समालोचना : शाकुन्तल महाकाब्यमा मैले जे देखेँ

~डिल्लीराम अंमाई~Dilliram Angmai

भारतीय उपमहाद्वीपका महान कबि कालिदासद्वारा रचित विश्वविख्यात नाटक अभीज्ञान ‘शाकुन्तलम’मा जुन दिब्य प्रेमको बिराट आकाशलाई देखाइएको छ, किन्चित त्यसभित्र निहित निर्मल प्रेमज्ञान तरङ्गहरूलाई महाकवि लक्ष्मी प्रसाद देबकोटाले शाकुन्तल माहाकाब्यमा देखाउन सफल भएका छन् । प्रकृतिकी छोरी शकुन्तलाको प्राकृतिक सहचार्य, मानव र प्रकृतिको मधुर मिलन प्रदर्शन गर्ने उद्देश्यले प्रस्तुत महाकाव्य लेखेको हुनुपर्दछ । शाकुन्तल महाकाव्य नेपालीमा प्रकाशित सर्वप्रथम मौलिक महाकाव्य हो । महर्षी विश्वामित्र र अप्सरा मेनकाको प्रेम प्रतिमुर्ति शिसु शकुन्तला बाबु-आमाको तात्कालीक बाध्यताबीच मालिनी नदी सन्निकट घना जङलमा दुबैको चाहना बिरूद्ध त्यागिन वाध्य भइन् । यहीबाट शाकुन्तल महाकाब्यको कारूणिक कथाले अब्यक्त शिराबाट नयाँ प्रेमरूपी करूणामय गंगा जलमा स्नान गराउन थाल्दछ ।

एउटा प्रेम मानसिक चाह र हृदय स्पर्शका बीच पनि अनपेक्षित बाध्यता बीच टुक्राटुक्रा भएर अतृप्त छटपटावट सँगसँगै शुष्क भूमिमा पोखिन्छ । विश्वामित्र जसले घमण्ड र महत्वकांक्षारूपी त्रिशंकुलाई अहमताको नयाँ स्वर्ग स्थापना गरिदिने आस्वाशनलाई पूरा गर्न प्रेम बिहीन तपस्यामा आशन कस्छन् । आँफू स्वर्गबाट प्रतिस्थापन हुने भयले विश्वामित्रको तपस्यालाई असफल बनाउन प्रेमको पासाे सहित् मेनकाको पदार्पण हुन्छ । नियोजित प्रेम बास्तविक रूपमा प्रकट हुन थाल्दछ । प्रेम सृजना पनि हो । अत: त्यही नियोजितबाट क्रमशस् बास्तविक रूपमा प्रकट भएको प्रेमले आफ्ना निर्धारित बाध्यताहरूको सीमा भत्काउदै नयाँ गन्तब्य तिरको पहिलो पाइला थियो शकुन्तलाको जन्म ।

मेनका र विश्वामित्रबीच चलेको रूपान्तरित प्रेमको क्रम्भङ्गतापछि उनीहरूकी सुपुत्री शकुन्तलाले यसवराज दुश्यन्तसँगको प्रेमलाई सफल बनाएर बाबुआमाको अधुरो प्रेमलाई निश्छलताले स्नान गराउँदै पवित्रताको परिभाषाभित्र समेटिदिर्इन् । उनकै प्रेमदशाभित्र बिचरण गर्दागर्दै अमरत्व प्राप्त गर्न सफल भएको महाकाब्य हो शकुन्तला महाकाब्य । शकुन्तला महाकाब्यभित्र बिचरित लैङ्गिक कामुकताहरू कतै कतै देखा पर्न खोजे पनि निश्कृय हुन्छन । निर्मल नदीको जसरी समुन्द्रमा समाहित हुनको लागि आतुरता हुन्छ त्यस्तै आतुरता शकुन्तला र दुष्यन्तको प्रेमप्रवाहमा पनि छ तर त्यहाँ कुटील चाल र छलहरू छैनन् ।Book cover - Shakuntal - Laxmi Prasad Devkota

