संस्मरण : सम्झना कार्डको झापड

~बसन्त विवश आचार्य~Basanta Biwash Acharya

    सबै गोजा टक्टकाए पाईन्ट र सर्टका अहँ खुसीको एक टुक्रो घाम पनि भेटिएन । राति देखिको मनको उकुसमुकुस अन्ततः निराशाको किनारा लागेर जुन सँगै कुलेलम ठोक्यो । जुन हराए पछि त साँझसम्म आनन्द भयो तर यो अत्यास फेरि फेरि सेकेन्ड सुइलाई हेरेर दोहोरिरहने ‘खुशी भन्ने कुरा सायद भाग्यमा नै छैन ।’ मनमा यस्तै कुहिरो लाग्यो ।

आज पनि लाजै नमानेर आकाश पुरै खुलीसकेको छ । सबै लुकाउनुमा सुन्दरता हुन्छ भन्छन्, तर यो आकाश त सबै देखाएर पनि सुन्दर छ । कतिपय परिभाषाहरु एकनाश नहुदा रहेछन् । सबै देखाएर पनि सुन्दर मानिने यो आकाश जस्तै हुन पाए ? हत्तेरी आकाश त भगवानको घर पो हो त । हजुरबाले भनेको त्यहाँ जान मर्नुपर्छ अरे, त्यो पनि राम्रो काम गरेर । मलाई मर्न मन पर्दैन, हजुरबालाई पनि । तर अहिले हजुरबा मन नपर्ने त्यहि आकाशमा जानुभएको छ ।

    हिजो विपनाले कार्ड पठाएदेखि मनमा चैन छैन, होप्लेस भएको छुँ, मन भाउन्न भएर आएको छ । ठाउँका ठाउँ ढल्ने संकेत प्रवल भएको छ । मायाले…? होईन उसले जस्तै कार्ड पठाउने रहरले । के गर्नु साथमा एक सुक्का छैन । नयाँ वर्ष आउन ठ्याक्कै ३० दिन जति रहदा सुरु हुन्छ ‘कार्ड बिजनेस’ । कसले कसलाई पठायो अनि कसलाई पठाएन निकै चर्चा हुन्छ साथीका माझमा । अहिले पो फेसबुक र मोवाइलले सबैलाई विस्थापित गरिदियो । सबैभन्दा बढी शुभकामना कार्ड पाउने बादशाह जस्तै हुन्थ्यो उसलाई केटाहरु घेरेर सताउथे विचरो पार्टी खुवाउदा खुवाउदा हत्तु हैरान पथ्र्यो । अनि कार्ड नपाउने ?

लुते बिरालो जस्तो कक्रक्क पथ्र्याे । म कहिल्यै बादशाह पनि बन्न सकिन अनि लुते बिरालोमा पनि झरिन । मलाई कार्ड पठाउन मनै पर्दैन । किन किन घरबाट सुक्का पनि दिने चलन थिएन अहिले मलाई अनुभुति हुन्छ त्यो आर्थिक अभावको कारणले रहेछ । उ बेला पाक्न नसकेको दिमाग कसरी बुझोस् । जहिले पनि अरुले कार्ड पठाएपछि मात्र मैले पठाउछु त्यो पनि कार्ड पठाउनेको शुभकामना फिर्ता पठाउन । कार्ड पाएपछि पैचो मागेको सामान जस्तो फिर्ता गर्नै पर्ने वाध्यता थियो त्यतिबेला । कार्ड पाएर पनि नपठाउने मान्छे लोकसेवा आयोगको ‘आरक्षण कोटा’ मा दर्ज हुन्थ्यो ।

    अचानक पैसा चाहियो भने मलाई त्यति कठिनाई भने थिएन । बस् हजुरबासँग गएर उहाँको स्तुति गान गाय पुगिहाल्थ्यो । दिमागबाट सोहि जुक्ति फुत्त निस्कियो । मैले स्तुति गान सुरु गर्ने वित्तिकै हजुरबाका हात गोजितिर लम्किहाल्थे । उहाँलाई थाहा हुन्थ्यो मलाई पैसा चाहिएको छ । हजुरबाले नचिलाएको टाउको कन्याउदै पाँच रुपैयाँको नोट हातमा थमाइदिनुभयो ।

