~सन्तोष पौड्याल~
गेट माथि लामो तुल छ। र तुल मुनी शिथिल अनुहार झुन्डिएको छ। बर्षौदेखी धुप-झरीले रगत चुसेजस्तो देखिने यि दुबैको पहेलो रङ बाहेक केही कुरा मिल्दाजुल्दा छन। दुबै झुत्रा छन। अक्षर मेटिएको तुल र देहाती भाषा बाहेक अरु नजान्ने पथरीलाई पढ्न सजिलो छैन।
तल्लो पेटको भुङ्रो सल्केर जिउभरी फैलेको छ। पेटै उघ्रेर पहिरो बगेजस्तो चोक्टासहितको रगतले सुत्ने थाङ्ना कामै नलाग्ने गरी बिगारे पछी ऊ देहातको स्वास्थ्य चौकी पुगी। पहिलो पटक चार महिना अघी त्यहा पुग्दा डाक्टरले बच्चादानीको अपरेसन गर्न जिल्ला अस्पताल जानुपर्छ भने। उसले अटेर गरी।
उसको मरदले छोराको आश गर्द गर्दै चार वटा छोरी जन्मिए। एउटा छोरा चाहिन्छ भन्ने पथरीलाई पनि लागेकै हो। उसको पती मौनी बुढो छ। त्यसै माथि लकवाले दाहिने खुट्टो लुलो बनाएको छ। झर्को-मर्को काम गर्न सक्दैन। घर पथरीकै बलमा चलेको छ। ‘मौनीको के आश? हातपाउ चलुन्जेल त ठिकै छ। आँखाको पानी र ज्यानको जवानी सकिन कती नै लाग्छ र?’ उसले सोच्छे- बुढापाको लागि मौनीलाई भन्दा लडकाको जरुरत आँफैलाई छ।
मौनी चल्तापुर्जा भएको भए उसलाई आधार हुन्थ्यो होला। तर गुनासो पनि छैन। जस्तो भए पनि मौनी घरमुली हो। त्यो भन्दा ठुलो उसको मरद हो। मौनी उसको लोग्ने हुनुमा उसको दोश पनि त छैन। बाले यस्तैलाई रोजेर दिए त उसको के गल्ती?
बाले कुभलो चिताएर छोरी सुम्पेका कहाँ हुन् र? मरदले दारु पिएर नकुटेका बुहारी देहातमा कहाँ खोज्नु? दहेज नदिएको निहुमा उसकी मौसीलाई ससुरालमा जिउदै जलाएका हुन्। बुढो हुँदैमा के भयो? मौनी शरीरले असक्त भए पनि सुझबुझको छ। पथरीलाई हातसम्म उठाएको छैन। उसका बाले सन्तोष मान्छन्।
बिहानै उठेर इट्टा बोक्न नगए दानापानी बन्द हुन्छ। जेठी छोरी त उसले इट्टाभट्टी मै जन्माएकी हो। सोह्र बर्षमा बिहे गरेकी उसले सत्ताइस बर्ष टेक्दै गर्दा चौथी छोरी जन्माइ। हिउद-बर्षा, धुप-ठन्डी केहीले उसको कर्मलाई छेकेन। ब्यथा लाग्नु केही घण्टा अघी सम्म ऊ अरु लेवर सरह तन्दरुस्त हो। हुन त गरीब मर्नु भन्दा एक दिन अघी मात्र बुढो हुन्छ। ऊ बल्ल तिस टेक्दै छ।
अचानक पथरीलाई अचम्मको बिमारले छोप्यो। तीन छोरी जन्मिदा केही भएको थिएन। केटीहरु जन्मेको महिना दिन पछी काममा फर्केकी हो। कान्छी छोरी जन्मे पछी भने ३ महिना त चल्नै सकिन। अनी अली बिसेक भयो। र काममा फर्की। कान्छी छोरी पुग नपुग एक बर्षकी हुँदा गुप्ताङमा केही अड्केजस्तो हुन थाल्यो। सेतोपानी पहिले भन्दा बढी बग्न थाल्यो। उसले मौनीलाई भनी। उतिसारो बुझेन। बाहिरबाट हेर्दा पथरी ठीकठाक नै छ। काम गरेकै छ। घरधन्दा सम्हालेकै छ। थला परेकी पनि छैन। ‘न बुखार न बिमार। कुच्छु ना हो’। उसले यत्तीमै टारिदियो।
