~रोहित खतिवडा~
महाभारत धेरै पात्रलाई केन्द्रीय पात्र मानेर पढ्न सकिने बृहत्तर महाआख्यान हो। सामान्यतयाः कृष्ण, अर्जुन, युधिष्ठिरजस्ता पात्रलाई नै केन्द्रमा राखेर यसको पठन तथा व्याख्या हुनेगर्छ। तर, उपन्यासकार विनोदप्रसाद धितालले फरक ढंगले महाभारतको कथा भनेका छन्।
महाभारतका पाठकले मानिआएका केन्द्रीय पात्रको सट्टा धितालले त्यति महत्व नदिइएकी एउटी स्त्रीलाई उपन्यासको केन्द्रीय पात्र बनाएका छन्। उनले उपन्यासको भूमिकामा लेखेका छन्, ‘महाभारतकी आदिस्रोत योजनगन्धा सत्यवतीलाई आजको पाठक मैले आफ्नो नजरले हेरी नेपाली साहित्यका पाठकहरुका अगाडि राख्न खोजेको छु। यिनी नै मेरो पौराणिक यो पौराणिक उपन्यास ‘योजनगन्धा’ की नायिका हुन्।
योजनगन्धा सुरुमा माझी मुखियाको घरमा हुर्किन्छिन्, जसको शरीरबाट माछाको गन्ध आउँछ। यिनै मत्यसगन्धा महाराज शान्तनुकी रानी बन्छिन्, आफ्ना सन्तानलाई राजगद्धीको उत्तराधिकारी बनाउने सर्तसहित। विवाहपूृर्व नै महर्षी परासरसँग सहवास गरी कृष्णद्वैपायन अर्थात् वेदव्यासलाई जन्म दिन्छिन्। जसले वेदलाई विभाजन गर्छन्, जसले कुरुवंशको इतिहास लख्छन्, जसले पुराण रचना गर्छन्। महाराज शान्तनुसँग विवाह भएपछि उनले चित्राङ्गगद र विचित्रविर्यलाई जन्मदिइन्। भीष्मलाई अगाडि राखेर धेरै समय उनले हस्तिनापुरको राजकाज सम्हालिन्। धिताललाई लाग्यो, महाभारतजस्तो विशाल संहार हुने युद्ध हुनुमा सत्यवती पनि कम जिम्मेवार छैनन्। युद्धको बिज त सत्यवतीकै महत्वकांक्षाले रोपेको थियो,जसलाई अरु कारणले फलाएका/फुलाएका मात्र हुन्। धितालले तिनै सत्यवतीको दृष्टिकोणबाट महाभारतको कथा वर्णन गरेका छन्।
२०५२ सालमा साझा प्रकाशनबाट प्रकाशित यो उपन्यासले त्यसवर्ष मदन पुरस्कार प्राप्त गर्यो। केही वर्ष नेपाली पाठकमाझ राम्रै चर्चा कमाए पनि यो उपन्यास विस्तारै छायामा पर्दै गयो। वास्तवमा, महाभारतलाई कुनै नारी पात्रको दृष्टिकोणबाट हेरेर विनिर्माण गर्ने नेपाली साहित्यमा यो पहिलो काम थियो। एक दशकपछि कृष्ण धरावासीले यही तरिका अपनाएर राधा लेखे। धितालले सत्यवतीको आँखाबाट महाभारतको लडाइँको कारण केलाउन खोजेका छन् भने धरावासीले राधाको आँखाबाट कृष्णलाई बुझ्न खोजेका छन्। योजनगन्धाको विशेषता चाहिँ के हो भने यहाँ सत्यवती कथावाचकको रुपमा मात्र आउँदिनन्, सम्पूर्ण उपन्यास उनकै वरिपरि घुमेको छ। महाभारत युद्धको कारण समेत कुनै न कुनै रुपमा आफैंलाई देख्छिन्।