कुनै योजना र मध्यस्थता बिना स्वतस्फूर्त रूपमा प्रेम बगिरहन्छ । त्यसमा एउटा आवाज छ, नदी र समुन्द्र समागमको आवाज, ब्रमान्डीय पारिचक्रको आवाज, र धर्ती अपचलनको सौम्य, सभ्य र परम आनन्दित सांगीतिक स्रिङ्गारिक रसले भिजेको आवाज । मनको मनसँग र मस्तिस्कको मस्तिस्कसँग जोडीएको प्रेमको तार छ । जुन कहिल्यै चुडिँदैन, टुट्दैन । आवाज-आवाज भित्रभित्रै एक फल प्रेमको रूपमा पाकेर प्राकृतिक रूपमा प्रकट हुन्छ शकुन्तला महाकाब्यमा यसरी-

‘सुन बादल भो सुन सूर्य भए ।
सुरद्वार खुल्यो सुनको नभमा ।।
सुनको भव भो सुनको जलले ।
सुन तार बजाउँछ कल्कलले ।। ३।!’

ऋृषि कन्वले नियतिबाट पाएको अंकुरित बतिलोलाई राजर्षी ऋृषि विश्वामित्र र मेनकाको उपहार साथै कर्तब्यको निर्देशन सम्झी आफ्नो कुटिमा लिएर आउँछन् । ‘शकुन्त’ चराहरूको चौघेरा र शिसुको चिच्याहटलाई उनले बिधि निर्माताको निर्देशन सम्झिन्छन् । जल स्नानबाट फर्किंंदै गरेका महामुनी कन्व प्राकृतिक नियम र ब्रम्हज्ञान भएका ऋृषि हुन् । उनले ऋृषिकी बहिनी गौतमी र ज्वाँइ सतानन्दको आश्रममा राख्न नहुने सुझावका बीच पनि शकुन्तलालाई आमा बाबु दुबैको बात्सल्य दिएर आँफैसँग राख्छनू । कुन जातको बच्चा हो भनेर परिचर्चा चल्दा आफ्ना चेलाहरूलाई कुनै पनि ब्रम्हज्ञानीले जातको कुरा गर्न संकीर्णताको पराकाष्टा हो भन्दै ऋृकबेदमा मनुर्भव: भनेको कुरालाई मनन गर्न सल्लाह दिन्छन् ।

त्यहाँ रक्त सम्बन्धभन्दा माथिको सम भावमा स्नेहरूपी प्रेम गंगा छचल्किएको छ । कन्वमा त्यस्तो कुनै क्षण रहेन जसमा बात्सल्यको कमी भएको होस् । त्यहाँ केवल स्त्री पुरूषको मात्र एकतर्फी माया छैन त्यहाँ त बात्सल्य छचल्किएको छ, प्रक्रिति प्रतिको सुरक्षा भाव र प्रेम हावासँगै बहेको छ, जीवजन्तु, लता, वृक्ष र चराचर जगतप्रति समान सम्मान र कर्तब्य सहितको प्रेम छ । ब्रह्मज्ञानी मानव केवल मानव हितको मात्र प्रयाय बनेर रहन सक्दैन । मानव ब्रह्माण्डका सबै सृजनालाई समान ममता बाँडेर बस्नको लागि सृजित भएको हो । मानवको कर्तब्य र सृजकको चाह पनि यही उदेश्यबाट प्रेरित छ भनेर दिब्य प्रेमसँग यो काब्यका हरेक स्तम्भहरू एकैसाथ उभ्याइएका छन् । यसरी प्रेमरूपी बिशाल जेलोभित्र मुख्य रस सृंगार रसको साथै बिभिन्न रसले सिंगारिएको छ शकुन्तला महाकाब्य ।