पहिलाभन्दा फरक नै हो -पथरीको मन धर्मरायो। मेहरारुको कुरा मरदले कताबाट बुझुन्? आईमाईसँगै कुरा गर्नुपर्ला। तर भन्ने पो कसलाई हो? घरमा हुँदी हो त माइलाई भन्दी हो। यस्तो कुरा माइलाई भन्न पनि लाजमर्दो नै हो। त्यही पनि माइसँग सजिलै भेट कसरी हुनु? छोरीहरु कसलाई छाडेर माइत जानु। घरमा सघाउनलाई सासु-ससुरा पनि त छैनन्। मानौ, एकदिनलाई छोरी हेरिदिन छिमेकी राजी भए रे। दिनभरी काम नगरी साँझको छाक टर्ने होइन ।
एक दिन नाहारी खाँदै गर्दा भट्टिका सखी सामु पथरी मुख खोली। गुप्ताङ्गको कुरा सुन्नासाथ एकैमुखले गिल्याए- बुढो पोइ परेपछी यस्तै हो। तन्नेरी भको भए केही नि अड्कन्थेन। बाँकी कुरा गर्न लाज मानी। घाटी घाटी आएको कुरा भित्रै निली। उसको बिमार फैलिदै गयो। गुप्ताङ्गमा लोहोरो नै अड्केजस्तो भयो। हिडडुल गर्न सकस भयो।
छ महिना पछी पथरीलाई लिन उसको भाई अाइपुग्यो। मागी मनाउन सपरिवार लिएर ऊ माइत पुगी। अर्को साँझ माइ-बेटी भएर मैदान हिंडे। माइले देखिन- पथरीको चाल अर्कै थियो। ऊ खुट्टा फट्टाएर हिड्थी।
जाङ्गमे घाऊ भैल बा का हो? हिडाइबाट माइले अड्कल काटिन्।
कुच्छु ना भैल बा। – पथरीले धक मानी।
बोल न! बिना तकलिफ कौन टेड रेंगला? माइले करबल गरिन्।
उसले सरम मान्दै भनी। मैदान सकेर घर फर्किदा उनिहरु स्वयम्-सेविकाको घर पसे। स्वयम्-सेविकाले स्वास्थ्य चौकी जानु पर्छ भने पछी ऊ स्वास्थ्य चौकी पुगी।
डाक्टरले सबै चेक गर्यो। ऊ लाजले निथ्रुक्क भई। डाक्टरले जिल्ला अस्पताल जान भन्यो। उसले यही सन्चो पारीदिन बिन्ती बिसाइ। डाक्टरले यहाँ सकिन्न भन्यो। त्यत्रो लिखापढी जानेको सरकारी मान्छेले सकिन्न भनेको उसले पत्याइन। उसले स्वास्थ्य चौकीमा काम गर्ने सबैलाई डाक्टर भन्छे। डाक्टरले राम्ररी बुझायो- तिम्रो बच्चादानीमा घाऊ भएको छ। अपरेसन गरेर फाल्न जिल्ला नै पुग्नुपर्छ।
बच्चादानी फाल्ने कुराले पथरी हकान्नीइ। डाक्टरको कुरा मौनीलाई सुनाइ। ‘अइसन न बतियाव। बिना बच्चादानी कैसे होइ लडका?’- मौनी एकोहोरो बन्यो। बिमार बिग्रनेमा पथरी पिर गर्न थाली। मौनीले सान्त्वना बिच्छ्यायो- ‘तुके अइसन भैल धेर भैल। तब पर भि कुछ न भैल बा। दवाइ खाए पर सब ठीक हो जाइ।’
‘यि सब बैपार हो। अपने फाईदा खातीर डाक्टर जैसन भि बतियावला।’- औषधी गर्न नौतनवा जाँदा हरियाको किड्नी झिकिदिएको चर्चित घटना मौनीले सम्झायो।
पथरीलाई कुरा ठिकै जस्तो लाग्यो। १-२ पत्ता औषधी बोकेर उनिहरु घर आए। मौनीको मात्र कुरा थिएन। छोरो जन्माउने इच्छा त पथरीको पनि हो। छोरो नपाएको निहुमा दोश्रो शादी गरेको घटना गाउँमा थुप्रै छ । पथरीलाई चिन्ताले गाज्यो- आखिर मौनी पनि लोग्नेमान्छे हो। कोही न कोही केटी त पाइहाल्छ। अहिले सम्म छोरो नपाएको भनेर केही गरेको छैन। बच्चादानी नै निकालेर यसलाई चिड्याउनु किमार्थ हुन्न। पथरी अपरेसन नगर्ने निधोमा पुगी।