मुख्य रुपमा महाभारतको कथा यसमा समेटिए पनि धितालले हरिवंशपुराण र देवीभागवत पुराणलाई पनि सन्दर्भ सामग्री बनाएका छन्। उनको उद्देश्य सुरुका अंशहरुमा सत्यवतीको पूरा परिचय दिनु नै हो। त्यसैले उनले यी धीवरकन्याको पूर्वजन्मका प्रसंगहरु केलाएका छन्। त्यसो त उनको जन्मकै कथा पनि कम रोचक छैन। उनी जन्मिछिन्, माछाबाट। त्यो पनि दुनामा बगेर आएको वीर्य सेवन गरेपछि गर्भवती भएकी माछाबाट। त्यो माछो वास्तवमा अप्सरा अद्रीका थिइन्। उनी एक तपस्वी ब्राम्हणका श्रापले माछो बनेकी थिइन्। राजा उपरिचरवसुको वीर्य सेवन गरेपछि अद्रिकाले जुम्ल्याहा सन्तान जन्माइन्। माछाको गन्ध भएकाले उपरिचरवसुले उनलाई दरबारमा राख्न मानेनन्। सत्यवतीका दाजु दरबारमा हुर्किए, युवराजका रुपमा। सत्यवती शरीरमा माछाको गन्ध बोकेर माझी बस्तीमा हुर्किइन्।
सत्यवती जवान भएपछि महर्षी परासरले उनीसँग सम्भोग गर्छन् र सत्यवतीको इच्छाअनुसार उनको शरीरबाट माछाको गन्ध हटाएर सुवर्णगन्धा तुल्याइदिन्छन्। सत्यवतीबाट जन्मिएका आफ्ना पुत्र कृष्णद्वैपायनलाई महर्षि आफैं हुर्काउँछन्। यिनै कृष्णद्वैपायनपछि व्यास नामले चिनिन्छन्।
नदी किनारमा साथीहरुसँग रमाइलो गर्दै गरेकी सत्यवतीको शरीरबाट आइरहेको सुगन्धले शिकारमा निस्किएका हस्तिनापुरका राजा शान्तनु लट्ठ पर्छन्। त्यसैक्षण उनले सत्यवतीलाई प्रेमप्रस्ताव राखिहाल्छन्। यही क्षण सत्यवतीको महाभारत यात्रा सुरु हुन्छ। शान्तनुसँग विवाह भएपछि उनी हस्तिनापुरकी महारानी बन्छिन्।
शान्तनुका जेठा छोरा देवव्रत शस्त्र र शास्त्र दुवै किमिकका ज्ञानमा पारङ्गत थिए। उनलाई सबैले पछिका कुशल राजाका रुपमा अपेक्षा गरेका थिए। तर, सत्यवतीको प्रेममा परेका शान्तनुले देवव्रतलाई राजगद्धीबाट बञ्चित गरी सत्यवतीकै सन्तानलाई उत्तराधिकारी बनाउने सर्त स्वीकार गर्छन्। देवव्रतले आफ्ना पिताको खुसीका लागि आजीवन ब्रम्हचर्य धारण गर्ने प्रतीज्ञा गर्छन्। यिनै देवव्रत महाभारत युद्धका एक प्रभावशाली पात्र भीष्मका रुपमा देखा पर्छन्।
देवब्रतको बह्मचर्यको प्रतीज्ञा सबैलाई थाहा छ तर यसको कारण सत्यवती हुन भन्नेमा त्यति महत्व दिएको पाइँदैन। धितालले यो उपन्यासमा देवव्रतले भीष्म प्रतीज्ञा गर्नुको कारण नै सत्यवती हुन् भन्ने प्रष्ट पारेका छन्। आफ्ना सन्तान राजगद्धीबाट बञ्चित हुनु नपरोस् भन्ने स्वार्थका कारण सत्यवतीले चालेको चालबाजी थियो यो।
सत्यवती र शान्तनुका दुई सन्तान हुन्छन्, चित्राङ्गद र विचित्रविर्य। शान्तनुको निधनपछि चित्राङ्गद हस्तिनापुरको राजा हुन्छ। तर, वर्ष दिनपछि नै उनले नाम जुधेकै कारण गन्धर्वराज चित्राङ्गदसँग युद्ध गर्नुपर्ने हुन्छ। युद्धमा चित्राङ्गद मारिएपछि १२ वर्षका विचित्रविर्य राजगद्धीमा बस्छन्। शान्तनु राजा हुँदा सत्यवती आफैं दरबारको हर्ताकर्ता थिइन्। चित्राङ्गद राजा भएपछि शासन सञ्चालनबाट टाढिँदै गएकी उनी फेरि विचित्रविर्यको संरक्षकको रुपमा शासनमा सक्रिय भइन्।
