व्यङ्ग्य निबन्ध : केही उखान र केही बूढी

~भैरव अर्याल~Bhairab Aryal

एउटा पुरानो नेपाली रिकर्डमा बराबर सुनिने गथ्र्यो– ‘लौरो टेकी पोइल जाने दाँत फुक्लेकी बूढी’ यो लोकसाहित्यबाट चोरेको तक्मा हो कि गायकले नै जोरेको तुक्का हो– थाहा थिएन । तर यसले एउटा हा“सो उठ्दो चित्र भने मनको आँखा अगाडि झुलुक्क देखाउँथ्यो– काँसको फूलजस्तो सेतो चुल्ठोभित्र पसेकी काँधमा एउटा ओढ्ने हालेर कम्मरमा सेतो पटुका कसेकी– एउटी कालीकाली बुढिया कुप्रिंदै लौरो टेकेर लम्किरहेकी ।

“कहाँ जान लागेकी आमै !” हामी उनको बहिरो कानले भ्याउने गरेर कराउँथ्यौं रे । उनी फुस्रा दनेसा देखाउँदै फिस्स हाँसेर थोते स्वरमा विस्तार भन्थिन् रे– “पोइल जान लाग्या पोइल ! यताउति हल्ला नगरे नि है मोरा हो !” अनि एक हुल केटाकेटी हाँस्दै दुगुर्दै गाउँथे– “लौरो टेकी पोइल जाने दाँत फुक्लेकी बूढी ।”

यस्तो कुरा पनि कसैले पत्याउ“छ ? तर यही दृश्य नपत्याए पनि उक्त तुक्काले कोट्याउन खोजेको एक्ली बूढीको मर्म भने नपत्याइ नसक्नु हुँदोरहेछ । मैले यो कुरा अझ त्यस बेला राम्रोसित पत्याएँ– जब आफ्नै चिनजानकी ५२ वर्षीय एउटी विधवा आफ्नो भजन मण्डलीको एउटा ४५ वर्षे जवानसित पोइलै गइदिइन् । उनका घरमा छोरा–छोरीमात्र होइन नाति नातिना समेत आधा दर्जन पुगिसकेका थिए । एक दिन संजोगवस पशुपतिमा भेट हुँदा मैले उनलाई भनेँ– जानै थियो त यो उमेरमा किन बज्यै ? उनले मेरो काँधमा एक थप्पड हान्दै भनिन्– उमेर छउन्जेल आफूले छोराछोरी छाड्न सकिएन, उमेर गएपछि उनीहरूलाई आफू चाहिएन । “एकवारको जुनी कति एक्लै रुँगी !”– होइन त ? उनी बैदार जस्तै खितितित हाँस्न लागिन् । म बिना कुनै जवाफ एक हाँसो चढाएर आफ्नो बाटो लागेँ । चुस्दा चुस्दा दूधकटुवा भएका बालबालिकाको जस्तै उनको तृष्णा कपाल पाकोस् कि गोडा थाकोस्– सकिने रहेनछ र ! त्यत्रो उमेर भजन–कीर्तनमा बिताइन् तर बिचरीको पोइको तृष्णा छोराछोरीको मायाभन्दा ठूलो भइदियो, इज्जतको सम्पतिको मोहभन्दा बाक्लो भइदियो । तब न हाम्रो उखानले बूढीलाई गिज्याएको रहेछ– सम्पतिका नाउँमा बुच्चो ठेकी, पोइल जाने लौरो टेकी ।

तर त्यस उमेरमा पोइल जाने हिम्मत गर्दा पनि उनको घरजम हुन सकेन । कारण, उनले जसरी आफ्नो एक्लोपन मेट्न साथी खोजेकी थिइन ऊ एक्लो थिएन । ६/७ महिनापछि त्यहीँ पशुपतिमा उनलाई लैजानेसित पनि भेट भयो । ऊ थुप्रै केटाकेटीलाई अघिपछि लाउँदै आउँदै थियो, बज्यै चाहिँ थिइनन् । कुतुहल रोक्न नसकेर मैले सोधेँ– नयाँ भाउजू खोइ त ? उसले सहजै भनिदियो छाडिदिएँ राँडीलाई । आश्चर्य, हाँसो र रीस तीनै थोक थाम्न नसकेर मैले भनेँ– हत्तेरी के गरेको यो ! उसले घृणामिश्रित मुस्कान छाड्दै भन्यो– तिमीलाई थाहा छैन ?– सराद्धेको सालो, तिहारको ज्वार्इं जाडाको लठ्ठी, बूढीको म्वाई ।