”एक फूल केवल सुन्दरता र किट भोजनको लागि सृस्‍टि गरिएको अबोध प्राण ।” शकुन्तलाबाट बोलाइएको छ- ‘यसलाई पनि दुख्छ, नछोउ र बिना उदेश्य प्राण नलेउ, बोटबाट अलग्गिएको उत्सर्गिक मात्र आफ्नो उदेश्यकाे लागि प्रयोग गर, कसैको प्राण संकटमा पार्ने वा जीव जगतको इश्वरीय सार्बभौम स्वतन्त्रतालाई भङ्ग गर्ने वा निमोठ्ने कसैको अधिकार छैन । त्यसको सुरक्षा गर्ने र सौन्दर्यताको आनन्दबाट स्नान गर्ने बिधाताबाट दिइएको आदेश हो ।’ त्यो प्रेम तपो बनको एक हिरणसँगको वार्तालाप शकुन्तलाले खुबै निष्पाप तरिकाले बगाएकीछिन् । प्रेमयोगी करणको जस्तो फलको आशा नगरिएको मित्रवत प्रेम, ऋृषि कन्वको जस्तो बात्सल्यता र शकुन्तलाका आश्रममा रहेका अन्य सखीहरूको जस्तो निस्वार्थ प्रेम ।

प्रेम तपस्या हो जसले सधैं पारिजात फूलले जस्तै सुगन्ध दिइरहन्छ, तर त्यसमा कुनै स्वार्थ, बिकार र मैलो भावनाको लेश पनि हुनुहुँदैन । प्रेम भबिष्यकाे आशामा नदीको पानी जस्तै बगिरहन्छ । प्रेमले किनारा बिहीन समुन्द्रका तरङ्ग र छालहरू जस्तै सबै जगतलाई आँफूमा समाहित गर्न सक्दछ । दुष्यन्तले जस्तै सर्वस्व त्यागेर पनि प्रेमको उपासना र अधीनताले मनमा आनन्दको बर्षा गरिरहन्छ । त्यसैले त शकुन्तला र दुष्यन्तको प्रेम कहानी भएको महाकाब्यले पुन मुनामदन जन्मायो । शकुन्तलको एक हरफ वाक्य मनुर्भव:ले मुनामदनमा क्षेत्रीको छोरो यो पाउ छुन्छ घीनले छुँदैन, मनिस ठूलो दिलले हुन्छ जातले हुँदैन, भनेर प्रेमको सीमारहित बिशालतालाई पस्कन वाध्य बनायो । नछुनु त्यो कोपिला छोएमा पाप लाग्दछ, भनेर सुनको बिहानीमा महाकविले पस्केको तपोवाक्य महाज्ञान शाकुन्तलकै देन हो ।

शकुन्तलाले दुष्यन्तलाई सम्झाउँदै भनेकी छन -यो फूलमा पनि प्राण छ त्यसैले अबोध लतालाई दुःख दियर फूल नटिप, झरेको फूल मात्र प्रयोग गर । त्यही बाक्यांशबाट महाकबिले सुनको बिहानी भन्ने कृति जन्माउन पुगे । शाकुन्तल महाकाब्यमा विश्वामित्र महातपस्वी हुँदाहुँदै पनि मेनकाको लक्ष प्राप्ती र उदेश्यभित्र समेटिएको प्रेमलाई शुरूमा सीमारहित रूपमा ग्रहण गरे । कर्तब्य र प्रेमभन्दा बाहिर ज्ञान र मुक्ति सम्भव छैन भन्ने विश्वासमा पुगेर पनि एक बर्षपछि कुरूचिको निष्कृस्टतालाई मेनकाले चिर्न सकिनन् । ब्रहमज्ञानको खोजीमा निर्जन जंगलबीच भौतारिइरहेका अतृप्त प्रेमाभिलाषी विश्वामित्र पासास्वरूप फ्याकिएको ईन्द्रजालरूपी मेनकामा निर्लिप्त बने । ईन्द्रको तपस्या भङ्ग गराउने चालको भेद मेनकाले दिएपछि प्रेमपौधा जङगलको बीचमा छाडेर मेनका ईन्द्र लोक र विश्वामित्र तपस्याको लागि हिमालय तर्फ लागे । प्रेम निस्सहाय बनाइएर भूमिमा फालियो, बिना नाम र बिना परिचय ।