यिनै सत्यवतीको जिद्धीको कारण हो- विचित्रविर्यको विवाह दुई स्त्री अम्बिका र अम्बालिकासँग भएको। तर विचित्रविर्यकै कारण उनीहरुको सन्तान हुन सकेको थिएन। विचित्रविर्य क्षयरोगीसमेत थिए। कुनै सन्तान नभई उनको मृत्यु हुन्छ। विचित्रविर्यको मृत्युपछि वास्तविक अर्थमा पुरुवंशको अन्त्य भएको छ। विचित्रविर्यका दुई श्रीमती अम्बिका र अम्बालिकाबाट जन्मिएका धृतराष्ट्र र पाण्डु त सत्यवतीको रगत हुन्। व्याससँगको सहवासपछि उनीहरुबाट जन्मिएका। तर, धृतराष्ट्र जन्मैदेखि आँखा नदेख्ने भए यसैकारण जेठा भए पनि उनलाई राजगद्धीबाट बञ्चित गरियो। व्यास र दासीको सम्भोगबाट जन्मिएका विदुर विद्वान त भए, तर दासीपुत्र भएकाले राजगद्धीमा हक लाग्ने कुरै रहेन। त्यसैले पाण्डु राजा बने। तर उकनी कुनै ऋषिबाट सम्भोग गरेमा तत्काल मृत्यु हुने श्राप पाएपछि वन प्रस्थान गर्छन्। धृतराष्ट्र नै कुरुजाङ्गलका राजा बन्छन्।
पाण्डुका दुई पत्नीबाट कसरी पाँच सन्तान जन्मिए भन्ने पनि धितालले रोचक कथा हालेर सुनाएका छन्। यस्तै धृतराष्ट्रपत्नी गान्धारीले कसरी एक सय सन्तान जन्माइन् भन्ने कथा पनि त्यत्तिकै रोचक बनाएर सुनाएका छन्।
सत्यवतीको इच्छा हुन्छ, पाण्डु र धृतराष्ट्रमध्ये जसको छोरो पहिले जन्मिनछ, उही राजा होस् भन्ने। कुन्तीपुत्र युधिष्ठिर सबैभन्दा जेठो हुन्छन्, त्यसपछि गान्धारीपुत्र दुर्योधन। धृतराष्ट्र र गान्धारीका सन्तानाम सत्यवतीको आफ्नो रगत भएकाले उनैलाई आफ्ना ठान्छिन्। पाण्डुपुत्रहरुमा पाण्डुको रगत रहेन अर्थात् सत्यवतीको रगत रहेन। त्यसैले कौरव पक्षलाई जति आफ्नो ठान्न सक्दिनन्। उनको भित्री चाहना त दूर्योधन राजा हुन् भन्ने नै हुन्छ। तर, दूर्योधनको आचरणले उनलाई खिन्न बनाएको छ। पाण्डवको सु–संस्कृत व्यवहारले उनी प्रभावित पनि भएकी छिन्।
पाण्डु र धृतराष्ट्रमध्ये जसको छोरो पहिले जन्मिन्छ, ऊ नै हस्तिानपुरको राजा हुन्छ भन्ने उनको सर्त नभइदिएको भए महाभारतको युद्ध हुन्थ्यो? अवस्य पनि दुर्योधन स्वभाविक रुपमा राजा हुने थियो। यही सर्त नै युधिष्ठरले राजगद्धी प्राप्त गर्नसक्ने आधार हो। सत्यवतीले आफ्नै ठानेको दूर्योधन भने यही सर्त अवज्ञा गरेर आफू राजा हुने प्रयासमा लाग्यो। त्यसैले नै महाभारतको युद्ध हुनपुग्यो।