म भर्खर सपथ खाएको मन्त्री झै हावालाई झापड हान्दै दौडिए । कार्ड दोकानमा गएर मलाई राजेश हमालको लामो कपाल टल्किएको कार्ड किन्ने साह्रै रहर थियो । फुच्चे कलिउडका फोटोहरुको दुई रुपैयाँ अनि अग्लो बलिउडको भने एक रुपैयाँ कस्तो उल्टो । नेपाली कार्ड पठाउनेहरु धनी अनि हिन्दी कार्ड पठाउनेहरु गरीब यस्तो पनि बनेको थियो एउटा मिथक ।

    विपना भनेपछि ‘नेपाली कार्ड नै पठाउनु प¥यो, उसले पनि त मलाई आफूभन्दा थोरै राम्री करिश्मा मानन्धरको फोटो पठाएकी थिई । मलाई नेपाली कार्ड नै पठाउने रहर भयो त्यो पनि राजेश हमालको । कहिलेकाहि ऐनामा आफ्नो अनुहार हेर्दा म पनि त राजेश हमाल जस्तै लाग्दथे । फरक यत्ति थियो हमाल बुढासँग कपाल टाइम मै फाल्ने पैसा हुदैनथ्यो । मसँग भने महिना महिनामा जम्मा भइरहन्थ्यो ।

राजेश हमाललाई गोजामा बोकेर दौडिए घर तिर । कट्टुको इजार लामो भएर झन्डै लडिसकेको । घरमा गएर चुपचाप कार्ड नदेखिने गरी किताबको छातिभित्र लुकाए । मैले लुकाउने धेरै कुराहरु किताबको छातिभित्र नै लुकाउने गर्छु । घरमा अरुले देखे भने ? अख्तियार भन्दा पनि जटिल स्पष्टिकरण सोधिन सक्थ्यो ।

    नयाँ वर्षको संकेत दिनका लागि रुखका हाँगामा पालुवाहरु पलाउनै आँटेका थिए । मेरो मन पनि कार्ड किनेदेखि रुखमा पालुवा झै हराभरा भएको थियो । कतिबेला स्कूल गएर विपनालाई कार्ड दिउँ भन्ने तृष्णा बीच फेरि सूर्य उदाँएर मलाई स्कूलसम्म पु¥यायो । स्कुल पुगेर शुभकामना कार्डमा राम्रा कुरा लेख्न खप्पिस विकासलाई मैले राजेश हमालको कार्ड दिदै लेख्न आग्रह गरे । विकास कार्डमा लेख्न निक्कै खप्पिस थियो ।

उसका अक्षर देखेर सरहरु भन्ने गर्नुहुन्थ्यो ‘यो विकासे त नपढे पनि अक्षर लेखेरै पास हुन्छ’ केटा या केटी हरेकले उसैलाई लेखाउछन् । कक्षामा हरेकका कार्डमा विकासकै लिपि टासिएको हुन्छ । बस् फोटो मात्र फरक फरक । ‘लेख्दिन बे मलाई नोकर ठान्या छस्’ विकासले भाउ खायो । ‘लेख्देन यार त मेरो जिग्री पो होस् त, भोलि बासँग पैसा मागेर विद्यानास तलाई कचालु खुवाउछु के’ म सिपाहीका अगाडी परेको चोर जस्तै कक्रक्क परे ।

विकासले ‘कचालु खाने एक बुँदे सर्तमा स्विकृति जनायो र लेखिदियो । के लेखिदियो ? मैले हेर्दै हेरिन किनकी सधै राम्रो लेख्थ्यो उसले । मैले खाममा हालेर विपनालाई कार्ड दिए । आफ्नै हातले …? होईन आफ्नै हातले शुभकामना कार्ड दिने चलन थिएन त्यहि भएर काली नामले ख्याती कमाएकी बिन्दुको हातबाट । बिपनालाई कार्ड दिएपछि मनमा एकप्रकारको मिठो सन्तृष्टि भरियो ।

    सानो घरको मान्छे मसँग छुनै नसकिने ठूला आकारका सपना पनि थिएनन् बस् एकाध केहि छोटा सपना त हो नि । जसलाई मैले कुनै न कुनै उपायबाट पुरा गर्दथे । म भन्दा पनि होचा मेरा सपनाहरु मैले धेरै पुरा गरेको थिए । विपनालाई कार्ड दिएको मध्यान्ह एकै पटक तिन कार्डहरु मेरो हातमा परे । मलाई त्यसले खासै खुसी भने पार्न सकेन । विपनालाई मैले माया गर्थे ? किन गर्थे ?

