ज्यान गयो रे । अहिले ३ जनै छोराहरु आफ्नो श्रीमतीसहित जेलको हावा खाइ रहेकाछन रे अनी झगडाको मुल मानिएको जग्गा जमिन भने चिनकाजी र भरतनारायणको पोल्टोमा पुगेको छ अरे ।
सबैलाई चेतना भया !!!!!!!
(स्रोत : रचनाकारको ब्लगबाट सभार)