व्यङ्ग्य कविता : लोकतन्त्र कि भोकतन्त्र ?

~डिल्लीराज अर्याल~

बिरामी, ओखती खोज्छु खती भोग्छु सधैं अति
नसप्रे मति मान्छेको सप्रला कसरी गति?

उपती छैन, गर्दैन, पोयो प्रगतिको छिन्यो
हार खाएर मान्छे यो संहारक बनी हिँड्यो

सँभार गर्नुपर्ने हो संहार खोज्छ, रोज्दछ
विचार गर्नुपर्ने हो प्रचार मात्र खोज्दछ ।

वनस्पति सक्यो सारा, सोचमा छु वृहस्पति
खेदो प्रकृतिको खन्दै बिगार्दैछ परिस्थिति

महासंग्राम हाँक्दैछ, हाँस्दैछ, दङ्ग पर्दछ
धरतीमै बसी रूप धरतीकै बिगार्दछ

नजानेको भनूँ गर्छ- ज्ञान- विज्ञानका कुरा
जानेको छ भनूँ-आˆनै जान्दैन घरका कुरा

‘पानी जीवन हो’-भन्छ, पानीमै ढल हाल्दछ
घर, आँगनको थुप्रो मल हाल्छ, पखाल्दछ ।

वन जङ्गलले रोक्छ, बाढी, पैरो र भूक्षय
भन्छ, काटेर, मासेर-खोज्छ जीवनमा जय
जे जे नगर्नुपर्ने हो गर्छ खालि त्यही त्यही
गर्नुपर्ने कुरा छोडी बन्न खोज्दछ त्यो जयी

विडम्बना! सबै भन्छन्-देशमा लोकतन्त्र छ
लाखौँका घरमा लाग्छ परन्तु भोकतन्त्र छ !

त्यै भोकतन्त्र बेचेर सजायौं लोकतन्त्र कि !
या लोकतन्त्रकै निम्ति बचायौं भोकतन्त्र कि !

भागमा जनतालाई परेछ भोकतन्त्र यो !
नेता, नजिककालाई परेछ लोकतन्त्र त्यो !

कसरी सबको राम्रो बन्दोबस्त मिलाउनु?
लोकतन्त्र सबैभन्दा राम्रो पारी सजाउनु?

यस्तै सोच थिए हाम्रा मनमा सब फेरिए
संसारै फेरियो हाम्रा, निष्ठा, आदर्श फेरिए

त्यसैले भन्दछन् मान्छे आएर लोकतन्त्र यो
फेरिँदै फेरि दैलामै नबनोस् भोकतन्त्र यो

(स्रोत : शब्द-संयोजन असोज २०६८ अङ्क ८९ )

This entry was posted in कविता, हास्य - व्यङ्ग्य and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.