केहीदिन पथरीले औषधीको गोली खाइ। दुख्न अली बिसेक भयो। तर अड्केजस्तो हुन छोडेन। ऊ पुरानै लयमा फर्कीइ। दिनभरी इट्टा बोक्यो। साँझको गास टिप्यो। बुकुरोमा बास बस्यो। अर्को बिहान उही नित्यकर्म। कडा श्रमले ऊ झन खस्किदै गइ। रगतका धारा बग्न थाले। उसको मुख पाकेको मेवाजस्तो पहेलो देखियो।
साँझ रोटी खाएर पल्टेको केही बेर मा पथरी बर्बराउन थाली। प्यासले घाँटी चपक्कै सुक्यो। मसिनो आवाजमा पानी-पानी भनेको सुनेर मौनीले ढेवरी सल्कायो। अरे दादा रे माइ!- मौनी आत्तियो। छोरीहरु उठेर च्या-च्यु रुन थाले। आफ्नै रगतको आहालमा पथरी डुबेकी थिइ। भैंसीजस्तै रहमा डुबेपनि ऊ बिनापानीको माछा झै छट्पटाउदै थीइ। ओच्छ्यानमा ढाप परेको थियो। हो-हल्लाले छिमेकमा केटाहरु ब्युतिए। खटियामा भट्ठा लगाएर पथरीलाई जिल्ला अस्पताल तिर हिडाइयो।
चाइनिज लाइट बोकेर मौनी अन्धकारमा पसिरहेको थियो। उँखुका पात बजाउदै अरुले पच्छ्याउँथे। लाल्टिन मधुरो हुँदै थियो। पथरी निभ्दै थीइ। ऊ बर्बराउन पनि छाडी। केटाहरुले खटिया बिसाए। उसका आँखा बालुवाका कन्टकारीजस्ता रुखा देखिन्थे। सुकेको नदीको तट झै ओठ चिरा परेको थियो। मौनिले एकमुठी पानी हालिदियो। उसले निल्न सकिन। गमलाले पानी सोंसेजस्तै बिस्तारै मुखले पानी सोँस्यो। रगत बग्नलाई सायद बाँकी थिएन।
अस्पताल पुग्दा पथरी बनको मुढो बनिसकेकी थिइ। उसलाई भर्ना गरियो। रगत, सलाइन र औषधी नशामा जोडीयो। मौनी पैसाको जोहो गर्न गाउँ पस्यो। हप्ता दिनमा पथरी होसमा फर्की। पथरीले आङ्ग खस्ने बिमारलाई लुकाएर राखी। घस्रिएर घाऊ बन्यो। सँक्रमणले पुरै पठेघरलाई छोप्यो। डाक्टरले मौनीलाई बताए। उसले मुन्टो हल्लायो। र थप इलाजका लागि भरतपुर क्यान्सर अस्पतालमा रिफर गरे।
जसोतसो पथरीलाई लिएर मौनी साँझपख भरतपुर पुग्यो। अस्पताल अगाडि मान्छेको बाक्लो चहलपहल छ। यहाँसम्म त बसले ल्यायो। अब बिरामी कता लैजाने हो? उसलाई थाहा छैन। उसले सोध्छ। न त उसलाई अरुले बुझ्छन्। न त ऊ नै अरुलाई बुझ्छ। मान्छेको मेलामा उसलाई काम लाग्ने कोही भेटिएन। कोही तर्किन्छन। केही झर्किन्छन।
ऊ नेपाली बुझ्दैन। हिन्दी पनि उतिसारो आउन्न। अनी जानोस पनि कसरी? सरकारी कामकाजी भए नि सिक्दो हो। वा वरिपरी पहाडे समुदाय बसोबास गर्ने भए पनि सुनेर जान्दो हो। उसको घर नै भारतको सिमा नगिच। मधेस आन्दोलन भए यता अक्कल झुक्कल देखिने पहाडे कर्मचारी नि देखिन छाडे। फेरी नेपाली हुनलाई नेपाली जान्नुपर्छ भन्ने पनि त भएन। नागरिकता बनाउन सदरमुकाम टेक्दा नेपाली नबोलेर काम चलेकै हो। एकपटक सदरमुकाम टेकेको उसले नारायणी तर्नु पर्ला भनेर चिताएको पनि होइन। कहिल्यै जरुरत नपरेको नेपाली भाषा यसपाली खड्कियो।