हुन त उपन्यासमा महाभारत युद्धको प्रसंग छैन। कठीन समय आउँदै छ भनेर व्यासले सत्यवतीलाई त्यो नरसंहारकारी युद्धको संकेत मात्र दिएका छन्। यो उपन्यास कौरव र पाण्डव जवान भएपछि सकिएको छ अर्थात महाभारत युद्धको सम्मुखमा। त्यसैले महाभारत युद्ध के कारण भएको रहेछ भन्ने त्यसपूर्वको कथा बुझ्नै पर्ने हुन्छ। जुन कथा बुझ्न ‘योजनगन्धा’ उपन्यास एउटा राम्रो सामग्री बन्न सक्छ।
अप्सरापुत्री मत्स्यगन्धा, धीवरकन्याका रुपमा हुर्किएर, योजनगन्धा हुँदै हस्तिनापुर दरबारको केन्द्र बनाउन सफल भएकी एउटी नारीको कथा नै योजनगन्धा हो। अन्तिममा वन प्रस्थान गरेपछि उनलाई हस्तिानापुरको राजको कुनै महत्व थिएन, बरु कृष्णद्वैपायनकी आमा हुनु जीवनको अकल्पनीय प्राप्ति हो भन्ने महसुस हुन्छ।
योजनगन्धा पढ्दा पाठकलाई यो कुनै नेपाली राजदरबारको कथा होला भन्ने परिरहन्छ। महाभारतको युद्धपूर्वको कथालाई पुरै नेपाली स्वाद दिन उनी सफल छन्। पात्रहरुको रहनसहन र बोलीचालीमा महाभारतकालीन युगको झल्को दिँदै नेपालीपन मिसाउन सक्नु उनको खुबी हो।
महाभारतको पुरै कथा पढ्न नसकेका पाठकलाई पनि यो उपन्यास धेरै महत्वपूर्ण सामग्री बन्नसक्छ। महाभारतका पात्रहरुको सम्बन्ध र चरित्र केलाउन यसले सहज बनाएको छ। धितालले महाभारतका जटिल प्रसङ्गलाई सरल प्रस्तुति दिएका छन्। उनले प्रत्येक प्रसंग कथा हालेर पाठकलाई बुझाउन उनले निकै मेेहेनत गरेका छन्।
अधिकांश पौराणिक उपन्यासमा संस्कृत शब्दको उपस्थिति बाक्लो हुन्छ। त्यसले नेपाली पाठकलाई बुझ्न अप्ठयारो पनि बनाउने गर्छ। तर धितालले यसमा संयमता अपनाएका छन्। घटनाहरुलाई सहज रुपमा बुझ्ने गरी व्याख्या गरेका छन्। राजदरबारको कथा भए पनि उनले राजनीतिक दाउपेच, शासनका जटिलता जस्ता कुरालाई पुस्तकमा कमै प्राथमिकता दिएका छन्। मानव हृदयका खुशी र दुःखको अनुभूति नै उनले सत्यवती मार्फत अविव्यक्त गरेका छन्।
पौराणिक विषयलाई लेख्न थालेपछि त्यहाँका रहस्यमय र चामत्कारिक घटनालाई सहज र स्वभाविक बनाइदिने प्रचलनको विपक्षमा छन् धिताल। उनले परासर, वेदव्यासजस्ता ऋषिलाई दैवी गुण सम्पन्न महर्षिकै रुपमा चित्रित गरेका छन्। पाण्डु पत्निले देवताहरुसँगको सम्भोगबाट सन्तान जन्माएको कुरालाई पनि त्यही तहको रहस्य र चमत्कारमा छोडिदिएका छन्। यसलाई उनले सामान्यीकरण गरेका छैनन्।
योजनगन्धा नेपाली उपन्यासको महत्वपूर्ण प्राप्ति हो। महाआख्यानलाई नारी पात्रहरुको दृष्टिकोणबाट पनि हेरिनुपर्छ भन्ने मान्यतामा विनोदप्रसाद धितालले पहिलो पाइला चाले। महाआख्यानको गाम्भीर्यलाई कायम राख्दै त्यही कथालाई उपन्यासमा सजिलो बनाएर पस्किनु पनि उत्तिकै प्रशंसनीय कुरा हो। नेपाली उपन्यासका पाठकले धिताललाई यसै अर्थमा सधैं सम्भि्कइरहनु, आभार प्रकट गरिरहनु आवश्यक छ।
(स्रोत : सेतोपाटी)