~दीपेन्द्र केसी~
हिजो एकसाथ पढें मैले
धेरै समाचारहरु ।
न्यायका भिखारी नन्दप्रसादले
कालो पोतेर गणतन्त्रलाई
सुकेको डाँठजस्तो भोको र हलुको शरीर
जिम्मा लगाए यमराजलाई ।
लोकतन्त्रको सबैभन्दा शक्तिशाली हतियार “अनसन”
जसले, झुकायो सिँगो व्रिटिश सरकारलाई गोर्खासामु
कुनैबेला झुकेथ्यो गान्धी सामु ।
यति बलशाली हतियारको प्रहारले
नैतिकताको ढाड ठनक्कै भाँचिदा पनि
वेसरम लँगडो वनेर
मौन वस्यो सिँहदरवार ।
हिजो एकसाथ पढें मैले
अरु धेरै समाचारहरु ।
उपचार नपाएर अकाल जाने सुत्केरीहरु
रक्त क्यान्सर, मृगौलाको उपचारको भीख मागेकाहरु
बाढीपहिरो पीडितका कथाहरु
खाडीका चेलाचेलीका कथाहरु
कति अप्रिय हरफहरु थिए त्यहाँ
पढिरहें र सिस्नुपानी लगाईरहे आफैलाई ।
पढिसकेर सबै समाचारहरु
उभिन्छु लोकतन्त्रको ऐना अगाडि
देखेर अलि अलि कालो पोतिएको आफ्नै अनुहार
लज्जाबोधले चिच्याउँछु —
म कुन मध्ययुगीन राज्यमा छु ?
अझ बढी तर्सिन्छु —
कस्तो होला ?
जब अधिकारीको भोको लाशको चिताबाट उडेको कालो धुवाँले
लोकतन्त्रको आकाशमा कालो विलाप गरिरहँदा ?
आत्तिएर म फेरि चिच्याउँछु—
“त्यागी, वीर र न्यायका उपासक अधिकारी जिन्दावाद !”
“लोकतन्त्रका अदना शकुनीहरु मुर्दाबाद !”
लाग्छ, कहिलेकाँही त समाचारहरु नि
अति भद्दा लज्जा बनिदिन्छन्
धोती खुस्किएको बर्षौ भयो सिंहदरवारको
तर वेसरम खडा छ उसैगरी
बर्षौ देखि ।
बगलुङ, हाल लुभेन बेल्जियम ।
(स्रोत : Dcnepal.com)