यसको जवाफ पनि मलाई सबैभन्दा जटिल लाग्ने अंग्रेजी विषयका प्रश्नहरु जस्तै लाग्थ्यो । ‘संसारमा माया लाग्नुको कारण किन यी वैज्ञानिकहरु खोज्दैनन् होला ?’ नयाँ वर्ष किन आउछ ? नयाँ वर्षको अर्थ के ? यी सवाल अनि जवाफसँग मेरो कुनै साइनो नै थिएन । मलाई साईनो लगाउने रहर पनि त थिएन । बाँच्नु भन्दा माथि म सँग खासै केही प्रश्नहरु थिएनन् । बस् केही रहर थियो त केवल बाँच्नु मात्र थियो मेरो लागि ।

    म कक्षामा आफ्नै तालमा मग्न थिए । अचानक पालेदाई मेरो नाम उच्चारण गर्दै कक्षा कोठामा देखिए । विद्यार्थी जीवनमा पहिलो पटक यसरी पालेदाई मेरो नाम उच्चारण गर्दै कक्षाकोठामा आएका थिए । मलाई मुत आउला जस्तो भयो । अलिअलि आयो पनि क्या हो । कुनै गल्ती नगरेर पनि पालेदाईले बोलाउदैमा डराउनुपर्ने ? मनको एउटा कुनाको धड्कन आवाज बन्न सकेन । म सरासर पालेदाईका पाईला पच्छ्याउँदै हेडसरको ‘यातना गृहमा’ प्रवेश गरे । हेडसर महात्म्य अनुहारमा आगो सल्काएर बसेका थिए ।

अनि अफिसमा उनीसँगै जुगाँ र दाह्रिको भर्खरै दाहसंस्कार गरेर आएका जस्ता देखिने एक चिल्ला मानिस थिए । उसले पनि मलाई बाघले सिकारलाई हेरे जसरी हेर्दै थिए । अफिसमा के पुगेको थिए हेडसरले गालामा रगत जम्ने गरि चट््काए सबैले गाला चट्काउदा तोरीको फूल देखिन्छ भन्छन् मैले भने हेडसरको टाउको दशवटा देखे । हेडसरको चट्काईसँगै आँखाबाट थाहै नदिइ पानी बग्न थाल्यो । ‘साले तैले विपनालाई कार्ड पठाएको होस्’ दशटाउकेको अनुहारमा आगो सल्कियो । मैले हो भन्ने भावमा टाउँको मात्र हल्लाए ।

फेरि अर्को गालामा उनका हात जाईलागे । ‘खुब केटीलाई कार्ड पठाउने जाँठो राम्ररी हग्न जानेको छ कि छैन’ मेरा छोरा नातिलाई समेत पुग्ने गरी गाली गरिरहे उनले । म भने उनले केही दिन अगाडि पढाएको पाठ गौतम वुद्धको वुद्ध जस्तै बने । ‘चिठ्ठीमा के लेखेको थिईस् थाहा छ ?’ अब पालो चिप्लेको । म बोलिन सालेलाई जवाफ दिन के आवश्यक थियो र । त्यो विपनाको बाउ थियो होला । ‘भन् के लेखेको थिइस् कार्डमा’ हेडसरको आवाज बिग्रेको माईक जस्तो घ्यार्ररर ग¥यो । ‘शुभकामना नयाँ वर्षको’ मैले निडर भएर जवाफ दिए ।

‘गल्ती गरेर लुकाउने’ फेरि गालामा हातको स्पर्श प¥यो । कारण नै नभनेर पिटाई खादा मनमा रगत उम्लिएर आयो । डर र दुखाईको तापक्रम एकैपटक उकालो लाग्यो । ‘लेख्ने बेलामा जथाभावि लेख्ने अहिले बच्नको लागि शुभकामना भन्ने ?’ जोत्न लागेको गोरुलाई जस्तै मलाई उसले कुटेको कुट्यै ग¥यो । म बोल्न सकिन । साहुको सामुमा उभिएको आसामी जस्तै ओठ बन्द गर्न बाध्य थिए ।

    ‘तपाई भन्नुस अब यसलाई के गरौँ’ प्राण फुस्कने गरी मारेर पनि अझ हेडसरले अब के गराँै भन्छन् । मलाई चक्कर लाग्न थाल्यो । चिप्लेले चौरमा लगेर मुर्गा बनाउन आदेश दियो । फागुनको चर्को घाम म मुर्गा बन्न लागे चौरमा सबैको आँखा म माथि ठोकिन थाले । बीच बाटोमा सामूहिक वलात्कारको सिकार हुँदै थिए म । कसुरै थाहा नपाएर सजाए भोग्नुपर्दा मलाई छटपटि भयो तर के गर्ने ?