उसले सोच्यो- ” हामन के बुझेवाला भाषा रख्ले पर अच्छा होत। हमार घर बाडरमे बा तब भि, होइ त हम नेपाली। ” ऊ बाटो बिराएको बटुवा जस्तो भयो। अन्दाजको भरमा पथरीलाई लिएर टिकेट काउन्टर सम्म पुग्यो। ला! काउन्टर त बन्द भएछ। बढो मुस्किल ले बिहान १० बजे खुल्ने कुरा पत्ता लगायो। काउन्टरको तुलमुनी पथरीलाई अड्याएर पाउरोटी र चिया किन्न पसल तिर हुर्रियो।
पसलमा पनि उसलाई भाषाले नै अठ्यायो। उसको आँखामा पछील्लो दशकको मधेश कितावको पाना पल्टिए झैं पल्टिन थाल्यो। ति पानामा उसका पनि पसिना लत्पतिएका छन। उसको पनि मुखाक्रिती छ। तर उसले कुनै पानाको अर्थ बुझ्न पाएको होइन। बुझ्दो हो त ऊ पनि राम कृपालु, चिन्कु र मुन्नाहरुले झै उन्नती गर्दो हो। कोठीवाला मकान बनाउदो हो। गाडी चड्दो हो। र जुलुसको अगाडि सबैलाई नमस्कार फर्काउदै हिड्दो हो।
राम कृपालु, चिन्कु र मुन्नाहरुले मौनी र पथरीहरुका सबै समस्या हल गर्ने भनेर हजारौ पटक आश्वासन दिएका हुन। तर यहाँ त भाषा कै समस्या पर्यो। ‘खै कुन्नी! सरकारी ठाउँमा नेपाली भाषा सँगै उनिहरुले बुझ्ने भाषा पनि व्यवस्था गर्नु पर्छ भनेर काठमाडौंका नेताहरुलाई भने कि भनेनन? हाम्रै गाउँमा अस्पताल खोल्नु पर्छ भनेर भने कि भनेनन?
मन-कुरा गर्दै ऊ पथरी निर अाइपुग्यो। पथरीलाई पाउरोटी खुवाइदियो। पथरीले भनी- ‘तु तनी खाल।’
‘हाम होटलसे खाके अाइल बानी।’ – उसले झुट बोल्यो। ऊ सँग फुर्मास गर्नलाई पैसा छैन। द्रब्य-दीन भएपछी खानु पनि फुर्मास नै हो। मुख्य कुरा त उपचार हो यहाँ।
पाउरोटीको अन्तिम गास निल्दै गर्दा पथरीले सोधी- ‘हामनके ठीक हो जाइ न?’
मौनीले भन्यो- ‘यि बढ्का अस्पताल हो। डाक्टर भि बढ्का। सबकुछ निमन हो जाइ।’ उसले बुझेको पनि यत्ती नै हो। पथरी अली उज्याली देखीइ।
‘पर लडका होइ कि नाही?- पथरीमा आफ्नो भन्दा पनि छोरो नजन्मला कि भन्ने चिन्ता छ।
काहे नाही होइ। – मौनीले पनि हरेश खाएको छैन। दुबैको कलेजो एकछिनका लागि शितल भयो। दुबैले पेटिमा रात बिताए।
दस बजे भिड पन्छाउँदै मौनी ओपिडी पुग्यो। डाक्टर का आँखाले दुबैलाई शिरदेखी पाउसम्म एक्स-रे गरे। के भयो?- कडा मिजासका डाक्टरले सोधे। पथरी मुख खोल्दिन। धोतीको आँचल उसको चेपुसम्म लत्रिएको छ। ‘बुढीया बिमार बा’- मौनीले उत्तर दियो। डाक्टरलाई ब्यथाको विवरण पाउनै मुस्किल पर्यो। जसोतसो हाउभाउको भरमा तल्लो पेटमा केही समस्या होला कि? भन्ने अड्कल काटे। डाक्टरले पथरीलाई बेडमा सुत्न लगाए। चेकजाँच गरे। ‘आङ खसेको छ। घस्रिएर घाऊ पनि बनेको छ। अपरेसन गर्न पर्छ।’ – डाक्टरले मौनीलाई सुनाए।
