कथा : मन्त्रीहरुको लागि परीक्षा !

~गौतम “उदय”~Gautam 'Uday'

एक जोडी भर्खर बिबाहित लोग्नेस्वास्नी टाढाको खेतमा मेलोको झन्डै मध्यतिर थिए।

“ए बाबु, तीर्खाले घाँटी सुकेर प्याक-प्याक भो, अलिकति पानी खान दिनुस् न !” लट्ठी टेक्दै बिस्तारै बाटो काट्दै गरेकी बुढी आमाले ठिंग उभिएर घाँटीबाट बल्लतल्ल सास पुर्याउंदै टुक्रे र धोद्रे श्वरमा याचना गरिन।

“लौनु हजुर आमा, पानी !” लोग्नेचाहिंले सान्सानो लोटाभरि पानी टक्र्याए। बुढीमाउले किक्ली-किक्ली पार्दै एकै सासमा सकिन र सकेको बलले दुई तीनपल्ट आ….. गरिन्। “ठुलो धर्म गर्नुभयो बाबु, पानी खान दिएर। भोकले नि त्यस्तै भाउन्न बनाएर डंग्रंङ ढल्छु कि जस्तै भा छ। खाने कुरा पनि केही छ कि बाबुसंग !” पानी खाँदा बढेको सास केही मथ्थर पार्दै थपिन।

“बिचरा !, ल लिनुस् ! यो सप्पै खानुस् !“ भन्दै आफूलाई ल्याएको अर्नी सबै दिए। “आहा, कति मिठो रैछ नि !” “आसिकै लागोस ! मनले चिताएको सबै पुगोस् ! यस्ता दयालु मान्छे पनि पाइँदा रहेछन यो पृथ्वीमा ! कस्तो साइतले हिडिएछ आज ! गासको बिचबिचमा यस्तै फत्फताउँदै सप्पै सकिन र खुसी हुँदै डकारिन्।

देब्रे कुममा भिरेको पन्तरो काखी मुनिबाट अघिल्तिर ल्याइन र खोतलखातल पार्दापार्दै एउटा सानो बाक्सा निकालिन्। “साह्रै गुन लायौ बाबु, लौ यो तिमीलाई बाटाहिड्ने बुढी आमाको चिनो !” भन्दै त्यो बाक्सा ऊ तिर तेर्छ्याइन।

“के हो हजुर आमा यो ? के छ यसमा ?” ती युबकले सोधे।

“बाबु यो जादुको बक्सा हो। तिमीलाई मन लागेको जे माग यसको शक्तिले गर्दा भन्नेबित्तिकै त्यो कुरा तिमी भा ठाँ आइपुग्छ। तर जे मागे पनि तिन्टा इच्छासम्म मात्रै पुरा हुन्छन नि !” बुढीले अर्थ्याइन्।

“तिन्टा कुरा जे चिताए पनि पुग्छन, हजुर आमा ?” ती युवकले एकदम अचम्म पर्दै सोधे।

“अँ तिन्टा मात्रै ! त्यही भएर जे पायो त्यही माग्न हुन्न। राम्रो सोंचेर विचार पुर्याएर मात्रै माग्नु पर्छ।” उसलाई बाक्सा थमाइन र “ ल त बाबु म जान्छु” भन्दै बाटो लागिन्।

ती जोडी पनि मेलो सकेर साँझपख घरतर्फ लागे। घर पुग्दा थकाइले लखतरान, र भोकले चुर थिए।

“आज एकदमै मिठो खाना खान पाऊँ परमेश्वर !” बुढी आमाले दिएको बाकसको नजिकै गएर हात जोडेर बिन्ती गरिन श्रीमतीचाहिंले। नभन्दै ढान्…टा…णा… गर्दै, हेर्दै मुख रसाउने बास्नादार खानेकुरा अगाडि आएर टक्रियो ! दुबैले रमाईरमाई खान थाले।