बाघको अगाडि परेको स्याल जस्तो सबै कुरा मान्नै प¥यो । मलाई घाममा मुर्गा बनाएर उनीहरु लागे चिया पिउन तिर । कक्षाका केटाहरु पिसाबको बहाना बनाएर म मुर्गा बनेकै बाटो घुमेर शौचालय जान थाले । एकातिर घामले पोलेको छ अर्कातिर कसुरै थाहा छैन । मलाई त्यहिबाट हाम फालेर भागौँ जस्तो भयो । तर भाग्न पनि सकिन किनभने भागेर गए घरमा अर्को यातना सुरु हुने थियो । करिब एकघण्टा मुर्गा बनेपछी हेडसरबाट मलाई फेरि अफिसमा बोलावट भयो ।

    ‘किन नचाहिने कुरा लेखेको बिपनालाई ?’ स्पष्टिकरणको मध्यान्ति मात्र सकिएको रहेछ । ‘मलाई उनले शुभकामना कार्ड दिएकी थिईन् मैले पनि त्यहि हो दिएको ।’ मैेले सहजै जवाफ दिए । ‘अनि यो कसले लेखेको नि ?’ मैले पठाएको राजेश हमाल कार्डका पछाडि तिर शुभकामना लेख्ने ठाउँका शब्दहरु देखाए । म चकित परे । त्यहाँ त ‘म तिमीलाई माया गर्छु, तिमीसँग जीवन काट्न चाहन्छु ।’ के–के लेखिएको रहेछ ।

अन्तमा सायरी समेत रहेछ । तिमी पूmल बन विपना म हाँगा बनौला, तिमी भैसी बन विपना म राँगा बनौला… ओ हो मैले झ्वाट्ट विकासको अनुहार सम्झिए तर गर्ने के ? एकैछिनमा घरबाट बुवा आउनु भयो । मेरो अनुहार पानी पर्न ठिक्क परेको वादल जस्तो भयो । ओ हो आज सत्यानास हुने भयो । हेडसरको बेलिविस्तार सुनेपछि बुवाका हातले स्पर्श गरे फेरि मेरा गालाहरु । ‘यसलाई जे गर्नुपर्छ गर्नुस् मलाई मतलव छैन’ बुवाको आवाज चर्कदा अफिस कोठा बाहिर विद्यार्थीको मेला लागेको थियो । मलाई मरौँ जस्तो भयो तर…? केहि गर्न सकिन । अन्ततः फेरि १०० पटक उठवस र केहि झापडसँगै यातना शिविरबाट म बाहिर निस्किए ।

    सबै मलाई हेर्दै थिए । अझ त्यसमा सबैभन्दा बढी त विकासले हेर्दै थियो । मैले उसलाई केहि गरिन । गर्न पनि के सक्थे र ? उसले आएर मसँग माफि माग्यो । म निशब्द बनेर बोलिन ।

    घरमा पुग्दा अर्को यातना तयार थियो । आमाले सिस्नुपानी तयार पार्नुभएको थियो ‘स्कुल पढ्न पठाएको कि चिठ्ठी लेख्ने’ म बोल्न चाहिन । बोल्नुको अर्थ पनि त थिएन । मलाई पिटाई, कार्ड, मुर्गा सबैभन्दा बढी पीडा विकासको विश्वासघातले दियो । मन जोडेको मान्छेले नै मन तोडिदिदा पलाउन सक्दो रहेनछ । सिस्नुपानीको स्पर्श पश्चात् म चुपचाप सुत्ने कोठामा गएर सुते ।

अकारण यातनाको शिकार बन्नुपर्दा आँखा रसाएर आए । बोल्न सकिन । ७ कक्षाको यो घटना पश्चात् मलाई पढाईप्रतिको आकर्षण घट््दै गयो । विपनालाई हेर्न पनि सकिन । विकास लगायतकासंग संगत पनि गरिन । म यो घटना पछि परिपक्व बने । मेरो जीवनको बाटो नै फरक बन्यो । जीवनका धेरै पिटाई खाएको छु धेरैसँग तर अकारणको यो पिटाइ हृदयमा गहिरो गरी डामिएको छ ।

विकास र विपनासंग के भयो मेरो सम्वन्ध ? मलाई यो घटना सम्झदा उनीहरुको नाम समेत लिने मन लाग्दैन । साथीहरु यो घटना पछि अहिलेसम्म मैले कसैलाई कार्डबाट शुभकामना दिएको छैन । तर तपाईलाई भने यसै लेखबाट शुभकामना है त ।

(स्रोत : Rsamachar)

This entry was posted in संस्मरण and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.