उखानले पनि बूढीलाई कति खेदेको ! अरू थोक त सकियो त्यही एउटा म्वाईं भए पनि कसैलाई दया गरेर जीवनको स्वर्ग भोगौंला भनी लौरो टेक्तै पोइल जान कसिएकी विचरीको म्वाईकै त्यत्रो हेलाँ ! त्यति आपत्ती † अनि मैले बोल्न नपाउँदै उसले थप्यो– यस्ता अतृप्त बूढीहरू वडा अनौठा हुन्छन् बुझ्यौ ? जिउमा पानी होस् नहोस् बानी चाहिँ तरुनीको भन्दा उत्ताउलो हुन्छ । त्यसैले त उखान गर्छन्– ठाउँ न ठहर बूढीको रहर !

पशुपतिको मन्दिरमा उसकी बूढीको कथाको सुनिरहोस् ! तर ‘ठाउँ न ठहर बूढीको रहर’ भन्दा मैले तीनोटा घटना चाहिँ नसम्झी रहन सकिन । तिनमध्ये एउटा पौराणिक एउटा युरोपीय र एउटा आफैसँगको थियो । कश्यप ऋषिका तेह्रवटी स्वास्नी थिए रे ! दुईटी स्वास्नीको पोइको बारेमा त “दुई जोईको पोइ कछाड तानातान” भन्ने उखान झिक्छन् उनलाई कति मर्का थियो उनै जानुन् । तैपनि हाम्रा उखानले मर्दलाई दशोटीसम्मको अनुमति दिएको छ तर तेह्रवटी त जस्तासुकै जँवामर्दलाई पनि बढ्तै होलान् । जे होस् उनकी दिदी भन्ने बूढीले संसारकै सन्ध्या गर्न बसेका बूढालाई समातेर एक भन्नु न दुई भन्नु पारिन् रे । त्यो बेला न कुबेला बजी नयलाबाट दैत्यहरू जन्मेका रे तर कश्यप बूढा भए पनि कश्यपकी दिदी अदितीहरू कति बूढी थिए मलाई थाहा छैन । त्यसैले मेरो साथीले भनेको बेलाइती बूढीको कुरा सुनाउ“– ऊ भन्थ्यो– “बूढी साठी नपुगे पनि पौने साठीभन्दा उँभोकै थिई तर नाच्ने बेला सधैँ रोज्थी आधा साठीका ठिटा । एक साँझ नाच्दानाच्दै उसले मलाई तानेर बाथरुमतिर लगी ।” कुरा उसको साँचो हो कि झूठो हो मलाई थाहा छैन । तर युरोपतिर पोइले छाडेका बूढीहरूको पोइल जाने प्रयास वा जोइले ल्याउने प्रयत्नबारे गरिएका गफ चाहिँ मैले पनि प्रशस्त सुनेको छु । भन्छन् यस्तै बूढी कोही धनी छ भने पोइको धोकोमा डलरको पोको पनि चढाउँछ रे । तर यी पनि भए टाढाकै कुरा ।

एक दिन मेरो डेरामा एउटी बूढी आएकी थिइन् । भान्से लाग्ने ठाउँ पाइन्छ कि भनी खोज्दै आएकी भन्थिन् । उनको कपालको छँटाई, लुगाको लवाई र आँखाको नचाई देख्दा उनी विधवा जस्ती पनि थिइनन्, गरीब जस्ती पनि थिइनन् र चाउरी नपरेकी भए बूढी जस्ती पनि देखिँदैन थिइन् कि ? उनले मेरो अन्तर्वार्ताको जवाफ कसरी दिइन् भने तपाईं पत्याउनै सक्नुहुन्न ।
मैले सोधेँ– तपाईं बज्यै हो ?
उनले भनिन्– बाजे छउन्जेल बज्यै, अहिले बजिनी ।
मैले सोधेँ– किन, बाजे हुनुहुन्न र ?
उनले भनिन्– “बाजे पनि छैनन्, बाजेको समाउने पनि छैन ।
घरभरिका मान्छे हलल्ल हाँसे । उनी थुपै्र अश्लिल शब्दावलीमा गाली गर्न थालिन्– तेरी मान … ।
मैले भनेँ– ए कस्तो फोहोर बोलेको ?
उनले भनिन्– अरू पोइल गएर कामै गर्छन्, मैले चोखै बसेर कुरासम्म गर्न पनि नपाउनु ?