“वा, क्या दामी ! , उंमम… ! यसैसित अलिकति वाइन पनि खानपाए त क्या मजा आउंथ्यो है बुढी !” मुख कुच्च्याउँदै, आँखीभौं तन्काउन्दै, र मुन्टो हल्लाउंदै भने श्रीमतीको सक्कलमा सक्कल ठोकाएर। श्रीमतीले तु मन्जुर गरिन्। अनि उनले बाक्सातर्फ हात जोडेर पसारे र “ लौ परमेश्वरी, खतरा मिठो वाइन आइज !” भने। टाङ्ग्राङ्… टुङ्ग्रुङ्…गर्दै आएर एक बोतल वाइन टेबुलमा ठडियो ! टिल परुन्जेल दन्काए जोईपोइले नै !
खाली बोतल हेर्दै श्रीमतीलाई सोधे ती युवकले “अरु केके चिताएको पुग्छ यो बाकसले भन त भन बुढी ? भोलि पनि यस्तै मिठो खानेकुरा खान पाइयोस भनेर मागौं ?’।

“पख है पख बुढा, जे पायो त्यही मगौला नि फेरि ! अब एउटा भन्दा बढी कुरा मागेर पाइन्न। अन्तिम एउटामात्रै बाँकी छ। “चिताएको तिन्टा कुरा भन्दा बढी पाइन्न भनेको बिर्स्यौ तिम्ले ?” श्रीमतीले दाहिने हत्केलो हल्लाउंदै भनिन्।

“अँ त नि साँच्चै ! ठिक भनिस् बुढी ! बेलैमा सम्झाइस्। याँ सुन, भोलि यो बक्सा लेर राजा काँ जानु पर्यो र सप्पै कुरा भन्न पर्यो !”
“ल तेइ गर्नु पर्यो !” श्रीमतीलाई पनि ठिक लाग्यो श्रीमानको कुरा।

भोलिपल्ट ब्यानै त्यो बक्सा लिएर श्रीमानश्रीमती नै राजा काहाँ गए, र सप्पै कुरा सुनाए। कुरा सुनेपछि राजाले आफ्ना तीनजना मन्त्रीलाई पनि त्यहीं बोलाए र के कुरा माग्दा ठिक हुन्छ भनी पालैपालो तिनैजना मन्त्रीहरुसंग उनीहरुको राय मागे।

आफ्नो विचार पहिले राख्ने मन्त्रीले यसरी राय ब्यक्त गर्यो “ सरकार ! देशमा अनिकाल छ, जनता खान नपाएर मरिरहेका छन्। प्रसस्त अन्नपात पाइयोस् भनेर माग्नु बेस हुन्छ।”

“तिम्रो के राय छ त यसबारेमा?” राजाले अर्को मन्त्रीलाई सोधे।

“सरकार ! अन्नपात भन्दा त धेरै भन्दा धेरै पैसा माग्नु पर्छ। पैसा छयालब्याल भएपछि जनताले आफूलाई जे चाहियो तेइ किन्न पाउँछन्” दोश्रो मन्त्रीको विचार आयो।

राजाले तेश्रो मन्त्रीलाई पनि त्यसरी नै सोधे।

“अन्नपात अथवा धन माग्ने मूर्ख्याइं गर्नु हुन्न सरकार ! एकदम महत्वपूर्ण अर्कै कुरा माग्नु पर्छ ” उसले आत्मविश्वासकासाथ भन्यो।
“के हो त त्यो कुरा ?” राजाले फेरि सोधे।

“हामीले ________ माग्नु पर्छ सरकार ! त्यसो गरियो भने देशमा अन्नपात, द्रब्य, रोजगारी, बिकास केहीको पनि कहिलै अभाब हुँदैन सरकार !!” ती मन्त्रीले आफ्नो राय राजामा जाहेर गरे !

“आहा ! कस्तो राम्रो विचार ! हो त्यसै गर्नु पर्छ” राजा लगायत सबैले ताली पड्काएर उक्त बिचारलाई समर्थन गरे। त्यसपछि त्यो देशमा अनन्तकालसम्म पनि कहिलै कुनै कुराको अभाब हुन पाएन।

(उक्त मन्त्रीले के कुरा मागे होला ? तपाईं पाठकज्यूहरुको प्रतिक्रियामा पनि उत्तर मिलेन भने बताइने छ। यो कथा मैले अन्य भाषाबाट अनुबाद गरेको हुँ।)

(स्रोत : Mysansar.com)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.