कौन चिज के अपरेसन? गरुणको छाया परेको सर्प झै मौनिले ओठ चलायो।
‘गर्भाशय के।’- प्रश्नको अड्कल काटेर डाक्टरले जवाफ फर्काए। मौनीले बुझे-नबुझेको हेक्का राखेनन् डाक्टरले। हेक्का राखे पनि के गर्नु? भाषाको तारतम्मे मिलाउन उनलाई हम्मे परेको छ। मौनी चाँही खुशी भयो। डाक्टरले बच्चादानीको कुरै गरेन। गर्भासय भनेको उसलाई पत्तो छैन।
‘अपरेसनके बाद सब अच्छा होइ?’ मौनीले फेरी सोध्यो।
‘अच्छा! सब अच्छा।’- अर्को बिरामीको नाम बोलाउँदै डाक्टरले भने।
‘पहले जैसन सबकुछ करेके मिली?’ मौनीले यौन र गर्वधान तर्फ संकेत गर्यो। डाक्टरले आशय बुझेनन्।
‘सबै हुन्छ। उता गएर अपरेसनको लागि नाम र मिती टिपाएर जाउ।’ डाक्टरले हातले दिशा देखाए। बिरामीको भिडले डाक्टरलाई उछार छैन। मौनी काउन्टरको नजिक पुग्यो। ‘के को अपरेसन हो? काउन्टरवालले सोध्यो।
‘गर्भाssss…, कौन चिज डाक्टर बोलल रहल’ मौनी अक्मकायो।
‘बच्चादानी के?’ काउन्टरवालले देहातीमै सोध्यो।
‘बच्चादानी के नाही, गर्भासय के।’ मौनिले सम्झिएको जवाफ दियो।
‘एक हि हो। चाहे बच्चादानी बोल, चाहे गर्भासय। तोहार मेहरारुके बच्चादनीमे कैन्सर भैल बा।’ पुर्जी हेर्दै काउन्टरवालले हप्तादिन पछाडिको समय दिएर पठायो।
बुढाबुढीको मुहारको ॠतु एक्कासी फेरियो। मौनिको मोहोडा झरी लाग्न ठीक्क परेको आकाश जस्तो निलो-कालो देखिन्थ्यो। पथरी बर्षिन सुरु गरिहाली। इन्तु-चिन्तु भएर एकछिन उनिहरु अस्पातलको कोखमा बसे। धेरै बेरको स्थिरतालाई तोड्डै मौनिले निर्णय सुनायो। उनिहरु घर फर्किने भए।
दुई बर्ष पछि….
पथरीको घर अगाडी भिड जम्मा भएको छ। आईमाई केटाकेटीको रुवाबासीका बिच पुरुष आवाज छिटफुट मिसिन्छ। भिड आगनमा केन्द्रिक्रित हुँदैछ। मौनी बैलको हौदीमा पुर्पुरो समातेर हेरिरहेको छ। जवानहरु खटियामा भट्ठा लगाउदै छन। आगनको बिचमा एउटी महिला पसारिएकी छन। अर्की महिला बिरामीकी आफन्त र छोराछोरीलाई देहातिमा सम्झाउदै छन- ‘नआत्तेउ! समयमा अस्पातल लगेपछी सबै निको हुन्छ। मलाई नै हेर न! मरेर बचेँकी हुँ। अहिले पहिलाजस्तै तन्दरुश्त छु। सबै काम गर्न सक्छु। ‘
उनी भन्दै थिइन्- मैले अपरेसन गर्ने आँट नगरेको भए मेरा बुढाले त घर फर्काइसकेका थिए। रोइ-कराइ गरेर आधा बाटोबाट अस्पताल फर्केकी हुँ। छोराको आशमा उपचार नगरी बसेकी भए उहिल्यै मर्ने थिए। यसरी फुर्सदमा तिमीहरुलाई जानेको कुरा सिकाउन कहाँबाट पाउनु? र उनले बोकेको एकहरे झोलामा लेखेको छ- पथरी मौर्या । महिला स्वास्थ्य स्वयम्-सेविका।
प्रकाशित मिति: आषाढ १८, २०७३
(स्रोत : Setopati)