पछि थाहा पाइयो– उनी एउटी वालविधवा रे, तर उमेर छउन्जेल न पोइल गइन्, न नाठा खेलाइन् । तर उमेर जति छिप्पिँदै आयो त्यति फोहोर कुरा गर्न थालिन् रे । यसरी बोलीमा पात्तिँदा पात्तिँदै अहिले ठाउँ न ठहर लोग्ने मान्छेको काखी सुँध्ने रहर गर्छिन् रे ।

भन्न त भन्छन्– ‘बृद्धाबेश्या तपस्विनी’ अर्थात बूढी भएपछि बेश्या पनि तपस्विनी हुन्छ । तर यसको अपवाद स्वरूप ‘वृद्ध बेस्या कुटिनी‘ भएका पनि कति उदाहरण पाइन्छन् । हामी केटाकेटी छँदै एउटी बूढी माग्दै हिँड्थी । मान्छे भन्थे– ऊ कुटिनी हो, त्यसैले उसलाई देख्यो कि हामी कुटिनी बूढी, कुटिनी बूढी भन्दै कराउँथ्यौँ । ऊ गाली पनि गर्दैनथी पिट्ता पनि पिट्दैनथी तर उसले गर्ने सजाय के हुन्थ्यो भने केटाकेटीलाई समाएर कट्टु फुकाल्दिनु र भन्नु– यसलाई लोग्ने चाहिइसकेछ अथवा यसलाई स्वास्नी चाहिइ सकेछ ।

उसको कुरा गर्दा म मावल गाउँकी अर्की अनौठी बूढी सम्झन्छु । भन्थे ऊ अविवाहितै बूढी भएकी रे । गाई बाख्रा र बिरालाहरू पालेर ऊ एक्लै बस्थी, कस्तो बहिरी थिई भने ऊसँग कुरा गर्न तलैदखिको बल झिकी कराउनु पर्थ्याे । मान्छे उसलाई दिदी आमा भनी बोलाउँथे । दिदी आमै ! हाल खबर के छ ? भनेर कसैले सोध्यो भने ऊ सबभन्दा पहिले गाईले साँडे खोेजेको, बाख्री बाली भएको र बिराली ब्याएर तीन छाउरा पाएको वा यस्तै–यस्तै समाचार सुनाउँथी । अनि आफ्प्नो स्वास्थ्य बिग्रेको कुरा गर्थी । बोल्दा होस् कि हिँड्दा होस् उसको साथमा कि एउटा बिरालाको छाउरो हुन्थ्यो कि बाख्राको पाठो ।

यी अनौठा बूढीहरूको प्रसङ्गमा एउटा लमिनी बूढीको कुरा नगर्नु उसमाथि अन्याय हुन्छ । लमिनीभन्दा तपाईं कुनै लामाकी स्वास्नी भन्ने बुझ्नु होला त्यो होइन । अर्कालाई केटो वा केटी खोजिदिएर बकसपात लिने पेशा भएकालाई लमी वा लमिनी भन्छन् । यस्तो काम अधिकांश बूढाबूढीबाटै हुन्छ । त्यसमाथि पनि बूढीहरू यस पेशामा खप्पिस हुन्छन् । हाम्री लमिनीलाई लौन एउटा केटी वा केटो खोजन भनी कसैले अनुरोध गर्यो भने पहिले एउटा उखान हालिहाल्थिन्– आच्छ्युँ खायो बँच्छ्यू खाएँ झुसे बारुला । अहिलेसम्म तीन बीस केटालाई केटी जुटाई सकियो अब एउटा खोज्न कत्रो आइतवार ! पख्नोस् सात दिन !

यस्ता मति र मगज बिग्रेका दुई चारोटी बूढीको उदाहरण दिएर आफ्नी आमै जिजुआमै पर्ने माननीय महिलाहरूको खिसी गर्न खोज्छस् भन्नु होला, मैले त्यस्तो खोजेको हुँदैहोइन । नेपाली विधवाहरू तरुनी नै भए पनि पश्चिमका जस्ता उत्ताउला हुँदैनन् । त्यसमाथि उमेर छउन्जेल चूपचाप बसेर जिउ कुप्रिन थालेपछि “अरू कुरा छाडी पोइल जाने कुरा” गर्ने आइमाई पाउन त गाह्रै पर्छ तर यही पाउन गाह्रो पर्ने हुनाले नै पाएकाहरूलाई बिर्सन सकिँदो रहेनछ । तब न उखान हान्छन्– ‘केटाकेटीको अक्कल र बूढाबूढीको नक्कल हेर्न लायक हुन्छ ।’

त्रिफला अङ्क ५, २०२९

(स्रोत : फित्कौली डटकम)

This entry was posted in निबन्ध, हास्य - व्यङ्ग्य and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.