कविता : मेरो मन्दिर

~बीके पाण्डे~B K Pandey

मेरा एउटा मन्दिर छ
जसको आकार छैन, निराकार छ
जसमा मूर्ति छैन तर स्वरुप छ
जसमा पूजा छैन तर आस्था छ
जसमा घण्टा छैन तर चेतना छ
भक्त छैनन् तर साधक छन्
भजन छैन तर साधना छ
प्रवचन छैन तर विश्वास छ

सत्य एउटै हुन्छ
तर असत्य अनन्त हुन्छन्
मेरो मन्दिर सत्य छ
त्यसैले यो प्रकृतिको जगमा
चेतनाको काय ओढ्दै
विज्ञानको गजुर बोकेर
ब्रह्माण्डको सृष्टि अघिदेखि नै
अटल रुपमा खडा छ
यसलाई कसैले हल्लाउन सक्दैन
यसलाई कसैले भत्काउन सक्दैन
बाढीले बगाउन सक्दैन
आँधीले ढाल्न सक्दैन
पहिरोले पुर्न सक्दैन
किनकि
यो सत्य छ
सत्य कहिल्यै नास हुन सक्दैन

असत्यहरु रुप फेरि रहन्छन्
रंग फेरि रहन्छन्
नयाँ नयाँ कल्की र नौरंगी प्वाँख हालिरहन्छन्
अनि अज्ञानतामा
मेरो मन्दिरसँग टक्काराउन आउछन्
कहिले जगल्टे बनेर
कहिले टाउको थपेर
कहिले हात थपेर
कहिले हतियार बोकेर
अनि ठोक्किन्छन्, जोतिन्छन्
मेरो मन्दिरमा
मेरो मन्दिर सत्य छ
त्यसैले ती आफै ध्वस्त हुन्छन्
वषौँ वर्ष भयो यो क्रम जारी छ
तर मेरो मन्दिर दिनानुदिन
झन बलियो हुँदै छ
साधकहरु झन् थपिँदै छ

मेरो मन्दिरलाई हल्लाउन
हजारौँ असत्य कथाहरु रचिए
करोडौँ अदृष्य शक्तिहरुको कल्पना गरिए
अनेकौँ वादको रचना गरिए
अन्धविश्वासको सहर नै बसाइए
ढोँग, स्वाँग र भ्रमको जगमा
बेइमान र व्यभिचारले भिजेको
एउटा छुट्टै वर्ग तयार गरियो
समाज विभाजित भयो
शासक र शासित भए
शासक मानव भए
शासितलाई जबरजस्ती दानव बनाइयो
मुखबाट जन्मेका, खुट्टाबाट जन्मेकाजस्ता
मनगढन्ते कथा रचेर
छुत र अछुत, ठूलो र सानोको
कृत्रिम रेखा कोरियो
अनि मेरो मन्दिर कमजोर भएको ठानियो
यसपछि
फेरि आक्रमण भयो मेरो मन्दिरमा
तर मेरो मन्दिर डगमगाएन
कत्ति पनि डगमगाएन
किनकि त्यो सत्य थियो

मेरो मन्दिर सत्य हो
त्यसैले
यथार्थवाद उसको दर्शन हो
प्रकृति उसको माध्यम हो
चेतना उसको साधन हो
विज्ञान उसको मार्ग हो
त्यसैले
मेरो मन्दिरको तिर्थ यात्रामा
बाढीमा बग्नु पर्दैन
पहिरोमा पुरिनु पर्दैन
बस पल्टिएर मर्नु पर्दैन
कठ्यांग्रिएर सिध्दिनु पर्दैन
कुम्लो काम्लो बोकिरहनु पर्दैन
पाल्की, डोली, ताम्दान चढ्नु पर्दैन
मानिसलाई बोकाएर जानु पर्दैन
घोडालाई सास्ती दिुन पर्दैन
किनकि मेरो मन्दिर सत्य हो
त्यसैले
कुनै नौटंकी गरिरहनु पर्दैन

मेरो मन्दिरमा स्वर्ग र नर्कको
काल्पनिक कथा छैन
उम्लिरहेको तेलमा तारिनु पर्ने
डरभाव छैन
जे छ सबै अगाडि छ
जे छैन, त्यो छँदै छैन
आखिर यो नै सत्य हो
किनकि
सत्यलाई फूलथुंगा गाँसिरहनु पर्दैन

(लण्डन )

(स्रोत : सत्यतथ्य मासिक)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.