सृस्‍टिका बाटिकामा गगन भेद्ने शाकुन्त चराहरूले सृस्‍टि, प्रेम टुक्रा टुक्रा भएको मेनका र विश्वामित्रको प्रेमको चिनागारीलाई पुन जोड्ने काममा सघाए । त्यसले के बुझाउँछ भने यो सृस्‍टिभित्र बगिरहेको प्रेमहुरी एक जात, एक समाज र एकाङ्गी सहयोगले हुर्कन सक्दैन । धर्तीका हरेक चिज वा प्राणी एक आपसमा अन्तर घुलित र सम्बन्धित छन् । प्रेम आस्था हो, प्रेम दासता हैन, यो स्वतन्त्र रूपले हुर्कन पाउनु पर्छ । यसले प्रकृतिको पूर्ण रचनामा साक्षात्कार हुन पाउनु पर्छ । मानव मानवबाट मात्र बिजित र जीवित हुन सक्दैन । पुरू पुत्र दुष्यन्त शकुन्तलाको प्रेमबिना अर्धमृत हुँदा पनि र आफ्नो मानसिक सन्तुलनलाई गुमाउँदा पनि प्रेमरूपी विश्वाशले बचायो । प्रेमको महासागरमा रमण गर्ने चाहनाले उनलाई पुनर्जीवन दियो ।

त्यसैले भन्नै पर्छ धन्य हौ लक्ष्मी तिमी, ब्रम्हस्वरूप शाकुन्तल महाज्ञानभित्र केवल यौवनको प्रेमालाप मात्र देखेनौ । तिम्रो अथाह प्रेम सागरमा फूल बोटबाट अलग गर्दा पनि तिमीलाई दुख्यो, मनको आनन्द भङ्ग भयो, प्रेम रोयो, साथी अनुशुया, करनहरूसँग अलग हुँदा पनि प्रेम बिक्षिप्त बन्यो, बन सुन्दरी हिरणलाई बाण दागिँदा उसलाई तिम्रो प्रेमले बचायो, आस्थामा कहिल्यै बिचलन आएन, पालक कन्व प्रतिको सम्मान तिम्रै प्रेमको जलपले चम्काइ रह्यो । बंशको उज्यालोले नामाकरण सहित् जन्म लियो शकुन्तला रदुष्यन्त पुत्र भरतको रूपमा । मानवता रूपी सन्ततिको रूपमा भूमिले प्रेमको अर्को नाम पायो भारतबर्ष (आदिपर्व, पद्म पुराण) र न्यायको मार्गमा प्रेम ब्रम्हज्ञानको साक्षातकार भयो महाभारत गीता ।’

यसै सन्दर्भमा महाकबी कालिदासको यो भनाइबाट पनि अभिज्ञान शाकुन्तलम नाट्यकाब्यको काब्यरस र कथाबस्तुबारे कल्पना गर्न सकिन्छ,

काव्येषु नाटकं रम्यं तत्र रम्या शकुन्तला.
तत्रापि च चतुर्थोङ्कस्तत्र श्लोकचतुष्टयम्।।’

धन्य, महाकबि तिमीले शाकुन्तल महाकाब्यमार्फत चराचरलाई सिकाइदियौ -तपस्या प्रेम बिनाको अहंकारमा बाँच्न सक्दैन । विश्वामित्रको कस्यप ऋृषि बिरूध्दको अहंकार र दम्भलाई मेनकाको प्रेमले रूझाएपछि उनमा सीमारहित प्रेम जन्माइ दिन्छ, त्यो झाङ्गिदै जान्छ र विक्षिप्त भएर ब्रह्मज्ञानको महातपबाट प्रेमसागरमा समाहित हुन्छ । शकुन्तला-दुष्यन्त वा मुना-मदन भित्रको सत्यम शिवम् सुन्दरम अर्थात् ज्ञान, कर्तब्य र प्रेम अनन्तसम्म स’गन्धित भर्इ रहने छ ।

(जति जति पढ्दै गयौ, उति उति आनन्द दिने यो कृतिको लागि महाकवि लक्ष्मीप्रसाद देवकोटा सँधै सँधै धन्यबादका पात्र हुनुहुन्छ । )

(स्रोत : Ghatanarabichar)

This entry was posted in समालोचना and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.